Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ मङ्सिर ५ आइतबार ०९:१५:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

म:म बेच्दै  गीत लेख्दै 

Read Time : > 3 मिनेट
२०७८ मङ्सिर ५ आइतबार ०९:१५:००

क्याफेका कर्मचारीलाई उनी गीतकार हुन् भन्ने थाहा छैन श्रोतालाई उनी साहुजी पनि हुन् भने थाहा छैन

पुतलीसडक–बागबजार मोडबाट करिब ५० मिटरभित्र छ, आराधना क्याफे । क्याफेमा सर्वसाधारणदेखि चलेका कलाकारहरूसम्मको बाक्लो जमघट हुन्छ । तर, क्याफेको काउन्टरमा बसेका ‘साहुजी’ गीतकार हर्क साउद हुन् भन्ने धेरैलाई पत्तो छैन । 

क्याफेकै कर्मचारीलाई समेत उनको सांगीतिक जीवनबारे थाहा छैन रे ! अचम्मको संयोग, आफ्नै क्याफेका कर्मचारीलाई उनी गीतकार हुन् भन्ने थाहा छैन भने श्रोतालाई पनि उनी साहुजी हुन् भन्ने थाहा छैन । हर्क अहिलेका व्यस्त गीतकार हुन् । उनलाई गीत लेख्न आग्रह गर्ने धेरै छन् । ‘सुन साइँली...’ को सफलतापछि उनी ठूला पर्दाका सिनेमामा समेत गीत रेकर्ड गराउन सफल भएका छन् । पछिल्लो तीन–चार वर्षमा उनका एक दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् । उनले लेखेका ‘सुन साइँली, ‘कर्ली–कर्ली कपाल’, ‘दुबो फुल्यो, ‘हात्ती ढुंगामा’ बटौली, ‘के माया लाग्छ र ?’, ‘तीनपाते’, ‘बाफ’लगायत गीत निकै चर्चित छन् ।  

यस्तो छ हर्कको दैनिकी
उनी हरेक बिहान आठ बजे नै क्याफेमा आइपुग्छन् । बिहानको समय क्याफेले बागबजार, पुतलीसडकआसपासका संघ–संस्थामा चियानास्ता दिने गर्छ । खाजानास्ता तयार भएपछि फुर्सद मिले उनी सांगीतिक भेटघाटमा निस्कन्छन् । फेरि साँझ ६ बजेसम्म क्याफेमै फर्कन्छन् ।

उनले क्याफे सञ्चालन गरेको करिब पाँच वर्ष भयो । क्याफेमा मःम, चाउमिन, रोटी, पुरी, तरकारीलगायतका खानेकुरा पाइन्छ । सेलेब्रिटी गीतकार भएर मःम र चिया बेच्न अप्ठ्यारो लागेन ? उनी भन्छन्, ‘श्रम गरेर खान किन अप्ठ्यारो मान्ने ? काठमाडौंमा कला क्षेत्रमा मात्रै निर्भर भएर जीवनयापन गर्न कठिन छ । होटेल व्यवसाय गर्नु मेरो रहर होइन, बाध्यता हो । एउटा व्यवसाय भएपछि ढुक्क भइन्छ ।’

‘सुन साइँली..., ‘कर्ली–कर्ली कपाल...’, ‘दुबो फुल्यो..., ‘हात्ती ढुंगामा...’ ‘के माया लाग्छ र... ?’, ‘तीनपाते...’, ‘बाफ...’ लगायत चर्चित गीतका सर्जक हर्क साउद काठमाडौंको बागबजारमा आराधना क्याफे सञ्चालन गरिरहेका छन् । गीत–संगीतमै लागेर गीतकारले जीवनयापन गर्न गाह्रो हुने भएपछि उनी व्यापारतिर पनि लागेका हुन् ।

गीत मात्रै लेखेर जीवन चल्दैन 
गीतकार पर्दापछाडि हुन्छ । गायकलाई एउटा गीत हिट भयो भने उसलाई जीवन बाँच्न सजिलो हुन्छ । देश–विदेशका स्टेज कार्यक्रमबाट कमाइ हुन्छ । त्यसबाट आर्जन भएको पैसा गीतकार तथा संगीतकारलाई दिनुपर्दैन । गायकले एउटा गीत बोकेर संसार घुम्न सक्छ । ‘मैले एउटा गीत लेखेबापत १५–२० हजार रुपैयाँ पारिश्रमिक लिन्छु । गीत मात्रै लेखेर जीवन चल्दैन,’ उनी भन्छन्, ‘हामीजस्ता सिर्जना गर्नेहरूका लागि आर्थिक हिसाब निकै गाह्रो छ । आवाज हुने मान्छेका लागि बाँच्न गाह्रो छैन । त्यसैले अर्काे व्यवसाय गर्नैपर्छ । ’

गीत–संगीतमा भन्दा होटेल व्यवसायमा जोखिम बढी हुन्छ । गीत–संगीतमा पनि जोखिम त हुन्छ,  तर धेरै हुँदैन । होटेल व्यवसायमा जोखिम भए पनि आम्दानीको ग्यारेन्टी हुन्छ । हर्कको अनुभवमा गीत–संगीतमा आम्दानी हुने ग्यारेन्टी अलि कम हुन्छ । व्यवसायमा बढी जोखिम नै छ ।

उनी भन्छन्, ‘लकडाउनभर व्यवसाय बन्द गरेर बस्नुपर्‍यो । अहिले पनि मानिसमा त्रास कम भएको छैन । एकजना गीत गाउने मान्छेले त गीत गाएर पनि युट्युबबाट आर्जन गर्न सक्यो । रातारात गीत हिट बनाएर पैसा कमाउनेहरू पनि छन् । तर, मलाई त्यस्तो गीत लेख्नै मन लाग्दैन ।’

हर्कलाई दिउँसो फुर्सद हुँदैन । क्याफेमा चिया, चाउमिन, मःम बनाएर दिन बित्छ । फुर्सद हुँदा मनमा आएका कथा टिपोट गरेर राख्छन् । त्यसैलाई सिर्जनामा परिणत गर्छन् । उनी भन्छन्, ‘सिर्जनात्मक काम बेलुकीको समयमा गर्छु । तर, मेरा लागि सिर्जना निश्चित स्थान र समय हुनुपर्छ भन्ने छैन । कतिपय कन्टेन्ट काम गर्दा र यात्रा गर्दा पनि जन्मिएका छन् ।’

कन्टेन्टमा लगानी गर्न जोड
गीत चल्न ‘कन्टेन्ट’ राम्रो हुनुपर्ने हर्कको अनुभव छ । तर, नेपाली गीतमा कन्टेन्टमा लगानी नहुँदा राम्रो सिर्जना नभएको उनी बताउँछन् । हर्क भन्छन्, ‘यहाँ राम्रो कन्टेन्टमा काम गर्छु भन्नेलाई लगानी छैन । म त लेखेर मात्रै बाँच्न सक्दिनँ । कतिपय अग्रजहरू गीत लेखेर पनि बाँच्नुभएको छ । तर, मेरो हकमा त्यो अझै सम्भव छैन ।’ 

बजारअनुसार भन्दा पनि समाजअनुसार गीत लेख्छु
हर्कलाई बजारका ट्रेन्डअनुसारका गीत सिर्जना गर्न मन लाग्दैन । उनलाई नेपाली समाजको परिवेशलाई गीतबाट भन्न मन लाग्छ । तर, कतिपय रातारात गीत हिट बनाएर पैसा कमाउनेहरू पनि छन् । ‘अहिले अधिकांश गीतकारलाई गीत लेख्न बजारले उक्साहट गराइरहेको छ । मलाई बजारअनुसार सिर्जना गर्नुभन्दा पनि समाजको गहिराइमा गएर गीत लेख्न रुचाउँछु,’ हर्क भन्छन् ।  पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म पुग्दा त्यहाँका समुदायसँग बेग्लै कथा छन् । कतिपय कथाहरू गुमनाम छन्, बाहिर आउन सकेका हुँदैनन् । 

नेपाली समाज जातीय, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण छ । ‘गीत लेख्ने काम सजिलो हुँदैन । यसरी सिर्जना गरिएको गीत लोकप्रिय बन्न संगीत र गायनको पनि उत्तिकै भूमिका हुन्छ । त्यसमाथि म्युजिक भिडियो पनि सुहाउँदिलो बन्नुपर्छ,’ उनले भने ।   

हर्क सुदूरपश्चिमको डोटी जिल्लामा जन्मिएका हुन् । बाल्यकाल डोटीमै बित्यो । सुदूरपश्चिमको संस्कृतिमा हुर्किए । संघर्षपूर्ण थियो, उनको बाल्यकाल । उनको गाउँमा रेडियो थियो, टिभी थिएन । बिजुली बत्ती थिएन । मेलापात जाँदा रेडियो घन्किन्थ्यो । उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएपछि हर्कको संगीतकार कालीप्रसाद बाँस्कोटासँग भेट भयो । तिनै बाँस्कोटासँगको संगतको परिणाम ‘सुन साइँली’ गीत जन्मियो । यो गीत हिट भएसँगै उनको सांगीतिक यात्राले नयाँ मोड लियो । उनी समयको कडीसँगै गीत–संगीतमै रमाउन थाले । हर्क भन्छन्, ‘गीत लेख्न सिक्दै गरेको गीतकार ठान्छु । अहिलेसम्म दर्जनभन्दा बढी गीत लेखिसकेको छु । केही गीतलाई श्रोता–दर्शकले मन पराइदिनुभएको छ ।’