१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २ मंगलबार
  • Saturday, 07 September, 2024
वीरेन्द्रबहादुर बस्नेत
२o७८ कार्तिक २ मंगलबार o९:o९:oo
Read Time : > 1 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आन्तरिक हवाईसेवामा निजी क्षेत्रको योगदान

Read Time : > 1 मिनेट
वीरेन्द्रबहादुर बस्नेत
नयाँ पत्रिका
२o७८ कार्तिक २ मंगलबार o९:o९:oo

निजी क्षेत्र आन्तरिक हवाईसेवामा अगाडि आउँदैनथ्यो र ठूला जहाज थपेर सिटसंख्या बढाउँदैनथ्यो भने यात्रुको बढ्दो चाप र कम सिटसंख्याका कारण हवाई भाडादर कति आकासिन्थ्यो होला ?


दिनानुदिन महँगी आकासिएको छ । नुनदेखि सुनसम्म मात्रै नभई खाद्यान्न र दैनिक प्रयोगमा आउने सम्पूर्ण मालसामानको भाउ बढेको छ । यसरी चौतर्फी महँगी बढ्नुको प्रमुख कारण उत्पादनमा कमी आउनु तथा आयात र परनिर्भरता वृद्धि हुनु नै हो । अभैm गम्भीरतापूर्वक केलाउने हो भने यो बहुआयामिक महँगीका थुप्रै आयाम भेटिन सक्छन् । यसका कारण र अवस्थाबारे अर्थशास्त्रीले थप मिहिन ढंगले कुनै दिन केलाउलान् नै ।

देशमा चौतर्फी महँगी बढेको चर्चा गरिरहँदा हवाईभाडा भने विगतमा भन्दा सस्तिएको छ । २३ वर्षअगाडि र अहिलेको तथ्यांक केलाउँदा मात्रै पनि यसबारे स्पष्ट हुन्छ । नेपाली हवाई उद्योगलाई मुख्यतया हवाई इन्धन, अमेरिकी डलर र कर्मचारीको तलबमानले असर पुर्‍याइरहेको हुन्छ । जुन पछिल्ला वर्षमा उल्लेख्य रूपले बढ्दै आएको देखिन्छ । पछिल्लो २४ वर्षमा मुद्रास्फ्रीति ३४० प्रतिशतले बढेको छ । मुद्रास्फ्रीतिका कारण महँगी बढ्नु स्वाभाविक नै हो ।

हवाईजहाजको धेरैजसो सामग्री विदेशबाटै आयात गर्नुपर्छ । बढ्दो डलरको मूल्यले सञ्चालन खर्च स्वतः बढ्छ । अझ हवाईजहाज सञ्चालन खर्चको ४० प्रतिशत हवाई इन्धनमै खर्च हुन्छ । तर, त्यही अनुपातमा हवाईभाडा निकै कम मात्र बढेको छ । २३ वर्षअगाडि नेपाल सरकारको शाखा अधिकृतको तलबमान ४२–४५ सय थियो । काठमाडौं उपत्यकामा प्रतिरोपनी लाख रुपैयाँमा जग्गा पाइन्थ्यो । विराटनगर, नेपालगन्ज, पोखरा र भैरहवाको त्यसवेलाको र अहिलेको अफर भाडादरमा १२–१३ सय रुपैयाँको मात्रै अन्तर छ ।

यसरी भाडादर खासै नबढ्नुको पछाडि मुख्य रूपमा निजी क्षेत्रले ठूला जहाज भिœयाउनु र सिटसंख्यामा उल्लेख्य वृद्धि कारण रहेको छ । निजी क्षेत्रको यस प्रयासले सञ्चालन खर्च पनि घटेको छ । अहिले आन्तरिकतर्फ ४० भन्दा बढी सिट संख्या भएका जहाज करिब दुई दर्जन हाराहारीमा सञ्चालनमा छन् । तीमध्ये आधाभन्दा बढी त बुद्ध एयरसँग मात्र छन् ।
हामीले नै १३ वर्षअगाडि सन् २००८ मा ठूला जहाज भिœयाउने क्रम सुरु गरेका थियौँ । ठूला जहाजसँगै उत्कृष्ट मर्मतसम्भारका लागि ह्यांगर, सबै प्रकारका औजार र जगेडा पार्टपुर्जाको जोहो पनि गरेका थियौँ । सञ्चालन खर्च कम गर्नुमा यो तयारीको पनि निकै ठूलो महत्व छ ।

आज हामी वार्षिक २५ लाख यात्रुलाई प्रत्यक्ष सेवा दिइरहेका छौँ । अबको केही समयमै फेरि केही जहाज थप्ने योजनामा छौँ । यससँगै वार्षिक यात्रु क्षमता करिब ३५ लाख पुग्ने अनुमान गरेका छौँ । हरेक वर्षजसो वर्षा र बाढीपहिरोले बाटोघाटोमा ठूलो क्षति पुगिरहेको हुन्छ । राजमार्गमा सवारीजामको सास्ती बढेकोबढ्यै छ । यस्तो परिस्थितिमा पनि सहज र सरल भाडादरमा आमनेपाली यात्रु उल्लेख्य रूपमा हवाईजहाजबाट ओहरदोहर गरिरहेका छन् । हाल बुद्ध एयर एक्लैले दैनिक १४० भन्दा बढी उडानबाट आठ हजारभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ । 

आन्तरिक यात्रामा पनि हवाईसेवा अब सबै तह र तप्काको रोजाइमा परिसकेको छ । थोरै या निम्न आय भएका हवाईयात्रुको संख्या पनि देशमा मनग्य नै छ । हुनेखाने, धनीमानी, अफिसको काम, बिरामी तथा ज्यादै आवश्यक परेको अवस्थामा मात्रै जहाज चढ्ने परिपाटीलाई हवाईसेवामा निजी क्षेत्रको आगमनले भत्काएको छ । कल्पना गरौँ, यदि आन्तरिक हवाईसेवामा निजी क्षेत्र अगाडि आउँदैनथ्यो र ठूला जहाज थपेर सिटसंख्या बढाउँदैनथ्यो भने यात्रुको बढ्दो चाप र कम सिटसंख्याका कारण हवाई भाडादर कति आकासिन्थ्यो होला ?