मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ मङ्सिर १५ बुधबार ०६:३४:००
Read Time : > 9 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

संगठन विस्तार र चुनाव ओलीको प्राथमिकता

पार्टी विभाजन भएर गम्भीर संगठनात्मक क्षति व्यहोरेका तथा सत्ताबाट प्रतिपक्षमा पुगेका ओलीलाई नेतृत्व चयनमा देखिएको असन्तुष्टि र पाँचदलीय गठबन्धन चुनौती

Read Time : > 9 मिनेट
२०७८ मङ्सिर १५ बुधबार ०६:३४:००

दोस्रो कार्यकालका लागि एमालेको अध्यक्ष बनेका केपी ओलीले संगठन विस्तार र आगामी तीनै तहको चुनावलाई आफ्नो प्राथमिकता बनाएका छन् । अध्यक्षमा पुनः निर्वाचित भएका ओलीले पार्टीका सम्पूर्ण कमिटीलाई चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् । दशौँ महाधिवेशनले पाँच वर्षका लागि निर्विरोध र निर्वाचन गरेर १९ पदाधिकारीसहित तीन सय एक सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । 

विभाजन भएर पार्टीमा गम्भीर संगठनात्मक क्षति व्यहोरेका तथा सत्ताबाट प्रतिपक्षमा पुगेका ओली चुनावमार्फत सत्तामा पुनरावगमन चाहन्छन् । तर, दशौँ महाधिवेशनमा नेतृत्व चयन प्रक्रियालाई लिएर एमालेभित्रै असन्तुष्टि बढेको छ । दशौँ महाधिवेशनबाट आगामी चुनावलाई केन्द्रमा राखेर संगठन विस्तारलगायत अभियानलाई अगाडि बढाउने प्रस्ताव एमाले पारित गरेको छ । आगामी आमनिर्वाचनबाट मुलुकको सबभन्दा ठूलो दल बन्ने र सरकारको नेतृत्व गर्ने उद्देश्यका साथ महाधिवेशनबाट चुनावकेन्द्रित समसामयिक प्रस्ताव पारित गरिएका छन् । चितवनको सौराहामा सम्पन्न महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै ओलीले तीनमहिने संगठन विस्तार अभियानको घोषणा गरेका छन् । ‘हामी तीन महिनासम्म अब एकीकरणको अभियान सञ्चालन गर्नेछौँ । कार्यकर्ता एकीकरणको अभियान, कार्यकर्ता प्रवेशको अभियान सञ्चालन गरिनेछ । विभिन्न पार्टीबाट कार्यकर्ता प्रवेश गराउनुपर्छ । एउटा अभियान सिर्जना गरेर पार्टीलाई माथि उठाउनुपर्छ,’ ओलीले भने । 

उनले नेता मात्रै भएका पार्टीसँग एकता गरेर चुनाव जित्न नसकिने भन्दै कार्यकर्तालाई पार्टी प्रवेश गराउने र अब विभिन्न पार्टीबाट एमाले प्रवेशको लहर चल्ने दाबी गरे । ओलीले माओवादीसहितका पार्टीहरूबाट नेता–कार्यकर्ता एमाले प्रवेश गराउने योजना बनाएका छन् । महाधिवेशनको उद्घाटनमा ओलीले ठूलो संख्यामा पूर्वलडाकुहरू एमाले प्रवेश गर्न थालेको दाबी गरेका थिए । ओलीले पार्टी एकीकरण अभियान सञ्चालनका साथै पोलिटब्युरो र स्थायी समिति गठनका विषयमा निर्णय गर्न २५ र २६ मंसिरमा केन्द्रीय कमिटीको दोस्रो बैठक डाकिने बताए । त्यही बैठकले पार्टीले आगामी कार्ययोजना तय गर्ने पनि उनको भनाइ थियो । केन्द्रीय कमिटीको पहिलो बैठक भने मंगलबार (१४ मंसिर) मै बसेको थियो । 

एमालेमाथि आन्तरिक र बाह्य दुवैतिरबाट हमला भइरहेकाले पार्टी एकता मजबुत बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै ओलीले गम्भीर बनेर सक्रियतापूर्वक अगाडि बढ्न निर्वाचित केन्द्रीय सदस्य र आयोगका सदस्यहरूको ध्यानाकर्षण गराए । ‘हामीमाथि बाहिरी र भित्री दुवैतिरबाट डरलाग्दो हमला छ, सबै प्रकारका हमलाबाट पार्टीलाई जोगाएर जानुपर्छ । अझ मजबुत, गतिशील बनाएर जनतामा एक–एक गरेर हामीले अरू थप सफलताका लागि बढ्नु छ । यो दिशामा सक्रियता, गम्भीरताका साथ सिंगै पार्टी एकता भएर अगाडि बढ्न आग्रह गर्छु,’ ओलीले भने ।

एमालेले पार्टीको महाधिवेशनबाट जारी १७ बुँदे समसामयिक प्रस्तावमा पनि संगठन र चुनावलाई प्राथमिकता दिएको छ । एमाले संगठन विस्तार गरेर चुनावमा जित हासिल गर्ने रणनीतिमा छ । प्रस्तावमार्फत केही व्यक्तिहरूका निहित स्वार्थ र दुराशयका कारण राजनीतिक स्थायित्वलाई भत्काएर मुलुकलाई पुनः अस्थिरतातिर धकेल्ने प्रयास भइरहेको भन्दै एमालेमा आबद्ध हुन आग्रह गरेको छ ।

‘महाधिवेशन राजनीतिक स्थायित्व र बलियो राष्ट्रिय शक्ति निर्माणका लागि छरिएर रहनुभएका सबै सच्चा वामपन्थी, लोकतान्त्रिक तथा देशभक्त कार्यकर्ताहरूलाई सबैखाले भ्रम, अन्योल र द्विविधाबाट मुक्त भएर नेकपा (एमाले)मा आबद्ध हुन आह्वान गर्दछ,’ प्रस्तावमा छ । त्यसका लागि एमालेले पार्टीका सबै तहका कमिटीलाई संगठनात्मक व्यवस्थापनलाई तत्काल तीव्रता दिनसमेत आह्वान गरेको छ । ‘महाधिवेशन पार्टीका सबै तहका कमिटीहरूलाई निर्वाचनको तयारीमा लाग्न अनुरोध गर्दछ । आफ्नो कार्यक्षेत्रमा पार्टीको विजय सुनिश्चित गर्न, त्यसका लागि आवश्यक संगठनात्मक व्यवस्थापनलाई तत्काल तीव्रता दिन आह्वान गर्दछ,’ पारित प्रस्तावमा छ ।

एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई निरन्तरता दिँदै जनताको जनादेशसहित छिटै राज्यको नेतृत्वदायी भूमिकामा स्थापित हुने आकांक्षासमेत राखेको छ । त्यसका लागि ‘वैचारिक रूपमा अझ सुस्पष्ट, संगठनात्मक रूपमा थप व्यवस्थित र सुदृढ, भावनात्मक रूपमा अझ आत्मीय तथा अनुशासित पार्टीका रूपमा स्थापित गर्ने’ संकल्प एमालेले गरेको छ । दशौँ महाधिवेशनको उद्घाटन समारोहमा पनि ओलीले देशभरबाट ठूलो संख्यामा उपस्थित नेता–कार्यकर्तालाई सम्बोधन गर्दै बहुमत हासिल गर्ने योजनासहित एमाले चुनावतिर प्रवेश गरेको सुनाएका थिए ।

‘कुनै न कुनै समयमा निकट भविष्यमा अब चुनावहरू आउँदै छन् । स्थानीय तहको चुनाव आउँदै छ, प्रदेश सभाको चुनाव आउँदै छ र संघीय चुनाव आउँदै छ । म हाम्रा कमरेड, समर्थक, शुभेच्छुक, आमनेपाली दिदीबहिनी, दाजुभाइलाई भन्न चाहन्छु– हामी अब चुनावको तयारीतर्फ पनि जानेछौँ । हामी जनमतको तयारी गर्नेछौँ । यस देशका लागि हामीले जनमतबाट एकल बहुमत ल्याउनुपर्नेछ,’ ओलीले एमालेको औचित्य र आफ्नो चुनावी तयारीबारे भने, ‘बहुमत एमालेका लागि होइन, देश बनाउनका लागि, देशको सार्वभौमको रक्षा गर्नका लागि, देशमा लोकतन्त्र फेरि गुम्न नपाओस् भनेर लोकतन्त्रको रक्षाका लागि र संविधानको रक्षा र कार्यान्वयनका लागि । र, संविधानको गलत व्याख्यालाई जनअभिमतबाट, जनादेशबाट सच्याएर अगाडि बढ्नका लागि एमालेले बहुमत ल्याउनुपर्दछ ।’

उनले एमालेका चुनावी एजेन्डाबारे पनि स्पष्ट पार्ने कोसिस गरेका थिए । संविधानको गलत व्याख्या सच्याएर अगाडि बढ्न र देशमा विकासको लहर ल्याउन पनि एमालेको एकल बहुमत आवश्यक रहेको ओलीको भनाइ थियो । दोस्रोपटक गरेको संसद् विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतले तत्कालीन विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । आगामी चुनावमा बहुमत ल्याएर सिंहदरबार फर्कने ओलीको योजना छ । 

ओलीले आगामी चुनावपछि एमालेको सरकार बन्ने दाबी गर्दै स्थानीय तहमा आधा जित निकाल्ने बताएका थिए । ओलीले विकासलाई चुनावको मुख्य मुद्दासँग जोडे । ‘आउँदो चुनावपछि एमालेको सरकार बन्छ । र, एमालेले बाँकी रहेका विकासका कामलाई अगाडि बढाएर समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभिभारा पूरा गर्छ । स्थानीय तहका निर्वाचनमा पहिलेजस्तो ४० प्रतिशतभन्दा बढी भन्ने होइन, ५० प्रतिशतभन्दा बढी नेकपा एमालेले हासिल गर्नेछ,’ ओलीले भनेका थिए ।
त्यस्तै, एमालेले अहिले न्यायालयमा देखिएका पछिल्ला घटनाक्रमले गत २८ असारमा सर्वोच्चले दिएको परमादेश सत्तागठबन्धनका नेताहरूको स्वार्थपूर्तिका लागि न्यायालय र राजनीतिक पक्षबीच भएको ‘सेटिङ’को परिणाम र राजनीतिक उद्देश्यले निर्देशित थियो भन्ने पुष्टि भएको निष्कर्ष निकालेको छ । सर्वोच्च अदालत परिसरभित्र हाल देखा परेका घटनाले जनताको न्याय पाउने हकको हनन गरेको भन्दै त्यसप्रति एमालेले खेद प्रस्तावसमेत महाधिवेशनबाट पारित गरेको छ । साथै, समस्या समाधानका लागि सम्बद्ध सबै पक्षसँग आह्वानसमेत गरेको छ ।

एमालेले शान्ति–प्रक्रियाका बाँकी कामलाई टुंग्याएर पीडितलाई न्याय र पीडकलाई सजाय दिने दायित्वबाट सरकार पन्छिँदै गएको निष्कर्ष निकाल्दै संक्रमणकालीन न्यायका काममा आलटाल नगर्न र द्वन्द्वका पीडितलाई अविलम्ब परिपूर्णको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । साथै, वर्तमान गठबन्धन सरकार स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन र सन्तुलित बाह्य सम्बन्धका आधारभूत मान्यताको परिपालनामा चुकिरहेको भन्दै एमालेले छिमेकलगायत बाह्य सम्बन्धमा देखा परेका सरकारका असंगत र अपरिपक्व व्यवहारको विरोध गरेको छ ।

विरोधीहरूले महाधिवेशन असफल बनाउने षड्यन्त्र गरे पनि महाधिवेशन भव्यतापूर्वक सम्पन्न भएको ओलीले बताए । ‘महाधिवेशन भव्यतापूर्वक सम्पन्न भएको छ । विरोधीहरूले हल्ला गरेको यस्तो खालले उकास्छन्, विरोधमै उठ्न नसक्ने भनेर भड्काउँछन्, तर व्यवहारबाट प्रमाणित भएको छ, एमाले एमाले नै हो, एमाले ७२ वर्षको अनुभवबाट खारिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने पार्टी हो,’ ओलीले भने । 

उनले पार्टीमा सबैलाई समान व्यवहार गर्न नसकिए पनि जिम्मेवारी र कर्तव्यका कारण सबैले पार्टी अनुशासनलाई ध्यानमा राखेर चल्नुपर्नेमा जोड दिए । ‘यो पार्टी गैरजिम्मेवार हल्काफुल्का ढंगले चल्न सक्दैन । कहिलेकाहीँ उचनिचका कुरा हुन सक्छ । तर, हाम्रा अभिभारा, उत्तरदायित्व, हाम्रा चुनौती सामना गर्ने जिम्मेवारीलाई ध्यानमा राखेर चल्नुपर्छ । उन्नतस्तरको समझदारी र व्यवहारलाई सलाम भन्छु,’ ओलीले भने । उनले महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद पनि दिए ।

कोही बागी पराजित, कोही बागी विजयी
पूर्वकेन्द्रीय सदस्य नरेश खरेल, सुरेन्द्र मानन्धर, भास्कर काफ्ले पराजित भएका छन् । झापा आन्दोलनका क्रममा पक्राउ परेर १७ वर्ष जेलजीवन बिताएका खरेल यसअघिकै केन्द्रीय सदस्य हुन्, तर खुलातर्फ बागी बनेका खरेल पराजित भए । त्यस्तै, खुलातर्फ बागी उम्मेदवारी हालेका नवौँ महाधिवेशनबाट निर्वाचित मानन्धर पराजित भए । त्यस्तै, तत्कालीन नेकपा मालेबाट एमालेमा आएपछि केन्द्रीय सदस्य भएका काफ्ले पनि १ नम्बर प्रदेशमा बागी उम्मेदवार थिए । तर, पराजित भए । उता, सर्वसम्मतिको सूचीमै नपरेका सुमन प्याकुरेल, उषाकिरण तिमल्सिना र अरबिन्द सिंह केन्द्रीय सदस्य भएका छन् । तीनैजनाले आफ्नो समूहबाट ओलीको सूचीमा परेर उम्मेदवारी दिएकालाई फिर्ता लगाउन लगाएर सर्वसम्मत भएका हुन् । प्याकुरेल र सिंह २ नम्बर प्रदेशको भूगोलबाट र तिमल्सिना खुला महिलातर्फबाट केन्द्रीय सदस्य भएकी छिन् । उता, सुदूरपश्चिम प्रदेशबाट भूगोल खुलामा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका डा. दीपक भट्टलाई महासचिवमा निर्वाचित शंकर पोखरेलले उम्मेदवारी फिर्ता गराएका छन् । उनलाई मनोनीत केन्द्रीय सदस्य बनाइने आश्वासन दिइएको छ । 

सूचीमा नपरेका पूर्वकेन्द्रीय सदस्य प्रदेश अध्यक्षमा ‘रिजर्भ’
यसअघि केन्द्रीय सदस्य रहेका राधा ज्ञवाली, गोमा देवकोटा, विशाल भट्टराई, दामोदर भण्डारी अध्यक्ष ओलीको सर्वसम्मतको सूचीमा परेनन् । अध्यक्षमण्डलकी सदस्य रहेकी देवकोटाले आफ्नो नाम वाचन नभएपछि अध्यक्षमण्डलकै बैठकमा अध्यक्ष ओलीसँग आपत्ति जनाएकी थिइन् । तर, ओलीले उनलाई केन्द्रीय सल्लाहकार कमिटीमा राख्ने बताएपछि असन्तुष्ट बनेकी छिन् । ज्ञवालीलाई मनोनीत केन्द्रीय सदस्य बनाउने आश्वासन दिइएको छ । 

उता, सूचीमा नपरेका संसदीय दलका प्रमुख सचेतक रहेका विशाल भट्टराईलाई ओलीले प्रदेश १ को अध्यक्ष बनाउने आश्वासन दिएका छन् । त्यस्तै, भण्डारीलाई पनि सुदूरपश्चिम प्रदेश अध्यक्ष बनाउने भनिएको छ । २ नम्बर प्रदेश अध्यक्ष बनाउन खोजिएका सुमन प्याकुरेल भने भूगोलतर्फबाटै केन्द्रीय सदस्य बनेका छन् । गण्डकी प्रदेशमा हिरा केसी वा सांसद पदम गिरीमध्ये एकलाई अध्यक्ष बनाइने स्रोतले जनाएको छ । गिरीलाई मनोनीत केन्द्रीय सदस्य बनाउने आश्वासन दिइएको छ । लुम्बिनी प्रदेशमा भने पाल्पाका राधाकृष्ण कँडेल तथा बागमती प्रदेशमा केन्द्रीय सदस्य बन्न छुटेका कृष्णभक्त पोखरेल वा भूमि त्रिपाठीमध्येबाट एकलाई प्रदेश अध्यक्ष बनाइने स्रोतले जनाएको छ ।

पूर्वमाओवादी समूहका ३१ जना  एमाले केन्द्रीय कमिटीमा 
रामबहादुर थापा बादल (उपाध्यक्ष), लेखराज भट्ट (सचिव), टोपबहादुर रायमाझी (सचिव), प्रदेश १ बाट टंक आङ्बुहाङ, श्रीप्रसाद जगेबु, पासाङ शेर्पा र बालकृष्ण ढुंगेल, प्रदेश २ बाट उपेन्द्र साह, प्रभु साह, रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन कुसवाह, मोहम्मद समीर, टेकबहादुर बलम्पाकीमगर, बुधनीदेवी महतो र प्रतीक्षा तिवारी, बागमतीबाट दावा तामाङ, कमलप्रसाद चौलागाईं, मनोजजंग थापा र निरु दर्लामी कुँवर, गण्डकीबाट लीलबहादुर थापा, लुम्बिनीबाट मणि थापा, नवीन रोकामगर, गिरिधारीलाल न्यौपाने, दिनेश पन्थी, चन्द्रबहादुर खड्का र दधिराम न्यौपाने, कर्णालीबाट धर्मराज रेग्मी र सुदूरपश्चिमबाट झपट बोहरा, गौरीशंकर चौधरी र लीलाकुमारी भण्डारी केन्द्रीय सदस्य बनेका छन् ।

नौजना पहिलोपटक एमाले पदाधिकारी
दशौँ महाधिवेशनमा निर्वाचित १९ मध्ये नौजना पहिलोपटक एमाले पदाधिकारी बनेका नेता छन् । तीनजना उपाध्यक्ष सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा बादल पहिलोपटक एमाले पदाधिकारी बनेका छन् । उपमहासचिव बनेका विष्णु रिमाल पनि पहिलोपटक पदाधिकारी बनेका हुन् । सचिवमा विजयी भएका टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, पद्मा अर्याल र रघुवीर महासेठ पनि पहिलोपटक एमाले पदाधिकारी भए । बादल, रायमाझी र भट्ट पूर्वमाओवादी नेता हुन् । 

 केन्द्रीय सदस्य बस्न मानेनन् रावल
अध्यक्षमा पराजित नेता भीम रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । पदाधिकारीमा उम्मेदवार बनेका नेता स्वतः केन्द्रीय कमिटीमा पनि उम्मेदवार बन्ने व्यवस्था गरिएको छ । तर, रावलले आफूले अध्यक्षमा मात्रै उम्मेदवारी दिएको र केन्द्रीय सदस्यमा उम्मेदवारी नै नदिएको भन्दै बस्न अस्वीकार गरेका छन् ।

यसको जानकारी उनले घोषणासभामा गराएका छन् । ९०४ मत प्राप्त गरी रावल केन्द्रीय सदस्य निर्वाचित भएको घोषणा गरिएको थियो । पदाधिकारीमा उम्मेदवारी दिनेको उम्मेदवारी केन्द्रीय सदस्यमा कायम नगर्दा पार्टीका योग्य नेता बाहिरिन सक्ने भन्दै एमाले आठौँ महाधिवेशनदेखि दुवैतिर उम्मेदवारी कायम गर्ने अभ्यास थालेको थियो । ‘जबजअनुसार हामीले पार्टीलाई जसरी अगाडि बढाउन खोजेका थियौँ, त्यो सम्बोधन गरिएन । अरू धेरै कुराहरू पनि छन्, म काठमाडौं गएर मात्र विवेचना गर्छु,’ रावलले भने ।

नवौँमा हार, दशौँमा बढुवा 

नवौँ महाधिवेशनमा पदाधिकारीमा पराजित नेताहरू दशौँ महाधिवेशनमा बढुवा भएका छन् । नवौँमा महासचिवमा पराजित सुरेन्द्र पाण्डे यो महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै, नवौँमा उपमहासचिवमा पराजित शंकर पोखरेल महासचिव भएका छन् भने सचिवमा पराजित विष्णु रिमाल उपमहासचिव बनेका छन् । पोखरेल र रिमाल निर्विरोध भएका छन् भने पाण्डे पपुलर मत ल्याएर निर्वाचित भएका हुन् । 

७० वर्षे उमेरहदले जो बिदा भए


गएको कार्यकालमा बोहरा अनुशासन आयोगको अध्यक्ष, मण्डल स्थायी समिति र पाण्डे पोलिटब्युरो सदस्य थिए ।

 नयाँ अध्याय सुरु

-हामी तीन महिनासम्म अब एकीकरणको अभियान सञ्चालन गर्नेछौँ । कार्यकर्ता एकीकरणको अभियान, कार्यकर्ता प्रवेशको अभियान सञ्चालन गरिनेछ । विभिन्न पार्टीबाट कार्यकर्ता प्रवेश गराउनुपर्छ । एउटा अभियान सिर्जना गरेर पार्टीलाई माथि उठाउनुपर्छ ।
-हामीमाथि बाहिरी र भित्री दुवैतिरबाट डरलाग्दो हमला छ, सबै प्रकारका हमलाबाट पार्टीलाई जोगाएर जानुपर्छ । अझ मजबुत, गतिशील बनाएर जनतामा एक–एक गरेर हामीले अरू थप सफलताका लागि बढ्नु छ । यो दिशामा सक्रियता, गम्भीरताका साथ सिंगै पार्टी एकता भएर अगाडि बढ्न आग्रह गर्छु ।

 ५७ प्रतिनिधि मतदानमा अनुपस्थित, अध्यक्षमा ३६ जनाको ‘नो भोट’
महाधिवेशनमा सहभागी २१ सय ५३ प्रतिनिधिमध्ये दुई हजार ९६ जनाले मात्र मतदानमा भाग लिए । ५७ प्रतिनिधि अनुपस्थित रहे । केपी ओली १८ सय ३७ मतका साथ अध्यक्षमा विजयी भए भने भीम रावलले २२३ मत पाए । अध्यक्षका दुवै प्रत्याशीको मत जोड्दा दुई हजार ६० हुन्छ । ३६ मतदाताले दुवै उम्मेदवारलाई भोट दिएनन् । 

 दशबुँदे सहमतिबाट आएकालाई पपुलर मत
उपाध्यक्षमा शाक्य र पाण्डे तथा सचिवमा विष्ट र भट्टराईलाई धेरै भोट

पदाधिकारीमा दशबु“दे सहमति गरेर एमालेमै बसेकामध्ये नेताहरूले पपुलर मत पाएका छन् । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सबैभन्दा धेरै १९ सय ७६ मत पाइन् । ६ उपाध्यक्षमध्ये सुरेन्द्र पाण्डेले दोस्रो ठूलो मत पाए । उनी १९ सय २५ मत पाएर निर्वाचित भए । उपाध्यक्षमा सुवास नेम्वाङले १८ सय ६५, विष्णु पौडेलले १८ सय ५६, युवराज ज्ञवालीले १८ सय ४२ र रामबहादुर थापा बादलले १७ सय ६८ मत पाए । त्यस्तै, सचिवमा गोकर्ण विष्टले सबैभन्दा बढी १९ सय ७४ मत पाए । त्यस्तै, योगेश भट्टराईले १९ सय ६०, टोपबहादुर सायमाझीले १८ सय चार, छविलाल विश्वकर्माले १८ सय तीन, पद्मा अर्यालले १७ सय ९९, लेखराज भट्टले १७ सय चार र रघुवीर महासेठले १५ सय मत प्राप्त गरे । 

 १९ सदस्यीय पदाधिकारीमा लुम्बिनीका सातजना, कर्णाली शून्य
सोलुखुम्बु र मनाङबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व नै भएन

एमालेको १९ सदस्यीय पदाधिकारीमा लुम्बिनीको वर्चस्व देखिएको छ । रुपन्देहीका विष्णु पौडेल, दाङका युवराज ज्ञवाली उपाध्यक्ष तथा दाङकै शंकर पोखरेल महासचिव छानिएका छन् । त्यस्तै, गुल्मीका प्रदीप ज्ञवाली उपमहासचिव, गुल्मीकै गोकर्ण विष्ट, अर्घाखाँचीका टोपबहादुर रायमाझी र रुपन्देहीका छविलाल विश्वकर्मा सचिव बनेका छन् । कर्णाली प्रदेशबाट भने पदाधिकारीमा कोही पनि परेनन् । त्यस्र्त, भूगोलतर्फका ७७ जिल्लामध्ये प्रदेश १ को सोलुखुम्बु र गण्डकीको मनाङ केन्द्रीय सदस्यविहीन भएको छ । 

 रोल्पाकी ३२ वर्षीय ईश्वरी कान्छो केन्द्रीय सदस्य
रोल्पाकी ३२ वर्षीया ईश्वरी जिएम एमालेको कान्छो केन्द्रीय सदस्य भइन् । जनजाति कोटाबाट केन्द्रीय सदस्य भएकी जिएम यसअघि जिल्ला कमिटीमा थिइन् । खुला केन्द्रीय सदस्यमा चितवनका देवी ज्ञवालीले सबैभन्दा धेरै १८ सय ७७ मत पाए । दोस्रोमा अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरेले १८ सय ३२ मत पाए । तेस्रो ठूलो मत किरण गुरुङले १८ सय ११ प्राप्त गरेका छन् । त्यसपछि काशिनाथ अधिकारी र पुरुषोत्तम भण्डारीले समान १८ सय ६ मत ल्याए ।

डा. कँडेल तेस्रोपटक  लेखा आयोग अध्यक्ष
डा. पुष्पराज कँडेल तेस्रोपटक एमालेको लेखा आयोगको अध्यक्ष बनेका छन् । दशौँ महाधिवेशनमा उनी लेखा आयोगको अध्यक्षमा निर्विरोध भएका हुन् । आठौँ र नवौँ राष्ट्रिय महाधिवेशनमा पनि डा. कँडेल आयोगका अध्यक्ष बनेका थिए । पाँचौँ र छैटौँ महाधिवेशनमा भने उनी आयोगका सदस्य थिए । कँडेल एमालेमा लेखा आयोग स्थापना भएदेखि नै आबद्ध छन् । ‘म पहिलेदेखि नै एमालेको हिसाबकिताब राख्ने काममा संलग्न थिएँ । पहिलोपटक मदन भण्डारीले नै यो आयोगको सदस्य बनाउनुभयो,’ कँडेलले भने, ‘पाँचौँ महाधिवेशन (०४९) मा केन्द्रीय लेखा आयोगको सदस्य बनेर राष्ट्रिय राजनीति सुरु गरेँ । त्यसपछि निरन्तर लेखा आयोगमै विभिन्न पदमा निर्वाचित भएर काम गर्दै आएको छु ।’ ६६ वर्षका कँडेल एउटै कमिटीमा ३१ वर्षदेखि निरन्तर काम गरिरहेका छन् । पार्टीको लेखाप्रणालीलाई व्यवस्थित गर्न तत्कालीन महासचिव भण्डारीले आयोग गठन गरेका थिए । पाँचौँ महाधिवेशनमा तीनजनाबाट सुरु भएको सो आयोग दशौँ महाधिवेशनमा पुग्दा २५ सदस्यीय पुगेको छ ।

पार्टी निर्माण र राष्ट्र निर्माणको दुई अभियान सँगसँगै लैजाने प्रस्ताव पारित गरेका छौँ : प्रदीप ज्ञवाली