१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
विष्णु घिमिरे/दिपेश पछाइ
२o८१ जेठ १ मंगलबार o९:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मोतीपुर घटनाको दोस्रो दिन : स्थिति नियन्त्रणमा लिन निरन्तर कर्फ्यु

Read Time : > 1 मिनेट
विष्णु घिमिरे/दिपेश पछाइ
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:o२:oo

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय प्रशासनले निरन्तर कर्फ्यु लगाएर स्थितिलाई नियन्त्रणमा लिएको छ । प्रहरीको गोली प्रहारबाट आइतबार चार ‘सुकुमबासी’को मृत्यु भएपछि स्थिति थप बिग्रन नदिन प्रशासनले निरन्तर कर्फ्यु लगाएको हो । 

मोतीपुरमा सोमबार पनि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार दिउँसो ४ बजेदेखि जारी गरेको कर्फ्यु सोमबार मध्यरातिसम्म हटेको छैन ।कर्फ्यु पूर्व–तिनाउ नदी (बुटवल उपमहानगरपालिका वडा नम्बर १७ शिवनगरदेखि वडा नं. १८ सौरहिया पुलसम्म), पश्चिम हरिहरपुरको खेतीयोग्य जमिनसम्म लगाइएको छ । त्यस्तै उत्तरमा बुटवल उपमहानगरपालिका वडा नम्बर १७ शिवनगर रानीगाउँ बस्तीदेखि दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नम्बर १८ औद्योगिक करिडोरको जमिन (धन्दापुर सौरहियासम्म) लगाइएको छ । 

मोतीपुर घटनामा घाइते भएका चार सुरक्षाकर्मीलाई थप उपचारका लागि सोमबार काठमाडौं पठाइएको छ । सिडिओ ऋषिराम तिवारीका अनुसार नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरीका दुई गरी चार सुरक्षाकर्मीलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो ।आइतबारको झडपमा १७ ‘सुकुमबासी’ र ३३ सुरक्षाकर्मी पनि घाइते भएका थिए । 

झडपमा मारिएका थप दुईजनाको सनाखत भएको छ । अझै एकजनाको सनाखत हुन बाँकी छ । सिडिओ तिवारीका अनुसार मृत्यु हुनेमा पूर्वी नवलपरासीको अरुणखोलाका १८ वर्षीय उज्ज्वल कुमाल र रुपन्देहीको शुद्धोदन गाउँपालिकाका वीरेन्द्रप्रसाद कुर्मी छन् । अर्का उनको भने आइतबार नै पहिचान खुलेको थियो ।

प्रदेश सरकारले मृतकका परिवारलाई एक–एक लाख दिने

मोतीपुर घटनाको २४ घन्टापछि लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले सुरक्षा निकायका अधिकारीसँग बैठक गरेका छन् । बैठकमा उनले प्रमुख जिल्ला अधिकारीलाई मोतीपुरका वास्तविक सुकुमबासीको समस्या समाधान गर्न सुकुमबासी समस्या समाधान सुझाब कार्यदल बनाउन निर्देशन दिए । 

कार्यदलमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकायका प्रमुख, मालपोत कार्यालय र नापी कार्यालयका प्रतिनिधि, औद्योगिक ग्राम रुपेन्देहीका प्रतिनिधि, भूमिहीनका प्रतिनिधि राख्ने तयारी छ । बैठकले कार्यदल गठनका लागि प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी प्रदान गरेको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकले जानकारी दिए ।

प्रदेश सरकारले मृतकका परिवारलाई एक–एक लाख रुपैयाँ राहत दिने भएको छ । यसका लागि मुख्यमन्त्री केसीले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मालाई जिम्मेवारी दिएका छन् । बैठकमा लुम्बिनी प्रदेशका सुरक्षा निकायका प्रमुख सहभागी थिए ।

ad
ad