मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
भोजराज भण्डारी काठमाडाैं
२०७८ कार्तिक २७ शनिबार ०८:४७:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्मार्ट पार्किङ : भाटभटेनीले ६ महिनामै बनायो, महानगरको ‘गफ’ मात्रै

Read Time : > 3 मिनेट
२०७८ कार्तिक २७ शनिबार ०८:४७:००
  • महानगरले सडकको छेउमै पार्किङ गराएर प्रिन्टेड बिल दिएका भरमा महँगो पार्किङ शुल्क लिनेभन्दा केही भएको छैन 
  • साढे चार आना क्षेत्रफलमा बनेको ११ तलामा कुल ४४ वटा गाडी पार्किङ गर्न सकिन्

गोंगबु नयाँ बसपार्कमा पसल चलाइरहेकी सुनीता सिटौलालाई पसलको सामान किन्न दैनिकजसो न्युरोडको असन बजार गइरहनुपर्छ । स्कुटरमा हुइँकिने उनलाई सधैँ एउटै चिन्ताले सताउँछ, ‘असनमा कहाँ स्कुटर पार्किङ गर्ने ?’ असनमा सवारीसाधन पार्किङ गर्ने ठाउँ पाउनु भनेको ठूलै युद्ध जितेसरह हो । उनी भन्छिन्, ‘पसल चलाउन असन पुगेर सामान ल्याउनुपर्ने बाध्यता छ, स्कुटर पार्किङ गर्न त समस्या पर्छ नै, मान्छेको भिड छिचोलेर सामान खरिद गर्न पनि उत्तिकै समस्या छ ।’ असन पुगी सामान किनेर फर्किन तीनदेखि चार घन्टा लाग्ने उनको भनाइ छ ।

काठमाडौंको अति व्यस्त व्यावसायिक केन्द्र न्युरोडमा कार्यरत प्युठानका पदम पोखरेलले हालसालै गाडी किनेका छन् । तर, उनले गाडी चलाएर अफिस जाने आँट गर्न सकेका छैनन् । कारण हो, न्युरोडमा पार्किङको चरम अभाव । न्युरोडमा गाडी लगेर कहाँ पार्किङ गर्नु ? गाडी किने पनि मोटरसाइकलमै अफिस जान्छन् उनी । उनलाई गाडी चलाएर हिँड्नका लागि शनिबार नै कुर्नुपर्ने बाध्यता छ । शनिबार परिवारसँग घुमफिरका लागि मात्र गाडीको उपयोग भइरहेको उनी बताउँछन् । 

नुवाकोट घर भई कालोपुल बस्ने विक्रम बस्नेत न्युरोडका गल्लीमा गाडी र मान्छेको भिडबाटै सवारीसाधन चलाउन बाध्य भएको सुनाउँछन् । एकैछिन रोक्नुप¥यो भने खाली ठाउँ भेटिँदैन । गल्ली–सडकमा सवारी अड्याएर पसलबाट सामान किनेर निस्किँदा त्यहाँ सवारीसाधनको भिड लागिसकेको हुन्छ । अझ कतिपय अवस्थामा त बाइक नगर पुलिसले उठाएर लगिसकेको हुन्छ । काठमाडौं महानगरपालिकाले ठाउँ–ठाउँमा स्मार्ट पार्किङ भनेर चलाइरहेको छ । तर, महानगरको त्यो स्मार्ट पार्किङ नाम मात्रैको छ । सडकको छेउमै पार्किङ गराएर प्रिन्टेड बिल दिएका भरमा महँगो पार्किङ शुल्क लिनेभन्दा केही भएको छैन । स्मार्ट पार्किङमा केही घन्टा सवारीसाधन पार्किङ गर्नुपर्‍यो भने ट्याक्सीको भन्दा बढी पार्किङको बिल निस्किन्छ । 

असन र न्युरोड मात्र होइन, पछिल्लो समय काठमाडौंका अधिकांश ठाउँमा सवारीसाधन पार्किङ गर्न उत्तिकै समस्या छ । अफिस जाने होऊन् वा किनमेल गर्न निस्कने, रेस्टुरेन्टमा खाजा खान जानेहरू होऊन् वा व्यावसायिक रूपमा सवारीसाधन चलाउनेहरू । सबैलाई पार्किङको समस्याले सताइरहेको छ । काठमाडौंको न्युरोड, असन, इन्द्रचोक, दरबारमार्ग, ठमेल, पुतलीसडक, बानेश्वर, ललितपुरको पाटन दरबार स्क्वायर, मंगलबजार, पुल्चोक, कुमारीपाटी, जावलाखेललगायत धेरै ठाउँमा अहिले पार्किङ गर्ने ठाउँ सितिमिति भेट्टाउन सकिँदैन । साना दुईपांग्रे सवारीसाधन जेनतेन पार्किङ गरिहाले पनि चारपांग्रे ठूला गाडीहरू पार्किङ गर्न सकिने ठाउँ नै उपलब्ध छैन । 

उपत्यकामा पार्किङको चरम अभाव भइसक्दा पनि देशका दुई ठूला महानगर काठमाडौं, ललितपुरले व्यवस्थित पार्किङका लागि कुनै चासो दिइरहेका छैनन् । काठमाडौं महानगरले न्युरोडमा बहुतले पार्किङ बनाउने घोषणा गरेको वर्षौँ भइसके पनि कामले गति लिन सकेको छैन । त्यस्तै, टेकुमा पनि बहुतले स्मार्ट पार्किङ बनाउने योजना महानगरको थियो । त्यहाँ पनि अझै कुनै प्रक्रिया अगाडि नबढेको महानगरकै कर्मचारी बताउँछन् । वर्षौँदेखि पार्किङ बनाउने योजनामा रहेको महानगरले न्युरोड र दरबारमार्गका सडकमै प्रिन्टेड रसिद दिएर नाम मात्रैको स्मार्ट पार्किङबाहेक अरू कुनै योजना अघि बढाउन सकेको छैन ।

काठमाडौं महानगरपालिका भौतिक पूूर्वाधार विकास विभागका प्रमुख राम थापा व्यवस्थित पार्किङका लागि बहुतले भवनसहितको योजना अघि बढेको बताउँछन् । त्यो परियोजनाका लागि बोलपत्र आह्वान भइसके पनि आवेदन आउन बाँकी रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘महानगरको योजना भवनसहित चारपांग्रे र दुुईपांगे्र सवारीसाधन अट्ने स्मार्ट पार्किङ हो ।’ पहिलो चरणमा टेकुुमा ९० करोड लगानीमा ६ सयभन्दा बढी  दुुईपांग्रे र पाँच सयभन्दा 
बढी चारपांग्रे सवारीसाधन पार्किङ गर्न मिल्ले गरी बहुतले भवन बनाउने उनी बताउँछन् । 

भाटभटेनीले बनायो ११ तले पार्किङ

काठमाडौं महानगरले बहुतले स्मार्ट पार्किङ स्थल बनाउने बहस मात्र गरिरहेका वेलामा भाटभटेनी सुपर स्टोरले भने ६ महिनामै बहुतले स्मार्ट पार्किङ बनाएर उदाहरण पेस गरिसकेको छ । व्यवसायी मीनबहादुर गुरुङले भाटभटेनीको टंगाल स्टोरमा बहुतले पार्किङ बनाएका हुन् । टंगाल भाटभटेनीमा बनेको ११ तले पार्किङ सम्भवतः देशकै पहिलो हो । भाटभटेनीको टंगाल आउटलेटमा चारवटा बहुतले रहेकामा एउटा बहुतलेमा ११ वटा गाडी अट्ने बताइएको छ ।

साढे चार आना क्षेत्रफलमा बनेको ११ तलामा कुल ४४ वटा गाडी पार्किङ गर्न सकिन्छ । टंगाल भाटभटेनी जाने ग्राहकले बहुतले पार्किङमा गाडी राखेर बाहिर निस्केपछि खाली ठाउँमा गाडी आफैँ पुग्छ । यो पूर्णतया अटोमेटिक पार्किङ हो । टंगाल आउटलेटमा खुला पार्किङमै ७० वटासम्म गाडी र तीन सय हाराहारी बाइक तथा स्कुटर पार्किङ गर्न मिल्ने ठाउँ भए पनि पार्किङको अभाव खड्किँदै गएपछि बहुतले पार्किङ बनाइएको हो । भाटभटेनीका सञ्चालक गुरुङ भन्छन्, ‘यदि कोभिड महामारी नफैलिएको भए हामीले अघिल्लो वर्ष नै बहुतले स्मार्ट पार्किङ सञ्चालनमा ल्याइसकेका हुने थियौँ ।’

उनी भन्छन्, ‘यही आर्थिक वर्षभित्रमा चारवटा आउटलेटमा स्मार्ट पार्किङ बनाउनेछौँ र बिस्तारै दुुई वर्षमा सञ्चालनमा आएका १९ वटै भाटभटेनीमा स्मार्ट पार्किङ बनाउने योजना रहेको छ ।’ गुरुङ थप्छन्, ‘पार्किङका लागि पर्याप्त खाली ठाउँ नभएको हुनाले पार्किङका लागि बहुतले पार्किङ उपयुक्त छ ।’ काठमाडौं महानगरपालिकाले वर्षौँदेखि बनाउने भनेर ‘गफ’ मात्र दिइरहेका वेलामा निजी क्षेत्रले त्यही काम छोटो अवधिमै सम्पन्न गरेर देखाइदिएको हो । न्युरोड, असन, इन्द्रचोक, ठमेल, दरबारमार्ग, पुतलीसडक, बानेश्वर, पाटन, मंगलबजार, कुमारीपाटीलगायत ठाउँमा बहुतले पार्किङको विकल्प देखिँदैन । पछिल्लो समय अव्यवस्थित पार्किङकै कारणले दुर्घटना बढ्ने गरेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुनीलजंग शाह बताउँछन् । 

ठूला भवनका मात्र आफ्नै पार्किङ
काठमाडौं उपत्यकाका पुराना घर तथा भवनमा अन्डरग्राउन्ड पार्किङको सुविधा पनि छैन । बाहिर पार्किङ गर्नका लागि जग्गा पनि छैन । तर, पछिल्लो समय बनिरहेका ठूला भवनमा भने अन्डरग्राउन्ड पार्किङको व्यवस्था गर्न थालिएको छ । ठूला होटेल, सपिङ मल, सरकारी भवन, स्कुल, कलेज, हस्पिटललगायतले पार्किङका लागि दुई–तीन तलासम्म बेसमेन्ट बनाउन थालेका छन् । ठमेलमा छाया सेन्टरले आफ्नै पर्याप्त पार्किङको व्यवस्था गरेको छ । महांकालस्थानमा बनेको आर्मीको कम्प्लेक्समा बनाइएका दुई तला बेसमेन्टले केही हदसम्म त्यहाँ पार्किङ समस्या हल गरेको छ । काठमाडौं मल, सिटी सेन्टर, रञ्जना मल, ट्रेड सेन्टर, केएल टावर, वर्ल्ड ट्रेड सेन्टरलगायत व्यवस्थित कम्प्लेक्सहरूले आफ्ना लागि अन्डरग्राउन्ड पार्किङको व्यवस्था गरिसकेका छन् । नक्सालमा रहेको म्यारियट होटेलले अन्डरग्राउन्ड बेसमेन्टमा दुई तहसम्म पार्किङ गर्न मिल्ने हाइड्रोलिक पार्किङ बनाएको छ ।