टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १४ शुक्रबार
  • Friday, 28 January, 2022
दीपक अधिकारी काठमाडाैं
रामकृष्ण थापा सिन्धुपाल्चोक
मोहन विष्ट कञ्चनपुर
२०७८ कार्तिक ९ मंगलबार ०८:२९:००
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाढीपीडितको दुर्दशा : कोही पुरिएको घर खोतल्दै, कोही टेन्टमै

Read Time : > 5 मिनेट
२०७८ कार्तिक ९ मंगलबार ०८:२९:००

असारयता गएको बाढीपहिरोबाट पीडित अझै घर फर्कन सकेनन्, न सरकारबाट राहत पाए न त वास 

मनाङका बाढीपीडित चार महिनादेखि टेन्टमै

१ असारमा मर्स्याङ्दी नदीमा आएको बाढीले घर बगाएपछि टेन्टमा बस्दै आएका ताल गाउँका पीडित ।

लमजुङ/ गत १ असारको बाढीले विस्थापित भएका मनाङको नासों गाउँपालिका–१ तालगाउँका बाढीपीडित अहिले पनि टेन्टमै बस्न बाध्य छन् । मर्स्याङ्दी नदीमा आएको बाढीले घर बगरमा परिणत भएसँगै बाढीपीडित टेन्टमा बस्न बाध्य भएका हुन् । 

मर्स्याङ्दी नदीमा आएको बाढीले घर बगाएपछि तालगाउँकी ४९ वर्षीया सन्तकुमारी परियार अहिले तालडाँडामा टेन्टमा बस्दै आएकी छन् । ‘सरकारले बस्ती स्थान्तरण र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्छ,’ उनले भनिन् । बाढीले घर गाएपछि कहिले त्रिपाल त कहिले आफन्तकोमा बस्दै आएकी उनी अहिले डराई/डराई तालडाँडामा टेन्टमा बसेकी छन् । ‘देशका मुख्यमन्त्री र मन्त्री आएर बाढी प्रभावित क्षेत्रको अनुगमन गरे, खै घर बनाइदिन्छु भनेर आश्वासन दिए, तर हामी टेन्टमै बस्न बाध्य छौँ,’ उनले भनिन् ।

अविरल वर्षासँगै १ असारमा मर्स्याङ्दीमा आएको बाढीले गंगामाया गुरुङकोे घरखेत बगरमा परिणत भएको छ । ‘दुःखले बनाएको घरमा मर्स्याङ्दी नदी बगेको छ । बाढीले बस्ने घर नै बगायो, बाढीबाट ज्यान त बच्यो, तर बस्नलाई घर नै छैन,’ उनले भनिन् । तालगाउँका नन्दजंंग गुरुङजस्तै विस्थापित बाढीपीडित बस्ती स्थानान्तरण र पुनर्स्थापनाको पर्खाइमा छन् । चार महिनादेखि घरबारविहीन बनेका बाढीपीडित सुरक्षित ठाउँमा पुनर्वासको आशमा छन् ।

मर्स्याङ्दीको बाढीले सुन्दर तालगाउँ अहिले बगरमा परिणत भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । सुन्दर बस्तीमा अहिले ढुंगा, माटो, बालुवा मात्र छ । तालगाउँका राजन गुरुङ भन्छन्, ‘बाढीपहिरोले घर बगाएपछि चार महिनादेखि बाढीपीडित टेन्टमा बस्न बाध्य छन्, लगातार वर्षा भइरहेकाले टेन्टबाट पानी चुहिन थालेको छ ।’ बाढीपीडितको पुनर्वास र बस्ती स्थानान्तरणका लागि सरकारले चासो नदिएको मनाङवासीको गुनासो छ ।

मनाङमा गृहमन्त्री बालकृष्ण खाँण, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, ऊर्जामन्त्री पम्फा भुसाल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले दुईपटक बाढी प्रभावित क्षेत्रको निरीक्षण गरिसकेका छन् । उनीहरूले अनुगमनमा सरकारले बाढी प्रभावितको घर बनाइदिन्छ भनेर भाषणसमेत गरेका थिए । तर, बाढीपीडितले राहत पाउन सकेका छैनन् । 

विस्थापित दुई सय ९० परिवार अझै घर फर्कन सकेनन्

पाँचथर/  बेमौसमी वर्षाका कारण गएको पहिरोमा परी विस्थापित भएका पाँचथरका दुई सय ९० घरपरिवार अझै घर फर्कन सकेका छैनन् । पूर्ण रूपमा विस्थापित भएका उनीहरू अहिले विद्यालय तथा आफन्तकहाँ शरण लिएर बसिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । 

‘पहिरोले विस्थापित भएका परिवार अझै घर फर्कन सक्नुभएको छैन,’ उनले भने, ‘उहाँहरू अहिले विद्यालय र आफन्तकोमा बसिरहनुभएको छ । दुई सय ९० परिवार आइतबारसम्मको तथ्यांक हो । यो बढ्न पनि सक्छ ।’ पहिरोमा परी घरबार गुमाएकालाई अहिले विभिन्न संघसंस्था र स्थानीय तहले सहयोग गरिरहेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए । 

प्रहरीका अनुसार पाँचथरमा पहिरोमा परी ३१ जनाले ज्यान गुमाएका छन् भने तीनजना अझै बेपत्ता छन् । पाँचथरमा मिक्लाजुङ, फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिका पहिरोबाट प्रभावित स्थानीय तह हो । सबैभन्दा बढी मिक्लाजुङमा क्षति भएको प्रहरीले जनाएको छ । विश्वकर्माका अनुसार मिक्लाजुङमा मात्र एक सय ७६ परिवार पहिरोबाट विस्थापित छन् । 

मेलम्चीको बाढीले पुरिएका घर सफा गरेर बस्न थाले पीडित

मेलम्ची बजारमा बाढीले पुरेको घरबाट निकालिएको बालुवाको थुप्रो ।

सिन्धुपाल्चोक/ गत १ असारमा मेलम्ची नदीमा गएको बाढीबाट नगरपालिकाका ७१ घर विस्थापित छन् । सरकारले अहिलेसम्म राहत र वासको व्यवस्था नगरेपछि विस्थापितहरू अहिले बाढीले पुरेका घरमा सफा गरेर बस्न थालेका छन् ।

नगरपालिका प्रमुख डम्बरबहादुर अर्यालका अनुसार अधिकांश बाढीपीडित घर सफा गरेर बस्न थालेका छन् । नगरपालिकाले नदीबाट सय मिटर दूरीभित्र घर बनाउन नपाइने नयाँ मापदण्ड जारी गरेको छ । बाढीले नदीको धार परिवर्तन गरेको र सतह पनि माथि उठेकाले विस्थापित ७१ मध्ये ४० घर मापदण्डबाहिर परेका छन् । नगरको नियमानुसार मापदण्ड बाहिर परेका पीडितले सरकारी राहत पाउँदैनन् । 

सरकारले निजी आवास निर्माणका लागि दिने पाँच लाख पाउन अनिवार्य नक्साको प्रमाणित कागजात चाहिन्छ  । नदीबाट सय मिटर दूरीभित्र पर्ने घरमुलीले नयाँ मापदण्डको कारण नक्सा बनाउन पाउँदैनन् । व्यवसायमात्रै क्षति भएका पीडितलाई क्षतिपूर्ति नदिने नगरपालिकाले बताएको छ । डुबेको घर सफा गरेर पुनर्वासमा फर्कन चाहनेलाई नगरले कुनै सहायता गरेको छैन । विभिन्न दातासँग चन्दा मागेर ढुंगाबालुवा पन्छाइरहेको मेलम्ची पुनर्निर्माण सरोकार समितिले पनि केही घरवरपर सफा गरेर अन्यलाई विभेद गरेको पाण्डेले बताए । मेलम्ची नगरपालिकाले पििडतका लागि अस्थायी बास बनाएको छैन । स्थायी आवास कहिले बन्छ त्यो पनि थाहा छैन ।  

हेलम्बुमा तीन सय १४ विस्थापितमध्ये सय घरपरिवारलाई जस्तापाताको अस्थायी टहरोमा पुनर्वास गराइएको छ । सयभन्दा बढी विस्थापित भाडा र आफन्तको घरमा शरण लिएर बसेका छन् । करिब सय विस्थापितको अवस्था अझै दयनीय छ । उनीहरू त्रिपालमै बसिरहेका छन् । भेमाथाङबाट बाढीपहिरो आउने जोखिम कायमै रहेकोले कतिपय विस्थापितलाई ठाउँको अभावमा व्यवस्थापन गर्न नसकेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । मंसिर अन्त्यसम्म सबै विस्थापितलाई अस्थायी आवासभित्र ल्याउने लक्ष्य रहेको उनले दाबी गरे । विकल्प नभएका पीडित जोखिम मोलेरै नदी छेउछाउमा बसिरहेका छन् । 

टप्पुका सुकुमबासीले पाएको नयाँ घर बाढीले क्षतविक्षत

बाढीले भत्किएको सुकुमबासीको घर । यी घर तराई–मधेस समिृद्ध कार्यक्रमअन्तर्गत सरकारले निर्माण गरिदिएको हो ।     

झापा/ गौरीगन्ज–१ टप्पु बस्तीका सकुम्बासी राम वास्की दुई वर्षअघि नयाँ घर पाउँदा खुसी थिए । सुकुमबासी जीवन बिताइरहेका वास्की लामो समयसम्म फुसको घरमा बसे । फुसको घरले न बर्खामा पानी छेक्थ्यो, न त हिउँदमा शीत नै । तर, तराई–मधेस समृद्ध कार्यक्रममार्फत स्थानीय तहले नयाँ चिटिक्क परेको पक्की घर बनाइदिएपछि उनी खुसी थिए । तीनकोठे घरमा उनको चारजनाको परिवार खुसीका साथ बसेको थियो । तर, गत मंगलबार अविरल वर्षासँगै उर्लिएको कन्काई माई नदी उनको घरमा पस्दा नयाँ घरमा बस्ने सपना चकनाचुर भएको छ । 

माई नदीको बाढी बस्तीमा बस्दा मध्यरातमा भागेर उनको परिवारले ज्यान त बचायो । तर, उनको घर बच्न सकेन । ‘घर सबै भत्कियो । बल्लबल्ल पक्की घरमा बसेका थियौँ, त्यही पनि यस्तो भयो,’ उनी भन्छन्, ‘हामी गरिबमाथि नै किन यस्तो हुन्छ ।’ घरमा भएको अन्नपात सबै नदीसँगै बग्यो । घर वारिपरि बालुवा छ । बगरबीचमा उनको घर भएको छ । सम्पत्तिको नाममा हातमा नागरिकता छ । ‘धन्न यो नागरिकता पनि छोरीको घरमा थियो र बच्यो,’ हातमा नागरिकता देखाउँदै उनी भन्छन्, ‘नभए त यही नागरिकता पनि बगाएर लाने रहेछ । अरू सबैको बगाएर लगेछ ।’ 

वास्कीको मात्र होइन, टप्पु बस्तीमा २२ घर आदिवासी सुकुमबासीको घर बेमौसममा उर्लिएको माई नदीले बगायो । तीमध्ये चार घर तराई–मधेस समृद्ध कार्यक्रममार्फत बनेका थिए । सरकारले करिब तीन लाख २५ हजार रुपैयाँ खर्चेर बनाएको यी सबै घर बस्नै नहुने गरी बाढीले क्षतविक्षत बनाएको छ । पक्की घर भत्किएको छ । केही घर जमिनमै भासिएको छ । त्यहाँ केही घर सुरक्षित नागरिक कार्यक्रमअन्तर्गत राज्यले नयाँ जस्ता लगाइदिएका पनि थिए । केही फुसको घर थियो । ‘हामी सुकुमबासीको सम्पत्तिको नाममा यही एउटा घर थियो । त्यो पनि बल्लबल्ल गाउँपालिकाले बनाइदिएको । बगाएर लग्यो,’ बाढीपीडित बैजनाथ मुखिया भन्छन्, ‘अब कहाँ जाने, के खाने, जाने ठाउँ पनि छैन, साह्रै समस्यामा पर्‍यौँ ।’ मंगलबार राति घाँटी–घाँटी आएको माई नदीबाट बल्लतल्ल बचेर नजिकैको रामजानकी अधारभूत विद्यालयमा बस्न पुगेका उनीहरूको घर फर्कने अत्तोपत्तो छैन ।

चाउचाउ र चिउराकै भरमा कञ्चनपुरका बाढीपीडित

कञ्चनपुर/ बाढीबाट विस्थापित भएको पाँच दिन बितिसक्दा पनि कञ्चनपुरका बाढीपीडितले राहत पाएका छैनन् । महाकाली नदीबाट विस्थापित भएका दोधाराचाँदनी र भीमदत्त नगरका बाढीपीडितले संघ र प्रदेश सरकारबाट घोषणा गरिएको राहत नपाएको गुनासो गरेका हुन् । उनीहरूले आश्रयस्थलमा राहतका नाममा चाउचाउ, चिउरा र एक छाक खाना मात्रै खुवाएर घर फर्काएको बताएका छन् । बाढीपीडितले प्राकृतिक विपद्मा समेत सरकारले राहत नदिएको गुनासो पोखेका छन् । 

भीमदत्त नगरपालिका–१३ पिपरैयाकी सुनिता दमाईले विस्थापित भएको चार दिन भइसक्दा पनि राहत नपाएको गुनासो पोखिन् । ‘बाढीबाट विस्थापित भएको चार दिन भयो,’ उनले भनिन्, ‘सरकारले आश्रयस्थलमा चाउचाउ चिउरा र एक छाक खाना दियो, तेस्रो दिन घर फर्किएँ ।’ बाढीले घरमा भएको अन्नसमेत नष्ट भएको बताउँदै उनले दैनिक गुजारा गर्न धौ–धौ भइरहेको बताइन् । 

पिपरैयाकै भीमलाल दमाईले बाढीले अन्नबाली, धनजनको क्षति भएको बताउँदै राहत नपाएको बताए । ‘१ कात्तिकमा घर डुबानमा परेर विद्यालयमा गएका हौँ,’ उनले भने, ‘त्यहाँ खाना दियो, घर फर्किंदा रासन भिजेर नष्ट भयो, अब के खाने भन्ने अवस्था उत्पन्न भएको छ ।’ 

दोधाराचाँदनी नगरपालिका–१० सुर्खेती टोलका तोया थापामगरले राहतको नाममा एक किलो चामलसमेत नदिएको बताए । ‘घरखेत पूरै डुबेर नष्ट भयो,’ उनले भने, ‘जसोतसो आश्रयस्थलमा गएका थियौँ, त्यहाँ त खाना दिइयो, घरमा पुग्दा के खाने चिन्ता भइरहेको छ ।’ दोधाराचाँदनीकै सेतु सुनारले आश्रयस्थलमा खाना पाए पनि घर फर्किंदा अन्न सबै भिजेकाले सडकमै सुकाउन बाध्य भएको बताइन् । ‘अझै पनि घरभित्र आँगन खेतभरि पानी छ,’ उनले भनिन्, ‘पानीले भिजेको अन्न सडकमा ल्याएर भिजाइरहेको छु ।’ महाकाली नदीका कारण भीमदत्त नगरपालिका क्षेत्रमा भुजेला र दोधाराचाँदनीमा जोगबुढा नदी गाउँ पसेर डुबान र कटान भइरहेको छ । 

कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले बाढीपीडित घर फर्किन लागेको बताए । ‘भीमदत्त नगरपालिका क्षेत्रका बाढीपीडित सबै घर फर्किए । दोधाराचाँदनीका झन्डै ४०÷५० परिवार घर फर्किन बाँकी छ, उनीहरू पनि एक–दुई दिनमै फर्किन्छन्,’ उनले भने । भण्डारीले राहत वितरणका लागि स्थानीय तहमार्फत तथ्यांक माग गरिएको बताए । ‘हामीले जिल्लामा स्थानीय तहमार्फत बाढीपीडितको विवरण माग गरेका छौँ,’ उनले भने, ‘तथ्यांक आइसकेपछि राहत, पुनस्र्थापनाको काम अघि बढाउँछौँ ।’