१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ जेठ ५ शनिबार o७:४२:oo
Read Time : > 8 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

यस्तो छ कांग्रेसको १४औँ महाधिवेशनको तयारी

Read Time : > 8 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:४२:oo

मुलुकको जेठो पार्टी कांग्रेसको १४औँ महाधिवेशन संघारमा छ । २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने महाधिवेशनको तयारी भने अपेक्षाकृत चुस्त देखिएको छैन । 

अधिकांश नेताहरू प्रदेश अधिवेशनमा रहेकाले महाधिवेशनको तयारीमा केही सुस्तता देखिएको कांग्रेस नेताहरूले नै बताएका छन् । सातमध्ये ६ वटा प्रदेश अधिवेशन सम्पन्न भएको तथा प्रदेश २ को अधिवेशन महाधिवेशनपछि गर्ने गरी स्थगित गरिएकाले अब सबैको ध्यान महाधिवेशनमा केन्द्रित हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 

६ वर्षपछि हुन लागेको यसपटकको महाधिवेशनलाई कांग्रेसले शक्ति प्रदर्शनको रूपमा प्रयोग नगर्ने बताइसकेको छ । बाह्य जिल्लाबाट कार्यकर्ता जम्मा गर्न र तिनलाई व्यवस्थापन गर्न समय खर्चिनुनपर्ने भएकाले अबको सम्पूर्ण ध्यान महाधिवेशनका बाँकी तयारीमै लगाइएको शर्माको भनाइ छ । 

पार्टी सभापति शेरबहादुर देउवाले सोमबार महाधिवेशनको तयारीबारे जानकारी लिएका छन् । देउवा महाधिवेशन तयारी मूल समितिका संयोजक हुन् । गत २८ कात्तिकमा बसेको केन्द्रीय कार्यसमिति बैठकले उनको नेतृत्वमा मूल समिति गठन गरेको थियो । यस्तै, विभिन्न आठवटा समिति गठन भएका थिए । अहिले ती समितिहरूले तयारीको कामलाई तीव्रता दिइरहेका छन् । 

भाजपादेखि चिनियाँ कम्युनिस्ट पार्टीसम्मलाई निम्तो
कांग्रेसले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन विभिन्न देशका राजनीतिक दललाई आमन्त्रण गरेको छ । विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक पार्टीका सह–महामन्त्री डा. प्रकाशशरण महतले दक्षिण एसियाका मुख्य–मुख्य पार्टीहरूलाई निमन्त्रणा दिइएको जानकारी दिए । ‘छोटो समय भएकाले हामीले सबै देशका प्रतिनिधिलाई आमन्त्रण गर्न सकेनौँ । दक्षिण एसियाका मुख्य–मुख्य पार्टीहरूलाई भने निमन्त्रणा गरिएको छ । महत्वपूर्ण पार्टीहरूको प्रतिनिधित्व हुन्छ,’ डा. महतले भने । 

संयोजक महतले चिनियाँ कम्युनिस्ट पार्टी, भारतीय जनता पार्टी (भाजपा), कांग्रेस आईलगायतका पार्टीलाई आमन्त्रण गरिएको जानकारी दिए । ‘भाजपा र कांग्रेस आईका प्रतिनिधि महाधिवेशनमा सहभागी हुने जानकारी आइसकेको छ,’ उनले भने, ‘निमन्त्रणा गरिएका अन्यले ‘कन्फर्म’ नगरेकाले कति संख्यामा सहभागी हुने भन्ने तय भइसकेको छैन ।’ उनले मुलुकका सबै प्रमुख राजनीतिक दलका नेताहरू महाधिवेशनमा सहभागी हुने जानकारी दिए । 

४५ सय प्रतिनिधिका लागि ठमेल, सुन्धारा र गौशालामा वासको व्यवस्था, पर्यटनस्तरका होटेलदेखि तारे होटेलसम्म प्रयोग
महाधिवेशनमा सहभागी हुने चार हजार पाँच सय प्रतिनिधिका लागि कांग्रेसले ठमेल, सुन्धारा र गौशाला क्षेत्रका होटेलमा वासको व्यवस्था मिलाएको छ । भोजन तथा आवास व्यवस्थापन समितिका संयोजक केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेका अनुसार सहभागीका लागि चार हजार बेडको व्यवस्थापन भइसकेको छ । ‘हामीलाई आवश्यक लगभग ४५ सय बेड हो । चार हजार बेडको व्यवस्थापन भइसकेको छ । प्रदेश अधिवेशन यहीबीचमा भएकाले केही दिन हाम्रो काम रोकियो, तर चाँडै बाँकी पाँच सय बेडको व्यवस्थापन गर्नेछौँ,’ उनले भने । 

संयोजक पाण्डेले २३ मंसिरमै महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आइपुग्ने भएकाले त्यसैअनुसार आवासको प्रबन्ध गरिएको बताए । ‘आवास व्यवस्थापनका लागि समितिले स्वयंसेवक परिचालन गरी सम्पर्क कार्यालयको व्यवस्थापन गर्नेछौँ । सम्बन्धित जिल्लाका सभापतिहरूलाई कुन स्थानमा होटेल व्यवस्थापन गरिएको छ भन्नेबारे जानकारी दिनेछौँ,’ उनले भने । 

पाण्डेका अनुसार विदेशी राजनीतिक दलका प्रतिनिधिका लागि भने भोजन र आवासको व्यवस्थापन कहाँ गर्ने भन्ने टुंगो लाग्न बाँकी छ । ‘संख्या टुंगो लाग्न बाँकी रहेकाले विदेशी पाहुनालाई कहाँ राख्ने भन्ने अहिले नै टुंगो लगाएका छैनौँ । संख्या टुंगो लागिसकेपछि भोजन र आवासको पनि टुंगो लाग्नेछ,’ पाण्डेले थपे, ‘उहाँहरूलाई तारे होटेलमा व्यवस्था मिलाइनेछ ।’ होटेल व्यवस्थापनमा प्रतिदिन प्रतिव्यक्ति आठ सयका दरले खर्च हुने समितिको भनाइ छ । 

४० कलाकारले नृत्य गर्न सक्ने मञ्च बनाइँदै
उद्घाटन समारोहका लागि भृकुटीमण्डपमा मञ्च डिजाइनको काम भइरहेको छ । उद्घाटन समारोह एवं मञ्च व्यवस्थापन समितिका संयोजक काठमाडौं जिल्ला सभापति सबुज बानियाँका अनुसार ४० जनासम्मले एकैपटक नृत्य गर्न मिल्ने गरी मञ्च बनाइनेछ । उद्घाटनस्थल र बाहिर पनि उद्घाटन सत्र प्रत्यक्ष हेर्न मिल्ने गरी स्क्रिनको समेत व्यवस्था गर्न लागिएको उनले बताए ।

‘उद्घाटन समारोह भव्य बनाउन सम्पूर्ण तयारी चलिरहेको छ,’ संयोजक बानियाँले भने, ‘सहज रूपमा बसेरै पनि उद्घाटन सत्र हेर्न मिल्ने गरी व्यवस्थापन गर्दै छौँ । उद्घाटन समारोहलाई छोटो बनाउने र केही सांस्कृतिक प्रस्तुति पनि राख्ने तयारी भइरहेको छ ।’ 

मौलिकता झल्कने गरी मञ्च निर्माण हुने उनले बताए । मञ्चनजिकै मिडिया सेन्टरको पनि व्यवस्थापन हुने उनले जानकारी दिए । निर्वाचनको कार्यक्रमअन्तर्गत मतदानका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र महेन्द्र पुलिस क्लब चयन गरिएको छ । 

५ करोड खर्च हुने अनुमान
कांग्रेसले महाधिवेशन अवधिभर करिब पाँच करोड रुपैयाँ खर्च हुने जनाएको छ । खर्च व्यवस्थापनका लागि सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वको अर्थ संकलन समिति क्रियाशील रहेको छ । समिति सदस्य दीपक खड्काका अनुसार समितिले दाता तथा व्यवसायीबाट प्राप्त सहयोग, उम्मेदवार र महाधिवेशन प्रतिनिधिबाट संकलन हुने रकमबाट खर्चको व्यवस्थापन गर्न लागिएको छ । ‘महाधिवेशन अवधिभर हामीले करिब पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरेका छौँ,’ सदस्य खड्काले नयाँ पत्रिकासँग भने, ‘त्यो रकम स्वेच्छिक दाता, व्यवसायी तथा उम्मेदवार र महाधिवेशन प्रतिनिधिले बुझाउने शुल्कबाट व्यवस्थापन गर्ने योजना बनाएका छौँ ।’ उनले महाधिवेशनमा हुने विषयगत खर्चको विवरण भने तयार हुने क्रममा रहेको बताए । ‘कुन शीर्षकमा कति खर्च हुन्छ भन्ने विवरण तयार पार्दै छौँ । एक–दुई दिनमा विस्तृत विवरण तयार हुन्छ,’ खड्काले भने । 

प्रधानमन्त्री भएपछि देउवा पहिलोपटक पार्टी कार्यालयमा 

पछिल्लोपटक प्रधानमन्त्री भएपछि देउवा पहिलोपटक पार्टी कार्यालय पुगेका छन् । २९ असारमा प्रधानममन्त्री बनेपछि देउवा पहिलोपटक केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् । महाधिवेशनको तयारीका विषयमा गठन भएका समितिका कामबारे जानकारी लिन उनी सोमबार सानेपा पुगेका थिए । पार्टी कार्यालयमा लगातार धर्ना र आन्दोलन जारी रहेपछि उनले पार्टीका बैठक आफ्नो निजी निवास बुढानीलकण्ठमा गर्दै आएका थिए । 

कसको नेतृत्वमा कुन समिति ?

महाधिवेशन तयारी मूल समिति 
- संयोजक : सभापति शेरबहादुर देउवा
- सदस्यहरू : केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, आमन्त्रित केन्द्रीय सदस्यहरू, संघीय संसद्का सदस्यहरू, सातवटै प्रदेशका प्रदेश संसदीय दलका नेता 

अर्थ संकलन समिति
- संयोजक : ज्ञानेन्द्रबहादुर कार्की

भोजन तथा आवास व्यवस्थापन 
- संयोजक : केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे

विदेशी पाहुना स्वागत तथा व्यवस्थापन 
 - संयोजक : सह–महामन्त्री डा. प्रकाशशरण महत

प्रचार प्रसार
- संयोजक : प्रवक्ता विश्वप्रकाश शर्मा

द्घाटन समारोह एवं मञ्च व्यवस्थापन
- संयोजक : काठमाडौं जिल्ला सभापति, सदस्य ः ललितपुर र भक्तपुर जिल्ला सभापति

स्वास्थ्य समिति 
- संयोजक : केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत

सांस्कृतिक समिति 
- संयोजक : केन्द्रीय सदस्य सीता गुरुङ

स्वयंसेवक व्यवस्थापन समिति 
- संयोजक नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्की राना

संस्थापनइतरलाई साझा उम्मेदवार छान्न सकस : आज केन्द्रीय सदस्यहरूको राय लिँदै 

१४औँ महाधिवेशनको पूर्वसन्ध्यामा संस्थापनइतर पक्षलाई सभापतिको साझा उम्मेदवार तय गर्न सकस देखिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको इतर समूहका नेताहरूले आ–आफ्नो दाबी नछाडेपछि साझा उम्मेदवार तय गर्न सकस परेको हो । 

संस्थापनइतर समूह एक हुन नसक्दा चारै नेताले आफूलाई सभापतिको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै आइरहेका छन्

सोमबार वरिष्ठ नेता पौडेलनिवास बोहोराटारमा बसेको बैठकले पनि कसलाई उठाउने भन्ने टुंगो लगााउन सकेन । सोमबार साँझ साझा उम्मेदवार तय गर्न वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह र शेखर कोइरालाबीच छलफल भएको थियो । साझा उम्मेदवारको विषय टुंगो नलागेपछि मंगलबार आफूपक्षीय केन्द्रीय सदस्यहरूलाई बोलाएर राय लिने समझदारी भएको छ । 

वरिष्ठ नेता पौडेलका अनुसार सोमबारको बैठकमा सभापति शेरबहादुर देउवाको विकल्पमा जसरी पनि साझा उम्मेदवार तय गर्नेबारे छलफल भएको थियो । ‘मैले तपाईंहरू मिलेर आए सहयोग गर्न तयार छु । होइन भने म सभापतिको उम्मेदवार बन्छु, तपाईंहरू सहयोग गर्नुहोस् भनेँ,’ चार नेताबीचको छलफलबारे जानकारी दिँदै पौडेलले नयाँ पत्रिकासँग भने, ‘सभापति शेरबहादुर देउवाबाट फिर्ता ल्याएर तीनवटै चुनावमा पार्टीलाई जिताएर तपाईंहरूलाई जिम्मा लगाउँछु । सहयोग गर्नुहोस् भनेँ । तर, बैठकमा नेता सिंहले आफू पहिले पहिले पनि त्याग गरेको भन्दै अडानबाट पछि नहटेपछि भोलि फेरि छलफल गर्ने गरी उठ्यौँ ।’ 

सबै आ–आफ्नै अडानमा रहेपछि शेखर कोइरालाले सभापतिमा आकांक्षीमध्ये कसलाई अघि सार्ने भन्ने जनमत बुझ्न प्रस्ताव गरेका थिए । सोही प्रस्तावअनुसार मंगलबार संस्थापनइतर पक्षले आफूपक्षीय केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ । 

‘जनमत कसको पक्षमा छ भनेर बुझ्न मंगलबार केन्द्रीय सदस्यहरूको बैठक बोलाउने सल्लाह भएको छ । दिउँसो १ बजे नेता सिंहको निवास चाक्सिबारीमा बस्दै छौँ,’ पौडेलले भने । उनले केन्द्रीय सदस्यको राय बुझेपछि थप निर्णय गर्ने बताए । 

इतर समूह एक हुन नसक्दा चारै नेताले आफूलाई सभापतिको उम्मेदवारको रूपमा प्रस्तुत गर्दै आइरहेका छन् । मंगलबार नै नेता सिंहले सभापतिको दाबेदारका रूपमा महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय खोल्ने भएका छन् । 

तयार हुँदै छन् झन्डा

कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सोमबार बागबजास्थित एक छापाखानामा झन्डा छाप्दै कामदार । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका 

एआइजीको कमान्डमा आठ हजार सुरक्षाकर्मी

कांग्रेसको १४औँ महाधिवेशनको सुरक्षाका लागि नेपाल प्रहरीले प्रविधिको उच्चतम प्रयोग गर्दै तीन तहको सुरक्षा प्रबन्ध गर्ने भएको छ । जसमा सिसिक्यामेरा अत्यधिक प्रयोग हुनेछन् । महाधिवेशन सुरक्षाको सम्पूर्ण कमान्ड रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयबाट हुनेछ । नेतृत्व कार्यालय प्रमुख एआइजी हरिबहादुर पाल आफैँले गर्नेछन् । उनको नेतृत्वमा नेपाल प्रहरीसहित सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहित आठ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन हुनेछन् । 

सुरक्षाको भित्री तहमा नेपाल प्रहरीका सुरक्षाकर्मी रहनेछन् । मतदान र सभास्थललाई भित्री तह मानिएको छ । दोस्रो तहमा राष्ट्रिय अनुसन्धान विभाग र नेपाल प्रहरीकै सादा पोसाकका सुरक्षाकर्मी रहनेछन् । मतदान हुने भवन, मतदाता राखिएका होटेल, गेस्टहाउस र त्यसआसपासका क्षेत्रलाई दोस्रो तह मानिएको छ । सशस्त्र प्रहरी भने बाहिरी घेरामा हुनेछन् । विशेषगरी मतदान तथा सभाहलआसपासका सडक, पेटी, अग्ला भवन, ओभरहेड ब्रिजलगायत क्षेत्रलाई बाहिरी घेरा मानिएको छ । 

कार्यालयका प्रवक्ता एसपी सुशीलसिंह राठौरले महाधिवेशन सुरक्षाका लागि आवश्यक तयारी पूरा भएको बताए । उनले भने, ‘कांग्रेस महाधिवेशन राजधानीमै हुँदै छ । सुरक्षा व्यवस्था मिलाउने काम महानगरीय प्रहरी कार्यालयलाई आउनु स्वाभाविक हो । आवश्यक तयारी पूरा भइसकेको छ । केही बाँकी पनि केही दिनभित्रै पूरा हुनेछन् । सात हजारभन्दा धेरै प्रहरी सुरक्षामा खटिनेछन् । सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पनि हामीसँगै रहनेछन् ।’

कार्यालयका अनुसार महाधिवेशनको सुरक्षाका लागि नेपाल प्रहरीले ‘हाइ टेक’ प्रणालीको पनि प्रयोग गर्नेछ । जसमा नाइट भिजनसहितको सिसिक्यामेरा अत्यधिक प्रयोग हुनेछ । कन्ट्रोल रुम भने रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयमै रहनेछ । जहाँ महाधिवेशन क्षेत्रआसपास हुने हरेक गतिविधिको विश्लेषण हुनेछ । शंकास्पद गतिविधि भएको देखिए तुरुन्तै सुरक्षाकर्मी खटाइनेछ । र गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिइनेछ ।

कार्यालय प्रवक्ता एसपी राठौरले भने, ‘हामीले महाधिवेशन सुरक्षामा प्रविधिको पनि प्रयोगलाई पनि उत्तिकै प्राथमिकतामा राखेका छौँ । महाधिवेशनआसपासका सबै क्षेत्र सिसिक्यामेराबाट कभरेज हुनेछ । कन्ट्रोल रुम भने कार्यालयमै रहनेछ । जहाँ हुने हरेक गतिविधिबारे सूक्ष्म विश्लेषण हुनेछ । शंकास्द देखि तुरुन्तै एक्सन हुनेछ ।’

महाधिवेशनमा हुन सक्ने अवान्छित गतिवधि रोक्न उपत्यका भित्रिने सबै नाकाको सुरक्षा कडा बनउन मातहतका निकायलाई निर्देशन भइसकेको छ । सोहीअनुसार नाकास्थित जाँच प्रक्रियालाई तीव्र पारिएको छ । यो क्रम अधिवेशनभर चल्ने एसएसपी राठौरले बताए । उनले भने, ‘उपत्यका भित्रिने नाकाको सुरक्षालाई चुस्त बनाउन निर्देशन भइसकेको छ । जाँच बढाइएको छ ।’ 

प्रदेश निर्वाचन
लुम्बिनीमा पौडेल पक्षका अमरसिंह पुन विजयी

अमरसिंह पुन

भैरहवा/लुम्बिनी प्रदेशको सभापतिमा पौडेल–कोइराला पक्षका अमरसिंह पुन विजयी भएका छन् । पुनले आठ सय ५२ मत प्राप्त गरे । देउवा पक्षका भरतकुमार शाह सात सय ६७ मत प्राप्त गरी पराजित भए । 

उपसभापति पदमा भने मिश्रित परिणाम आएको छ । पुनको प्यानलका भुवनप्रसाद श्रेष्ठ आठ सय ४७ मत र शाह प्यानलका राजु खनाल सात सय ९२ मत प्राप्त गरी विजयी भए । महामन्त्रीमा पुन प्यानलका विक्रम खनाल र सुरेन्द्रराज आचार्य निर्वाचित भए ।

खनालले आठ सय ४४ र आचार्यले आठ सय ३९ मत ल्याए । महिलातर्फको सहमहामन्त्रीमा पुन समूहकी निमा गिरी आठ सय ३० मत प्राप्त गरी विजयी भइन् । खुलातर्फका सह–महामन्त्रीमा पुन समूहका विष्णु खनाल र खगराज पाण्डे निर्वाचित भए । खनालले आठ सय ५९ र पाण्डेले सात सय ७६ मत प्राप्त गरी विजयी भएका छन् । शाह समूहका लक्ष्मीनारायण शाहले ६ सय ७६ मत ल्याए ।

प्रदेश १ मा देउवा–सिटौला पक्षको प्यानलै विजयी 

उद्धव थापा

विराटनगर/प्रदेश १ समितिको सभापतिमा देउवा–सिटौला समूहका उम्मेदवार उद्धव थापा विजयी भएका छन् । पौडेल–कोइराला समूहका गुरुराज घिमिरेलाई दुई मतअन्तरले पराजित गर्दै थापा विजयी भएका हुन् । थापाले आठ सय ४४ र घिमिरेले आठ सय ४२ मत ल्याए । झापानिवासी थापाले दुईपटकसम्म झापा कांग्रेसको सभापतिको जिम्मेवारी निर्वाह गरिसकेका छन् । सिटौलानिकट थापालाई देउवा समूहले साथ दिएको थियो । 

पराजित उम्मेदवार घिमिरे मोरङका हुन् । नेविसंघका पूर्वसभापति रहिसकेका घिमिरे कांग्रेसका पूर्व केन्द्रीय सदस्य पनि हुन् । पौडेल–कोइराला समूहले अर्का आकांक्षी राजीव कोइरालालाई बसाएर गुरुराजलाई सभापतिको उम्मेदवार बनाएको थियो । उता, देउवा–सिटौला समूहले केन्द्रीय सदस्य रहेका मोरङका अमृत अर्याललगायतलाई बसाएर थापालाई साझा उम्मेदवार बनाएको थियो ।

उपसभापतिमा संस्थापन पक्षकै टंकप्रसाद राई र रमेशजङ रायमाझी विजयी भएका छन् । महामन्त्रीमा संस्थापन पक्षका भूपेन्द्र राई र पौडेल–कोइराला समूहका उमेश थापा निर्वाचित भएका छन् । महिला सहमहामन्त्रीमा भने संस्थापनकी प्रमिलाकुमारी गच्छदार विजयी भइन् । 

प्रदेश २ अधिवेशन महाधिवेशनपछि मात्र हुने
जनकपुर/
कांग्रेसको प्रदेश २ अधिवेशन महाधिवेशनपछि गर्ने गरी स्थगित भएको छ । अधिवेशन उद्घाटन भएको पाँच दिनपछि स्थगित गरिएको हो । प्रदेश २ का निर्वाचन संयोजक तथा केन्द्रीय सदस्य रमेश रिजालले सोमबार बिहान पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशन स्थगित भएको जानकारी दिए । ‘प्रदेश निर्वाचन समितिलाई सबै जिल्लाबाट अधिवेशन प्रतिनिधिहरूको नामावली प्राप्त हुन सकेन । यस्तै, जनकपुरधाममा विवाहपञ्चमी पनि सुरु भएकाले निर्वाचनका थप कार्यक्रम अघि बढाउन सम्भव देखिएन,’ रिजालले पत्रकार सम्मेलनमा भने, ‘त्यसैले पार्टीको महाधिवेशनपश्चात् गर्ने गरी सबै पक्षको सहमतिमा प्रदेश अधिवेशन स्थगित गरिएको छ ।’

प्रदेश २ का आठ जिल्लामा ३२ निर्वाचन क्षेत्र छन् । तीमध्ये सप्तरी र रौतहटका एक–एक तथा सर्लाहीका चारवटै निर्वाचन क्षेत्रबाट मतदाताहरूको नाम निर्वाचन समितिलाई प्राप्त भएको छैन । त्यस्तै, महोत्तरी क्षेत्र नम्बर ३ को अधिवेशन रद्द भएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । अधिवेशन स्थगित हुनुअघि नै प्रदेश सभापतिमा तीनजनाले औपचारिक रूपमै उम्मेदवारी घोषणा गरेका छन् । देउवा समूहबाट रौतहट जिल्ला सभापति कृष्ण यादव, निधि समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र स्वतन्त्र उम्मेदवारका रूपमा रञ्जित कर्ण मैदानमा देखिएका छन् ।

ad
ad