१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o५:३६:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘ओमिक्रोन’बारे पर्याप्त अध्ययन  नभएसम्म सचेत रहन डब्लुएचओको सुझाव

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o५:३६:oo

- दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्टबारे खोज अनुसन्धान पूर्ण नहुन्जेलसम्म अमेरिका, क्यानडा, अस्ट्रेलिया, रसियालगायत देशले आवतजावतमा लगाए प्रतिबन्ध

- नयाँ भेरियन्टको जिन सिक्वेन्सिङ गर्न १५० नमुना बेलायत पठाइयो

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ युरोप र अमेरिकामा तीव्र फैलिँदै गइरहेको जनाएको छ । हालसम्मकै छिटो फैलिने अनुमान गरिएको नयाँ भेरियन्टले पुनः महामारीको रूप लिने संकेत गरेकोसमेत डब्लुएचओले जनाएको छ । 

‘ओमिक्रोन’ पहिलोपटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । बोट्स्वाना, बेल्जियम, हङकङ, इजरायल, जर्मनी, क्यानडा, रुस, अमेरिका र अन्य युरोपियन देशहरूमा यो भाइरस फैलिइरहेको छ । छोटो समयमा तीव्र फैलिइरहेको नयाँ भेरियन्ट उच्च संक्रामक रहेको डब्लुएचओले बताएको छ । अफ्रिका, युरोप र अमेरिकामा गम्भीर संक्रमित र मृत्युदर बढाइरहेको ओमिक्रोन भेरियन्ट डेल्टा भेरियन्ट वर्गसँग सम्बन्धित रहेको स्वास्थ्य विज्ञहरू बताएका छन् । 

फेरि सचेत हुने अवस्था आएको छ : डा. शेरबहादुर पुन, सरुवारोगविज्ञ

अफ्रिकामा नयाँ स्वरूपको ओमिक्रोन भेरियन्टबारे धेरै तथ्य बाहिर आएको छैन । तर, यो भाइरसले धेरै स्वरूप परिवर्तन गरेको बताइएको छ । विगतमा भन्दा धेरै परिवर्तन भएकाले वैज्ञानिकहरूका लागि समेत ओमिक्रोन भेरियन्ट टाउको दुखाइको विषय बनेको छ । विगतमा डेल्टा भेरियन्टले पनि निकै दुःख दिएको थियो । स्पाइक प्रोटिन (भाइरसको बाहिरको चुच्चो)लाई टार्गेट गरेर खोप बनाइएको छ । चीन र भारतको कोभ्याक्सिनबाहेक अन्य नेपालमा प्रयोग भएका खोप स्पाइक प्रोटिनलाई टार्गेट गरेर बनाइएको हो । यसले अत्यधिक मात्रामा स्वरूप परिवर्तन गर्दा हामीसँग उपलब्ध भएका खोपहरूलाई चुनौती दिन सक्छ । सामान्य रूपमा फैलियो भने डराउनुपर्दैन, तर तीव्र रूपमा फैलाउन थालेको भए फेरि सचेत हुने अवस्था आएको छ ।

कोभिडबाट हालसम्म विश्वभर ५० लाखभन्दा बढीको मृत्यु भइसकेकाले नयाँ भेरियन्टप्रति सचेत रहन विज्ञहरूले चेतावनी दिएका छन् । भेरियन्ट उच्च संक्रामक र पहिले संक्रमित भइसकेका व्यक्तिमा बढी जोखिम देखिएको भन्दै भेरियन्टबारे पर्याप्त अध्ययन नहुन्जेलसम्म सचेत रहन डब्लुएचओले चेतावनी दिएको छ । तर, नयाँ भेरियन्टले गम्भीर समस्या निम्त्याउने विषयमा हालसम्म कुनै प्रमाण भने फेला परेको छैन । अफ्रिकी वैज्ञानिकहरूले कतिपय संक्रमितमा कुनै पनि लक्षण नदेखिएकोसमेत बताएका छन् । 

चार दिनको अवधिमा अफ्रिका, अमेरिका र युरोपका अधिकांश देशमा फैलिइसकेका कारण नयाँ भेरियन्टको प्रकृति पहिचानमा जटिलता थपिँदै गएको विज्ञहरूले बताएका छन् । डब्लुएचओले एकपटक कोभिड संक्रमण भएका व्यक्तिमा ओमिक्रोनले बढी प्रभावित गर्न सक्ने जनाएको छ । यदि हाल प्रयोगमा आइरहेका भ्याक्सिन कम प्रभावकारी देखिएमा भेरियन्टको जोखिमबारे जान्न हप्तौँ लाग्न सक्नेसमेत डब्लुएचओले जनाएको छ । अध्ययनअनुसार ओमिक्रोन भेरियन्ट भाइरसको सतहको स्पाइक प्रोटिनमा ३० भन्दा बढी म्युटेसन भएको पाइएको छ । जब कि स्पाइक प्रोटिनहरूले शरीरको प्रतिरक्षालाई कमजोर बनाउने गर्छन् । भेरियन्टमा भएका मल्टिपल म्युटेसनका कारण कोभिडविरुद्धको भ्याक्सिनले समेत कम गर्न नसक्ने अनुमान गरिएको छ । जुन हालसम्मै सिभियर भेरियन्ट हुन सक्ने विज्ञहरूको अनुमान छ ।

विभिन्न देशले आवतजावतमा लगाए प्रतिबन्ध
नयाँ भेरियन्ट तीव्र फैलिन थालेपछि संक्रमण भेटिएका स्थानमा आवतजावत गर्न विभिन्न देशले प्रतिबन्ध लगाउन थालेका छन् । दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्टमा खोज अनुसन्धान पूर्ण नहुन्जेलसम्म अमेरिका, क्यानडा, रसिया र अन्य युरोपियन देशहरूले आवतजावतमा प्रतिबन्ध लगाएका हुन् । 

अमेरिकाले सोमबारदेखि दक्षिण अफ्रिकालगायतका अन्य सातवटा देशमा ट्राभल प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकामा हाल ‘धन्यवाद आदानप्रदान’ (थ्याङ्स गिभिङ) चलिरहेकाले संक्रमण बढ्न सक्ने भन्दै आवतजावतमा प्रतिबन्ध लगाउन लागेको हो ।

अस्ट्रेलियाले शनिबारदेखि दक्षिण अफ्रिकालगायतका आठ देशमा १४ दिनसम्म आवतजावतमा रोक लगाएको छ । जापानले शनिबारदेखि संक्रमण फैलिएका देशबाट आएकालाई १० दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको छ । 

भारतले अमेरिका, युरोप र अफ्रिकाबाट आउने यात्रुमा स्क्रिनिङ र परीक्षणको दायरा बढाएको छ । क्यानडाले पछिल्लो १४ दिनमा दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्बे, बोत्सवाना, लेसोथो, इस्वाटिनी वा मोजाम्बिक हुँदै यात्रा गरेका सबै विदेशी नागरिकलाई प्रतिबन्ध लगाएको छ ।

‘ओमिक्रोन नेपालमा पुष्टि भएको छैन, तर दुःख दिन सक्छ’

दक्षिण अफ्रिकामा पुष्टि भएको नयाँ भेरिएन्ट बी.१.१.५२९ अर्थात् ‘ओमिक्रोन’ तीव्र रूपमा फैलिरहँदा यसले सबैको ध्यान केन्द्रित गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यो भेरियन्ट तीव्र रूपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भन्दै सतर्क रहन आग्रह गरेको छ । 

दक्षिण अफ्रिकामा गत २४ नोभेम्बरमा नयाँ भेरिएन्ट पुष्टि भएको थियो । धेरै म्युटेसन भएको कोरोनाको नयाँ भाइरस ओमिक्रोन पत्ता लागेसँगै विश्वभर चिन्ता छाएको छ । विगतमा भन्दा यो भाइरस धेरै ठाउँमा उत्परिवर्तन भएकाले वैज्ञानिकहरूले समेत चिन्ता व्यक्त गरेका छन् । नेपाल सरकारले समेत सचेत हुन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी महाशाखाले विगतमा झैँ घरमा बसेर सम्भव हुने कामहरूसमेत सोहीअनुसार गर्न आग्रह गरेको छ । 

नेपालले सबै देशमा आवतजावत खुला गरेकाले हाल अफ्रिकामा देखिएको नयाँ स्वरूपको ‘ओमिक्रोन’ भाइरस नेपालमा पनि सहजै प्रवेश गर्न सक्ने स्वास्थ्य अधिकारीहरू बताउँछन् । कार्यालयहरू सञ्चालनमा आएको, सामाजिक दूरी कायम नभएको, भिडभाड बढ्न थालेकाले नयाँ भाइरसको फैलन सक्ने चिकित्सकहरूको भनाइ छ । बेलायतले कोरोना संक्रमण धेरै भएका विभिन्न ६ वटा देशलाई रातोसूचीमा राखेको छ । दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्सवाना, लेसोथो र इस्वातिनीलाई प्रतिबन्ध लगाएको हो । ती देशमा अस्थायी रूपमा उडानमा प्रतिबन्ध लगाएको हो । 

सरुवा रोग अस्पताल टेकुका डा.शेरबहादुर पुनका अनुसार हाल नेपालमा देखिएको भाइरस एक–दुई ठाउँमा मात्रै उत्परिवर्तन भएको थियो । तर, ओमिक्रोन नयाँ भेरिएन्ट विगतको भन्दा धेरै ठाउँमा उत्परिवर्तन भएकाले स्पष्ट रूपमा यसको विषयमा कसैले बोल्न सकेका छैनन् । उनका अनुसार यसले विगतको भन्दा धेरै क्षति गर्न सक्ने अनुमान अन्तर्राष्ट्रिय अधिकारीहरूको छ । 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले नेपालमा ओमिक्रोन भेरिएन्ट पुष्टि भए दुःख दिन सक्ने बताए । ‘हामीले नयाँ भेरिएन्ट पत्ता लगाउन निरन्तर जिन सिक्वेन्सिङ गरिरहेका छौँ । केही केन्द्रीय प्रयोगशाला र केही विश्व स्वास्थ्य संगठनको पहलमा बेलायत पठाएका छौँ,’ अधिकारीले भने । विश्वव्यापी रूपमा भाइरसहरूले आफ्नो स्वरूप परिवर्तन गर्दै गइरहेका छन् । तर, नेपालमा जनस्वास्थ्यका मापदण्ड पालना हुन छाडेको अवस्था छ । यसले गर्दा सहजै एक व्यक्तिबाट अर्कोमा भाइरस सर्ने सम्भावना बढेको चिकित्सकहरूको भनाइ छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म डेल्टा प्लस, अल्फा, डेल्टा र कप्पा भेरिएन्ट पुष्टि भएको छ । नेपालमा डेल्टा भेरिएन्टले दोस्रो महामारी ल्याएको थियो ।

जिन सिक्वेन्सिङको प्रोसेसमा छौँ : डा.रुणा झा, निर्देशक, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
हालसम्म जिन सिक्वेन्सिङ गर्दा नेपालमा नयाँ भेरिएन्ट पुष्टि भएको छैन । नियमित रूपमा जिन सिक्वेन्सिङ भइरहेको छ । दोस्रो चरणको जिन सिक्वेन्सिङ प्रोसेसमा भएकाले पाँच दिनभित्र नतिजा आउनेछ । नेपालमा महिनाको ९६ वटा नमुनाका जिन सिक्वेन्सिङ गर्ने योजनाअनुसार काम अगाडि बढेको छ । प्रत्येक १५ दिनमा ४८ नमुनाको जिन सिक्वेन्सिङ गर्ने कि एक महिनामा ९६ गर्ने भन्ने विषयमा पनि छलफल चलिरहेको छ । अहिले जिन सिक्वेन्सिङ गर्न एक सय ५० नमुना बेलायतमा पठाइएको छ । 

 

ad
ad