१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १९ शुक्रबार
  • Wednesday, 03 July, 2024
लक्ष्मी गारु
२o७८ कार्तिक १९ शुक्रबार ११:२८:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मौलिक पर्व म्हपूजा मनाइँदै

Read Time : > 3 मिनेट
लक्ष्मी गारु
२o७८ कार्तिक १९ शुक्रबार ११:२८:oo

तिहारको चौथो दिन कार्तिक शुक्ल प्रतिपदाको अवसर पारेर आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदै छन्। आफ्नो आत्मालाई चिनेर आत्मशुद्धिका साथै सारा संसारलाई चिन्न र अन्धकारलाई नास गरेर ज्ञानको ज्योति फैलियोस् भन्ने कामनासहित नेवार समुदाय म्हपूजा मनाउने गर्दछन्।     
     
म्हपूजाका लागि नेवार समुदाय बिहानैदेखि घर सफा गर्ने र विभिन्न पकवान तयार गरी म्हपूजाको तयारी गर्दछन्। साँझमा गरिने म्हपूजाका लागि सुरुमा मण्डप बनाउने स्थानमा रातो माटोले लिपेर चोखो पानी छर्किइन्छ। पानीको मण्डला बनाई त्यसको माथि तेलको मण्डला र तेलको माथि भुइसिन (सुन्तला रङको) मण्डला बनाइन्छ। अनि चामलको पिठोको मण्डला बनाई त्यसलाई कालो भटमास, आख्य (धानको बोक्रा निकालेर तयार गरेको कालो चामल), लावा, मासको गेडाले सजाई मण्डप तयार गरिन्छ। त्यसको माथि खेलुइता (टुप्पिदेखि चिउँडोसम्मको नापमा बनाइएको मलमल कपडा)को बत्ती राखिन्छ।     
     
घरका सदस्य क्रमशः घरको मूलीदेखि लस्करै मण्डला अगाडि पारेर बस्छन्। मण्डलामा बिमिरो, भोगटे, सुन्तला, केरा, ओखर, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, बयरलगायतका फलफूल सजाइन्छ। त्यसको माथि कोखा (काँचो धागोमा पञ्चरंगी कपडाको टुक्रा राखेर बनाइएको माला), फूलको माला र सयपत्री फूल राखिन्छ।     
     
म्हपूजा गर्दा पहिले घरको मूलीभन्दा माथि मण्डलामा सुकुन्डा बालेर चामलको पिठोबाट बनाइएको गणेश पूजा गरी सुरु गरिन्छ। यो पूजा घरको नकी (मूली महिला)ले गर्ने परम्परा छ। यो पूजा गर्दा प्रत्येकलाई देवीदेवतालाई जस्तै विधिवत्रुपमा पूजा गरी खेलुइता बालेर शरीरको तीन अंग घुँडा, कुम र टाउकोमा तीनवटा मुटुमारी (चामलको रोटी), पञ्चरंगी फूलका टुक्रा, अमला, ओखर, ताय, जुंगेधान, आँखे आदि राखेर तीनपटकसम्म टाउकोमा ढोगाएर मण्डलामा जाने गरी कुल (काठको पाठी)ले खन्याई म्हपूजा गरिन्छ। म्हपूजा गर्दा खेलइता निभाउनुहुँदैन भन्ने धार्मिक मान्यता छ।     
     
पूजा सकिएपछि क्रममा बिमिरो, कोखा, फूलको माला र सयपत्री फूलसहितको फलफूल हातमा दिएर कोखा र फूलको माला लगाई टाउकोमा फूल राखिन्छ। त्यसपछि खेलुइता ननिभेकै वेला नकीले तलदेखि लक्ष्मी पूजाको दिन ढुकुटीमा पूजा गरेको नयाँ कुचोले बढारेर माथि गणेशलाई पूजा गरेको ठाउँमा जम्मा गरिन्छ। रातभरि त्यतिकै छोडेर भोलिपल्ट बिहानै खोलामा लगेर सेलाइन्छ।     
     
म्हपूजा सकेपछि आ–आफ्नो स्थानमै बसेर घरको नकीबाट खेःसगं (अण्डा सगुन) लिने परम्परा रहेको छ। नेवार समुदायमा हरेक शुभकार्यमा सगुन लिने दिने प्रचलन रहेको छ। खेःसगं दिँदा अण्डा, माछा, बारा र मदिरा दिइन्छ। यसरी खेःसगं लिइसकेपछि विभिन्न पकवान राखेर भोज खाने प्रचलन छ। भोज खाइसकेपछि सलादका रूपमा बिमिरो काटेर भोज समापन गरिन्छ।     
     
म्हपूजा गर्दा आफू र आफ्नो आत्म पहिचान गरी सारा संसारलाई पहिचान गर्न सक्ने ज्ञान प्राप्त हुने जनविश्वास रहेको छ। साथै शरीरमा कुनै रोगव्याध नलागोस्, सधैँ स्वस्थ रहोस् भन्ने कामनासमेत गरिन्छ। म्हपूजा गर्नुको अर्को उद्देश्य जीवनमा पाप कर्म गर्न नपरोस् भनी बलिराजालाई साक्षी राखेर प्रतिज्ञा गर्नु पनि रहेको संस्कृतिकर्मी बताउँछन्।     
     
सामान्यतया समाजशास्त्र र प्राकृतिक दृष्टिकोणले म्हपूजा भन्नाले आत्मपूजाका रूपमा लिन सकिने पुरोहित तथा संस्कृतिकर्मी हरिशरण राजोपाध्याय बताउँछन्। ‘मानव समाजमा आत्माभन्दा ठूलो केही पनि छैन। यही आत्मालाई शान्ति र सन्तुष्टि मिलोस्। यसले सारा जगतमा ज्ञानको ज्योति फैलाओस् भनी यो पूजा गरिन्छ,’ उनले भने, ‘आत्मसन्तुष्टि नै सबभन्दा ठूलो सन्तुष्टि हो। त्यही भएर हामी यमपञ्चकको समयमा काग, कुकुर, गाई, गोरुको पनि पूजा गर्छौँ।’     
     
म्हपूजा मानव सभ्यता, संस्कृति, धार्मिक र आध्यात्मिक पक्षसँग मात्र नभई मानव विकासक्रमसँग जोडिएको उनको कथन छ। ‘हाम्रो शरीर पञ्च तत्वले बनेको हुन्छ। पञ्च प्रकारको रूपमा लिँदा अण्डालाई मैथुनका रूपमा लिइन्छ। जसमा प्राण छ, प्राण भएपछि सृष्टि हुन्छ जसले गर्दा मानव सभ्यताको विकासक्रममा यसले सहयोग पुर्‍याएको छ,’ उनले भने।     
     
इतिहास तथा संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले आफूलाई चिनेर सारा संसारलाई चिन्नका लागि म नै भगवान्, म नै ब्रह्माण्ड, मैले सारा जगतकाे कल्याण गर्न सक्छु। संसारमा ज्ञानको ज्योति फैलाउन सक्छु भनेर आफू र आफ्नो आत्मालाई गरिने ज्ञानको प्रतीक पूजा नै म्हपूजा रहेको बताए। ‘म्हपूजा यमपञ्चकको चौथो दिनमा गरिन्छ। त्यसको अघिल्लो दिन अर्थात् औँसीको दिन लक्ष्मी पूजा। जुन दिन कोजाग्रत पूर्णिमादेखि औँसीसम्म गरिने १६ लक्ष्मीको पूजा सम्पन्न गरिन्छ। यही सम्पन्नताको प्रतीकस्वरूप गरिने पूजा नै म्हपूजा हो,’ उनले बताए।     
     
‘म्हपूजा नेवार समुदायको प्राचीन पर्व हो। नेपाल मण्डलका नेवार समुदायले प्राचीन समयदेखि यसलाई मौलिक पर्वका रूपमा मनाउँदै आएको छ। यो पर्वमा अन्धकारलाई नास गरेर बत्ती बालेर आफू र आफ्नो आत्मालाई मात्र नभएर सम्पन्नताको प्रतीक दैनिक जीवनमा प्रयोग हुने चुलो, कुचो, नाङ्लो, गाग्री, करुवा, सिलौटालगायत पूजा गरी म्हपूजा पर्व मनाइन्छ।’     
     
यसै दिन पारेर नेवारले नयाँ संवतसमेत मनाउँछन्। म्हपूजाको दिन शंखधर साख्वाले तत्कालीन नेपालका सबै जनताको ऋण चुक्ता गरी ऋणबाट मुक्त गराएको आख्यानसमेत रहेको छ। म्हपूजाकै अवसर पारेर शंखधरले सबैको ऋण चुक्ता गरेको स्मरणमा नेपाल संवत् सुरु भएको कथन पाइन्छ। कथनअनुसार एक दिन भक्तपुरका राजा आनन्द मल्ललाई एकजना प्रख्यात ज्योतिषीले शास्त्र हेरी शुभ मुर्हूतमा विष्णुमती र भद्रमतीको बीचमा रहेको चंखुतीर्थबाट ल्याएको बालुवा सुनमा परिणत हुने बिन्ती चढाउँछ। सोहीअनुसार चारजना भरियालाई राजा आनन्द देवले गोप्य रूपमा चंखुतीर्थमा बालुवा लिन पठाए।     
     
ती भरियाहरू बालुवा लिएर गइरहेको कान्तिपुरका चलाख व्यापारी शंखधर साख्वाले देखे र भक्तपुरदेखि यहाँसम्म बालुवा लिन आउनुको कारण खोज्न थाले। उनले बालुवामा केही रहस्य भएको शंका गरी ती भरियालाई लोभमा पारेर थप ज्याला दिई बालुवाका भारीहरू आफ्नो घरमा खन्याउन लगाई भक्तपुरका राजाका निम्ति अर्को बालुवा लिन पठाए।     
     
भोलिपल्ट बालुवा सुनमा परिणत भएको पाएपछि शंखधरले कान्तिपुरका राजा जयदेवसँग अनुमति लिएर सो सुनबाट दुनियाँको ऋण चुक्ता गरी आफ्नो नामबाट नयाँ संवत् चलाए। सोही खुसियालीमा आज पनि म्हपूजाकै दिन पारेर नेपाल संवतलाई धुमधामका साथ मनाउन थालिएको हो।     
     
कार्तिक शुक्ल प्रतिपदाको अवसर पारेर बिहीबार राति नेवार समुदायले आत्मा शुद्धि गरी ज्ञानको ज्योति फैलाउन म्हपूजा पर्व मनाउँदै छन्। म्हपूजाको दिन सम्पन्नताको प्रतीक कुचो, नाङ्लो, चुलो, गाग्री, करुवालगायत दैनिक रूपमा घरमा प्रयोग हुने सामानको समेत पूजा गरी हर्षोल्लासका साथ म्हपूजा पर्व मनाउँदै छन्। रासस     

ad
ad
ad
ad