१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १९:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतले संसदीय सुनुवाइ समितिमा के भने? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:३६:oo

बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत आचार्यले नेपालका प्रधानमन्त्रीहरूले बेलायतमा प्रशस्त भ्रमण गरेको उल्लेख गर्दै बेलायतका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको पनि नेपाल भ्रमण गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। बेलायतका राष्ट्र प्रमुखले नेपालको भ्रमण गरे पनि सरकार प्रमुखले हालसम्म भ्रमण गरेका छैनन्। दुई देशको सम्बन्धलाई अझै सुदृढ बनाउन सरकार प्रमुखको रूपमा बेलायतका प्रधानमन्त्रीको नेपाल भ्रमण गराउन उपयुक्त हुने उनको तर्क थियो। प्रस्तावित राजदूत आचार्यले नेपालमा लगानी भित्र्याउन पनि आफूले अधिकतम कोसिस गर्ने बताए। 

अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले एमसिसी लिने वा नलिने अमेरिकालाई प्रस्टसँग भन्नुपर्ने बताए। खत्रीले एमसिसीबारे नेपाल र अमेरिका दुवै देशका अधिकारीहरूले भ्रम फैलाउने काम गरेको दाबीसमेत गरे। उनले सो सम्झौतालाई इन्डो–प्योसिफिक स्ट्राटेजीसँग जोडेर हेर्न नहुने बताए। प्रस्तावित राजदूत खत्रीले एमसिसी अनुदान भएको र ऋण तिर्नु नपर्ने स्पष्ट पारे। यो सम्झौता दुई मुलुकबीचको पार्टनरसिपमा अगाडि बढने उनको  भनाइ छ। 

त्यसैगरी, भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले नेपाल र भारतबीचमा विश्वासको सम्बन्ध बनाउनुपर्ने बताए। उनले आपसमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सुधारका लागि दुई देशबीच विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिए। आपसी विश्वास कायम गर्न सकेमा धेरै कामहरू गर्न सकिने प्रस्तावित राजदूत शर्माले बताए। नेपालको आवश्यकता र राष्ट्रिय हितको विषयलाई रणनीतिक रूपमा अगाडि लिएर जानुपर्ने आवश्यकता पनि उनले औँल्याए। 

उनले भारतमा प्राप्त अवसरहरुलाई नेपालको समृद्धिको लागि उपयोग गर्दै अगाडि बढ्ने बताए। बैठकमा सांसदहरूले आर्थिक कूटनीतिमा जोड दिएर मुलुकको समृद्धिका लागि आवश्यक वातावरण बनाउन प्रस्तावित राजदूतहरूलाई सुझाब दिएका थिए। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बाह्य मुलुकमा रहेका नेपालीहरूको सीप र धनलाई राष्ट्र निर्माणमा उपयोग गराउनका लागि राजदूतले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले भूतपूर्व गोरखा सैनिकहरूको माग सम्बोधन गराउन पनि बेलायतका लागि प्रस्तावित राजदूत आचार्यले भूमिका खेल्नुपर्ने बताए। 

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद जितेन्द्र देवले नेपाली राजदूतहरूले राष्ट्रकै प्रतिनिधिको रूपमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का सांसद देवप्रसाद गुरुङले राजदूतहरूले आर्थिक कूटनीतिमा जोड दिएर परराष्ट्र सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने बताए। 

ad
ad