१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
मुना कुँवर काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १o:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पुनर्बिमा दलाल हुन १९ कम्पनी इच्छुक पाँच करोड चुक्ता पुँजी आवश्यक

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:२o:oo

पुनर्बिमा दलालको लाइसेन्स माग गर्दै १९ वटा कम्पनीले बिमा समितिमा आवेदन दिएका छन् । आवदन दिनेहरूमध्ये १८ नेपाली कम्पनी रहेका छन् भने एउटा विदेशी रहेको समितिले जनाएको छ । बिमा ऐनले पुनर्बिमा दलालको व्यवस्था गरे पनि समितिले लाइसेन्स खुला गरेको थिएन । नेपालमा बिमा क्षेत्र सानो भएकै कारण समितिले दलाल कम्पनी सञ्चालनको अनुमति नदिएको हो । तर, बिमा कम्पनी तथा पुनर्बिमा कम्पनीको संख्या वृद्धि भएसँगै समितिले ब्रोकरको आवश्यकता महसुस गरेको समितिका प्रमुख कार्यकारी अधिकृत राजुरमण पौडेलले बताए । पुनर्बिमा ब्रोकर लाइसेन्स वितरणका लागि नै समितिले हालै बिमकको पुनर्बिमा निर्देशिका, २०७८ जारी गरेको छ । 

 पाँच करोड चुक्ता पुँजी  
पुनर्बिमा दलाल कम्पनी सञ्चालन गर्न बिमा समितिले पाँच करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ । तर, विदेशी बिमा दलाल कम्पनीका लागि भने ५० हजार अमेरिकी डलर (५९ लाख रुपैयाँ) असाइन क्यापिटल तोकेको छ । विदेशी कम्पनीले नेपालमा शाखा मात्रै सञ्चालन गर्न पाउँछन् । आवेदनका लागि ब्रोकरले कम्पनीको प्रबन्धपत्र, नियमावली, फिजिबिलिटी अध्ययन, प्रमोटरको केवाइसी, कम्पनीको व्यवस्थापनमा १५ वर्ष बिमाको अनुभव भएको एकजना व्यक्ति, लगानी गर्ने रकमको स्रोत स्पष्ट विवरण, ट्याक्स क्लियरेन्सको सर्टिफिकेट, विदेशी कम्पनीको हकमा सम्बन्धित कम्पनीको बोर्डले नेपालमा शाखा स्थापनाका लागि निर्णय गरेको प्रमाण, नेपालमा तोकिने सम्पर्क व्यक्तिको विवरण, सम्बन्धित मुलुकको नियमनकारी निकायले अनुमति दिएको प्रमाण र कम्पनीले प्रयोग गर्ने सफट्वेयरको विवरण बुझाउनुपर्ने समितिले जनाएको छ । 

 के छ ऐनमा ? 
बिमा ऐन, २०४९ को धारा ३० मा दलाल दर्तासम्बन्धी व्यवस्था गरिएको छ । ऐनअनुसार दलालका लागि निवेदन प्राप्त भएमा समितिले जाँचबुझ गरेर इजाजतपत्र दिन सक्नेछ । त्यस्तै, समितिले पुनर्बिमा व्यवसायसम्बन्धी निर्देशिका जारी गर्दै दलालमार्फत पुनर्बिमा गर्न सकिने व्यवस्था गरेको छ । बिमा नियमावलीको नियम ३० मा दलालको व्यवस्था छ । बिमकको पुनर्बिमा निर्देशिका २०७८ अनुसार बिमकले पुनर्बिमा व्यवसाय गर्दा पुनर्बिमा दलालमार्फत गर्न सकिने व्यवस्था गरेको छ । समितिले दलालको रोस्टर कायम गर्नेछ । बिमकले पुनर्बिमा गर्दा पुनर्बिमा सम्झौतामा संलग्न हुने पुनर्बिमक तथा पुनर्बिमा दलालसँग सम्झौता भएको ३० दिनभित्रमा समितिलाई विवरण बुझाउनुपर्नेछ । यसरी प्राप्त भएको नाम समितिले रोस्टरमा राख्नेछ । रोस्टरमा समावेश नभएको पुनर्बिमक वा पुनर्बिमा दलालका लागि समितिबाट विदेशी मुद्रा सटहीको सिफारिस नगरिने निर्देशिकामा उल्लेख गरिएको छ । 

बिमा कम्पनी र पुनर्बिमा कम्पनीबीच काम गर्ने कम्पनी हो, पुनर्बिमा दलाल । यस्तो कम्पनीले पुनर्बिमा कम्पनी तथा बिमा कम्पनीको अध्ययन–अनुसन्धान गरी जोखिम निर्धारण गर्छ ।

नेपालमा दर्ता भएर पुनर्बिमा दलालका रूपमा काम गर्न यसअघि नै धेरै कम्पनीहरूले चासो देखाएका थिए । करिब सात वर्षअगाडि भारतीय पुनर्बिमा कम्पनी जेबी बोडाले पुनर्बिमा दलालका लागि समितिमा आवेदनसमेत दिएको थियो । तर, तत्काल नेपालमा पुनर्बिमा कम्पनी नै नभएकाले समिति निष्क्रिय रहेको बिमाविज्ञ भोजराज शर्माले बताए । तर, हाल नेपालमा पुनर्बिमा कम्पनी स्थापना भइसकेको र पुनर्बिमा निर्देशिकाले पनि यससम्बन्धी व्यवस्था गरेकाले समितिले पुनर्बिमा दलाल आवश्यकता देखेको उनले बताए ।

हाल नेपालका अधिकांश बिमा कम्पनीहरूले भारतीय पुनर्बिमा दलालमार्फत पुनर्बिमा गराउँदै आएका छन् । तर, नेपालमा नै ब्रोकरको व्यवस्था सकियो भने नेपालको बिमा बजार अझ बढी परिपक्व हुने समितिको दाबी छ । त्यस्तै, दलाल कमिसनबापत बाहिरिने रकम पनि रोकिनेछ । नेपाली कम्पनीहरूले जेबी बोडा (भारत), पाइनियर इन्स्योरेन्स ब्रोकर (भारत), फ्रस्ट पोलिसी इन्स्योरेन्स ब्रोकर (भारत)लगायतका भारतीय दलालमार्फत पनि पुनर्बिमा गर्दै आएका छन् । त्यस्तै, नेपालका निर्जीवन बिमा कम्पनीहरूले स्विस री (स्विट्जरल्यान्ड), जेबी बोडा पुनर्बिमा कम्पनी (भारत), जनरल इन्स्योरेन्स कर्पोरेसन (जिआइसी) (भारत), ह्यानओभर री (जर्मन), ट्रस्ट री (बहराइन), वाइका री वेस्ट अफ्रिकन (सियरा लियोन), लोयड लन्डन, केन्या री, केन्या, भुटान री (भुटान)लगायतका कम्पनीहरूसँग पुनर्बिमा गर्दै आएका छन् । 

के हो पुनर्बिमा दलाल ?
बिमा कम्पनी र पुनर्बिमा कम्पनीबीच काम गर्ने कम्पनी हो, पुनर्बिमा दलाल । यस्तो कम्पनीले पुनर्बिमा कम्पनी तथा बिमा कम्पनीको अध्ययन–अनुसन्धान गरी जोखिम निर्धारण गर्छ । यस्ता दलाल कम्पनीले बिमा कम्पनीहरूलाई पुनर्बिमासम्बन्धी सल्लाह र सुझाब पनि दिन्छ ।  दलाल कम्पनीहरू प्राविधिक रूपमा दक्ष हुन्छन् । त्यसैले पुनर्बिमा प्रक्रियामा दलालको ठूलो महत्व रहन्छ । नेपालमा भने हालसम्म यस्तो खालको दलालको व्यवस्था गरिएको छैन । तर, पछिल्लो समय विदेशी दलाल कम्पनीहरूले नेपाली बिमा कम्पनीहरूको पुनर्बिमा नेपालकै कम्पनीसँग गराउन थालेपछि समितिको ध्यान आकर्षित भएको हो । साथै, नेपालको पुनर्बिमा व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन दलाल आवश्यक रहेको समितिका प्रमुख कार्यकारी निर्देशक पौडेलले बताए । ‘नेपालमा नै दलालको व्यवस्था भयो भने उनीहरूले नेपाली पुनर्बिमा कम्पनीको विदेशमा बजारीकरण गर्छन् र व्यवसाय भित्र्याउँछन्,’ उनले भने ।

ad
ad