मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २४ बुधबार
  • Wednesday, 18 December, 2024
शान्ति तामाङ काठमाडौं
२o७८ कार्तिक २४ बुधबार o९:४२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एक सातादेखि उठेन उपत्यकाको फोहोर

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २४ बुधबार o९:४२:oo

बर्खाको कारण बाटो बिग्रिँदा लामो समय सिसडोल पुग्न नसकेको फोहोर फेरि एकपटक घर, सडकमा थुप्रिएका छन् । पहिले बाटोको कारण उठ्न नसकेको फोहोर अहिले चाडपर्वका कारण उठ्न नसकेको काठमाडौं महानगरपालिकाले बताएको छ । ‘सिसडोलमा फोहोर लैजान कुनै पनि समस्या छैन । तर, चाडपर्वका कारण कर्मचारीहरू बिदामा बसेका छन् । त्यसैले फोहोर उठ्न नसकेको हो । अन्य खास समस्या केही छैनन्,’ महानगरअन्तर्गत वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले भने । चाडबाडको कारण देखाउँदै महानगरले हप्तादिनदेखि फोहोर नउठाएको हो । महानगरले फोहोर नउठाउँदा मुख्य चोकहरू दुर्गन्धित बनेका छन् । 

महानगरका वातावरण विभाग प्रमुख श्रेष्ठ भने सडकमा थुप्रिएका फोहोर भोलिदेखि सबै उठ्ने बताउँछन् । केही सयमअगाडि पनि सडकका फोहोर पटकपटक गरेर हप्तौँसम्म उठ्न सकेको थिएन ।

महानगरका अनुसार काठमाडौंमा दैनिक एक हजारदेखि १२ सय टनसम्म फोहोर उत्पादन हुने गरेको छ । वर्गीकरण नगरी एकै ठाउँमा फोहोर हाल्दा यो परिमाण अझै बढ्न सक्छ । उपत्यकाको काठमाडौं, ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । यी सबै फोहोर निजी र महानगरका गरी दैनिक दुई सय बढी टिपर–ट्रकबाट नुवाकोटको ककनी गाउँपालिका–२ को सिसडोल लैजाने गरिएको छ । दैनिक २५ ट्रकको दुई सय ५० टन फोहोर फाल्न मिल्ने सिसडोलमा अहिले दैनिक एक सय ५० ट्रकले एक हजारभन्दा बढी टन फोहोर फालिरहेका छन् । 

बन्चरेडाँडाको ९५ प्रतिशत सकियो काम

बन्चरेडाँडाको ९५ प्रतिशत काम सकिए पनि त्योभन्दा अगाडि बढ्न सकेको छैन । पछिल्लो समय बन्चरेडाँडा निर्माणका कामले खासै गति लिन नसकेको वातावरण विभाग प्रमुख श्रेष्ठ स्वीकार गर्छन् । तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बन्चरेडाँडा ल्यान्डफिल साइट १६ वर्षसम्म पनि नबन्दा उपत्यकाको फोहोर उठाउन वेला–वेला समस्या आउने गरेको छ । महानगरका अनुसार ल्यान्डफिल साइट चाँडै निर्माण भएमा फोहोर नउठ्ने समस्या हुँदैन । ‘बन्चरेडाँडा ल्यान्डफिल साइटको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । फोहोर र लिच्चड दुवै अट्ने पोखरी बनाउँदा समय लागेको हो । अब छिट्टै सञ्चालनमा आउँछ,’ वातावरण विभागका प्रमुख श्रेष्ठले भने । 

उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले २०६२ जेठमा तीन वर्षभित्र बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो । त्यसका लागि एक हजार सात सय ९० रोपनी जग्गा अधिग्रहण गरेर करिब ६१ करोड मुआब्जा पनि बाँडियो । तर, १६ वर्ष बित्दा पनि ल्यान्डफिल साइट सम्पन्न हुन सकेको छैन । बन्चरेडाँडामा सामान्य अवस्थामा फोहोर बिसर्जन गर्दा २५ वर्ष र स्यानेटरी ल्यान्डफिल गर्दा कम्तीमा ५० वर्षसम्म उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने सरकारको भनाइ छ । 

जापान सहयोग नियोग (जाइका)को दुई अर्ब १० करोड सहयोगमा ल्यान्डफिल साइट बनाउने निर्णय भएको थियो । जाइकाले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन पनि बनाएको थियो । वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्ने वेलामा स्थानीय विकास मन्त्रालय र वन मन्त्रालयबीच विवाद भयो । तीन वर्षमा सक्ने भनिएको आयोजनाको इआइए गर्न नै चार वर्ष लाग्यो । त्यसपछि दातृ निकाय जाइकाले हात झिक्यो, उसले सहयोग गरेको दुई अर्ब १० करोड पनि फ्रिज भएर गयो । खासमा त्यतिवेलैदेखि आयोजना अलपत्र परेको हो । 

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थल भन्दै सरकारले २०५२ मै बन्चरेडाँडाको पहिचान गरेको थियो । त्यहीअनुसार सडक निर्माणका लागि २०५७ देखि नै ट्रयाक खोल्ने काम पनि थालेको थियो । तर, सडक निर्माण कार्य अझै सकिएको छैन  । 

२०६२ अघि काठमाडौंको फोहोर गोकर्णस्थित ल्यान्डफिल साइटमा डम्पिङ गरिँदै आइएको थियो । त्यसका लागि करिब दुई सय रोपनी जग्गा अधिग्रहण गरिएको थियो । यो साइट भरिएपछि काठमाडौंमा फोहोर उठ्न छाड्यो । त्यसपछि सरकारले बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय गरेको हो । यसका लागि तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गतको फोहोरमैला व्यवस्थापन तथा प्राविधिक स्रोत परिचालन केन्द्रले जाइकासँग समन्वय गरेको थियो । बन्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण गर्न तीन वर्ष लाग्ने भएपछि त्यतिन्जेल उपत्यकाको फोहोर सिसडोलमा व्यवस्थापन गर्न थालियो । त्यसका लागि सिसडोलमा चार सय २० रोपनी जग्गा अधिग्रहण गरियो । २२ जेठ ०६२ देखि फोहोर त्यहीँ फाल्न सुरु गरिएको थियो ।