मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ पौष १३ मंगलबार ०७:०६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मनाङमा हिमपात, पर्यटकलाई गन्तव्यतर्फ नजान अनुरोध

Read Time : > 1 मिनेट
२०७८ पौष १३ मंगलबार ०७:०६:००

हिमाली जिल्ला मनाङको सदरमुकाम चामेसहित आसपासका क्षेत्रमा शनिबार साँझदेखि परेको हिमपातका कारण मनाङको तापक्रम माइनसमा झरेको छ । तापक्रम माइनस १० डिग्रीसम्म पुगेकाले जनजीवन कष्टकर बनेको छ । चिसो अत्यधिक बढेको छ । शनिबारदेखि आइतबारसम्म हल्का हिमपात भए पनि सोमबार भने सदरमुकाम चामेसहित मनाङको तल्लो क्षेत्रमा बाक्लो हिमपात भएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए । 

मनाङको नासों गाउँपालिका– ९ दानक्युदेखि माथिल्लो क्षेत्रमा हिमपात भएको हो । हिमपातले जनजीवन कष्टकर बनाए पनि किसान भने खुसी भएका छन्। मनाङका स्थानीय अनिता लामाले हिमपातले आलु, फापर, गहुँ, जौ र उवालगायतका बालीलाई राम्रो गर्ने बताइन् । उनका अनुसार मनाङको माथिल्लो क्षेत्रमा मंसिर १७ गते हिमपात भए पनि चामे लगायत तल्लो क्षेत्रमा यो वर्षको पहिलो हिमपात हो । 

चामे गाउँपालिका– २ थान्चोकका स्याउ कृषक कुलबहादुर घलेले हिमपात हुनु स्याउ खेतीका लागि राम्रो भएको बताए । एकैपटक नपग्लिने र बिस्तारै पग्लिँदै जाने भएकाले माटोमा चिस्यान हुने र अन्नबालीको उत्पादन राम्रो हुने उनले बताए । उनले भने, ‘पानी पर्‍यो भने तत्काल पानी सुकिहाल्छ । हिउँ पर्‍यो भने बिस्तारै पग्लिन्छ । खेतीमा चाहिने सिँचाइको मात्रा पुग्छ । हिमपात हुँदा केही समस्या भए पनि खेतीका लागि राम्रो हुन्छ । हिउँले गर्दा स्याउ, आलु, गहुँ, फापरलगायतका बालीलाई फाइदा पुग्छ । किसानले सिँचाइको व्यवस्था गर्नुपर्दैैन ।’

जाडो बढेसँगै मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ–बिहान माइनस ६ देखि माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काले बताए । अत्यधिक चिसोका कारण खोला खोल्सा र पिउनका लागि ल्याइएको पानी पाइपमा जमेको सशस्त्र प्रहरी बल मनाङका प्रमुख डिएसपी अर्जुन पौडेलले बताए । 

चिसो बढेसँगै धारामा पानीसमेत जम्न थालेको छ । खोलाहरूसमेत जमेका छन् ।  जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भू–भागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो बढ्न सक्ने हुनाले सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ । चिसो बढेसँगै मनाङका स्थानीय घर कुरुवा राखेर लमजुङ, काठमाडौं, पोखरा, चितवनलगायतका जिल्लामा जाडो छल्नका लागि झरिसकेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले हिमाली क्षेत्रमा हिमपातको सिजन सुरु भएकाले पर्यटकलाई गन्तव्यतर्फ नजान भनिएको छ । उनले भने, ‘मौसममा सुधार आएपछि मात्र पर्यटकलाई गन्तव्यमा जान एक्याप मनाङले अनुरोध गरेको छ ।