१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ९ बिहीबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ९ बिहीबार १८:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छाङरू र टिंकरमा पनि भयो जनगणना, भारतीय बाटो हुँदै गएका गणकलाई हेलिकोप्टरबाट ल्याइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ९ बिहीबार १८:३१:oo

कालापानी र लिम्पियाधुराबाहेकको जनगणना संकलन कार्य सकिएको छ। केन्द्रीय तथ्यांक विभागले कात्तिक २५ गतेदेखि सुरु गरेको जनगणना संकलन कार्य तोकिएकै समयमा सकिएको हो। मंसिर मसान्तसम्ममा सबै जिल्लाबाट जनगणनासहितको विवरण भरिएको प्रश्नावली केन्द्रमा ल्याइने विभागले जनाएको छ। विभागले देशभर गणक र सुपरिवेक्षक परिचालन गरी जनगणना सुरु गरेको थियो। गणकले सबैतिरको तथ्यांक संकलन गरी विभागको सर्भर र प्रश्नावलीमा विवरण संकलन गरेको विभागका निर्देशक तीर्थराज चौलागाईंले बताए। उनका अनुसार लिपुलेक क्षेत्रका छाङरू र टिंकर गाउँको पनि जनगणना भएको छ। 

त्यहाँ गणकहरू भारतीय नाका हुँदै पुगेका थिए। सडक सञ्जाल अप्ठेरो र सुरक्षाको हिसाबले जोखिमपूर्ण भएकोले विभागले हेलिकोप्टरमार्फत गणकलाई बिहीबार फर्काएको निर्देशक चौलागाईंले बताए। कालापानी र लिम्पियाधुरा क्षेत्रका नाभिडाङ, गुन्जी, नाभी, कुटीलगायत गाउँको जनगणना बाँकी छ। यी क्षेत्रमा भारतीय सुरक्षाकर्मी तैनाथ गरिएका कारण त्यहाँ गणकलाई पठाउन जोखिम भएको निर्देशक चौलागाईंको भनाइ छ। ‘अन्य ठाउँको जनगणना सकियो, कालापानी र लिम्पियाधुरामा गणना गर्न जोखिम भयो, त्यहाँ भारतीय पक्षले सुरक्षाकर्मी तैनाथ गराएका कारण जोखिम भयो,’ उनले भने, ‘ती क्षेत्रमा अन्य तरिका अपनाएर भए पनि जनगणना हुन्छ।’ उनले कालापानी र लिपुलेक क्षेत्रका घर संख्याको तथ्यांक विभागसँग रहेकोले त्यसको आधारमा प्रविधिको सहायतामा जनगणना गरिने बताए। 

तथ्यांक विभागले तीन महिनाभित्र जिल्लागत जनसंख्या सार्वजनिक गर्ने बताएको छ। त्यस्तै, एक वर्षभित्र मुख्य तथ्यांक सार्वजनिक गरिनेछ । ०७९ सम्ममा मुख्य प्रतिवेदन प्रकाशित गरिनेछ। ०८० भित्र सबै क्षेत्रगत र विषयगत प्रतिवेदन पनि प्रकाशित गरिने विभागले जनाएको छ।