मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २३ मंगलबार ०६:४०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तिहारपछिको सेयर बजार : नेप्से र कारोबार रकम दुवै सामान्य घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २३ मंगलबार ०६:४०:००

तिहारपछि सेयर बजारको पहिलो कारोबार दिनमा सामान्य अंकले गिरावट आएको छ । सोमबार नेप्से १९ दशमलव २० अंकले घटेर दुई हजार आठ सय २९ बिन्दुमा आइपुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ७१ अंकले घटेर पाँच सय २८ दशमलव २७ बिन्दुमा आइपुगेको छ । यतिवेला बैंकहरूले सेयर लगानीकर्तालाई मागअनुसारको सेयर कर्जा उपलब्ध गराउन नसकेको प्रभाव बजारमा देखापरेको हो ।

बैंक वित्तीय संस्थामा निक्षेप बढ्न नसक्दा बैंक प्रणालीमा तरलताको अभाव भइरहेको छ । बैंक वित्तीय संस्थाले तरलता सहज भएको अवस्थामा जथाभावी कर्जा वितरण गर्दा समस्या देखिएको भन्दै नेपाल राष्ट्र बैंक थप कर्जा विस्तार हुन नदिने नीतिमा रहेको छ । तरलता पनि सहज नबनाउने र कर्जाको ब्याजदर पनि धेरै बढ्न नदिने नीति नेपाल राष्ट्र बैंकको छ । एकातर्फ मंसिर महिनाका लागि प्रकाशित हुने नयाँ ब्याजदरमा कर्जाको ब्याजदरसमेत बढ्ने हल्ला रहेकाले लगानीकर्तामा ब्याजदर वृद्धि हुने हो कि भन्ने थप चिन्ता देखिएको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् ।

अर्कोतर्फ सेयर बजारबाट प्राप्त हुने लाभांशभन्दा बैंकको मुद्दती खातामा रकम जम्मा गर्दा प्राप्त हुने ब्याज आम्दानी धेरै र जोखिम कम हुने देखेका लगानीकर्ता निक्षेपतर्फ आकर्षित हुनु स्वाभाविक हो ।केही लगानीकर्ता नेपाल राष्ट्र बैंकले गर्ने चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षाको प्रतीक्षामा छन् । मौद्रिक नीतिमार्फत ४ र १२ करोड रुपैयाँ कर्जामा लगाएको क्यापलाई केही खुकुलो हुने आशा पालेर लगानीकर्ता बसेका छन् ।

नेप्सेमा गिरावट आएसँगै सेयर खरिद–बिक्री रकममा पनि कमी आएको हो । लगानीकर्ताबीच नाफा बुक राख्ने होड चल्दा बजार कारोबार अवधिभर तलमाथि गरिरहेको थियो । अन्ततः बजार घटेर बन्द हुन पुगेको हो । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३० कम्पनीको ७२ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब ४२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जुन यसअघिको कारोबारको तुलनामा दुई अर्बले कम हो । यसअघि सात अर्ब ८२ करोड रुपैयाँसम्म कारोबार भएको थियो ।

सोमबार महालक्ष्मी विकास बैंकको सबैभन्दा बढी ५२ करोड १० लाख रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, नबिल बैंकको ३० करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । आइसिएफसी फाइनान्स, नेसनल हाइड्रोपावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावरको २२ करोड रुपैयाँदेखि १४ करोड रुपैयाँसम्मको कारोबार भएको छ । कारोबारमा आएका १३ समूहका सूचकमध्ये तीन समूहबाहेक बाँकी १० समूहका सूचक नकारात्मक बन्न पुगेका छन् । सर्वाधिक गुमाउनेमा वाणिज्य बैंक, विकास बैंक, जलविद्युत् समूहका लगानीकर्ता परेका छन् । फाइनान्स, म्युचुअल फन्ड, लगानीगत समूहका सूचक केही अंकले सकारात्मक बनेका छन् ।

रिडी र रैराङ हाइड्रोपावरको कारोबार रोक्का
रिडी र रैराङ हाइड्रोपावर कम्पनीको सेयर कारोबार रोक्का भएको छ । सोमबारबाट सो कम्पनीको कारोबार रोक्का भएको हो । रैराङ र रिडीबीच एक–आपसमा गाभ्ने सम्झौतामा हस्ताक्षर भएपछि नेपाल स्टक एक्सचेन्जलाई दिएको निवेदनका आधारमा सोमबारबाटै लागू हुने गरी यी कम्पनीकोे सेयर कारोबार रोक्का गरिएको हो ।
 प्राइम बैंकले १६ प्रतिशत लाभांश दिने
प्राइम कमर्सियल बैंकले सेयरधनीलाई १६ दशमलव ६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिले १६ प्रतिशत बोनस सेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि दिइने प्रस्ताव गरेको हो ।