मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७८ मङ्सिर १४ मंगलबार ०७:१९:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस महाधिवेशन: केन्द्रको छायामा प्रदेश

प्रदेश अधिवेशन आउन दुई दिन बाँकी रहँदा कांग्रेसमा छैन चहलपहल

Read Time : > 3 मिनेट
२०७८ मङ्सिर १४ मंगलबार ०७:१९:००

देश संघीयतामा गएपछि पहिलोपटक कांग्रेसले संगठन संरचनालाई संघीय ढाँचामा ढाल्दै छ । १४औँ महाधिवेशनबाट पहिलोपटक कांग्रेसले प्रदेश तहमा नेतृत्व चयन गर्न लागेको हो । वडा, पालिका, क्षेत्रीय र जिल्ला अधिवेशनमा जसरी नेता, कार्यकर्तामा चासो देखियो, प्रदेश अधिवेशनमा भने त्यति देखिएको छैन । 
अधिवेशन आउन दुई दिन बाँकी हुँदासमेत त्यति चर्चा छैन । केन्द्रको नेतृत्वमा महिनौंअघिदेखि दाबेदारी गर्ने क्रम चल्छ । तर, पहिलोपटक हुन लागेको प्रदेश अधिवेशनमा भने नेतृत्वका आकांक्षी खुलेर प्रतिस्पर्धामा आएका छैनन् । केन्द्रपछि प्रदेशमा जसरी प्रतिस्पर्धा उच्च हुनुपर्ने हो, त्यो हुन नसकेको कांग्रेस नेताहरू बताउँछन् । कांग्रेस महाधिवेशन कार्यतालिकाअनुसार १६ देखि १८ मंसिरका प्रदेश अधिवेशनको मिति तय भएको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पहिलोपटक प्रदेश अधिवेशन हुँदै गर्दा आकर्षण नभएजस्तो देखिएको बताउँछन् । तर, नेतृत्वका लागि आकांक्षी कम नभएको उनको भनाइ छ । केन्द्रीय तहदेखिका नेताहरू आकांक्षीका रूपमा देखिएको शर्माको दाबी छ । ‘पहिलोपटक प्रदेश अधिवेशन हुँदै गर्दा आकर्षण नभएजस्तो देखिन सक्छ । तर, धेरैजना आकांक्षी देखिनुभएको छ । केन्द्रीयस्तरका नेताहरू पनि प्रदेश नेतृत्वका लागि अगाडि आउनुभएकै छ,’ उनले भने । 

कांग्रेसको विधानअनुसार प्रदेश अधिवेशनमा प्रदेशभित्रका जिल्ला सभापति, क्षेत्रीय सभापति, केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति र प्रदेश प्रतिनिधिहरू मतदाताका रूपमा हुन्छन् । सात प्रदेशमा तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र पर्छन् । बागमती प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका नेता भीमसेनदास प्रधान प्रदेशको क्षेत्राधिकारका कारण पनि प्रदेश अधिवेशनको चर्चा कम भएको र आकांक्षी कम देखिएको बताउँछन् । ‘प्रदेश अधिवेशनको जति चर्चा हुनुपर्ने हो, त्यति भएको छैन । प्रदेशको अधिकार कति हुने भन्ने क्षेत्राधिकारको विवादको परिणाम हो । म प्रदेश नेतृत्वमा आएमा प्रदेशलाई शक्तिशाली बनाउन भूमिका खेल्नेछु,’ उनले भने ।

कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश १ सभापतिका आकांक्षी गुरुराज घिमिरेले पहिलोचोटि खडा भएको प्रशासनिक एकाइ भएकाले आकांक्षीसमेत अलमलमा परेको बताए । ‘अहिलेसम्म चर्चा मात्रै छ । पहिलोचोटि खडा भएको प्रशासनिक एकाइमा कांग्रेसले सांगठनिक संरचना बनाउँदै छ । यसले केन्द्र र स्थनीय तहलाई जोड्ने पुलको काम गर्छ,’ उनले भने, ‘यसको महत्वलाई कम आँक्न मिल्दैन । अहिलेसम्म अभ्यास नभएकाले उम्मेदवार बन्नेलाई पनि के होला, कसो होला भन्ने छ । एकपटक स्थापित भएपछि मात्रै यसको निरन्तरतामा सहजता आउने देखिन्छ ।’ 

 अधिवेशनको तयारी सुस्त
कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार प्रदेश अधिवेशनलाई तीन दिनको समय छ । यस अवधिमा पनि अधिवेशनका लागि निर्वाचन अधिकृत खटाइएकोे छैन । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रदेश अधिवेशनका लागि निर्वाचन अधिकृतहरूको टुंगो लागिनसकेको बताए । ‘अहिलेसम्म निर्वाचन अधिकृत तोकिएको छैन । मंगलबार बैठक बसेर प्रदेश निर्वाचन अधिकृतको टुंगो लगाउँछौँ । निर्वाचनको तयारी कार्यतालिकाअनुसार नै भइरहेको छ,’ उनले भने, ‘अधिवेशनको विस्तृत तालिका सार्वजनिक भइसकेको छ । निर्धारित मिति र कार्यतालिकाअनुसार प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न हुनेछ ।’ 

 विधानले प्रदेशलाई  दिएका अधिकार 
कांग्रेसकोे विधानले प्रदेश सभापति र कार्यसमितिलाई महत्वपूर्ण अधिकारको व्यवस्था गरेको छ । विधानले प्रदेश सभापतिलाई नेतृत्वका साथै प्रदेश अधिवेशन, प्रदेश सम्मेलन, प्रदेश कार्यसमिति, प्रदेश कार्यसम्पादन समिति र प्रदेश संसदीय समितिको अध्यक्षता गर्ने जिम्मेवारी तोकेको छ । यसबाहेक प्रदेश विभागको गठन र परिचालन, भ्रातृसंस्था, शुभेच्छुक संस्थाको सञ्चालन र परिचालनमा समेत प्रदेशको महत्वपूर्ण भूमिका रहन्छ । साथै प्रदेशको संघीय संसद्, प्रदेश सभा, महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारको निर्णयमा समेत प्रदेशको भूमिका रहन्छ ।

 यस्तो बन्नेछ प्रदेश कार्यसमिति 
कांग्रेसको विधानको बुँदा नम्बर १३ ले प्रदेश कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरेको छ । प्रदेश अधिवेशनमा प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधि, केन्द्रीय महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशभित्रका निवर्तमान पदाधिकारी मतदाता हुने व्यवस्था छ । 

 प्रदेश अधिवेशनको निर्वाचन १८ मंसिरमा 
कांग्रेसले प्रदेश अधिवेशन र महाधिवेशनको निर्वाचन कार्यक्रमको विस्तृत तालिका तयार गरेको छ । निर्वाचन समितिका अनुसार केन्द्रीय महाधिवेशनतर्फ २४ मंसिरमा उद्घाटन, २५ गते मनोनयन, २६ गते तयारी र २७ गते मतदानको मिति तय गरिएको छ । निर्वाचन समिति संयोजक घिमिरेले सोमबार प्रदेश अधिवेशन र महाधिवेशनको विस्तृत कार्यतालिका तयार भएको जानकारी दिए । १८ मंसिरमा प्रदेश अधिवेशनअन्तर्गतका निर्वाचन हुनेछन् । कार्यतालिकाअनुसार १६ मंसिरमा प्रदेश अधिवेशन उद्घाटन, १७ गते उम्मेदवारी मनोनयन र १८ गते निर्वाचनको कार्यक्रम तय गरिएको छ । यसअघि मनोनयनपछि मात्र उद्घाटनको कार्यक्रम राख्ने गरिएको थियो । ‘यसअघि मिति मात्र तय भएको थियो । विस्तृत तालिका आएको थिएन,’ घिमिरेले भने, ‘अधिवेशनको मिति सारिएको होइन । अधिवेशनलाई व्यवस्थित बनाउन खोजिएको हो । अब महाधिवेशन प्रक्रिया व्यवस्थित रूपमा सम्पन्न हुनेछ ।’

 प्रदेशमा उम्मेदवार तय गर्न इतर समूह छलफलमा
संस्थापनइतर समूहले बागमती प्रदेशको उम्मेदवार तय गर्न छलफल अघि बढाएको छ । इतर समूहबाट प्रदेश सभापति र महामन्त्रीका आकांक्षीमा निवर्तमान जिल्ला सभापतिहरू देखिएका छन् । बागमती प्रदेश सभापतिका आकांक्षी जगदीश्वरनरसिंह केसीले इतर पक्षबाट एक मात्र उम्मेदवार तय गर्न छलफल सुरु भएको जानकारी दिए । सोमबार नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र गगन थापाले आकांक्षीहरूसँग छलफल गरेका थिए । इतर पक्षबाट बागमती सभापतिमा केसी, मधु आचार्य, राजुराज जोशीलगायत नेताहरू आकांक्षी देखिएका छन् । बुधबार प्रदेशका जिल्ला सभापतिहरूसमेतको बैठक बसेर यसबारे टुंगो लगाइने उनले बताए । संस्थापन पक्षबाट बागमती प्रदेश सभापतिमा मोहनबहादुर बस्नेत र इन्द्र बानियाँ उठ्ने भएका छन् । सिटौला समूहबाट भीमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । गण्डकी प्रदेशमा तीन नेताले सभापतिमा घोषणा गरेका छन् । अहिलेसम्म देवराज चालिसे, रघुनाथ पौडेल, शुक्रराज शर्माले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

प्रदेश सभापतिमा कहाँ कसको चर्चा ? 
प्रदेश १ :  गुरुराज घिमिरे, राजीव कोइराला, अमृत अर्याल, रामहरि खतिवडा, भीष्मराज आङदेम्बे, उद्धव खड्का, सुधीर सिवाकोटी 
प्रदेश २ :  रामकृष्ण यादव, महादेव यादव, रामसरोज यादव, अजय चौरासिया, कृष्ण यादव, महेन्द्र यादव, अजय द्विवेदी
बागमती :  भीमसेनदास प्रधान, इन्द्र बानियाँ, मोहनबहादुर बस्नेत, जगदीश्वरनरसिंह केसी, मधु आचार्य, कुन्दनराज काफ्ले
गण्डकी :  शुक्रराज शर्मा, देवराज चालिसे, अर्जुनप्रसाद जोशी, यज्ञबहादुर थापा, रघुनाथ पौडेल
लुम्बिनी :  अमरसिंह पुन, देवेन्द्रराज कँडेल, राजु खनाल, भरत शाह, किशोरसिंह राठोर, सञ्जय गौतम
कर्णाली :  भूपेन्द्रजंग शाही, राजीव शाह, दीपकजंग शाह, हृदयराम थानी, ललितजंग शाही, राजीवविक्रम शाह, कालीबहादुर सहकारी
सुदूरपश्चिम : नरनारायण शाह, गोविन्द शाह, अर्जुनजंग शाह, पुष्पकुमार शाही