मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ मङ्सिर ८ बुधबार १०:३०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेना कहर : बाँकेमा मात्रै सात सय ७४ संक्रमितको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ८ बुधबार १०:३०:००

कोरोनाका कारण बाँकेका विभिन्न अस्पतालमा उपचाररत सात सय ७४ संक्रमितको मृत्यु भएको छ । पहिलो लहर र दोस्रो लहर गरी बाँकेका विभिन्न अस्पतालमा उपचाररत सात सय ७४ जनाले ज्यान गुमाएको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) ले जनाएको छ ।

कोरोनाका कारण बाँकेका तीन सय ४१ जनाले ज्यान गुमाएको डिसिएमसीका फोकल पर्सन तेज ओलीले जानकारी दिए । त्यसैगरी, उपचारका लागि बाहिरी जिल्लाबाट आएका चार सय ३३ जनाको बाँकेका विभिन्न अस्पतालमा मृत्यु भएको छ । 

उनका अनुसार मृत्यु भएकामध्ये पुरुषको संख्या धेरै छ । पहिलो र दोस्रो लहरमा चार सय ८८ पुरुष र दुई सय ८६ जना महिलाको मृत्यु भएको छ ।  बाँकेका विभिन्न पिसिआर ल्याबमा एक लाख चार सय ६७ जनाको कोरोना परीक्षण भएको छ । तीमध्ये १८ हजार चार सय ५९ जनामा कोरोना पुष्टि भएको छ । बाँकेका स्थानीय तहले एन्टिजेन विधिमार्फत कोरोना जाँच गरेका छन् । यहाँका पालिकाले १३ हजार चार सय ५३ जनाको एन्टिजेन विधिमार्फत कोरोना जाँच गर्दा एक हजार आठजनामा मात्र कोरोना पुष्टि भएको छ । 

जमुनाहस्थित हेल्थ डेस्कले भारतबाट फर्किने नेपालीको एन्टिजेन विधिमार्फत कोरोना जाँच गर्दै आएको छ । हेल्थ डेस्कले हालसम्म ४३ हजार दुई सय दुईजनाको कोरोना जाँच गर्दा तीन सय ९६ जनामा कोरोना पुष्टि भएको डिसिएमसीले जनाएको छ । हाल भेरी अस्पतालको कोभिड वार्डमा चार सिकिस्तसहित ११ जना संक्रमित उपचाररत रहेको फोकल पर्सन ओलीले जानकारी दिए ।