Skip This
तनहुँ जलविद्युत् आयोजनाको काममा तीव्रता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २९ शुक्रबार
  • Saturday, 27 July, 2024
२o७८ असोज २९ शुक्रबार १५:४६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

तनहुँ जलविद्युत् आयोजनाको काममा तीव्रता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २९ शुक्रबार १५:४६:oo

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैँमा पनि कामलाई निरन्तरता दिएको छ । आयोजनाको तीनवटै प्याकेजका काम दसैँमा पनि निरन्तर सञ्चालन भइरहेको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिए।

प्याकेज–२ अन्तर्गत सिनो हाइड्रोले भूमिगत कामहरू गरिरहेको छ । सो प्याकेजअन्तर्गत हाल पाँच ठाउँमा काम भइरहेको छ। आयोजना प्रमुख घिमिरेका अनुसार पावरहाउस, वर्क टनेल, सर्च ट्यांकलगायतका कामलाई दसैँमा पनि निरन्तरता दिइएको छ। हाल ५५ चिनियाँ प्राविधिक, कामदारसहित २१५ जनाले प्याकेज–२ अन्तर्गतको काम गरिरहेका छन्। “दसैँअगाडि पाँच सय कामदार थिए। ग्याबिन वाल भर्ने, पहुँचको काम गर्नेलाई दसैँ बिदा दिइएको छ,‘ ‘घिमिरेले भने, ‘बाँकी सबै क्याम्पमै बसेर काम गरिरहेका छन्।’

सिनो हाइड्रोले हालसम्म पाँच वटा सुरुङको काम सकेको छ। १९० मिटरको केवल सुरुङ, २८१ मिटरको मुख्य प्रवेश सुरुङ, ४३७ मिटरको सर्च ट्यांक जाने पहुँच सुरुङ र ३१४ मिटरको ड्याम जाने सुरुङ खनेर सकिएको छ। २१५ मिटरको ट्रेलरेस सुरुङको काम भने भर्खरै सुरु गरिएको छ। आयोजना प्रमुख घिमिरेका अनुसार जम्मा सुरुङको काम ५० प्रतिशत सकिएको छ ।

प्याकेज–३ अन्तर्गतको प्रसारण लाइन निर्माणको कामलाई पनि तीव्रता दिइएको छ । सो प्याकेजअन्तर्गत हालसम्म २७ वटा फाउन्डेसनको काम सकिएको छ भने ६ वटा फाउन्डेसनको काम चलिरहेको छ। कुल ९४ मध्ये २० वटा टावरका लागि सामग्री आउने क्रममा रहेको उनले जानकारी दिए ।

प्रसारण लाइन निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा वितरण भइरहेको छ । प्रसारण लाइन निर्माणका लागि रुख काट्नुपर्ने संख्या घटेकाले पुनरावलोकन गरी स्वीकृतिका लागि विद्युत् विकास विभाग पठाइएको उनले जानकारी दिए। प्रसारण लाइन निर्माणका लागि कुल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गर्न एक करोड ३१ लाख ३४ हजार ५१० रुपैयाँ मुआब्जा निर्धारण भएको छ।

प्याकेज–१ अन्तर्गत पनि निर्माण कम्पनीले आवश्यक तयारी थालेको छ। सो प्याकेजअन्तर्गत नदी फर्काउने, बाँध निर्माणलगायतका कामका लागि आठ भियतनामी प्राविधिक साइटमै परिचालित छन्। त्यस कामका लागि दसैँआगाडि खटिएका ७५ जना मजदुर दसैँ बिदामा छन् । 

उक्त कामका लागि आयोजनाले सोङ दा कर्पोरेसन, भियतनाम र कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग सम्झौता गरेको छ। उनीहरूले अहिले साइटमा क्याम्प निर्माण, रिभर क्रसिङसम्बन्धी काम गरिरहेका छन्। विस्तृत सर्वेक्षण र डिजाइनको काम पनि भइरहेको आयोजनाले जनाएको छ । 

आयोजनाले ती कम्पनीसँग पहिलो प्याकेजका लागि १६ अर्ब ६२ करोड रुपैयाँ (प्रोभिजनल रकम र मूल्य अभिवृद्धि करबाहेक)मा सम्झौता गरेको थियो। ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था छ।

आयोजनाले सामाजिक उत्तरदायित्व वहन कार्यक्रमअन्तर्गत खानेपानी, बाटो निर्माण गरिरहेको छ । साथै विद्युत् सेवा नपुगेका ग्रामीण भेगमा विद्युतीकरणको कार्यक्रम पनि आयोजनाले सञ्चालन गरिरहेको छ। यस्तै, भिमाद नगरपालिकामा रहेको जनज्योति क्याम्पसको भवनमा तला थप गर्नका लागि पनि आयोजनाले सहयोग गरेको छ। 

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस