१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ४ शनिबार
  • Friday, 04 July, 2025
२o७८ मङ्सिर ४ शनिबार ११:४o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संस्कृति चिनाउन विद्यालयमा परम्परागत पोसाक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ४ शनिबार ११:४o:oo

विद्यालयको छेउमै रहेको हुलाकी राजमार्ग भरी निलो पाइन्ट र आकासे रङको सर्टमा देखिने विद्यार्थीहरू दौरा–सुरुवाल, लेहेंगा र चोलीमा देखिए। सधैँ विद्यालयको पोसाकमा आउने विद्यार्थीहरू फरक पोसाकमा विद्यालयमा आइरहेका थिए। शिक्षक र विद्यार्थीहरू विद्यालयको पोसाक छाडेर परम्परागत पोसाकमा ठाँटिएका थिए। विद्यालयभित्र कुनै सांस्कृतिक मेला लागेझैँ देखिएको थियो। ससाना नानीहरू परम्परागत पोसाकमा पुतलीजस्तै देखिन्थे।

यो दृश्य बर्दियाको मधुवन नगरपालिका ४ ढोढरीमा रहेको श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयको हो। यस विद्यालयले वर्षको एक दिन विद्यार्थीहरूलाई आफ्नो र अरूको परम्परागत पोसाक चिनाउनका लागि विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ। तिनै विद्यार्थीहरू देखाएर विभिन्न जातजातिको वेशभूषा, रहनसहन र कला–संस्कृतिका बारेमा जानकारी गराइन्छ।

परम्परागत वेशभूषामा विद्यार्थीहरूलाई उपस्थित गराएपछि उनीहरूको सांस्कृतिक नाचका कार्यक्रमको समेत आयोजना गरिन्छ। विद्यार्थीहरूले आफ्नै भाषा र कलामा सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए । अधिकांश विद्यार्थीहरूले आफ्नै पुर्खाको वेशभूषा पहिरिएका थिए। परम्परागत पोसाक लगाएपछि सबै विद्यार्थीको वेशभूषाका बारेमा जानकारी भएको कक्षा ९ मा अध्ययनरत विद्यार्थी गौरव कँडेलले बताए । उनले यसअघि यति धेरै जातजातिका विद्यार्थीहरू एउटै कक्षामा पढ्छौँ भन्ने थाहा नभएको बताए।

 

विद्यार्थीहरुलाई आफ्नो वेशभूषा र कला संस्कृतिका बारेमा जानकारी होस् र त्यसप्रति चासो बढोस् भनेर यस्तो कार्यक्रम राखिएको विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले बताए। ‘यो कार्यक्रम गर्न थालेपछि विद्यार्थीहरूमा आफ्नो कला संस्कृतिप्रतिको माया बढ्दै गएको पाएका छौँ,’ उनले भने, ‘उनीहरूले आफ्नो परम्परागत पोसाकका बारेमा अभिभावकसँग सोधखोज गर्छन् र लगाएर आउँछन् ।’ विद्यार्थीहरूलाई परम्परागत वेशभूषा, रीतिरिवाज र चालचलनका बारेमा सिकाउन पनि सहज भएको प्रधानाध्यापक पोखरेलको भनाई छ।

मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर केसीले विद्यार्थीहरूलाई कला र संस्कृतिका बारेमा सिकाउनका लागि यो उपयुक्त उपाय भएको बताए । उनले यस विद्यालयबाट अन्य विद्यालयले पनि सिक्नुपर्ने बताउँदै मधुवन नगरपालिका वेशभूषा, भाषा, कला–संस्कृति, पर्यटकीयस्थललगायतको जानकारी समेटेर स्थानीय पाठ्यक्रमको निर्माण भएको र आगामी आर्थिक वर्षदेखि लागू हुने बताए ।

यस विद्यालयमा हाल करिब दुई हजार विद्यार्थीहरू अध्ययन गरीरहेका छन्। नेपाली र अंग्रेजी दुवै माध्यमबाट अध्यापन भइरहेको यस विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, शिक्षा, व्यवस्थापन विषयमा पढाइ हुन्छ। त्यसैगरी,  प्राविधिकतर्फ सिभिल र इलेक्ट्रिकल  विषयमामा डिप्लोमा (तीनवर्षे) र प्रि–डिप्लोमा (१८ महिने) पढाइसमेत हुँदै आएको छ ।