मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १९ सोमबार ०८:२२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक वर्षमा डेढ लाख पर्यटक

अघिल्लो वर्षको तुलनामा सन् २०२१ मा पर्यटक संख्या ३४.४ प्रतिशतले घट्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १९ सोमबार ०८:२२:००

विश्वभरि कोभिड महामारी फैलिन कम हुँदै गए पनि सन् २०२१ मा नेपालमा विदेशी पर्यटकको आगमन चित्तबुझ्दो रहेन । सन् २०२१ मा विभिन्न देशबाट एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल भ्रमणका लागि आएको तथ्यांक छ । यो अघिल्लो वर्ष सन् २०२० को तुलनामा ३४.४ प्रतिशतले कम हो । कोभिड महामारीकै बीच सन् २०२० मा दुई लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डले जनाएको छ ।

कोभिड सुरु हुनुअघि सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार विदेशी पर्यटक भ्रमणका लागि आएका थिए । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । तर, २०२० को सुरुदेखि कोभिड महामारी तीव्र भएपछि पर्यटक आगमन खस्किएको पर्यटन बोर्डका पूर्वसिइओ दीपकराज जोशीले बताए । तर, कोभिड संक्रमण कम हुँदै गएपछि पर्यटक आगमन बढ्नुपर्ने भए पनि घट्दै जानु सुखद नभएको उनको भनाइ छ ।

‘२०२० मा मार्चदेखि सेप्टेम्बरसम्म मुलुक कोभिडले आक्रान्त थियो, विश्वभरिका मान्छे महामारीको त्रासले घरभित्रै थुनिएर बसेका थिए,’ जोशीले भने, ‘तर, २०२१ मा विश्वभर कोभिडविरुद्धको भ्याक्सिनेसन सुरु भयो, संक्रमण दर पनि घट्दै गएपछि मान्छेमा कन्फिडेन्स पनि बढेको थियो, यस्तो वेलामा नेपालले ६–७ लाख पर्यटक भित्र्याउन सक्नुपथ्र्यो ।’

उनका अनुसार महामारीकै बीचमा सन् २०२० मा विश्वभरि ३५–४० करोड मान्छे घुम्न निस्किएका थिए भने २०२१ मा यो संख्या बढेर झन्डै ६० करोड पुगेको छ । ‘यो अवधिमा घुम्न जाने गन्तव्य विश्वमा निकै कम थिए, नेपाल तुलनात्मक रूपमा सुरक्षित गन्तव्य थियो, हामी ती पर्यटक तान्न सक्थ्यौँ, तर मार्केटिङ गर्न नसकेर चुक्यौँ,’ उनले भने । अघिल्लो वर्षको तुलनामा सन् २०२१ मा सबैजसो देशबाट आउने पर्यटक घटेका छन् । तर, भारत, बंगलादेश, पाकिस्तान, चेक रिपब्लिक, इजरायल, रसिया, अमेरिकालगायत केही मुलुकबाट भने सन् २०२१ मा पर्यटक आगमन सामान्य बढेको छ । 

 सबैभन्दा बढी पर्यटक भारतीय
नेपाल भ्रमणमा आउने सबैभन्दा धेरै पर्यटक भारतीय हुने गर्छन् । सन् २०२१ मा भारतबाट ६४ हजार ६  सय ७३ पर्यटक आएका छन् । यस्तै, अमेरिकाबाट २२ हजार आठ सय ५३ पर्यटक आउँदा बेलायतबाट आठ हजार ६ सय ८०, चीनबाट ६ हजार एक सय ९६ र बंगलादेशबाट पाँच हजार ४४ पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ ।कोभिडअघि नेपाल भ्रमणमा आउने पर्यटकमा चीन पहिलो वा दोस्रो नम्बरमा आउँथ्यो । तर, कोभिडसँगै चीनले आफ्ना नागरिकहरूलाई घुमफिरमा कडाइ गरेपछि चिनियाँहरू नेपाल आउन सकेका छैनन् । त्यसमाथि कोभिडपछि नेपाल–चीन सीधा उडानमा पनि कडाइ गरिएको छ । 

 कुन महिना कति पर्यटक ?
सन् २०२१ को जनवरीमा करिब नौ हजार आठ सय ७४ पर्यटक भित्रिँदा फेब्रुअरीमा नौ हजार एक सय ४४, मार्चमा १४ हजार नौ सय ७७, अप्रिलमा २२ हजार चार सय ५०, मेमा एक हजार चार सय ६८, जुनमा एक हजार एक सय ४३, जुलाईमा दुई हजार नौ सय ९१, अगस्टमा पाँच हजार नौ सय १७, सेप्टेम्बरमा नौ हजार आठ सय ९८, अक्टोबरमा २३ हजार दुई सय ८४, नोभेम्बरमा २६ हजार एक सय ३५ र डिसेम्बरमा २४ हजार ६ सय ७९ पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।

बोर्डको तथ्यांकअनुसार सन् २०२१ मा सार्क मुलुकबाट ७१ हजार ६ सय १० पर्यटक भित्रिएका छन्, जुन कुल पर्यटक संख्याको ४७.४४ प्रतिशत हो । अन्य एसियाली मुलुकबाट नौ हजार आठ सय २५, युरोपबाट २५ हजार तीन सय पाँच, आसियानाबाट दुई हजार पाँच सय ७१ र अमेरिकी मुलुकबाट २५ हजार दुई सय ९१ पर्यटक आएका छन् । अमेरिकन मुलुकमा अमेरिकाबाट २२ हजार आठ सय ५३ र क्यानडाबाट दुई हजार चार सय ३८ पर्यटक आएको देखिन्छ । यस्तै, अन्य मुलुकबाट १६ हजार तीन सय ६० पर्यटक भित्रिएको बोर्डले जनाएको छ ।

पर्यटकीय सम्भावना राम्रो भए पनि नेपाल दक्षिण एसियामै पर्यटक भित्र्याउन सबैभन्दा पछाडि पर्दै आएको मुलुक हो । नेपालले पर्यटक तान्न नसक्नुमा मुख्य दुई कारण रहेको बोर्डका पूर्वसिइओ जोशीको अनुमान छ । ‘हाम्रा सरोकारवाला निकायबीच समन्वयको पनि साह्रै कमी भयो, अर्को हामीले मुलुकभित्र भएका सुधारका गतिविधि र पर्यटकीय गन्तव्यहरूको स्रोत बजारमा कम्युनिकेट गर्न सकेनौँ,’ उनले भने, ‘यो कुराको पाठ सिकेर २०२२ मा बढीभन्दा बढी पर्यटक ल्याउन पहल कदमी गर्नुपर्छ ।’ विश्वभरि कोभिडले सबैभन्दा ठूलो संकट पर्यटन क्षेत्रमा ल्यायो । तर, कोभिड सुरु भएको दुई वर्ष पुग्दा पनि नेपालले कोभिडबाट उत्पन्न संकट निवारणका लागि एउटा ‘टास्क फोर्स’ पनि बनाउन नसकेको पर्यटनविज्ञ बताउँछन् ।