
बिमा समितिले स्वदेशी कम्पनीमा नै अनिवार्य रूपमा पुनर्बिमा गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ । गत बिहीबार समितिले कम्पनीहरूलाई पत्राचार गरी शतप्रतिशत पुनर्बिमा नेपालकै पुनर्बिमा कम्पनीमा गर्न आदेश दिएको हो । नेपाली पुनर्बिमा कम्पनीले अस्वीकार गरेको अवस्थामा मात्रै अन्य पुनर्बिमा कम्पनीमा पुनर्बिमा गर्न सकिने समितिको आदेश छ ।
नेपालमा हाल दुईवटा पुनर्बिमा कम्पनी छन् । ०७१ साल कात्तिकमा नेपाल पुनर्बिमा कम्पनीको स्थापना भएको हो । हालै समितिले नयाँ पुनर्बिमा कम्पनी हिमालयन पुनर्बिमा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । यसअघि नेपाली बिमा कम्पनीहरूले विदेशी पुनर्बिमा कम्पनीसँग पुनर्बिमा गर्दै आएका थिए । यसरी पुनर्बिमाबापत नेपालबाट ठूलो रकम बाहिरिँदै आएको छ । तसर्थ, पुनर्बिमाबापत बाहिरिने रकम नेपालमा नै होल्ड गर्न यस्तो निर्देशन दिइएको समितिका प्रमुख कार्यकारी अधिकृत राजुरमण पौडेलले बताए । स्वदेशी पुनर्बिमा कम्पनीले अस्वीकार गरेको अवस्थामा अन्य पुनर्बिमा कम्पनीमा पनि पुनर्बिमा गर्न सकिने हुँदा बिमा कम्पनीलाई यसले असर नगर्ने उनले दाबी गरे ।
स्वदेशी पुनर्बिमा कम्पनीमा नै पुनर्बिमा गर्नुपर्ने समितिको निर्देशनप्रति बिमकहरूले आपत्ति जनाएका छन् । समितिले बिमा ऐन र बिमाको सिद्धान्तविपरीत अव्यावहारिक आदेश दिएको उनीहरूले आरोप लगाएका छन् । समितिको यस्तो निर्णयले आगामी दिनमा सबै कम्पनीहरू जोखिममा पर्ने बिमकहरूको भनाइ छ ।
समितिले दिएको आदेश बिमा क्षेत्रका लागि घातक भएको नेपाल जीवन बिमा संघका उपाध्यक्ष एवंं सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक पौडेलले बताए । समितिले अध्ययन–अनुसन्धानबिना नै यस्तो खालको निर्णय गर्नु अव्यावहारिक भएको उनले बताए । समितिको निर्देशनको विषयमा संघको बैठक बसेर ठोस निर्णय गरिनेसमेत उनले बताए ।
त्यस्तै, नेपाल बिमक संघका महासचिव एवं सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षत्रीले समितिले आत्मघाती निर्णय गरेको बताए । ‘पुनर्बिमाका लागि बिमकहरूलाई अनिवार्य गराउनुहुँदैन,’ उनले भने । यद्यपि, संघको आइतबार बस्ने बैठकमा यस विषयमा छलफल गरी संघको धारणा सार्वजनिक गरिने उनले बताए ।
बिमाको सिद्धान्तअनुसार बिमा कम्पनीले सबै जोखिम आफूले नै धारण गर्नुहुँदैन । जोखिमलाई वितरण गर्नुपर्छ । तसर्थ, बिमकहरूले आफ्नो क्षमताले सक्ने जोखिम मात्रै धारण गर्छन् । आफ्नो क्षमताभन्दा माथिको जोखिम अर्को कम्पनीलाई हस्तान्तरण गर्छन् । यसरी बिमकले जोखिम हस्तान्तरण गर्ने कार्यलाई पुनर्बिमा भनिन्छ । पुनर्बिमा कम्पनीले पनि सबै जोखिम आफूले धारण गर्दैन । यसले आफ्नो क्षमताभन्दा बढीको जोखिम अर्को कम्पनीलाई हस्तान्तरण गर्छ । यो प्रक्रियालाई ‘रेट्रोसेसन’ भनिन्छ ।
बिमकहरूले सबै जोखिम एउटै कम्पनीलाई हस्तान्तरण गर्दैनन् । जोखिमलाई फरक–फरक मुलुकमा रहेका कम्पनीमा हस्तान्तरण गरिन्छ । एउटै देशमा रहेका कम्पनीलाई जोखिम हस्तान्तरण गर्दा सो देशमा महाविपत्ति आइपरेको अवस्थामा भुक्तानीमा समस्या हुन्छ । त्यसैले फरक–फरक देशमा रहेका फरक–फरक कम्पनीलाई जोखिम हस्तान्तरण गर्नुपर्ने बिमाको मान्यता छ ।
बिमा कम्पनीहरूले आफ्नो नेटवर्थको ५ प्रतिशत मात्रै जोखिम धारण गर्न पाउने समितिको व्यवस्था छ । तर, नेपाली बिमकहरूले २ दशमलव ५ प्रतिशत मात्रै जोखिम धारण गर्दै आएका छन् । बाँकी जोखिम पुनर्बिमा कम्पनीलाई हस्तान्तरण गर्छन् । पुनर्बिमा कम्पनीले पनि आफ्नो नेटवर्थको ५ प्रतिशत मात्रै जोखिम धारण गरी बाँकी जोखिम अर्को कम्पनीलाई हस्तान्तरण गर्छन् ।
पुनर्बिमा गरेबापत पुनर्बिमा कम्पनीले बिमकहरूलाई पुनर्बिमा कमिसनसमेत प्रदान गर्छन् । अधिकांश पुनर्बिमा कम्पनीले ३० प्रतिशतसम्म कमिसन दिने गरेको अर्को एक कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । जोखिम कम भएमा ३० प्रतिशत, जोखिम मध्यम भएमा २० र जोखिम एकदम बढी भएमा १५ प्रतिशत कमिसन प्राप्त हुने उनले बताए । तर, नेपाली कम्पनीले भने कम कमिसन दिने गरेको उनको भनाइ छ ।
२० प्रतिशत हिस्सा नेपाल पुनर्बिमामा
नेपाली बिमा कम्पनीहरूले २० प्रतिशत प्रत्यक्ष हिस्सा नेपाल पुनर्बिमा कम्पनीमा पुनर्बिमा गर्दै आएका छन् । सरकारले नेपाली पुनर्बिमा कम्पनीलाई प्रोत्साहन तथा बलियो बनाउन कम्पनीहरूलाई अनिवार्य रूपमा २० प्रतिशत पुनर्बिमा आदेश दिएको हो ।
०७१ कात्तिक २१ गते पुनर्बिमा कम्पनीको स्थापना भएको हो । जसमा नेपाल सरकारको ४३ दशमलव ५५ प्रतिशत, निर्जीवन बिमा कम्पनीको ३८ दशमलव ३९ प्रतिशत र जीवन बिमा कम्पनी तथा अन्य पब्लिक कम्पनीको १८ दशमलव शून्य ६ प्रतिशत लगानी रहेको छ ।
गुराँस लाइफ, आइएमई लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन, राष्ट्रिय बिमा संस्थान, रिलायन्स लाइफ, सानिमा लाइफ, सूर्या लाइफ र सिटिजन्स लाइफ इन्स्योरेन्सले शतप्रतिशत पुनर्बिमा गरेका छन् ।
कम्पनीले फिलिपिन्स, बंगलादेश, भुटान, भारत, पपुवा न्युगिनी, माल्दिभ्स, भियतनाम, टोगो, यमन, केन्या, कुवेत, कोमोरोस र मरिसियसलगायत देशका बिमा कम्पनी र पुनर्बिमा कम्पनीको पुनर्बिमा गर्दै आएको छ । समितिले हालै निजी क्षेत्रबाट खोलिएको हिमालयन रि–इन्स्योेरेन्स कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ ।
१० वर्षमा पुनर्बिमाबापत सवा चार खर्ब बाहिरियो
विगत १० वर्षको अवधिमा पुनर्बिमाबापत नेपालबाट चार खर्ब १४ अर्ब ३६ करोड रुपैयाँ बिदेसिएको छ । पुनर्बिमाबापत बिदेसिने रकम प्रतिवर्ष बढ्दै गएको छ । नयाँ कम्पनीहरू थपिएपछि बिदेसिने रकम झनै बढेको हो । बिमा समितिको तथ्यांकअनुसार आर्थिक वर्ष ०६८/६९ देखि गत आव ०७६/७७ सम्म आइपुग्दा पुनर्बिमा रकम १० गुणाले बढेको छ । आव ०७६/७७ मा एक खर्ब एक अर्ब ७० करोड पुनर्बिमाबापतको रकम बाहिरिएको छ । जबकि आव ०६७/६८ मा १२ अर्ब १२ करोड ३९ लाख रुपैयाँ बिदेसिएको थियो ।
त्यस्तै, जीवन बिमा कम्पनीहरूले विगत १० वर्षमा गरेको पुनर्बिमाबाट मात्रै तीन खर्ब ४४ अर्ब ३१ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो आव ०७६/७७ मा ९१ अर्ब ३१ करोड २८ करोड रुपैयाँ बाहिरिएको छ । जबकि आव ०६७/६८ मा ८ अर्ब ७६ करोेड रुपैयाँ बाहिरिएको थियो । निर्जीवन बिमा कम्पनीहरूबाट भने विगत १० वर्षमा ७० अर्ब चार करोड ९७ लाख रुपैयाँ बाहिरिएको छ । अघिल्लो आव ०७६/७७ मा ११ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ बाहिरिएको छ भने आव ०६७/६८ मा तीन अर्ब ३६ करोड ३९ लाख रुपैयाँ बाहिरिएको थियो ।