मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ पौष १९ सोमबार
  • Wednesday, 02 September, 2026
२o७८ पौष १९ सोमबार ११:oo:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पर्यटकको पर्खाइमा गुप्सीपाखा सामुदायिक होमस्टे (फोटोफिचर)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १९ सोमबार ११:oo:oo

समुद्री सतहबाट २८ सय मिटर उचाइमा रहेको धार्चे– ४ गुप्सीपाखाको एकीकृत नमुना बस्ती यतिवेला हिउँले झलमल्ल बनेको छ । बौद्ध, गणेश, श्रृंगी र हिमचुली हिमालसँगै गुप्सीपाखा हिउँको सेतो पछ्यौरीले ढाकिएपछि निकै मनमोहक र हेर्नलायक देखिन्छ । अहिले सामाजिक सञ्जाल सबैतिर बाक्लो हिउँ जमेको एकीकृत बस्तीका फोटोहरू हेर्दा जोकोहीलाई अहिले नै घुम्न जाउँ–जाउँझैँ  बनाएको छ । 

उत्तरी गोरखाको धार्चे गाउँपालिका– ४ लाप्राकस्थित गुप्सीपाखामा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एउटै आकार र साइजका पाँच सय ७३ घर निर्माण गरेको छ । एउटै शैलीका झुरुप्प बस्ती रहेको गुप्सीपाखा एकीकृत नमुना बस्तीमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई स्वागत गर्न यहाँका सामुदायिक होमस्टे तम्तयार छन् । 

लाप्राकमा घुम्न आउने पर्यटकहरूको सहजताका लागि स्थानीय अगुवाहरू मिलेर गत कात्तिक महिनादेखि होमस्टे सेवा सञ्चालन गरेका हुन् । पाँच सय ७३ घर रहेको एकीकृत नमुना बस्तीमा हाल पाँचवटा घरमा होमस्टे सेवा सञ्चालन गरेको लाप्राक नमुना बस्ती होमस्टे समितिका अध्यक्ष दलवीर गुरुङले बताए । ‘होमस्टेमा एउटा बेडको शुल्क दुई सय ५०, सादा खानाको दुई सय, ब्रेक फास्टको एक सय ५० तोकिएको छ । यहाँ आउने पाहुनालाई स्थानीय अर्गानिक खाना खुवाउँछौँ,’ गुरुङ भने। 

होमस्टेमा गाउँमै उत्पादन गरिएको फापरको रोटी, आलुबाट बन्ने विभिन्न परिकार, स्थानीय स्तरमा उत्पादन गरिएका च्याउ, स्थानीय दालको सुप, कोदो, मकै, सिलामको अचार, सागसब्जी, लोकल कुखराको मासु र विभिन्न खानाका परिकार उपलब्ध रहेको गुरुङले जानकारी दिए । एकीकृत बस्ती हेर्न र हिउँ खेल्न आउने पर्यटकहरू थाहा नभएका कारण हतारहतार आई फोटो खिचेर फर्किने गरेको बताउँदै उनले होमस्टेको सेवा लिन अनुरोध गरेका छन् ।

हाल सञ्चालनमा आएका होमस्टेको एउटा घरमा ६ देखि सातजनासम्म राख्न सकिने र पाँचवटा होमस्टेमा एक रातमा ४०–४५ जनालाई राख्न सकिने उनले जानकारी दिए ।यस्तै, लाप्राक घुम्न आएका पर्यटकहरूले आफ्नो रुचिअनुसार होमस्टे वा होटल रोज्न सकिनेसमेत सञ्चालक गुरुङ बताउँछन् । होमस्टेमा पर्यटकको संख्या धेरै भएमा टेन्टको व्यवस्था पनि गरिएको गुरुङले बताए । त्यस्तै एकीकृत बस्तीमा फ्री वाइफाईको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।