Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ मङ्सिर ३ शुक्रबार ०६:५८:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चितवन मेडिकल कलेजको चरम लापरबाही- ‘अनुमति नै नपाएका डाक्टरले कलेजो प्रत्यारोपण गर्दा बिरामीको मृत्यु’

Read Time : > 3 मिनेट
२०७८ मङ्सिर ३ शुक्रबार ०६:५८:००

कलेजो प्रत्यारोपण गरिएका चितवनका बोधराज पौडेलकोे १२ घन्टा नबित्दै चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै पीडित परिवारद्वारा उपचारमा संलग्न चिकित्सक र अस्पतालमाथि कारबाहीको माग गर्दै उजुरी

शल्यक्रियाको अनुमति नै नपाएका चिकित्सकले कलेजो प्रत्यारोपण गर्दा भरतपुरस्थित चितवन मेडिकल कलेजमा एक बिरामीको ज्यान गएको छ । पीडित परिवारले मेडिकल कलेज र त्यहाँ कार्यरत चिकित्सकविरुद्ध नेपाल मेडिकल काउन्सिल, मानव अंग प्रत्यारोपण समन्वय समिति र जिल्ला प्रशासन कार्यालय चितवनमा उजुरी दिएका छन् । 

भरतपुर– ६ का बोधराज पौडेलको गत ६ असोजमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतकका छोरा प्रसन्नले अनुमति नै नपाएका डाक्टरले प्रत्यारोपण गरेको भन्दै उजुरी गरेका हुन् । डा. सञ्जयकुमार यादवसहितको टोलीले पौडेलको कलेजो प्रत्यारोपण गरेको थियो । तर, उनलाई मानव अंग प्रत्यारोपण समन्वय समितिले प्रत्यारोपणको अनुमति नदिएको स्रोतले जनाएको छ । 

त्यति मात्र होइन, शल्यक्रियाअघि मृतकको रगतमा थाइराइड उच्च रहेको अवस्थामा समेत शल्यक्रिया गरिएको थियो । त्यस्तो अवस्थामा शल्यक्रिया गर्न नमिल्ने चिकित्सकहरू बताउँछन् । शल्यक्रियालगत्तै आवश्यक औषधिबारे पनि अस्पतालले परिवारलाई जानकारी गराएको थिएन । जसकारण विदेशबाट ल्याउनुपर्ने औषधि ल्याउन नसकिएको र संक्रमणको उच्च जोखिम हुँदाहुँदै प्रत्यारोपणलगत्तै पत्थरीको अप्रेसन गरेर थप जोखिममा पारेको पीडित परिवारको दाबी छ । 

‘रगतमा थाइराइडको मात्रा १५० हुँदा पनि चिकित्सकले बेवास्ता गरेर प्रत्यारोपण गरेकाले बुबाको मृत्यु भएको हो । अप्रेसन गर्नुअघिको चेकजाँचमा धेरै थाइराइड देखियो, तर चिकित्सकले केही हुँदैन भन्नुभएकाले हामीले विश्वास गर्‍यौँ । अहिले पो थाहा भयो, यो अवस्थामा प्रत्यारोपण गर्न नै नमिल्ने रहेछ भन्ने,’ मृतक पौडेलका छोरा प्रसन्नले भने, ‘हामीसँग प्रत्यारोपण गर्ने चिकित्सक भारतबाट आउँछन् भनिएको थियो, तर उनीहरू आए कि आएनन् थाहा दिइएन ।’

प्रसन्नले दिएको उजुरीमा उपचारमा संलग्न चिकित्सक र मेडिकल कलेजलाई कानुनबमोजिम कारबाही हुनुपर्ने र क्षतिपूर्तिबापत पाँच करोड रुपैयाँ उपलब्ध गराउनुपर्ने माग गरिएको छ । अस्पतालका अध्यक्ष डा. हरिशचन्द्र न्यौपाने तथा उपचारमा संलग्न चिकित्सक डा. सञ्जयकुमार यादव, डा. राजीव शाहलगायतविरुद्ध उनले उजुरी दिएका छन् । डा. यादव प्रत्यारोपणको अनुमति नै नपाएको डाक्टर भएको पीडित परिवारको दाबी छ ।

मानव शरीर अंग प्रत्यारोपण नियमावलीअनुसार कलेजो प्रत्यारोपणका लागि दुईजना एनेस्थेसियोलोजिस्ट हुनुपर्नेमा अस्पतालमा एकजना पनि नभएको उजुरीमा उल्लेख छ । चिकित्सकहरूको चरम लापरबाही र कानुनअनुसार भौतिक साधन तथा जनशक्तिको अभावका कारण बिरामीको मृत्यु भएको दाबी गर्दै उजुरीमा छानबिन र कारबाहीको माग गरिएको छ ।

‘बिहान अप्रेसन सकिएपछि चिकित्सकहरूले सोचेकोभन्दा राम्रो ढंगबाट कलेजो प्रत्यारोपण र पत्थरी पनि निकालिएको बताएका थिए । तर, त्यसै दिन ६ गते साँझ बिरामी सिरियस छ, बचाउन गाह्रो छ भनेर चिकित्सकले भन्न थाले । अन्ततः राति १२ बजे अस्पतालले बुबालाई मृत घोषणा ग¥यो । अस्पताल र चिकित्सकहरूको चरम लापरबाही भएको देखेर न्यायका लागि उजुरी दिएका हौँ,’ मृतक पौडेलका छोरा प्रसन्नले भने, ‘पछि हामीले थाहा पायौँ– डा. यादव प्रत्यारोपणको अनुमति नै नपाएका हुन् ।’ परिवारका अनुसार मेडिकल कलेजमा मात्र उपचारका लागि ५० लाख खर्च भएको छ । 

चार महिनादेखि सिएमसीमा उपचार गराउँदै आएका पौडेललाई पत्नी सुशीलाले कलेजो दान दिएकी थिइन् । पौडेलले पाँच वर्षदेखि फ्याटी लिभरको काठमाडौंमा नियमित उपचार गराइरहेका थिए । समस्या बढेको भन्दै चिकित्सकले उनलाई गत वैशाखमा दुई वर्षभित्र कलेजो प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका थिए । 

पौडेलकी आमा टीकादेवीको आँखा अझै ओभाएको छैन । श्रीमान्लाई कलेजो दान गरेकी सुशीलाको पनि स्वास्थ्य ठीक छैन । उनी हाल पोखरास्थित माइतीघरमा छिन् । ‘हामी छोराकै भरमा बाँचेका थियौँ । हामीलाई उसैले पालेको थियो । अब हाम्रो स्याहार कसले गरिदिन्छ, बुढेसकालको सहारा छैन । हाम्रो बिजोग भयो,’ टीकादेवीले भनिन्, ‘हाँस्दै घरबाट गएको छोराको लास आयो । अब हामीलाई कसले न्याय दिने ? हाम्रो मान्छे पनि गयो, धन पनि गयो ।’ 

नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. कृष्ण अधिकारीले पीडितको उजुरी आएको र छिटै छानबिन हुने बताए । ‘पीडित परिवारले दुई पेजको ठाडो निवेदन दिएका छन् । उजुरीमाथि छानबिनको काम चाँडै थाल्छौँ । सम्बन्धित कलेजबाट आवश्यक कागजपत्र र पीडित परिवारसँग भएका कागजपत्र लिएर छानबिन गर्छौँ,’ उनले भने । 

मानव अंग प्रत्यारोपण समन्वय समितिकी अध्यक्ष डा. दिव्यासिंह शाहले डा. यादवविरुद्ध उजुरी आएको र चाँडै छानबिन हुने बताइन् । ‘कलेजो प्रत्यारोपण त्यसै पनि निकै जटिल उपचार हो । बिरामी वा उनको परिवारले निकै ठूलो रकम खर्च गरेको हुन्छ । यस्तो उपचार गर्दा सचेत हुनुपर्छ । चितवनको घटनाबारे समितिमा उजुरी परेको छ, हामी चाँडै छानबिन गरेर टुंगोमा पुग्छौँ । अनुमतिबेगर शल्यक्रिया गरेका रहेछन् भने कारबाही हुन्छ,’ उनले भनिन् ।

चितवन मेडिकल कलेजका सञ्चालक डा. हरिशचन्द्र न्यौपानेले भने डा. यादवले प्रत्यारोपण नगरेको दाबी गरे । ‘चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गर्ने सर्जन डा. सञ्जयकुमार यादव होइनन्, उनी अनुमतिप्राप्त होइनन् । हाम्रा मुख्य सर्जन डा. प्रवीण जोशी हो, उहाँले नै प्रत्यारोपण गर्नुभएको हो,’ उनले भने । डा. यादव राम्रो प्रत्यारोपण गर्ने डाक्टर भए पनि मानव अंग प्रत्यारोपण समन्वय समितिले अनुमति नदिएपछि अस्पतालले डा. जोशीलाई सर्जन राखेको न्यौपानेले बताए । 

भारतबाट चिकित्सक आएर प्रत्यारोपण गर्छन् भनेर मेडिकल कलेजले ढाँट्यो  : प्रसन्न पौडेल, मृतकका छोरा
असार पहिलो साता पेटमा पानी जमेपछि बुबालाई चितवन मेडिकल कलेज लग्यौँ । चिकित्सकले त्यतिवेला कलेजो प्रत्यारोपण गर्नुपर्ने बताए । हामीले भारतमा रिफर गरिदिन भनेका थियौँ । भारतमा भन्दा राम्रो यहीँ छ, खर्च पनि सस्तो हुन्छ, सजिलो पनि हुन्छ भन्नुभयो ।

भारतकै राम्रा अस्पतालमा काम गरेका चिकित्सक प्रत्यारोपणका लागि आउनुहुन्छ भनेपछि कोभिड कहरका कारण बुबाको कलेजो यहीँ प्रत्यारोपण गर्ने निर्णय गर्‍यौँ । ममीले कलेजो दिनुभयो, ५ असोज साँझमा प्रत्यारोपण सुरु भयो । हामीसँग प्रत्यारोपणका विषयमा सबै कुरा गर्ने अन्तिमसम्म डा. सञ्जयकुमार यादव थिए । जब कि प्रत्यारोपण गर्ने चिकित्सक भारतबाट आउने भनिएको थियो । तर, पछि थाहा पाइयो, अप्रेसन यादवले नै गरे । उनी प्रत्यारोपणको अनुमति नपाएका चिकित्सक हुन् भन्ने थाहा भयो ।

कलेजो प्रत्यारोपणसँगै बुबाको मिर्गाैलाको पत्थरीको पनि शल्यक्रिया गरिएको थियो । बिहान अप्रेसन सकिएपछि चिकित्सकहरूले सोचेकोभन्दा राम्रो ढंगबाट प्रत्यारोपण भयो, पत्थरी पनि निकालियो भनेर बताएका थिए । तर, त्यसै दिन साँझ ‘बिरामी सिरियस छ, बचाउन गाह्रो छ’ भनेर भन्न थाले । अन्ततः राति १२ बजे अस्पतालले बुबालाई मृत घोषणा गर्‍यो ।

रगतमा थाइराइडको मात्रा १५० हुँदा पनि चिकित्सकले बेवास्ता गरेर प्रत्यारोपण गरेकाले बुबाको मृत्यु भएको हो । अप्रेसन गर्नुअघिको चेकजाँचमा धेरै थाइराइड देखियो, उहाँहरूले केही हुँदैन भन्नुभएकाले हामीले विश्वास गर्‍यौँ । अहिले पो थाहा भयो, यो अवस्थामा प्रत्यारोपण गर्न हुँदैन भन्ने । प्रत्यारोपणलगत्तै चाहिने औषधि पनि यहाँ नपाइँदो रहेछ, त्यो कुरा पनि हामीलाई अस्पतालले बताएन ।