१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १६ बिहीबार
  • Wednesday, 04 June, 2025
शुरोजंग पाण्डे नयाँ पत्रिका
२o७८ मङ्सिर १६ बिहीबार o६:o३:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एक दशकभन्दा बढी सँगै जेल बसेका सहयात्रीलाई पनि सम्झेनन् ओलीले

Read Time : > 3 मिनेट
शुरोजंग पाण्डे, नयाँ पत्रिका
नयाँ पत्रिका
२o७८ मङ्सिर १६ बिहीबार o६:o३:oo

एमालेको दशौँ महाधिवेशन सर्वसम्मत नेतृत्व बनाउने ‘म्यान्डेट’ पाएका केपी ओलीले नयाँ नेतृत्व छनोटमा स्वेच्छाचारी शैली अपनाएका छन् । निर्विरोध नेतृत्व छनोट गर्ने कसरतमा ओलीको स्वेच्छाचारिताको निसानाको सूची लामै छ, महाधिवेशन समापनसँगै असन्तुष्टि पनि छरपस्ट छ । तर, त्यसको पहिलो सिकार उनकै गृहजिल्ला झापाका जेल सहयात्री नरेश खरेल बनेका छन् । 

नख्खु जेल ब्रेकर खरेल केन्द्रीय कमिटीमा अटाएनन्

झापाका पुराना कम्युनिष्ट नेता खरेल भन्छन्–संसद् विघटन ठीक हो भनिनँ, आलोचना गरेँ, त्यही एउटा कारण ओलीले मलाई सर्वसम्मत सूचीमा नसमेटेको जस्तो लाग्छ । तर, कुनै गुनासो छैन । पद र प्रतिष्ठाको आकांक्षा राखेको छैन । चिन्ता म नसमेटिएकोमा होइन, मजस्ता धेरै साथी समेटिनुभएन भने समस्या हुन्छ भन्नेमा हो ।

छैटौँ महाधिवेशनदेखि लगातार केन्द्रीय कमिटीमा रहेका खरेल तीन सय एकसदस्यीय केन्द्रीय कमिटी घोषणाको सूचीमा परेनन् । ओली र खरेलले ०२९ मा झापा जिल्ला कमिटीबाट सँगै राजनीतिक यात्रा सुरु गरेका थिए । ओलीले १४ वर्ष र खरेलले १७ वर्ष जेलजीवन बिताए । सूचीमा नपरे पनि मनोनयन दर्ता गरेका खरेलले हरेस खाएर मतदान सुरु हुनु केही घन्टाअघि मध्यरातमा केन्द्रीय सदस्यको उम्मेदवारी फिर्ता लिए । ओलीनिकट नेताहरूले अधिकांश प्रतिनिधिलाई हराउने सूचीमा खरेलको पनि नाम राखेर बाँडे ।

१७ वर्ष जेलजीवन बिताएका खरेल ०३३ मा सिपी मैनालीसँगै नख्खु जेल ब्रेक गर्ने जीवित इतिहास हुन् । तर, सर्वसम्मत नेतृत्व चयन गर्दा नवौँपछिका केन्द्रीय सदस्य दोहोरिने मापदण्ड तय भएको विश्वासमा उम्मेदवारी दिएका खरेल ओलीको सूचीमा अटाएनन् । त्यसरी सूचीमा नपर्नुका एक मात्र कारण ओलीले गरेको संसद् विघटनको आलोचना हुन सक्ने उनको बुझाइ छ ।

‘मैले संसद् विघटन ठीक हो भनिनँ, आलोचना गरेँ । त्यही एउटा कारण मलाई सर्वसम्मत सूचीमा नसमेटेको हो कि भन्ने लाग्छ । तर, कुनै गुनासो छैन किनभने पद र प्रतिष्ठाको मैले आकांक्षा राखेको छैन,’ उनले भने, ‘चिन्ता म नसमेटिएकोमा होइन, मजस्ता धेरै साथी समेटिनुभएन भने समस्या हुन्छ भन्नेमा हो ।’

खरेललाई ओलीले समेट्न सक्छन् भन्ने सानो विश्वास थियो । ‘विधान महाधिवेशनले दुई सय २५ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गर्‍यो । अहिलेकै केन्द्रीय कमिटीलाई सर्वसम्मत बनाएर लैजाने भनिएको थियो,’ उनले भने, ‘झापा आन्दोलनदेखि उहाँसँगै सहयात्रा गरेकाले पर्छु कि भन्ने लागेको थियो, किनकि म ५५ वर्षदेखि राजनीतिमा थिएँ ।’

खरेल मात्र होइन, निवर्तमान केन्द्रीय सदस्यहरू धर्म निरौला, विशाल भट्टराई, सुरेन्द्र मानन्धर, दामोदर भण्डारी, गोमा देवकोटा, राधा ज्ञवाली, भास्कर काफ्लेसहित थुप्रै नेता ओलीको सर्वसम्मत सूचीमा अटाएका थिएनन् । उम्मेदवारी हालेका मानन्धरले अन्तिममा फिर्ता लिएका थिए भने काफ्ले प्रदेश १ को भूगोलमा बागी उम्मेदवार बनेर पराजित भए । सूचीमा नपरेका निवर्तमान केन्द्रीय सदस्यमध्ये केहीलाई ओलीले सल्लाहकार कमिटी र केहीलाई प्रदेश अध्यक्ष बनाउने आश्वासन दिएका छन् ।

सामान्यतया सबै पार्टीको महाधिवेशनमा नेतृत्व छान्ने दुईवटा विधि प्रयोग गरिन्छन्– सर्वसहमति र चुनावी । तर, दशौँ महाधिवेशनमा ओलीले ती दुवै विधिको सफल प्रयोग मात्र गराएनन्, आफू सर्वशक्तिमान बन्न सजगताका साथ लोकतान्त्रिक ती दुवै विधिकै सहारा लिए । एकातिर महाधिवेशनको सार्वभौम मानिने प्रतिनिधिबाट अध्यक्षमण्डललाई सर्वसम्मतिको सूची प्रस्तुत गर्ने ‘म्यान्डेट’ लिए भने अर्कोतिर प्रतिस्पर्धा चाहनेको आवाजको पनि कदर गर्दै चुनाव पनि गराए । 

यद्यपि, टिम छनोट भने सर्वसम्मतिको म्यान्डेटका नाममा निश्चित विधि र मापदण्डविनै कोर टिमसँग मात्र परामर्श लिएर आफूले रुचाएकालाई निर्विरोध निर्वाचित गराए भने चुनावी प्रक्रियाबाट पनि आफ्नो छनोटलाई ल्याए । सर्वशक्तिमान बन्ने चाहना पूरा गर्न नेतृत्व छनोट प्रक्रियामा दुवै विधि प्रयोग गरेर ओली एमालेको दोस्रोपटक अध्यक्ष निर्वाचित भएका छन् । 

आफू मात्र होइन, सिंगै कमिटी सर्वसम्मत बनाउने योजना असफल भएपछि आफूले रुचाएकाबाहेक कसैलाई पनि केन्द्रीय कमिटीमा प्रवेश गर्न नदिने नीति अख्तियार गरे । ओलीको योजना साकार पार्न उनीनिकट नेताहरूले निर्वाचन आचारसंहिताविपरीत मत हाल्नुनपर्ने ११ नेताको सूची नै बाँडिएको थियो । 

मतदानको केही घन्टाअघि उम्मेदवारी फिर्ता लिएका खरेल र मानन्धरको नामसमेत मत हाल्न नहुने सूची राखेर बाँडिएको थियो । त्यही सूचीमा अध्यक्षका उम्मेदवार भीम रावल, उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल, सचिवका उम्मेदवारहरू भीम आचार्य र टंक कार्कीका साथै कृष्णप्रसाद जैसी, एलबी रावल, भरत सावद, मञ्जु मलासी र पशुपति कुँवरको पनि नाम समावेश थियो । खासमा अन्तिम नामावली आउँदासम्म खरेल र मानन्धरको नाम फिर्ता नभएकाले मतदाता झुक्किने त्रासले उनीहरूको नामसमेत मत नहाल्ने सूचीमा थियो । 

‘मलाई त त्यसबारे केही जानकारी छैन । बाटोमा आउँदा–आउँदै पत्रकार साथीहरूले पो जानकारी दिनुभयो । नाम नपरेपछि ध्यानाकर्षण गराएर फिर्ता लिएँ, कसले त्यस्तो गर्‍यो अहिले भन्न सक्दिनँ । कतै उठिहाल्ला कि भन्ने आतंकले पनि हुन सक्छ, तैपनि लेखियो के भन्ने र ?’ खरेलले नयाँ पत्रिकासँग भने । एमालेभित्र निरंकुश तानाशाही प्रवृत्ति हुर्किंदै गएको भन्दै खरेलले नयाँ नेतृत्वले सबैलाई नसमेट्ने र मिलाएर नलैजाने हो भने एमाले कमजोर बन्ने ठोकुवा गरे । 

‘मेरो अस्तित्व पनि कसैले मेट्न सक्दैन । एमालेको अझै भविष्य छ । पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ । तर, नेतृत्वले सबैको समर्थन जुटाउन सक्दा मात्र त्यो सम्भव हुन्छ । सबैलाई समेट्ने, मित्रशक्तिलाई समेट्ने कि, सानो समूहलाई नेतृत्व गर्ने त्यो नेतृत्वको योग्यता र क्षमतामा भर पर्छ,’ खरेलले भने, ‘कतिपय साथीहरूको निष्कर्ष अध्यक्ष केपी ओलीले त्यस्तो नेतृत्व दिन सक्नुहुन्न भन्ने छ, तर मैले त्यस्तो निष्कर्ष निकालेको छैन ।’

उनले ओलीका कारण एमाले कमजोर हुन सक्ने संकेत गरे । ‘पञ्चायत आफैँ सकियो । सीमित पञ्चलाई मात्र पञ्च मान्दा खासगरी मरिचमानका कारण पञ्चायत सकियो । राजतन्त्र पनि आफ्नै कारणले सकियो,’ खरेलले भने, ‘त्यसकारण यदि कमजोर भयो भने एमाले अरूका कारणले होइन, आफ्नै कारणले हुने हो । पार्टीले सबैको योगदानलाई समेट्छ कि समेट्दैन भन्ने प्रश्न छ ।’ 

मनोनयनदेखि घोषणासम्म त्रुटि

सर्वसम्मतिको कसरतका लागि दुई दिन महाधिवेशन लम्ब्याइए पनि उम्मेदवारी मनोनयनदेखि घोषणासम्म प्राविधिक त्रुटि देखिएको छ । भीम रावल र टंक कार्की दुवैलाई विजय घोषणा गरिए पनि रुजुसहित मतपरिणाम सार्वजनिक हुँदा रावल पराजित भएका छन् भने कार्की विजयी घोषित भएका छन् । 

जब कि मतपरिणाम घोषणामा निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले कार्कीलाई सुरुमा विजयी घोषणा गरेका थिए भने फेरि सच्याएर पराजित भएको जानकारी गराएका थिए । रावलले नौ सय चार र कार्कीले नौ सय पाँच मत पाएका छन् । त्यस्तै, थारू क्लस्टरका उम्मेदवारको मत घोषणामा पनि त्रुटि देखियो । तर, घोषणासभामा भएका दुवै त्रुटिलाई सच्याएर आयोगले अन्तिम नतिजा सार्वजनिक गरिसकेको अध्यक्ष सुब्बाले बताए । ‘एक मत बढी ल्याएर टंकजी नै विजयी हुनुभएको छ । घोषणा कार्यक्रममा कन्फ्युजन देखिएपछि भोटिङ मेसिन भिडाएर रुजु गर्दा भीम रावल केन्द्रीय सदस्यमा पनि पराजित हुनुभएको छ,’ उनले भने, ‘थारू क्लस्टरमा पनि मतपरिणाम फरक भएको पाइयो, सच्याएर अन्तिम नतिजा सार्वजनिक गरेका छौँ ।’ सुरुमा जयप्रकाश थारू विजयी घोषित भए पनि रुजु गर्दा नरुलाल चौधरी निर्वाचित भएका छन् ।

छुटाउनुभयो की ?