टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ५ बुधबार
  • Wednesday, 19 January, 2022
कात्तिक पहिलो साताको बाढीले डुबाएको कैलारी गाउँपालिकाका किसानको धानखेत ।  फाइल तस्बिर 
२०७८ कार्तिक २८ आइतबार ०९:०८:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

बेमौसमी बर्खाले आहत कृषकले अझै पाएनन् राहत

Read Time : > 3 मिनेट
२०७८ कार्तिक २८ आइतबार ०९:०८:००

कैलालीको जोशीपुर गाउँपालिका–१, बडहरियाका किसान केशव चौधरी गहुँ बाली लगाउन बिउ र मलखाद कसरी जुटाउने भन्ने चिन्तामा छन् । विगत वर्षमा धान बेचेर बीउ र मलखादको जोहो गर्ने उनले यसपटक धान बेचेका छैनन् । ‘गहुँ बाली लगाउनका लागि ऋण खोज्दै छु, पाएको छैन,’ दुःखी हुँदै चौधरीले भने, ‘हिउँदे बाली कसरी लगाउने भन्ने चिन्ता छ ।’

कात्तिक पहिलो साता आएको बाढीले उनले दुई बिघामा लगाएको धानबालीमा क्षति भयो । काटेर खेतमै कुन्यु बनाएर राखेको धान डुबेपछि कुन्युमै उम्रियो । उम्रिएर कालो दाग लागेको धानले मूल्य नपाएपछि नबेचेको चौधरीले बताए । ‘धान बिग्रेको भनेर व्यापारीले क्विन्टलको हजार–१२ सय रुपैयाँ पनि दिँदैनन् । त्यतिमा धान बेचेर घर खर्च चल्दैन । त्यसैले धान बेचिनँ ।’

चौधरीको पाँचजनाको परिवार खेतीमै निर्भर छ । बाढीले धान सोत्तर पारेपछि राहतका लागि वडा कार्यालयमा गएर क्षतिको विवरणसहित फाराम भरेका छन् । उनी सरकारले थोरै भए पनि राहत देला भन्ने आशामा छन् । गहुँको बिउ र मलखाद दिए पनि आफूलाई ठूलो सहयोग पुग्ने उनको भनाइ छ ।

कैलारी गाउँपालिका–५ पवेराका किसान कमलेस कठरिया पनि घर खर्चसँगै हिउँदे बालीका लागि खर्चको जोहो कसरी गर्ने भन्ने चिन्तामा छन् । उनले खेती गर्ने पाँच बिघामध्ये चार बिघामा लगाएको धान बाढीमा डुब्दा काम नलाग्ने भएको छ । काटेर खेतमै पुला बाँधेर राखेको धान उम्रिएर बिग्रिएपछि हजार रुपैयाँ क्विन्टल पनि बिक्न गाह्रो भएको उनले बताए । कठरियाले अहिलेसम्म कतैबाट पनि राहत नपाएको बताए । ‘वर्षभरिको मिहिनेत खेर गयो । किसानलाई यति ठूलो क्षति हुँदा सरकारले राहत त दिनुपर्ने हो,’ उनले भने, ‘सरकारले सहुलियतमा गहुँको बिउ र मल मात्र उपलब्ध गराइदिए पनि हामीलाई ठूलो राहत पुग्थ्यो ।’ नौजनाको परिवारका लागि नुनतेल र बालबालिकाको पढाइ खर्च कहाँबाट जुटाउने भन्ने चिन्ताले सताउने गरेको कठरियाले बताए । ‘खेतीपातीबाहेक आम्दानीको स्रोत केही छैन । यति ठूलो परिवारको खर्च कसरी जुटाउने ? पीडित किसानका समस्या सरकारले बुझोस्,’ उनले भने ।’

४९ हजार हेक्टरको धानबाली पूर्ण रूपमा क्षति
अन्न उत्पादनको पकेट क्षेत्रका रूपमा रहेको कैलालीमा बेमौसमी वर्षाले धानबालीमा ठूलो क्षति गरेको छ । धानबाली नष्ट भएपछि सयौँ किसान पीडित छन् । स्थानीय तहहरूले वर्षाले धानबालीमा भएको क्षतिको विवरण संकलन गरहेका छन् । तर, सरकारी स्तरबाट किसानले अहिलेसम्म राहत पाएका छैनन् । राहत दिने विषयमा सुनुवाइ नहुँदा पीडित समस्यामा छन् । धानबाली नष्ट हुँदा परिवार पाल्नै समस्या भएको भन्दै पीडित किसानले राहत दिन सरकारसँग माग गरिरहेका छन् ।

स्थानीय तहबाट संकलित विवरणअनुसार करिब ७८ हजार हेक्टरमा धानबाली लगाइएकोमा करिब ४९ हजार तीन सय हेक्टरको धानबाली पूर्ण रूपमा क्षति भएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । यहाँका सबै स्थानीय तहले संकलन गरेको विवरण हेर्दा वर्षाले धानबालीमा चार अर्ब ६४ करोड मूल्यको क्षति गरेको कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताए । तरकारीलगायत अन्य बालीमा करिब ७७ करोड क्षति भएको उनले जानकारी दिए । संकलित तथ्यांक यकिन गर्ने काम भइरहेको केन्द्रले जनाएको छ ।

कतिपय किसानको धान पूर्ण रूपमा क्षति भएको उल्लेख गर्दै शर्माले पीडित किसानलाई राहतको आवश्यकता रहेको बताए । अहिलेसम्म राहत दिने कुनै कार्यक्रम भने आइनसकेको शर्माले बताए । ‘केन्द्र सरकारले पनि राहत दिने निर्णय गरेको सुनिएको छ । प्रदेश सरकारले पनि गर्ला,’ उनले भने, ‘धानबालीमा ठूलो क्षति भएको छ । किसानलाई राहतको खाँचो छ ।’ क्षतिको यकिन विवरण आएपछि किसानलाई राहत दिनेबारे छिट्टै निर्णय गरिने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ ।

कृषि सामग्रीको गोदाम रित्तै, किसानले मल पाएनन्

धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाम ।

भजनी नगरपालिकाको लालबोझीका किसान सन्तराम चौधरीले गहुँ बाली लगाउन खेत जोतेर ठिक्क पारेका छन् । तर, रासायनिक मल नपाउँदा गहुँ छरेका छैनन् । मलका लागि जागरण कृषि सहकारीमा दैनिकजसो धाइरहेका उनलाई सहकारीले मल छैन भनेर फर्काउने गरेको छ । 

यो सिजनमा मसुरो, तोरी र आलु लगाउँदा मल नपाएका चौधरीलाई मलविनै गहुँ छर्नु पर्ला कि भन्ने चिन्ता छ । ‘खेत जोतिसकेँ । मल पाएपछि एक–दुई दिनमै गहुँ छर्नु पर्ने हो,’ चौधरीले नयाँ पत्रिकासँग भने, ‘तर, सहकारीमा मल आएकै छैन । मल नपाउँदा गहुँ छर्न ढिलो होलाजस्तो छ ।’ पोहोर साल पनि गहुँ छर्ने वेला मल नपाएर समस्या भएको उनले सुनाए । 

गौरीगंगा नगरपालिकास्थित बेरोजगार कृषक सहकारी संस्थामा मलका लागि दैनिकजसो कृषकको भिड लाग्ने गरेको छ । सहकारीका पदाधिकारी मल लिन धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालय धाइरहेका छन् । यो सहकारीले कृषि सामग्रीबाट आइतबार ४० क्विन्टल युरिया पाएको छ । तर, थोरै मल पाएकाले वितरण गर्दा उल्टै समस्या हुने सहकारीका पदाधिकारी बताउँछन् ।  

‘एउटै किसानलाई ५–७ क्विन्टलसम्म मल चाहिन्छ । ४० क्विन्टल लगेर कसलाई दिने, कसलाई नदिने ।’ बेरोजगार कृषि सहकारीका उपाध्यक्ष सिद्धराज सापकोटाले भने, ‘बाँड्दा लुछाचुँडीले उल्टै झगडा पर्ला भन्ने डर ।’ कृषि सामग्रीले थप मल तिहारपछि आइपुग्ने भनेर फर्काएको सापकोटाले बताए । विगत वर्षमा यतिवेला कृषकलाई खेत जोत्न र गहुँबाली लगाउन भ्याइनभ्याइ हुन्थ्यो । कात्तिक पहिलो साता भएको भारी वर्षाले यसपालि भने खेत नसुक्दा गहुँ छर्न केही ढिलो हुने देखिएको छ । खेत सुकेपछि गहुँ छर्ने पर्खाइमा रहेका किसान मलको खोजीमा जुटेका छन्, तर कैलालीमा रासायनिक मलको चरम अभाव छ ।  

गत वर्षकै अवस्था भोग्नुपर्ने चिन्ता
गत सिजनमा सहकारीमा घन्टौँसम्म लाइन बस्दा पनि थुपै्र किसानले आवश्यकताअनुसार मल पाएका थिएनन् । किसान यसपालि पनि त्यस्तै समस्या भोग्नुपर्ला भन्ने चिन्तामा छन् । कृषि सामग्रीमा मलको मौज्दात न्यून छ । कार्यालयले यो सिजनका लागि पाँच हजार टन युरिया माग गरेको छ, तर अहिलेसम्म एक सय १५ टन मात्र आइपुगेको छ । त्यसमध्ये कार्यालयमा अहिले ७० टन मात्र मौज्दात छ । यस्तै, हिउँदे सिजनको बालीका लागि डिएपी मल अहिलेसम्म कत्ति पनि नआएको कृषि सामग्री कम्पनी लिमिटेको कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले जानकारी दिए । हिउँदे बालीका लागि यहाँ आवश्यक पर्ने ६ हजार टन डिएपी मल केन्द्रसँग माग गरिएको उनले बताए । 

‘युरिया केही आउन थालेको छ । डिएपी यो महिनाको अन्तिमतिर आउने जानकारी केन्द्रबाट आएको छ ।’ बोगटीले भने, ‘हाम्रो गोदाममा मल मौज्दात नै छैन ।’ केही मात्रामा रहेको युरिया दुई दिनमै वितरण गरेर सकिने उनले बताए । कैलालीमा करिब तीन सय सहकारीमार्फत सरकारी अनुदानको मल किसानलाई बिक्री हुँदै आएको छ । अन्न उत्पादनको भण्डारका रूपमा रहेको यो जिल्लामा ३५ हजार हेक्टरमा गहुँ तथा २२ हजार हेक्टरमा मसुरो र तोरी खेती हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।