१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ९ शुक्रबार
  • Sunday, 08 September, 2024
सुजित महत नयाँ पत्रिका
२o७८ पौष ९ शुक्रबार o८:५१:oo
Read Time : > 7 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

देउवामा छैन, गगन-विश्वप्रकाशमा आस छ : हरि शर्मा

Read Time : > 7 मिनेट
सुजित महत, नयाँ पत्रिका
नयाँ पत्रिका
२o७८ पौष ९ शुक्रबार o८:५१:oo

कांग्रेसको चौधौँ महाधिवेशनमा पुस्तान्तरणको मुद्दा जोडतोडले उठ्यो । यही मुद्दा बोकेर सभापतिको दौडमा निस्किएका विमलेन्द्र निधि, प्रकाशमान सिंहहरू नै शेरबहादुर देउवाको पक्षमा उभिएपछि उनको जित सहज भयो, शेखर कोइराला हारे । नेतृत्वमा पुस्तान्तरण हुन सकेन । यद्यपि, उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भए । चौधौँ महाधिवेशनको परिणाम, पुस्तान्तरण, गुट–उपगुट र ६०–४० को भागबन्डालगायतका विषयमा राजनीतिक विश्लेषक हरि शर्मासँग सुजित महतले गरेको कुराकानीको सार :

शेरबहादुर देउवा कांग्रेस सभापतिमा निर्वाचित भएपछि तपाईं हल्का मर्माहत भएको सुनियो, किन ? 

मर्माहतै भएको त होइन, देउवाको जितमा खुसी हुनचाहिँ सक्तिनँ । पुनः सभापति निर्वाचित भएकोमा बधाई भनेको सुनियो, देउवा दोस्रो होइन, तेस्रोचोटि पार्टी सभापति भएका हुन् । कांग्रेस प्रजातान्त्रिकको सभापति भएको बिर्सिनुभएन । त्यस्तो पार्टीको सभापति भएका थिए, जुन कांग्रेसइतरको र नेपाली कांग्रेस फुटाएर निर्माण भएको पार्टी थियो । कांग्रेसलाई कमजोर बनाउने मिसनमा निर्मित पार्टी थियो । त्यो त गिरिजाप्रसाद कोइरालालाई मान्नुपर्छ, राजासँग लड्न सबै मिल्नुपर्ने आवश्यकता देखे, अनि देउवाको पार्टीलाई जोडे । भारतमा भारतीय राष्ट्रिय कांग्रेस (इन्डियन नेसनल कांग्रेस) भनिए पनि उसको वैध नाम कांग्रेस (आई) हो । फुटेर गएको हो, भारतीय राष्ट्रिय कांग्रेस हुनैसक्तैन । देउवाको ‘घर वापसी’ त भयो, तर घर छाडेर गइसकेपछि फर्किंदा पुरानो सहजता, मूल्य–मान्यता रहँदैन । अलि कडा सुनिएला, उनी बिटुलिइसकेका मान्छे हुन् । कांग्रेसमा सात दशकदेखि अनवरत रहेका मान्छे अझै होलान् । राजा आए, माओवादी आए, तर निरन्तर चारतारे झन्डा बोकेर बसेका मान्छे छन् । ०१७ सालमा निर्वासित हुनुपरेका, सर्वस्वहरण भई सम्पत्तिधरी फिर्ता नपाएका मान्छे पनि हुन सक्छन् । एकचोटि पार्टीबाटै छुट्टिई भिन्न भई आफ्नो बाटो लागेको भएर देउवा यसअघि जित्दा खुसी थिइनँ, दोस्रोचोटि त झन् हुने कुरै भएन ।

तपाईं जसको लामो समय सहयोगी हुनुभयो, उनै गिरिजाप्रसादको प्रमुख भूमिका छ, देउवाको यो सफलतामा । ०४८ सालमा गृहमन्त्री बनाउने उनै, ०५१ सालमा त संसदीय दलको नेता उनै, जसको कारण नौ महिनापछि त देउवा प्रधानमन्त्री बने । तपाईंचाहिँ असन्तुष्ट ?

गिरिजाप्रसादले नै माथि तान्या हो । उनको उत्तराधिकारीको हकदार त शैलजा आचार्यलाई मान्थेँ, उहाँ अलि बढी भावनात्मक÷आक्रामक हुनुभयो । शीर्ष पदका लागि आवश्यक रूपले संगठित हुनुहुन्थेन । गिरिजाप्रसाद ०५१ सालको चुनावमा कांग्रेस दोस्रो ठूलो दलमा खस्किएपछि नैतिक जिम्मेवारी लिएर संसदीय दलको नेता बन्न चाहेनन् । ०४८ सालमा सुदूरपश्चिममा एउटाबाहेक सबै सिट जित्नुको एकल जस देउवालाई दिइयो । कसैले सोधेनन्, त्यो चुनावअघि देउवाले सुदुरपश्चिममा कति समय बिताएका थिए भनेर । फेरि, ०५१ सालमा स्थिति करिब–करिब उल्टिएको थियो । बिपीले जनमतसंग्रहका लागि छानेका कमान्डर भनियो, भनिँदै छ । बिपीका कमान्डर त परशुनारायण चौधरी पनि थिए नि त । देउवा शीर्ष स्थानमा पुग्नु र टिकिराख्नुमा विवाहमार्फत काठमाडौंको एलिट सर्कलसँग कायम भएको सम्बन्धको पनि भूमिका छ ।

शेखर कोइरालाले जितुन् भन्ने देखियो । शेखरबाट के अपेक्षा गर्न सकिन्थ्यो र ? 

कार्यकर्तासँग संवाद गर्ने गिरिजाप्रसादको शैलीको प्रशंसक म । त्यही शैलीले गर्दा गणेशमान, कृष्णप्रसादजस्ता व्यक्तित्व पार्टीमा हुँदा पनि संगठनमा गिरिजाप्रसादको पकड थियो, कार्यकर्ता उहाँसँग थिए । काका गिरिजाप्रसादको त्यो शैली शेखरले अख्तियार गरे । शेखर पाँच वर्षयता त देशभरि हिँडेकोहिँड्यै थिए । गुटलाई प्रतिनिधित्व नगरी सबै कार्यकर्तासँग संवाद गरिरहे । निरन्तर मिहिनेत गरेकाले प्रशंसा गरेको हुँ । पार्टी सभापतिमा सीमित रहेर प्रधानमन्त्री नबन्ने उनका प्रतिबद्धता तारिफलायक थिए ।

नेता–कार्यकर्ता प्रत्यक्ष संवाद जरुरी छ । सुन्ने नेता चाहिएको छ । कार्यकर्ताले पार्टी सभापतिलाई सोध्नुपर्‍यो, तपाईं सातौँपटक प्रधानमन्त्री केका लागि ? यति कामचाहिँ गर्न बाँकी छ भनेको त सुनिएको छैन । त्यो नभएपछि कसैका लागि भइदिनुपर्ने ? शेखरले पार्टी सभापति बन्छु, प्रधानमन्त्री बन्दिनँ भनेका छन् । एकछिनलाई मानौँ उनी सभापति भए रे । अनि प्रधानमन्त्री बन्ने लोभ देखाए भने प्रश्न त गर्न पाउनुपर्‍यो । ‘ए शेखर दा, यस्तो भन्थ्यौ त’ भनेर ऐना त देखाइदिन पर्‍यो । ऐना देखाइदिने कार्यकर्ता र प्रेस नै हो । प्रेसले देखाइदिँदा मेरो विरोधी भन्दिने, कार्यकर्ताले देखाउँदा अर्को गुटको भन्दिने, अनि त्यो कस्तो नेता हुन्छ ? अहिले पार्टीहरू सत्ता कब्जा गर्न बनेका पूर्वाधार मात्र भए । सत्ता कब्जा गर्न पूर्वाधार बनाउने, गभर्नेन्स नगर्ने । नेतालाई प्रश्न गर्न पाउनुपर्‍यो, नेतालाई गाली, माया दुवै गर्न पाउनुपर्‍यो । नेता–कार्यकर्ता प्रत्यक्ष संवाद जरुरी छ । सुन्ने नेता चाहिएको छ । अहिले गगन–विश्व भनिएको कारण उमेर कम भएर मात्र होला र ? पहुँचमा भएर पनि होला नि । जब गिरिजाप्रसाद बिरामी भएर एकदम सानो घेरामा कैद हुनुभयो, अनि फलानो नेता हावी भयो, सिटौला हावी भयो आदि इत्यादि सुन्न थालियो । 

शेखर कोइरालालाई सरकारसँग भागबन्डा दाबी नगर्न सुझाउनु त भएछ, भागबन्डा नगरी गुट चल्छ चाहिँ कसरी ? गुट चलाउन स्रोत नभइनहुने, भागबन्डा नगरी स्रोत कसरी जुटाउने ? टिकटमा भागबन्डा नगरे शेखरलाई कसले साथ दिइरहन्छ फेरि ? 

राजाविरुद्ध लड्न एकजुट हुनुपर्छ भनेर गिरिजाप्रसादले कांग्रेस (प्रजातान्त्रिक)लाई नेपाली कांग्रेसमा विलय गरेको अघि चर्चा गरेँ नि, हो देउवाको त्यही ‘घरवापसी’को ‘बाइप्रडक्ट’ हो, ६०–४० को भागबन्डा । गिरिजाप्रसादले देउवालाई ४० प्रतिशत दिएर पार्टी विलय गराएका थिए । त्यसपछि देउवाले त पार्टी सभापति नहुन्जेल ४० प्रतिशत मागे÷पाइनै रहे, देउवा सभापति बनेपछि संस्थापनइतरका नेता बनेका रामचन्द्र पौडेलमा पनि ‘मैले चाहिँ किन नपाउने’ भन्ने धङधङी देखियो । त्यत्रो त्याग÷तपस्या गरेका भनिएका, अझ कतिपयले त निष्ठाको राजनीति गर्नेसमेत भनेका मान्छे त यस्तो विकृत अभ्यासबाट अलग्गिन सक्नुपथ्र्यो नि । गुट चलाउने होइन नि, नेपाली कांग्रेस चलाउने हो । तिम्रा छ मेरा चार भन्न थालिसकेपछि त ‘नेगोसिएसन’ र लेनदेन चल्छ । टिकट वितरणमा कुरा सिम्पल छ– जित्न सक्ने, पार्टीमा ज्येष्ठता, बफादारी आदि मिलाएर क्राइटेरिया बनाउने । क्राइटेरियामा खरो उत्रिनेलाई टिकट दिन दबाब सिर्जना गर्ने । योग्य, लोकप्रियको पक्षमा अडान लिएपछि तिनले त शेखरलाई साथ दिइहाल्छन् । मलाई थाहा छ, यो त्यति सजिलोचाहिँ छैन । चुनावपछि संसदीय दलको नेता सुरक्षित हुने गरी टिकट वितरणको प्रयास हुन्छ । लफडा त हुन्छ । तर, राजनीति गर्ने उद्देश्य के ? जब उद्देश्य नै ‘एनी हाउ सत्तामा पुग, अनि कमाउ’ भएपछि ठेकेदार आदि हावी नभएर को हुन्छ भन्दै हामीले पनि प्रश्न गरिरहनुपर्‍यो । 

कांग्रेस (प्रजातान्त्रिक)लाई नेपाली कांग्रेसमा विलय गराउँदा अपनाइएको ६०–४० को भागबन्डा नै कालान्तरमा संस्थागत भएको भन्नुभयो । गुट–उपगुट नि ? 

गुट–उपगुट त सधैँ थियो, रहन्छ पनि । हिजो निर्वासनमै बस्ने कि देश फर्किनेमा गुट बन्यो । मुलुकबाहिरबाट आएकाहरू एक किसिमको मूल्य प्रणाली (भ्यालु सिस्टम) लिएर आएका थिए भने मुलुकभित्रै संघर्ष गरेकाहरू फरक सुनिन्थे । देशभित्रै आफ्नो संस्कृति, परम्परा र धरोहरमा हुर्किएको पक्ष र देशबाहिर आधुनिकतामा हुर्किएको अर्को पक्ष थियो । समग्रमा दुवै मुलुकको संस्थापनको विरोधी थियो । गिरिजाप्रसादलाई काठमाडौंले सुरुमा स्वीकार नगर्नुको कारण त्यही बाहिरको ‘भ्यालु सिस्टम’बाट आएकाले गर्दा न हो । काठमाडौंका एलिटका लागि उनी मोरङिया थिए, विराटनगरिया थिए । प्रकारान्तरले भारतबाटै आएका थिए । मन नपराउनेहरूका लागि ‘उतैबाट परिचालित’ थिए । खाना खाएपछि सुतेर दिउँसो दुई बजे उठेर दौरासुरुवालमा रिटिक्क परेर छाता बोक्दै कुपण्डोलको ओरालो झरेर ट्याक्सी चढेर न्युरोडको पान पसल पुग्ने कृष्णप्रसाद भट्टराईलाई कसैले बाहिरिया देख्दैन थिए । घाँटीसम्म टमक्क टाँक लगाएको सर्टमा पैताला नछुने छोटो पाइन्ट लगाई विलिस जिपमा हिँड्ने गिरिजाप्रसाद यहीँका ठानिन्थेनन् । जति नै प्रतिस्पर्धात्मक भए पनि प्रदीप गिरि घुमाइफिराई वनारस नलगी कुनै कुरा टुंग्याउँदैनन् । लोहिया, जेपीलाई कोट गरेकै हुन्छन् । देउवाले कहिल्यै गरेको सुनियो र ? किनकि, प्रदीपजी र देउवाको भ्यालु सिस्टमै फरक छ । कृष्णप्रसाद भट्टराईले मुलुकभित्रको एउटा ‘भ्यालु सिस्टम’लाई प्रतिनिधित्व गर्नुभयो, बिपी÷जिपीले अर्को । यो पाटोको सांस्कृतिक विश्लेषण भएको छैन । ‘भ्यालु सिस्टम’का आधारमा निर्मित कांग्रेसका गुट–उपगुटको अध्ययन÷विश्लेषण भएको छैन । किशुनजी, सूर्यप्रसादजी महान् थिए । त्याग, तपस्या सबै थियो । तर, क्रान्तिकारी र आधुनिक फ्लेबरका थिएनन् । लामो संघर्षको इतिहास हुँदाहुँदै पनि रामचन्द्र पौडेल पुरातनवादी सुनिन्छन्, निर्वासनबाट फर्केकाहरूमा देखिने आधुनिक तत्‍व उनमा देखिँदैन । समाजशास्त्रीय विश्लेषण गर्दा उनी शेरबहादुरसँगै मिल्ने मान्छे हुन् ।

महाधिवेशनअघि गगन थापाले सार्वजनिक गरेको अवधारणापत्रमा प्रजातान्त्रिक समाजवादभन्दा एक फड्को अघि जानुपर्छ भनेर ‘सामाजिक लोकतन्त्र’ भनेका छन् । अब पार्टीपंक्तिमा बहसका क्रममा त्यही विचारको पक्ष–विपक्षमा गुट बन्न सक्लान् ।

अर्को वर्गका आधारमा पनि गुट छन् । राजनीतिमा संरक्षण चाहिन्छ । निर्वासनको वेला वनारस बस्नेजति बिपीप्रति बफादार देखिन्छन् भने गोरखपुरमा बस्ने धेरैजसो सुवर्णजीप्रति बफादार । पटना सम्मेलनमा सुवर्ण शमशेरले बिपीलाई ‘अब सम्हाल्नुस् तपाईंको पार्टी’ भनेको सम्झिँदा व्यक्तिगत लालच, लोभ, कुण्ठा, ईष्र्याको जगमा बनेका आजका गुटहरू कस्ता लाग्लान् ? सामाजिक र सैद्धान्तिक आधारहरू छन् भने जीवन्त पार्टीमा गुट–उपगुट चाहिन्छ पनि । अब जिल्ला जाँदा गाडी लिएर दलबलसहित आउँछ, बेलुका स्कच जोगाड गर्छ भन्नेलाई आधार बनाई भाग लिएर त्यसैलाई टिकट दिलाउने हो या सांगठनिकलगायतका क्षमतालाई आधार लिएर दिलाउने ? पार्टी चलाउन स्रोत नभई हुन्न । उमेश श्रेष्ठ पनि चाहिएला, विनोद चौधरी पनि । अब तिनकै लागि गुट बनाउने त हैन नि । महाधिवेशनअघि गगन थापाले सार्वजनिक गरेको अवधारणापत्रमा प्रजातान्त्रिक समाजवादभन्दा एक फड्को अघि जानुपर्छ भनेर ‘सामाजिक लोकतन्त्र’ भनेका छन् । अब पार्टीपंक्तिमा बहसका क्रममा त्यही विचारको पक्ष–विपक्षमा गुट बन्न सक्लान् ।

उसो भए खराब कोलेस्ट्रोल र राम्रो कोलेस्ट्रोल भनेजस्तै गुट पनि खराब र राम्रो हुने रहेछ ?

सैद्धान्तिक आधारविनाका गुट भनेका स्वार्थ समूह मात्र हुन्, जसले चुनाव त जिताउला, लोकतन्त्रलाई मजबुत बनाउँदैन । ०१५ सालमा निर्वाचित बिपी नेतृत्वको सरकारले भूमिसुधारको कदम उठाउँदा पूर्वका ठूला जमिनदार चैतु जमिनदार (चौधरी) पनि त्यही मन्त्रिपरिषद्मा थिए, सुवर्ण शमशेर त भइहाले । सुवर्ण शमशेर र चैतु जिमदारसहितको मन्त्रिपरिषद्बाट वन राष्ट्रियकरण, बिर्ता आदि भूमिसुधार सम्बद्ध कदम चालिँदा गुटबन्दी भयो होला । सुवर्ण शमशेर र सूर्यप्रसाद बिपीजत्तिकै समाजवादी त पक्कै थिएनन् होला । त्यहाँ ‘नेगोसिएसन’ भयो होला । गुटको सामाजिक पृष्ठभूमि हुनुपर्‍यो । दोस्रो जनआन्दोलनलाई ‘जस्टिफाई’ गर्ने गुट चाहिएको छ, कांग्रेसमा । त्यो आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न सक्ने नेतृत्व चाहियो । विभिन्न भंगाला छन्, कांग्रेसमा– डोबाटे विकदेखि विनोद चौधरीसम्मै अटाएका छन् । 

निधिले देउवा गुटबाट विद्रोह गरे, प्रकाशमान सिंह देउवाको सबैभन्दा चर्को आलोचक सुनिए । तर, पहिलो चरणको चुनावले सभापति दिन नसकेपछि रातारात कसरी उनै देउवालाई समर्थन गरेर हात हल्लाउँदै भोट माग्न सके ? वर्गीय चरित्र हो । राजनीतिक सामाजिकीकरण (पोलिटिकल सोसलाइजेसन)को चरित्र पनि हो । शेखरभन्दा त हामी नै वरिष्ठ भने रे । भोटले त देखाइहाल्यो, वरिष्ठता महत्‍वपूर्ण होइन भनेर । गगन, विश्वप्रकाश, धनराज पनि त उहाँहरूभन्दा कनिष्ठ होलान्, के अब उपसभापति÷महामन्त्रीको रूपमा स्विकार्दैनन् त ? गफ दियो विचारको वा नेतृत्व परिवर्तनको, पुस्तान्तरणको । आखिरमा त त्योभन्दा म वरिष्ठ भन्ने नै रहेछ त ।

शेरबहादुर देउवाले जित्नासाथ ‘लौ कांग्रेस सिद्धियो’ भनेर गल्छन्, गगन–विश्वप्रकाशले जित्नासाथ ‘लौ अब तगडा भयो’ भन्दै उफ्रिएका छन् । यस्तो किन ? 

देउवामा आस छैन, गगन–विश्वप्रकाशमा आस छ । यिनले ०६२/६३ जनआन्दोलनको भावनाको प्रतिनिधित्व गर्छन् । जनआन्दोलनमै रहे पनि शेरबहादुरले संघीयतालगायतका उपलब्धिको प्रतिनिधित्व गर्छन् जस्तो लाग्दैन । देउवालाई नै भोट हाल्ने कांग्रेसीमा पनि उनको नेतृत्वमा चुनावमा कसरी जाने भन्ने चिन्ता छ भनेको सुन्छु ।

महाधिवेशनअघि सार्वजनिक गरिएको अवधारणापत्रमा गगनले प्रजातान्त्रिक समाजवादको सट्टा ‘सामाजिक लोकतन्त्र’ शब्द प्रयोग गरेका छन् । उनीमाथि कम्युनिस्ट खेमाबाट आक्रमण हुने नै छ, कांग्रेसभित्रबाट के हुन्छ ? दस्तावेजमा तपाईंको टिप्पणी के छ ? 

पूरै पढे पनि अहिले म त्यसमा विस्तृत टिप्पणी गर्दिनँ । गगनको विचारमा शतप्रतिशत सहमत छु पनि भन्दिनँ । त्यसमा यथेष्ट छलफल गर्ने, परिमार्जन गर्ने ठाउँ छ भन्ठान्छु । गगन यसकारण सही ठाउँमा छन्, उनले उभिने प्लाटफर्म क्लियर गरे, अवधारणपत्रमार्फत । कसैले पूरै बजार प्रणालीमा जानुपर्छ भन्ला, कसैले पूरै राज्यनियन्त्रित हुनुपर्छ भन्ला । तर, अन्त कतै नहुने ‘रेटोरिक’मा जानुको अर्थ छैन । किनकि, सार्वजनिक नीतिमा व्यावहारिकताको प्रश्न पनि छ । 

अब बिपी सिकसिक लाग्नेलाई पनि बिपी प्यारो हुन थाल्नेछ, उनको प्रजातान्त्रिक समाजवाद बडा वैज्ञानिक लाग्न थाल्नेछ । किनकि, अब गगनजी शक्तिशाली भए । कांग्रेसको सम्भावित सभापति अनि देशको सम्भावित प्रधानमन्त्री । आक्रमण अब ह्वात्तै बढ्छ । युवा छन्, ऊर्जाशील छन् । राम्रो बोल्छन्, कुरा नचपाई बोल्छन् । उमेर र ऊर्जाका कारण एकचोटि पछारिए पनि फेरि उठ्न सक्छन् । अब उनका हरेकजसो कुरामा एउटा वर्ग, एउटा समूहले आक्रमण गर्नेछ, जुन गगनको पनि परीक्षाको समय हुनेछ । उनले यस्ता आक्रमण पचाउन छाला कति बाक्लो बनाउँदै लान्छन् हेर्नुपर्छ । यससँगै कार्यकर्तासँग संवाद कति गर्छन्, त्यो पनि हेर्नुपर्नेछ । यस्ता आक्रमणका वेला कार्यकर्तासँग जतिसक्दो संवाद गरी आफ्ना कुरा प्रस्ट्याउँदै जानुपर्छ । अनि आ–आफ्नो क्षमताअनुसार प्रतिवादमा उत्रिन्छ । लेख्न सक्नेले लेखेरै प्रतिवाद गर्छ, कतिपयले चौतारो, चियापसल, भट्टी जहाँ कुरा उठ्छ, ठाउँको ठाउँ प्रतिवाद गर्छ । अवधारणापत्र सार्वजनिक गरेपछि भएको चुनावमा यत्तिका भोट ल्याउनुको मतलब मेरो कार्यक्रमको अनुमोदन हो, यसमा थप बहस जरुरी छैन भन्न थाले कार्यकर्तापंक्तिले स्वामित्व लिइदिँदैन । अनि प्रतिवाद हुँदैन । म ढुक्क छु, गगन बहसलाई निषेध होइन, निम्त्याउने नेता हुन् । उनले यसमा यथेष्ट विमर्श गराउनेछन्, आवश्यकताअनुरूप परिमार्जन गर्नेछन् । 

गगन–विश्व उमेरमा तपाईंका भाइ, सम्बोधन पनि दाइ–भाइ हुन्छ । महामन्त्रीद्वय भाइहरूलाई के सुझाव दिन चाहनुहुन्छ ? 

उमेरमा कान्छो अनि निजी संवादमा मैले भाइ भने पनि ती त मेरा नेता हुन्, मैले भाइका रूपमा सल्लाह÷सुझाव दिने कुरै हुन्न । नेता मानेरै दिने हो । भर्खरै जितेका छन्, सल्लाह÷सुझावका क्याप्सुल दिने वेला भएको छैन । तिनलाई भेटेर बधाई दिन चाहनेहरूको भीड होला, बधाई आदान–प्रदान गरून् । चुनावी क्याम्पेनपछि थाकेका हुनुपर्छ, समय मिलेसम्म आराम गरून् । अलि दिन मिडियाबाट पनि टाढै बसेको बेस । दुवैका आ–आफ्नै महत्‍वाकांक्षा होलान् । राजनीतिमा सधैँ मिलेर जाऊन् भन्ने अपेक्षै गर्न मिल्दैन । एकाघर सगोलकै व्यक्तिबीच पनि प्रतिस्पर्धा चल्ने गर्छ । सभापतिमाथि निरन्तर निगरानी गरून् । विश्वप्रकाशले प्रवक्ता, त्यो पनि शेरबहादुर सभापति हुँदा, राम्रै गरेका हुन् । दुईवटै संविधानसभा र अहिलेको प्रतिनिधिसभाका सदस्य तथा मन्त्रीसमेत भइसकेका गगन ‘टेस्टेड’ हुन् र उनीमाथिको अपेक्षा बढी छ । महामन्त्रीद्वय यस्तो रथका दुई पांग्रा हुनुपर्ने अवस्था छ, जसको सारथीले कता जाक्दिने हो भन्न सकिन्न । यसैले कम्तीमा एक कार्यकाल मिलेर गइदिए जनताले त परख गरिहाल्छन्, को कति पानीमा छ भनेर ।