१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रबिना थापा अध्यक्ष प्रत्याशी एनआरएनए
नयाँ पत्रिका काठमाडाैं
२०७८ असोज २४ आइतबार ०८:२०:००
Read Time : > 1 मिनेट
प्रवास प्रिन्ट संस्करण

एनआरएनको मर्म नबुझ्ने मात्रै राजनीतिक दलसँग सहयोग माग्छ : रबिना थापा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असोज २४ आइतबार ०८:२०:००

म्याग्दीमा जन्मिएकी रबिना थापा अमेरिकामा व्यवसायका साथै सामाजिक काममा पनि सक्रिय छिन् । सन् २००९ मा एनआरएनएको सदस्य भइन् भने ०१५ मा उनी एरआरएन अमेरिकाको अध्यक्षसमेत भइन् । सन् २०१९ मा उनी एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्षमा निर्वाचित भइन् । थापासँग नयाँ पत्रिकाले गरेको कुराकानी :

एनआरएनएमा तपाईंको अध्यक्षको उम्मेदवारी किन र केका लागि ?
एनआरएनएमा पछिल्लो समयमा धेरै राजनीति घुसेको छ । यो विशुद्ध सामाजिक संस्था हो । तर, समयसँगै यसमा पनि विभिन्न विकृतिले स्थान पाउन थालेको छ । त्यसैले अब यो संस्थामा सुधार जरुरी छ । सुधारका लागि दूरदृष्टि भएको निष्पक्ष व्यक्तिको आवश्यकता छ । त्यसैले मैले अध्यक्षका लागि उम्मेदवारी दिएको हो । मैले यस संस्थामा रहँदा होस् वा बाहिर, धेरै सामाजिक कार्य गरिसकेकी छु । जसका कारण मसँग यो सामाजिक संस्थालाई नेतृत्व गर्न सक्ने क्षमता छ । म यस संस्थालाई विशुद्ध सामाजिक संस्था बनाउन चाहन्छु । 

त्यस्तै, यस संस्थाले अहिलेसम्म महिला अध्यक्ष पाएको छैन । २० वर्षको अवधिमा पुरुष मात्रै नेतृत्वमा आउनुभयो । त्यसैले अब एकपटक महिलाले पनि नेतृत्व गरी हेर्नु आवश्यक छ । म अमेरिकाबाट प्रतिनिधित्व गर्छु । अमेरिका भनेको सबैभन्दा बढी डेलिगेट्स भएको मुलुक हो । त्यसैले पनि म यो पदका लागि सक्षम दाबेदार हो । 

एनआरएनएको नेतृत्व तहमा महिला उम्मेदवारलाई संघले कसरी हेर्ने गरेको पाउनुभएको छ ?  
यस विषयमा धेरै साथीहरू सकारात्मक पाएकी छु । नेपाल भनेको महिला राष्ट्रपति र सभामुख भएको मुलुक हो । तसर्थ पनि एनआरएनएमा महिला अध्यक्षको दाबेदारी स्वाभाविक मान्नुपर्छ । महिलाले नेतृत्व गरेको मुलुकमा महिला भएकै कारण निर्वाचनका लागि कमजोरी ठानिन्छजस्तो मलाई लाग्दैन । त्यसैले पनि मैले सबै साथीहरूलाई एकपटक मेरा लागि छोडिदिनु पनि भनेकी छु । हुन सक्छ, महिलालाई अवसर दिन उहाँहरूले यसपटक योगदान दिन सक्नुहुनेछ । दिनुभएन भने पनि म निर्वाचनमा जानका लागि तयार छु । 

एनआरएनए सामाजिक संस्था हो । तर, पछिल्लोपटक यसमा राजनीति घुसेको आरोप छ नि ? यसलाई कसरी लिनुभएको छ ?
एनआरएनएसँग राजनीतिक दलहरू पनि जोडिन चाहनु स्वाभाविक नै हो । एनआरएनले मुलुकका लागि राम्रो काम गरेको छ । तसर्थ, यसको महत्व बुझेर राजनीतिक दलहरू पनि संगठनसँग नजिकिन खोजेका हुन सक्छन् । तर, संगठनमाथि कुदृष्टि लगाउनु भने राम्रो होइन । र, यदि एनआरएनका कुनै उम्मेदवारले राजनीतिक दलसँग गएर सहयोगको अपिल गरेको छ भने त्यो उम्मेदवार संगठनका लागि लायक नै छैन । उसले संगठनको मर्म नै बुझेको रहेछ भनेर बुझ्नुपर्छ । 

अध्यक्ष बन्नुभएको खण्डमा एनआरएनएका लागि तपाईं के गर्नुहुन्छ ? 
संस्थाको विधि र विधानलाई पारदर्शी बनाउनु छ । सम्पूर्ण पञ्जीकृत सदस्यले भोट हाल्न पाउनुपर्ने व्यवस्था गर्नेछु ।  महिला र युवालाई विदेशमा रहनका लागि सहज वातावरण मिलाउनेछु । विदेश बस्ने नेपालीहरूलाई नेपाली भाषासँग जोड्नेछु । विदेशमा रहेका नेपालीका बच्चाहरू नेपाल आए भने पनि अन्य पर्यटकको आवश्यकता नै पर्दैन । त्यस्तै, नेपाली भाषासम्बन्धी फिल्म उद्योगलाई विदेशमा प्रचार–प्रसार गराउनेछु । एकचोटिको नेपाली सधैँको नेपाली भन्ने नारालाई आत्मसात् गर्दै दोहोरो नागरिकता कार्यान्वयन गराउनेछु । विदेशमा सिकेको ज्ञान र सीपलाई नेपालमा प्रयोग गर्न सकिने वातावरण बनाउनेछु । विदेशबाट नेपालमा रेमिट्यान्स मात्र पठाउने होइन, स्वदेशमा नै रोजगारी दिलाउने प्रयास गर्नेछु ।