१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १४:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आवास क्षेत्रमा विद्युतीय शवदाहगृह बनाउन लागेको भन्दै स्थानीयको विरोध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १४:४o:oo

ललितपुर महानगरपालिकाले आवास क्षेत्रमा विद्युतीय शवदाहगृह निर्माणको प्रक्रिया अगाडि बढाएपछि स्थानीयवासी विरोधमा उत्रिएका छन्। महानगरले वडा नम्बर ११ मा पर्ने शंखमूलको मणिडोमा निजी जग्गा खरिद गरी आवास क्षेत्रभित्र शवदाहगृह बनाउन लागेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन्। 

महानगरले गत असोज २४ मा आवास क्षेत्रमा विद्युतीय शवदाहगृह निर्माणका लागि टेन्डर आह्वान गरेको थियो।  स्थानीयले महानगरले स्थानीयसँग सरोकार नराखी आवास क्षेत्रभित्रको निजी जग्गा खरिद गरी शवदाहगृह बनाउन लागेको भन्दै विरोध गरेका हुन्। 

स्थानीयहरू टेन्डर खारेजीको माग राख्दै संघर्ष समिति बनाएर आन्दोलन गरिरहेका छन्। संघर्ष समितिकी सदस्य पृथबिन्दु महर्जन महानगरले स्थानीयसँग सल्लाह नगरी एकलौटी ढंगले घाट निर्माण थालेपछि विरोधमा उत्रिएको नयाँ पत्रिकालाई बताइन्। ‘अहिले आवास क्षेत्रमा विद्युतीय शवदाहगृह निर्माणको प्रक्रिया अगाडि बढाउन टेन्डर निकालिएको छ, त्यो शवदाहगृह निर्माणका लागि उपयुक्त होइन भन्ने हाम्रो भनाइ हो,’ उनले भनिन्, ‘त्यहाँ शवदाहगृहका लागि पर्याप्त ठाँउ पनि छैन। शवदाहगृह बनेपछि प्रदूषण बढ्छ। हाम्रो त उठिबास लाग्ने अवस्था आँउछ।’ 

महानगरले भने विद्युतीय शवदाहगृह भएकाले स्थानीयले भनेजस्तो समस्या नआउने दाबी गरेको छ। महानगरका प्रवक्ता राजु महर्जनले शंखमूलमा नेपालको सबैभन्दा पुरानो घाट रहेकाले अहिले रहेको घाटनजिकै सुविधासम्पन्न विद्युतीय शवदाहगृह बनाउन लागिएको बताए। ‘शंखमूलमा नेपालको सबैभन्दा पुरानो घाट छ। घाट रहेकै नयाँबस्तीनजिकै महानगरले सुविधासम्पन्न विद्युतीय शवदाहगृह बनाउन लागेको हो,’ उनले नयाँ पत्रिकासँग भने।

स्थानीयका अनुसार अहिले रहेको घाटमा स्थानीय मात्रको शवदाह हुने गरेको छ। विद्युतीय शवदाहगृह बनेपछि देशभरबाट शवदाहका लागि ल्याइने भएकाले स्थान अभाव हुने र प्रदूषण बढ्ने उनीहरूको चिन्ता छ। स्थानीयले महानगरको कदमविरुद्ध कानुनी उपचारमा जाने तयारी गरिरहेको सदस्य महर्जनले जानकारी दिइन्।
 

ad
ad