१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o९:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

उद्योग विस्तार गर्दा ऊर्जाको अभाव हुँदैन : ऊर्जामन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:५३:oo

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जाका कारण उद्योगमा समस्या पर्छ कि भन्ने शंका नगरी निर्धक्क भएर लगानी विस्तार गर्न निजी क्षेत्रलाई आग्रह गरेकी छिन् । उद्योग विस्तारमा ऊर्जाबाट पूर्ण सहयोग हुने उनले प्रतिबद्धता व्यक्त गरेकी छिन् । निजी क्षेत्रसँग बिहीबार मन्त्रालयमा भएको छलफलमा उनले चाहिएजति गुणस्तरीय विद्युत् उपलब्ध गराउने जानकारी दिइन् । सहज तवरले कुनै पनि विलम्ब नगरीकन विद्युत् उपलब्ध गराउने विश्वास दिलाउँदै केही समस्या भएमा सीधै कार्यकारी निर्देशक र आफूलाई सम्पर्क गर्न उनले आग्रह गरिन् ।

निजी क्षेत्रले विद्युत् महसुल दर कम गरेर खपत बढाउन सकिने भनी दिएको सुझाबमा सकारात्मक रहेको मन्त्री भुसालको भनाइ छ । ‘तर, विद्युत् खरिद दर (पिपिए)का आधारमा महसुल दर हेरफेर गरिनुपपर्छ,’ उनले भनिन् । निजी क्षेत्रले अन्तर्राष्ट्रिय लगानीकर्तासँग पनि सहकार्य गर्ने भएकाले विद्युत् खपत गर्ने वैदेशिक लगानीका उद्योग स्थापनामा पहल गर्न आग्रह गरिन् । 

कार्यक्रमा मन्त्रालयका ऊर्जासचिव देवेन्द्र कार्कीले सुधार भनेको निरन्तर हुँदै जाने र ऊर्जा क्षेत्रका गुणस्तर सुधारका लागि आफूहरू प्रतिबद्ध रहेको बताए । ‘उद्योगी तथा व्यवसायीलाई समस्या परेको भए कहाँ र के–के समस्या परेको हो, स्पष्ट रूपमा विषय खुलाएर आए त्यस्ता समस्या समाधान गर्न मन्त्रालय तयार रहेको छ,’ उनले भने । 

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी–व्यवसायीलाई एक सय ३२ केभीबाट विद्युत् लिन आग्रह गरे । ‘हामीले ठूला उद्योगलाई विद्युत् उपलब्ध गराउन एक सय ३२ केभीका प्रसारण करिडोर निर्माण गरेका छौँ, त्यसबाट विद्युत् लिँदा गुणस्तरमा कुनै समस्या हुँदैन,’ उनले भने । 

छलफलमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गुणस्तरीय विद्युत् उपलब्ध गराउन र प्रसारण लाइनको भरपर्दो पूर्वाधार विकास गर्न सुझाब दिए । त्यसैगरी, छलफलमा सहभागी अन्य उद्योगीहरूले गुणस्तरीय विद्युत् उपलब्ध गराउन र विद्युत् महसुल कम गर्ने विषयमा सरकारको ध्यान जानुपर्ने बताए । 

ad
ad