टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १४ शुक्रबार
  • Friday, 28 January, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ८ बुधबार १९:२४:००
Read Time : > 5 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घनश्याम भुसाल वरिष्ठ उपाध्यक्षमा उठ्ने,  महाधिवेशन प्रतिनिधिलाई गरे यस्तो अपिल (पूर्णपाठसहित)

Read Time : > 5 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ८ बुधबार १९:२४:००

एमाले उपमहासचिव घनश्याम भुसालले पार्टीको १०औँ महाविधेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । पार्टीको १०औँ महाविधेशनको दुई दिनअघि भुसालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने मनस्थिति बनाएको उनीनिकट एक नेताले नयाँ पत्रिकासँग बताए ।  वरिष्ठ उपाध्यक्षमा महासचिव ईश्वर पोखरेल र स्थायी समिति सदस्य सुवास नेम्वाङले पनि दाबी गरेका छन् ।

‘धेरै नेता र कार्यकर्ताहरूसँग छलफल गरेर उहाँले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने भन्नुभएको छ, सम्भवतः भोलि वा त्यसपछि सार्वजनिक घोषणा गर्नुहुन्छ,’ भुसालनिकट एक नेताले भने, ‘त्यसका लागि उहाँले महाधिवेशन प्रतिनिधिलाई अनुरोध गर्दै अपिल जारी गर्नुभएको छ ।’

भुसालले बुधबार ‘नेकपा एमालेको पुनरोदयका लागि दशौँ महाधिवेशनका समस्त प्रतिनिधिसमक्ष मेरो अपिल’ शीर्षकमा अपिल सार्वजनिक गरेका छन् । भुसालले मूलभूत सैद्धान्तिक दिशाका हिसाबले नेकपा एमाले ठीक ठाउँमा रहेको भन्दै संगठनका हिसाबले नेकपा एमालेको अर्को कुनै जोडा नभएको दाबी गरेका छन् । ‘इतिहासको गौरव र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठाका हिसाबले पनि हामी अतुलनीय छौँ । समाज र राजनीतिका विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका यसका सदस्यहरूका आधारमा हेर्दा पनि नेकपा एमाले मुलुककै नेता पार्टी हो । तर, माथि उल्लेख गरिएझैँ, आजको ठोस कार्यक्रम र त्यस कार्यक्रमलाई कार्यान्वयन गर्ने संगठनात्मक व्यवस्थामा असंगतिहरू छन् ,’ भुसालले जारी गरेको अपिलमा भनिएको छ ।

अपिलमा भनिएको छ, ‘जसरी ज्ञान–विज्ञानका उपलब्धि कुनै राष्ट्र वा जातिका सम्पत्ति हुँदैनन्, त्यसैगरी पार्टीका सिद्धान्तहरू कुनै गुट वा समूहका हुँदैनन् । जेसुकै कारणले होस्, हामीले दशौँ महाधिवेशनमा यी विषयमा आवश्यक छलफल गर्न नसक्ने भयौँ । तर पार्टीका सिद्धान्तहरूको निर्माणमा अगाडि रहेर करिब दुई दशकदेखि क्रियाशील सदस्यको हिसाबले मेरो के दाबी छ भने नेकपा एमालेको पुनरोदयका लागि ती असंगति हटाउनै पर्नेछ, त्यसका आधारमा कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नै पर्नेछ। त्यसैले, सबै प्रतिनिधिसमक्ष मेरो अपिल छ - दशौँ महाधिवेशनले कम्तीमा पनि दलाल पुँजीवादको विरुद्ध राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने ठोस कार्यक्रमका बनाउन संकल्प गरोस् ।’

यस्तो छ भुसालको अपिल

नेकपा एमालेको पुनरोदयका लागि दशौँ महाधिवेशनका समस्त प्रतिनिधिसमक्ष मेरो अपिल
मुलुकको नजर हामीमाथि छ 

नेकपा एमालेका लाखौँ सदस्यले विभाजनको पीडा र गुटबन्दीको नशाबाट हाम्रो पार्टी ब्युँझन्छ र धुलो टक्टक्याउँदै फेरि उठ्छ, विचार तथा सिद्धान्तको आधारमा अझ बढी एकताबद्ध भएर फेरि उठ्छ भन्ने भरोसाका साथ दशौँ राष्ट्रिय महाधिवेशनतर्फ हेरिरहेका छन् । यसका समर्थक र शुभचिन्तकहरूले मुलुकको नेतृत्व गर्न सक्ने पार्टीको रूपमा नेकपा एमालेको पुनरोदयको विश्वास गरेका छन् । आफैँले गरेका वाचा पूरा नगरेर मुलुकको भविष्यप्रति संवेदनहीन हुँदै गएको भनेर हामीलाई दुत्कार्ने बौद्धिकहरूको ठूलो संख्या पनि आलोचनात्मक आग्रहका साथ हामीसँग आशावादी छ । अन्य पार्टीमा रहेर पनि नेकपा एमाले मुलुकको भरपर्दो शक्तिका रूपमा पुनर्स्थापित हुँदा आफ्नै भविष्य सुरक्षित देख्ने ठूलो जनमतका आँखा पनि हामीतिरै छन् । कम्युनिस्ट आन्दोलनको इतिहासको निर्माणमा रगत पसिना बगाएका समस्त अग्रजहरूको बिरासतले पनि हामीसँग अपेक्षा गरेको छ ।हाम्रा सफलतामा गौरव गर्ने र हाम्रा असफलतामा दुःखी हुने दुनियाँभरिका कम्युनिस्ट, प्रगतिशील, वामपन्थी तथा समाजिक न्याय र समानताको पक्षधरहरूले हामी फेरि उठेको र सफल हुँदै अगाडि बढेको देख्न चाहन्छन् ।संक्षेपमा, मुलुक र दुनियाँले केही भरोसा, केही विश्वास र केही आशाका साथ हामीलार्ई हेरिरहेको छ । 

संकट गहिरिँदै छ
सत्तरी वर्षदेखि नेपालको सपना लोकतान्त्रिक स्थिरता हो । तर हामीले या त अस्थिरता या निरंकुशता पायौँ । करिब चार वर्षअगाडि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धन, निर्वाचनमा असाधारण विजय, बहुमतको कम्युनिस्ट सरकार, पार्टी एकीकरणजस्ता एकपछि अर्को घटनाले नेपाली राजनीतिमा नयाँ आशा र विश्वास जगाएको थियो । लोकतान्त्रिक स्थिरता, आर्थिक विकास, सामाजिक न्याय र समानतासहित मुलुकले नयाँ युगमा पाइला टेक्न सक्ने भएको थियो । तर गएको एक वर्षकै समयमा हामी आफैँले कम्युनिस्ट पार्टीको बहुमतको संसद् विघटन गर्यौँ, एकीकृत पार्टी विभाजित गर्यौँ, संघीय र प्रादेशिक सरकारहरू भत्कायौँ, नेकपा एमालेको एकतासमेत बचाउन सकेनौँ र अहिले हामी आफैँ राजनीतिक घेराबन्दीमा परेका छौँ । सबै राजनीतिक पार्टीहरू स्वार्थकेन्द्रित गुटबन्दीको भुवरीमा फस्दै गएको, संसद् राजनीतिक खिचातानीको शिकार भएको, अदालतमा बिचौलियाको नियन्त्रणको पोल खुल्दै जाँदा न्यायव्यवस्था अस्तव्यस्त भएको हुँदा राज्य कमजोर हुँदै गएको छ र लोकतान्त्रिक स्थिरतामाथि खतरामा पर्न थालेको छ । क्रान्तिको एउटा मुख्य शक्तिका हैसियतले यो संकट हाम्रो आफ्नै संकट हो ।

सिद्धान्तलाई अवमूल्यन नगरौँ 
अगणित पूर्खाहरूले खाएका ठक्कर र पाएका उपलब्धिको लेखाजोखा नै सिद्धान्त हो । त्यसैले क्रान्तिको पहिलो ग्यारेन्टी पनि सिद्धान्त होः जसले हामीलाई भविष्यको बाटो देखाउँछ र गल्ती गर्नबाट जोगाउँछ । क्रान्तिका जतिसुकै राम्रा नारा लगाए पनि सिद्धान्तहीन राजनीति केवल स्वार्थहरूको प्रतिस्पर्धा बन्न जान्छ । जसरी पनि जित्ने प्रतिस्पर्धामा जसले जिते पनि राजनीति बिग्रन्छ, मुलुकले दुःख पाउँछ । त्यस्तो राजनीति राज्य दोहन गर्ने थैली शाही गुटहरूको खेलमैदान बन्छ । दलाल पुँजीवाद र भद्दा संसदवादले पार्टीलार्ई ती गुटहरूको खेलौना बनाउँछ । एउटा कमरेड अर्को कमरेडसँग तर्सिन्छ, एउटा कमरेडले अर्को कमरेडको खुट्टा तान्छ र अन्ततः सबै सबैसँग तर्सिने र सबैले सबैको खुट्टा तान्ने अवस्था आउँछ । र, पार्टी र राजनीति झन् झन् संकटग्रस्त हुँदै जान्छन् । हाम्रो पछिल्लो राजनीतिलाई नै हेरौँ, नेपाली कांग्रेसले पाएको बहुमतले मुलुकलाई के दियो ?नेकपा माओवादीले संविधानसभामा पाएको असाधारण जित  किन पानीको फोका भयो ? नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गरेको दिग्विजय किन भताभुङ भयो? यस्ता प्रश्नको जवाफ केवल कुनै व्यक्ति वा तिनका गुटका दाबीमा होइन बरु कस्तो सिद्धान्त भएका पार्टीले त्यस्ता व्यक्ति वा गुट जन्माउँछन् र समाजले क्षति ब्यहोर्छ भनेर खोज्नुपर्छ । 
हरेक नयाँ चरणमा समाजले नयाँ सिद्धान्त खोज्छ । सामन्ती शासनको ठाउँमा कस्तो प्रजातन्त्र भन्ने अलमललाई पुष्पलालको नयाँ जनवादले बाटो देखायो । हामी आफैँले ल्याएको २०४७ सालको प्रजातन्त्रसँग कसरी अगाडि बढ्ने भन्ने अन्यमनस्कतालाई सामना गर्न कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवाद ल्याए । २०६२–६३ को जनक्रान्तिलाई कसरी हेर्ने भन्ने सैद्धान्तिक अन्योललाई हामीले, नवौँ महाधिवेशनले हटायो । नेपाली समाज पुँजीवादी भएको, जनवादी क्रान्ति सम्पन्न भैसकेको, त्यसैले नेपाली क्रान्तिले समाजवादको बाटो लिएको तर पुँजीवादको मुख्य चरित्र दलाल रहेको हुँदा राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्नु नेपाली कम्युनिस्टहरूको ऐतिहासिक कार्यभार हो भन्ने सैद्धान्तिक निष्कर्ष हाम्रो आन्दोलनको ऐतिहासिक उपलब्धि हो । स्मरण रहोस्, त्यही निष्कर्षका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता सम्भव भएको थियो । तर त्यस कार्यभारलाई कार्यक्रमको रूपमा व्याख्या गर्न नसक्दा हाम्रो कम्युनिस्ट आन्दोलन सैद्धान्तिक रूपले नवौँ महाधिवेशनभन्दा अघि बढ्न सकेको छैन । संक्षेपमा, सिद्धान्तले हामीलाई अगाडि बढाउँछ, सिद्धान्तहीनताले फुटाउँछ, कमजोर बनााउँछ ।

कहाँ छ त समस्या ?
हामीले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र समानता, रोजगारी, सुशासन, पर्यावरण, विदेश सम्बन्धमा कस्ता नीति बनाउँछौँ, कसरी लागू गर्छौँ जसले राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी हुन्छ भन्ने समग्र योजना नै पार्टीको आजको कार्यक्रम हो । त्यस्तो कार्यक्रम लागू गर्न पार्टीका केन्द्रीय अध्यक्षदेखि हरेक सदस्यको योग्यता कस्तो हुन्छ ? तिनको योग्यताको परिक्षण कसरी हुन्छ ? आफ्नो सरकार हुँदा प्रधानमन्त्री, मन्त्रीहरूले के गर्छन् ? कसरी गर्छन् ? प्रादेशिक सरकार र स्थानीय सरकारहरूले के गर्छन् ? पार्टीका नीतिहरू कसरी बनाइन्छ ?कस्ता व्यक्तिहरू पार्टी सदस्यताका लागि योग्य हुन्छन् ?कमिटीका निर्वाचन कसरी गरिन्छ ? जस्ता सबै समस्याको समाधान संगठनात्मक सिद्धान्तले गर्छ र त्यसका आधारमा पार्टीको विधान बन्छ । यसरी कार्यदिशा, कार्यक्रम, संगठनात्मक सिद्धान्त र विधानको संगतिपूर्ण पार्टी व्यवस्था बन्छ । हामीले कार्यदिशा त बनायौँ तर कार्यक्रम अझैसम्म बनाएनौँ । कार्यक्रम नबनेपछि कार्यक्रमलाई लागू गर्ने संगठनात्मक सिद्धान्त र विधान पनि बनाइएन । अर्थात्, आज हामीले समाजवादको झन्डा त बोकेका छौँ तर कता हिँड्दै छौँ भन्ने स्वयं हामीलाई थाहा छैन । समस्याको जरो यहीँ छ ।
उपरोक्त असंगतिले गर्दा संसद्, पार्टी, सरकार र राजनीतिले एकपछि अर्को धक्का खाँदै गयो । राष्ट्रिय पुँजीको विकास वा समाजवादको बुझाइ व्यक्तिपिच्छे फरक भए । गएको ८–९ वर्ष पार्टीको नीति–कार्यक्रममाथि कुनै प्रशिक्षण कार्यक्रम आयोजना भएन । विचार–सिद्धान्त वा मार्क्सवाद वा जनताको बहुदलीय जनवादमााथि कुनै गतिलो चर्चासमेत भएन । दलाल पुँजी वा राष्ट्रिय पुँजी के हो ? दलाल पुँजीसँग को लड्छ ? कसरी लडिन्छ ? समाजवादको तयारी भनेको के हो ? त्यसका लागि कसले के गर्नुपर्ने हो ? सिद्धान्त निर्माण गर्ने विधि के हो ? सिद्धान्त कसले बनाउँछ ? कसरी बनाउँछ ? जस्ता प्रश्न नै उठ्न छोडे । त्यसले पार्टी पंक्तिले के ठीक वा के गलत हो भनेर विश्लेषण गर्न सकेन । अराजकता र गुुटबन्दी बढ्दै गयो । नेताहरूका स्वार्थको छदम युुद्धमा पार्टी फस्यो । त्यही छदम युुद्धमा संसद् विघटन, पार्टी विभाजन, सरकारहरूको विघटन हुँदै गयो । किटानीका साथ के भन्न सकिन्छ भने यदि यी कमजोरीलार्ई नसुधार्ने हो भने गल्ती दोहाेरिँदै जानेछन् र समयले हामीसँग चर्को ब्याजका साथ सिद्धान्तमा खेलबाडको मूल्य चुक्ता गर्नेछ ।

मेरो अनुरोध
मूलभूत सैद्धान्तिक दिशाका हिसाबले नेकपा एमाले ठीक ठाउँमा छ । त्यो अहिले सबै मुख्य पार्टीहरूको पनि कार्यदिशा बनेको छ । संगठनका हिसाबले नेकपा एमालेको अर्को कुनै जोडा छैन । इतिहासको गौरव र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठाका हिसाबले पनि हामी अतुलनीय छौँ । समाज र राजनीतिका विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका यसका सदस्यहरूका आधारमा हेर्दा पनि नेकपा एमाले मुलुककै नेता पार्टी हो । तर, माथि उल्लेख गरिएझैँ, आजको ठोस कार्यक्रम र त्यस कार्यक्रमलाई कार्यान्वयन गर्ने संगठनात्मक व्यवस्थामा असंगतिहरू छन् । 
जसरी ज्ञान–विज्ञानका उपलब्धि कुनै राष्ट्र वा जातिका सम्पत्ति हुँदैनन्, त्यसैगरी पार्टीका सिद्धान्तहरू कुनै गुट वा समूहका हुँदैनन् । जेसुकै कारणले होस्, हामीले दशौँ महाधिवेशनमा यी विषयमा आवश्यक छलफल गर्न नसक्ने भयौँ । तर पार्टीका सिद्धान्तहरूको निर्माणमा अगाडि रहेर करिब दुई दशकदेखि क्रियाशील सदस्यको हिसाबले मेरो के दाबी छ भने नेकपा एमालेको पुनरोदयका लागि ती असंगति हटाउनै पर्नेछ, त्यसका आधारमा कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नै पर्नेछ। त्यसैले, सबै प्रतिनिधिसमक्ष मेरो अपिल छः दशौँ महाधिवेशनले कम्तीमा पनि दलाल पुँजीवादको विरुद्ध राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने ठोस कार्यक्रमका बनाउन संकल्प गरोस् ।

घनश्याम भुसाल
उपमहासचिव, नेकपा एमाले
२०७८ मंसिर ८