मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ मङ्सिर १९ आइतबार १४:३०:००
Read Time : > 4 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्रपा महाधिवेशनमा पूर्वराजाको भूमिका के थियो ? 

Read Time : > 4 मिनेट
२०७८ मङ्सिर १९ आइतबार १४:३०:००

२०७४ को स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीले सर्मनाक पराजय भोगेपछि आयोजित केन्द्रीय समिति बैठकमा राप्रपा अध्यक्ष कमल थापाले पार्टीबाट राजीनामा घोषणा गरे। बैठकमा थापाको भनाई थियो, ‘मैले राजीनामा घोषणा गरें। तपाईँहरुले सहमतिमा अध्यक्षको नाम अर्को बैठकमा प्रस्तुत गर्नुहोला।’ त्यसबेला राप्रपा फुटिसकेको थियो। पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा राप्रपाका दुई अलग अलग समूह क्रियाशील थिए। 

पार्टीका एक मात्र सांसद निर्वाचित राजेन्द्र लिङ्देनले थापालाई भेटेर राजीनामा दिनबाट रोके। लिङ्देनले साथ दिने बचन दिएपछि थापा पछि हटे। त्यसअघि नै लिङ्देन र थापाले ताप्लेजुङ्को पाथिभरा मन्दीरमा गएर एकले अर्कालाई जीवनभरि सघाउने कसम खाएका थिए। थापाका सबैभन्दा भरपर्दा सारथी लिङ्देन थिए। 

तर, एक बर्ष नबित्दै यो सम्बन्ध कायम रहेन। पार्टी अध्यक्षको अधिकार कटौति हुने गरि पार्टीको विधान संशोशन गर्ने तयारी भयो। गोविन्द खनियाँ नेतृत्वको पार्टी विधान संशोधन समितिमा लिङ्देन र धवल शमशेर राणा पनि सदस्य थिए। थापाले आफ्नो अधिकार कटौति गर्ने तयारीमा लिङ्देन र धवल लागेको भन्दै पार्टीको पदाधिकारी नै विघटन गरिदिए। त्यहाँबाट शुरु भएको दुई नेताबीचको अविश्वास अहिले चुनावमा प्रतिस्पर्धा गर्ने चरणसम्म आइपुगेको जानकार राप्रपा नेताहरु बताउँछन्। त्यसबेला विधान संशोधनको प्रयास असफल भयो। मन र मुटु मिलेका थापा र लिङ्देनबीच त्यसपछि खुलेर संवाद समेत भएको थिएन। जबकि २०६३ पछि गठित राप्रपा नेपालका यी दुई नै मुख्य नेता थिए। 

पछि थापाले राणा नेतृत्वको पार्टीसँग एकीकरण गर्दा वा केन्द्रीय सदस्य, पदाधिकारीको मनोनयन गर्दा लिङ्देनसँग सरसल्लाह गरेनन्। लिङ्देनले कि त सञ्चारमाध्यमबाट कि त थापाका सहयोगीहरुबाट निर्णय भएपछि मात्रै थाहा पाउन थाले। ‘त्यसपछि थापा र लिङ्देनबीच शुरु भएको बिबाद अहिले उत्कर्षमा पुगेको मात्र छैन, दुईजना आपसी प्रतिस्पर्धीका रुपमा देखिने परिस्थिति बनेको हो’ राप्रपाका एक नेता भन्छन्, ‘कुनै समय पाथिभारा मन्दीरमा गएर एक अर्कालाई असहयोग नगर्ने कसम खाएका थापा र लिङ्देन प्रतिस्पर्धी भए।’ केही समयअघिको अनौपचारिक कुराकानीमा लिङ्देनले पाथीभराको कसम आफूले होइन, कमल थापाले पहिले नै तोडेको बताएका थिए। 

२०४७ जेठ १५ मा स्थापना भएको राप्रपा नेपालमा कम्युनिस्टपछि धेरै पटक विभाजन भएको राजनीतिक दल हो। चार वर्षअघि ६ फागुन २०७३ मा एकीकृत भएको राप्रपा तीन समूह हुँदै २०७६ फागुन २४ मा एक भएको थियो। त्यसपछि महाधिवेशनबाट कमल थापा अध्यक्षमा निर्वाचित भएका थिए। तर, त्यसपछि राप्रपा फेरि तीन टुक्रा भएर एक  भएको छ। फेरि एकता भएपछिको महाधिवेशन भएकाले अहिले पनि एकता महाअधिवेशन भनिएको हो। 

महाधिवेशनमा दोस्रो पुस्ताका तर्फबाट थापालाई टक्कर दिने योजना शुरुमा लिङ्देनको होइन  नेपालगञ्जका मेयर एवं नेता धवल शमशेर राणाको हो। उनले खुलेरै थापाको आलोचना गरेका थिए। नेतृत्वको आलोचना गरेबापत् राणालाई थापाले पार्टी छाड्नसमेत दबाब दिएका थिए। तर, राणाले लिङ्देन लगायतलाई थापा विरोधी मोर्चामा मनाएनन् मात्रै, नेतृत्व नै स्वीकार गरेर यहाँसम्म ल्याइपुर्‍याएको एक नेता बताउँछन्। शुरुमा लिङ्देन र राणाको प्रयासलाई विक्रम पाण्डे, जयन्त चन्दले साथ दिने बताएका थिए। उनीहरुबीच धेरै चरणमा संयुक्त छलफल भएर थापालाई टक्कर दिने, नयाँ उम्मेदवार उठाउने सहमति भयो। तर, चन्द र पाण्डेले अन्तिममा साथ दिएनन्। चन्द थापा पक्षमा लागे भने पाण्डे थापा र लिङ्देन दुबैतिर ठिक्क भए। भविष्यको शक्ति समीकरणलाई ध्यानमा राख्दै दुवै समूहले पाण्डेलाई अस्वीकार गर्न सकेन। 

तीन दशकभन्दा बढी समयदेखि नेतृत्व गर्दै आएका र पार्टी स्थापनादेखि पदाधिकारी रहँदै आएका अध्यक्ष त्रय थापा, राणा र लोहनीबाट अब पाँच वर्षमा चमत्कार नहुने भन्दै लिङ्देनले कार्यकर्तालाई आफ्नो औचित्य बुझाउन खोजे। उनको निरन्तर भनाई थियो, ‘अब पुरानो पुस्ताको हातमा पार्टी गयो भने पार्टी समाप्त हुन्छ, समाप्त भएको पार्टी सम्हाल्न पाँच वर्ष धैर्य गर्ने होइन, पार्टीलाई अहिले नै सम्हाल्नुपर्छ। समाप्त भइसकेको पार्टी अब सम्हाल्न सकिँदैन। पुराना नेताहरुको व्यक्तिगत चाहनाको पछि लागेर पार्टीलाई समाप्त पार्ने धैर्य राख्न सकिँदैन।’अध्यक्ष थापा भने २०६३ पछि हिन्दु राष्ट्रको मुद्दा आफैंले स्थापित गरेको तर आफूविरुद्ध निरन्तर घेराबन्दी भएका कारण पार्टीले पछिल्लो निर्वाचनमा पराजय व्यहोरेको भन्नेमा छन्। राणा र लोहनीभन्दा आफू पृथक देखाउन चाहन्थे थापा। 

दरबारको भूमिका के थियो ? 
राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले आइतबार विहान निर्वाचित अध्यक्ष लिङ्देनलाई सामाजिक सञ्जालमार्फत् बधाई दिने क्रममा पूर्व राजा ज्ञानेन्द्र शाहलाई बधाई दिए र निर्मल निवासको हस्तक्षेप आरोप लगाउँदै निन्दा गरे। उनको यो भनाईले राप्रपाको महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्रको रुची मात्र होइन, उनको सक्रियतासमेत उजागर गरिदिएको छ। त्यसो त, दुई साताअघि पूर्वराजासँग थापाको भलाकुसारी निर्मल निवासमै भएको थियो जहाँ पार्टी महाधिवेशनबारे कुराकानी भएको थियो। शुरुमा थापा र डा. प्रकाशचन्द्र लोहनीसँग कुराकानी गरेपछि मात्रै पूर्वराजा ज्ञानेन्द्रले गत आइतबार राप्रपा नेताद्वय लिङ्देन र धवलशमशेर राणासँग निर्मल निवासमै कुराकानी गरेका थिए। करिब तीन घण्टा लामो बसाईमा पूर्वराजाले कुरा सुने, धेरै बोलेनन्। कुराकानीबारे जानकार राप्रपा नेताहरुका अनुसार ज्ञानेन्द्रले ‘गो अहेड’ भनेका थिए, जुन कुरा ज्ञानेन्द्रले थापालाई पनि भनेका थिए। यद्यपि लिङ्देनले आफूलाई पूर्व राजाको समर्थन र सहानुभूति रहेको खुलासा नयाँ पत्रिकालाई दिएको अन्तर्वार्तामा गरेका थिए। 


थापा निकट नेताहरुका अनुसार पूर्वराजाका सहयोगीहरु पशुपतिभक्त महर्जन, सागर तिमल्सिना, डा. फणीराज पाठकले आन्तरिकरुपमा लिङ्देनका पक्षमा भूमिका निर्वाह गरेका थिए। पाठक त लिङ्देन निकट नेताहरुको घर र कार्यालयसमेत पुगेका थिए। थापा निकट एक नेताले नयाँ पत्रिकासँग भने, ‘दरबारका सहयोगी महर्जनले मलाई नै फोन गरेर थापालाई सहयोग नगर्नु भनेका थिए। मैले यो काम गर्न सक्दिन भनिदिएँ।’ 

स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र संविधान जारी हुने समयदेखि थापासँग असन्तुष्ट थिए। त्यसबेला ज्ञानेन्द्रले संविधान जारी गर्ने प्रक्रियामा सहभागी नहुन आग्रह गरेका थिए। जबकी २०७२ को संविधानको अन्तिम मस्यौदामा थापाले हस्ताक्षर मात्रै गरेनन्, त्यसपछि गठित केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीका रुपमा सहभागी भए। उनले त्यसबेला अन्तर्राष्ट्रिय मञ्चहरुमा गएर आफ्नो सैद्धान्तिक असहमति रहे पनि प्रजातान्त्रिक प्रक्रिया तथा समावेशीकरणका हिसाबले नेपालको संविधान विश्वकै उत्कृष्ट भएको जिकिर गर्दै आएका थिए। संविधानको पक्षमा थापा सक्रिय भएकोमा पूर्वराजा र उनको समूह असन्तुष्ट थियो। त्यसपछि पूर्वराजाले असहयोग गर्दै आएको थापा समूहको आरोप छ। थापा भने त्यसपछि प्रचण्ड र शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भए, जसका कारण पार्टीभित्र फुट मात्र आएन, निर्वाचनमा राप्रपा करिब करिब बढारियो। 

पूर्वराजाका खास मानिस भनिने नेताहरु रामकुमार सुब्बा, टंक ढकाल, राजेन्द्र गुरुङ, दिनेश श्रेष्ठ, दुर्गा श्रेष्ठहरुले लिङ्देनलाई समर्थन गरे। थापाले पूर्वराजासँग सम्बन्ध सुधारका लागि अनेक प्रयत्न गरे, तर पूर्वराजाले अगाडि ठिक्क पारेको र पछाडि असहयोग गरेको थापा पक्षको आरोप छ। थापाले टेलिभिजन कार्यक्रममार्फत् पूर्वराजालाई राप्रपाभित्र चलखेल नगर्न पहिले नै आग्रह गरेका थिए। उनले महाधिवेशन उद्घाटनका समयमा आफू राजा आउ देश बचाउको पक्षमा नरहेको भन्दै पूर्वराजाप्रति असन्तुष्टि जनाएका थिए। राजसंस्थाका बिषयमा आफ्नो सैद्धान्तिक मान्यता मात्र रहेको तर पूर्वराजाप्रति व्यक्तिगतरुपमा आफ्नो आग्रह केही नरहेको थापाले भन्दै आएका थिए। थापालाई पूर्वराजाले पछिल्लो समयमा देखिने गरि नै बेवास्ता गर्न थालेका थिए। पूर्वराजा जन्मदिन मनाउन यो वर्ष दमक पुगेका थिए। थापा पनि संयोगबस झापामा थिए। थापाले शुभकामना दिन भेट्ने इच्छा जनाए, तर पूर्वराजाले भेट्न चाहेनन्। 
राप्रपाका एक बरिष्ठ नेताले भने, ‘अब थापा समूहले राजाको एजेन्डा छाडेर हिन्दु राष्ट्रको एजेन्डा मात्रै लिएर नयाँ दल खोल्यो भने पनि आश्चर्य नमाने हुन्छ।’ तर थापा पक्षका एक प्रभावशाली नेताले पनि भविष्यमा यसबारे छलफल हुन सक्ने संकेत गरे, तर आवेशको प्रतिक्रियालाई त्यही रुपमा लिन आग्रह गरे।