
चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई ८५ लाख रुपैयाँबराबरको खेल सामग्री तथा स्वास्थ्य परीक्षण उपकरण हस्तान्तरण गरेको छ । चीनले विभिन्न ३४ किसिमको खेल सामग्री प्रदान गरेको हो ।
नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ दी मिसन वाङ झिनले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई सामग्री हस्तान्तरण गरेका हुन् । सदस्यसचिव घिसिङले २०औँ एसियाली खेलकुदका लागि दृढ संकल्पका साथ प्रशिक्षण अगाडि बढाउनु चीनको सहयोग महत्वपूर्ण हुने बताए ।
‘जापानले आयोजना गर्ने एसियाली खेलकुद आउन १३ महिना मात्र बाँकी छ, यो समय पेचिलो छ । हामी दृढ संकल्पका साथ प्रशिक्षण अगाडि बढाउनुपर्ने पक्षमा लागेका छौँ,’ घिसिङले भने, ‘अबको दुई हप्ताको अवधिमा मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीको शारीरिक र खेलगत अवस्थाको परीक्षण हुनेछ ।’ डेपुटी चिफ दी मिसन वाङले सहयोगले नेपाली खेलकुदको विकासमा थोरै भए पनि टेवा पुग्ने बताए ।