टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ९ आइतबार
  • Sunday, 23 January, 2022
गत वर्ष भारतको अवरोधले नेपालबाट भारततर्फ सामान लैजाँदा मेची पुलमा रोकिएका सवारी । फाइल तस्बिर
२०७८ मङ्सिर ६ सोमबार ०८:१८:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाली चियामा भारतको पुनः अवरोध : एक सातादेखि निर्यात ठप्प

Read Time : > 3 मिनेट
२०७८ मङ्सिर ६ सोमबार ०८:१८:००

भारतकै ल्याबमा परीक्षण भएको नेपाली चिया गुणस्तरहीन भएको भन्दै त्यहाँको टी बोर्डले निर्यातमा रोक लगाउनु नेपाल–भारत व्यापार–सन्धिको उल्लंघन हो : चिया उत्पादक

नेपाली सिटिसी चियाको ५० प्रतिशत र अर्थोडक्स चियाको ९० प्रतिशत बजार भारत हो, पूर्वीनाकाबाट निर्यात हुने कुल नेपाली उत्पादनको करिब २६ प्रतिशत हिस्सा चियाले ओगट्छ

नेपालमा उत्पादित हरियो चिया निर्यातलाई एक सातादेखि भारतले रोक लगाएको छ । टी बोर्ड भारतले नेपाली चियाको गुणस्तर कमजोर भएको आरोप लगाउँदै एक सातादेखि चियाको निर्यात रोकिएको नेपाल चिया उत्पादक संघले जनाएको छ । चिया निर्यात गर्नेले भारतको टी बोर्डबाट पूर्वस्वीकृति लिएर मात्र लान सक्ने व्यवस्था छ । ‘भारतीय टी बोर्डले विनाआधार नेपाली चिया गुणस्तरहीन भएको भनेका कारण निर्यात ठप्प भएको छ । नेपालबाट भारत चिया लाने व्यवसायीलाई अनावश्यक दुःख दिएपछि चिया जान छाडेको हो,’ नेपाल चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ताले भने, ‘एक हप्ताअघि दुई गाडी चिया लैजाँदा पानीट्यांकीको भन्सारमा रोकिएपछि चिया जान छाडेको छ ।’ 

केही वर्षदेखि भारतले वेला–वेलामा नेपाली चिया निर्यातमा अवरोध गर्दै आएको गुप्ताले बताए । ‘एक सातादेखि चिया निर्यात हुन सकेको छैन । राज्य मौन छ । हामीले त पहल गरिरहेका छौँ,’ उनले भने, ‘तर, हाम्रो व्यक्तिगत पहलले केही पनि हुँदैन । राज्यस्तरबाट नै पहल गरेर चियाको निर्यात सहज बनाइनुपर्छ ।’ चिया निर्यात नहुँदा यसको असर चिया उद्योगी, चिया किसानदेखि बगानमा कार्यरत मजदुरलाई पनि पर्ने उनले बताए । ‘चिया निर्यात नभएपछि उद्योगहरूले पत्तीको पैसा तिर्न सक्दैनन् । पैसा तिर्न नसकेपछि बगान सञ्चालकले पनि मजदुरलाई पैसा दिन सक्दैनन्,’ उनले भने, ‘चिया निर्यात नहुने हो भने ठूलो समस्या निम्तिन सक्छ ।’ 

भारतको टी बोर्डले नेपाली चियाको निर्यातमा रोक लगाएर नेपाल–भारतबीचको व्यापार–सन्धिको उल्लंघन गरेको चिया उद्यमी उदय चापागाईंले बताए । ‘टी बोर्ड भारतको एउटा सानो निकाय हो । यसले नेपाली चियालाई घटिया भनेर रोक लगाएछ । नेपाली चिया कोलकाताको सेन्ट्रल फुड ल्याबमा परीक्षण भएर मात्र जान्छ । भारतकै ल्याबमा परीक्षण भएर गइरहेको नेपाली चियालाई कसले घटिया भन्ने अधिकार दियो ?’ उनले भने, ‘भारत र नेपाल सरकारबीचको सन्धि उल्लंघन भएको छ । यो बोर्ड सन्धिभन्दा त माथि होइन नि !’ 

नेपाली चियाको गुणस्तर भारतको भन्दा धेरै राम्रो रहेको पनि उद्यमी चापागाईंले बताए । नेपाली चिया भारत निर्यात गर्दा भन्सार शुल्क लाग्दैन । तर, भारत सरकारले वेला–वेला चिया निर्यातमा अवरोध गर्दै आएको छ । नेपालको अधिकांश चिया भारत जाने भएका कारण पनि वेला–वेलामा समस्या आउने गरेको नेपाल चिया उत्पादनक संघका पूर्वअध्यक्ष चण्डी पराजुली बताउँछन् । ‘नेपाली चिया भारतबाहेकका देश जान निकै मुस्किल छ । यही नेपाली चियालाई भारतले भारतीय चिया बनाएर तेस्रो देश लैजान्छ । तर, नेपाली चियाले अन्य देशमा बजार पाउन सकेन । राज्यको पहल नै पुगेन,’ उनी भन्छन्, ‘बंगलादेशमा नेपाली चियाका लागि भन्सार शुल्क उच्च छ । त्यहाँ हामी निर्यात गर्न सक्दैनौँ । पाकिस्तानमा नेपाली चियाको भन्सार शून्य छ । तर, ढुवानी खर्च नै महँगो छ ।’

गत वर्षको तुलनामा यस वर्ष चियाको मूल्य पनि आधा नै कम भएको संघका महासचिव गुप्ताले बताए । गत वर्ष तयारी सिटिसी चियाको मूल्य प्रतिकेजी तीन सयसम्म पुगेको उनको भनाइ छ । तर, यस वर्ष भने प्रतिकेजी एक सय ५० देखि एक सय ६० रुपैयाँसम्म मात्र रहेको उनले बताए । चिया निर्यातको समस्या सरकारले पहल गर्नुपर्ने नेपाल चिया तथा कफी विकास बोर्ड प्रदेश १ कार्यालय बिर्तामोडका निमित्त क्षेत्रीय निर्देशक गौरव लुइँटेलले बताए । ‘साफ्टा र विश्व व्यापार सम्झौताअनुसार भारतले यसरी रोक्न मिल्दैन,’ उनले भने ।
नेपालमा सिटिसी चिया वार्षिक करिब दुई करोड केजी उत्पादन हुँदै आएको छ भने करिब ७० लाख केजी अर्थोडक्स चिया उत्पादन हुन्छ । उत्पादनको ५० प्रतिशत सिटिसी चिया र ९० प्रतिशत अर्थोडक्स चियाको बजार भारत हो । पूर्वी नाकाबाट निर्यात हुने कुल नेपाली उत्पादनको करिब २६ प्रतिशत हिस्सा चियाले ओगट्ने मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । 

 

३५ प्रतिशत घट्यो चियाको निर्यात
भारतको अवरोधका कारण चालू आर्थिक वर्षमा नेपाली चियाको निर्यात उच्चदरमा घटेको छ । भारतीय पक्षले ‘दार्जिलिङ टी’मा नेपाली चिया मिसाइएको र त्यसबाट गुणस्तर खस्किएको भन्दै नेपाली चियाको निर्यात रोकेको सूचना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आइपुगेको छ । मन्त्रालयले यस विषयमा बुझ्न र चिया निर्यात खुलाउने पहल गर्न भन्दै काठमाडौंस्थित भारतीय राजदूतावास र कोलकातास्थित नेपाली महावाणिज्यदूतको कार्यालयलाई आग्रह गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘चियाको निर्यात रोकिएको खबर आइपुगेको छ, पत्र नै प्राप्त भएको छ,’ स्रोतले भन्यो, ‘हामीले निर्यात खुलाउन विशेष पहल थालिसकेका छौँ ।’चालू आर्थिक वर्षको पहिलो तीन महिनामा चियाको निर्यात ५३.५ प्रतिशतले घटेको छ । यो वर्षको असोज मसान्तसम्ममा एक अर्ब एक करोड ४० लाख रुपैयाँबराबरको चिया निर्यात भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा एक अर्ब १६ करोडले कमी हो । 

नेपाली चिया भारतीयभन्दा राम्रो भएकाले अवरोध गरेका हुन्
दीपक खनाल निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड

भारतमा निर्यात ठप्प भएको विषयलाई कूटनीतिक तवरले समाधान गर्नुपर्छ भनेर भारतमा नेपाली दूतावासमा टेलिफोन संवाद गरेका छौँ । कूटनीतिक पहल गर्छौँ भनेर उहाँहरूले भन्नुभएको छ । यो समस्या समाधान गर्न हामीले पटक–पटक पहल गरेका छौँ । बोर्ड चिया र कफीको नीति–निर्माण गर्ने र व्यवसायीलाई प्राविधिक सल्लाह दिने निकाय हो । त्यसैले यस सम्बन्धमा ठोस निर्णय हामी गर्न सक्दैनौँ । तत्कालीन प्रधानमत्री केपी ओली भारत भ्रमणमा जाँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कृषिमन्त्री चक्रपाणि खनालमार्फत बोर्डले लिखित रूपमा नै यस्ता समस्याहरू सम्बन्धित ठाउँमा राखिदिनुप¥यो भनेर उठाएका थियौँ । बोर्डले यथेष्ट पहल गरेको छ । यसका लागि कृषि मन्त्रालयले कुन–कुन चियाको परीक्षणमा भारतको आपत्ति हो, बुझेर उनीहरूको चाहनाबमोजिमको ल्याब नेपालमा स्थापना गर्नुपर्छ, अन्यथा यस्तो समस्या सधैँ रहन्छ । अन्तर्राष्ट्रिय व्यापारमा अन्तर्राष्ट्रिय बजारले स्वीकार गर्ने टेस्टिङ ल्याब भएमा निकास दिन्छ । भारतीयले नेपालको चियाको क्वालिटी छैन भन्छन् । त्यो होइन । हाम्रो क्वालिटीले उहाँहरूलाई ठूलो चुनौती छ । हाम्रो उपस्थितिले उहाँहरूको चिया खस्कन्छ भनेर डराएर त्यहाँका प्रान्तीय सांसदले लबिङ गरिरहनुभएको छ ।