१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
त्रिवेणी गाउँपालिका-४ की बेलमता खड्काको जिल्ला अस्पताल रुकुम पश्चिमा चेकजाँच हुँदै।
मनीष खड्का रुकुम पश्चिम
२o८१ बैशाख ३१ सोमबार o९:२४:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निःशुल्क स्वास्थ्य बिमा : रोगीका लागि बरदान

Read Time : > 2 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:२४:oo

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका- ४ की ४० वर्षीया बेलमता खड्कालाई आठ वर्षअघि पत्थरीको अप्रेसन गर्दा ऋण लिनु परेको थियो। बाँकेको कोहलपुर पुगेर पत्थरी फाल्दा एक लाख १० हजार खर्च भयो। अस्पतालमा आएको बिल तिर्न उनले आफन्तलाई गुहार्नुपरेको थियो। तर, अहिले भने बेलमताको परिवारले उपचारमा ठूलो रकम खर्चिनुपरेन। बिरामी नै नभएर भने पैसा तिर्नु नपरेको होइन।

बेलमता आफैँलाई अप्रेसनपछि पनि अन्य विभिन्न स्वास्थ्य समस्या देखियो। गत वर्ष मात्र उनले कोहलपुर पुगेर तल्लो पेटको उपचार गराएकी थिइन्। उनका श्रीमान् तेजबहादुर पनि बिरामी छन्। शरीरमा क्याल्सियम कमी हुँदा नियमित उपचार गराइराख्नुपर्छ। श्रीमान्–श्रीमती नै उपचारमा भए पनि यो परिवारलाई अहिले धेरै राहत भएको छ।  गाउँपालिकाले उनको परिवारको निःशुल्क बिमा गरिदिएको छ। उनीहरूको उपचार खर्च हाल स्वास्थ्य बिमाले नै व्यहोर्छ। आउने, जाने र बस्नेबाहेक उपचार खर्च बिमाबाटै टरिरहेको उनले बताइन्।

गत वर्ष तल्लो पेटको उपचारमा कोहलपुर पुगेकी बेलमताको ५० हजारभन्दा बढी खर्च भयो। उनका श्रीमान् पनि जेठमा उपचारका लागि काठमाडौं गए। त्यतिवेला पनि ५० हजारजति नै खर्च भयो। खड्कादम्पतीको उपचार र औषधि खर्च बिमाबाटै भुक्तानी भएको थियो। केही औषधि मात्र किन्नुपरेको बेलमताले सुनाइन्। बिमाले ठूलो सहयोग गरिरहेको उनको भनाइ छ। ‘सुरुमा के होला र भनेर मन नलाई–नलाई बिमा फारम भरेको थिएँ, दुई हजार पाँच सय तिर्दा चौपट लागेको थियो,’ बेलमताले भनिन्, ‘तर, अहिले बिमाको महत्व बुझेका छौँ। स्वास्थ्य बिमाका कारण हाम्रो घरखेत जोगिएको छ।’ स्वास्थ्य बिमाकर्ताले आउने, जाने, खाने, बस्ने खर्चबाहेक औषधोपचारको करिब सबै खर्च बिमाले तिरिदिन्छ।

बिरामी पर्दा पैसा छैन भनेर बस्नुपर्दैन

दुई वर्षअघि बेलमताले आफ्नै पैसाले स्वास्थ्य बिमा फाराम भरेकी थिइन्। राम्रो भएपछि नियमित बिमा गर्ने सोचमा थिइन् उनी। तर, आफैँले पैसा तिरेर बिमा गर्नुपरेन। गाउँपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने नीति लियो। उक्त कार्यक्रमभित्र बेलमताको परिवार पनि समेटियो। जेठ १ गतेबाट लागू हुने गरी गाउँपालिकाले बिमा गरिदिएपछि अहिले बेलमताको परिवारले त्यसैबाट उपचार सेवा पाइरहेको छ। ‘स्वास्थ्य बिमा त हामीजस्तालाई बरदान रहेछ, आठ वर्षअगाडि पनि यस्तै सेवा भएको भए त एक लाखसम्मको सेवा निःशुल्क पाइने रैछ, उतिवेलाको कुरा सम्झिन्छिन्, ‘एक लाख १० हजार खर्च गरेर पत्थरीको अप्रेसन गरेकी थिएँ, त्यतिवेला हामीलाई ठूलो ऋण लाग्यो।’

त्रिवेणी गाउँपालिका- ९ का पदम बस्नेतको परिवारलाई पनि स्वास्थ्य बिमा बरदान बनेको छ। पदम दीर्घरोगी हुन्। उनलाई दम छ। हातखुट्टा दुख्ने समस्याको नियमित उपचार गराइरहनुपर्छ। श्रीमतीको पत्थरीको अप्रेसन भएको छ। छोरालाई निमोनियाको उपचार गर्नुपर्छ। छोरी दाँतको बिरामी। परिवारलाई नै नियमित उपचारको खाँचो छ। स्वास्थ्य बिमा गरेपछि बस्नेत परिवारलाई आर्थिक भार कम भएको छ। उपचार गर्दा पैसा सापट गर्नुपर्ने अवस्थामा रहेको यो परिवारलाई हाल सरसापट गर्नुपरेको छैन। पदम केही दिनअघि जिल्ला अस्पतालमा एक हप्ता भर्ना भए। १० हजार उपचार खर्च आयो। सो रकम सबै बिमा कार्डबाटै काटियो। गोजीबाट एक रुपैयाँ खर्चिनुपरेन। छोराको निमोनियाको उपचारका लागि केही दिनमा नेपालगन्ज जाने योजनामा पदम छन्। बिमाकै भरमा सामान्य खर्च लिएर छोराको उपचारमा निस्किन लागेको उनले सुनाए। 

बिमाले आशा जगायो 

बेलमता र पदम मात्र होइन, त्रिवेणीवासीलाई स्वास्थ्य बिमा बरदान साबित भएको छ। गाउँपालिकामा हालसम्म दुई हजार नाै सय ७७ जनाको स्वास्थ्य बिमा गरिएको छ। आ.व. ०७४/७५ देखि हालसम्म एक हजार पाँच सय ७८ परिवार स्वास्थ्य बिमामा जोडिएको बिमा बोर्ड रुकुम पश्चिमले जनाएको छ। जसमा ५३ परिवारको भने गाउँपालिकाले निःशुल्क गरिदिएको छ। विपन्न परिवार छनाेट गरी गाउँपालिकाले प्रतिपरिवार तीन हजार पाँच सयका दरले बिमा गरिदिएको हो। बिमा गरेकाले कुनै न कुनै स्वास्थ्य सेवा लिइरहेको बोर्डले जनाएको छ। त्रिवेणीका दुई सय ५० जनाले निःशुल्क स्वास्थ्य बिमाको सेवा पाएका छन्। गत आ.व.मा ५३ परिवारको बिमा गर्दा पालिकाले एक लाख ९८ हजार आठ सय रुपैयाँ खर्चिएको थियो। तीन लाख बजेट विनियोजन गरेको थियो। तर, सबै रकम खर्च हुन सकेन। 

गाउँपालिकाले यो वर्ष दुई लाख ५० हजार बजेट छुट्याएको छ। गत वर्ष बिमा गरेकाको नवीकरण गरिनेछ भने नयाँ पनि थपिने गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ। शाखाका अनुसार निःशुल्क स्वास्थ्य बिमाको सेवा पाउनेमा वडा नम्बर ३ का आठ, ४ का ६, ५ का ६, ६ का सात, ७ का ६, ८ का आठ, ९ का ६ र वडा नं. १० का ६ परिवार रहेका छन्। बिमा गर्न परिवार संख्या पाँचजना भएकोलाई ३५ सय र त्योभन्दा बढी संख्या भएमा प्रतिव्यक्ति सात सयका दरले थप रकम लाग्ने स्वास्थ्य शाखा सहसंयोजक वीरबहादुर डाँगीले जानकारी दिए। पाँचजनाभन्दा बढी सदस्य भए प्रतिसदस्य सात सय सेवा शुल्क थप हुन्छ भने २० हजार उपचार सेवा थप हुँदै जान्छ। डाँगीका अनुसार तोकिएका स्वास्थ्य संस्थामा पुगेर बिमाका लागि सूचीकृत सबै औषधि निःशुल्क रूपमा पाइन्छन्। तर, सूचीकृत नभएका औषधि भने बिरामीले किन्नुपर्छ। 

ad
ad