१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o७:५८:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:५८:oo

विदेशी तथा घरेलु स्टार खेलाडीले सहभागिता जनाएको चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)को उपाधि भिडन्त आज टियू क्रिकेट मैदानमा हुँदै छ । पोखरा राइनोज तथा चितवन टाइगर्सबीच शनिबार १२:१५ बजे फाइनल खेल सुरु हुनेछ । संयोग कस्तो रह्यो भने यी दुवै टोलीमध्ये जसले उपाधि जिते पनि इतिहास रच्नेछ । किनभने, पोखरा र चितवन पहिलोपटक इपिएलको फाइनलमा पुगेका हुन् । 

पहिलो फाइनल क्वालिफायरमा चितवनले नै पोखरालाई हराउँदै फाइनल स्थान पक्का गरेको थियो । पोखराले दोस्रो फाइनल प्रवेशको क्वालिफायर खेलमा भैरहवालाई सात विकेटले निराश पार्दै पहिलोपटक इपिएलको अन्तिम दुई स्थान सुरक्षित गरेको थियो । चितवन लिगमा पाँच खेलमा जित र एकमा हारसहित शीर्षस्थानमा रहँदै क्वालिफायर स्थान पक्का गरेको थियो । पहिलो क्वालिफायर चितवनले पोखरालाई नौ विकेटले र लिग चरणमा पनि नौ विकेटकै नतिजाले हराएको थियो । 

लिग चरणको दोस्रो स्थानमा रहेको पोखराले ५ खेलमा तीन जित र एकका साथ सात अंक जोडेको थियो । पहिलो फाइनल क्वालिफायरमा चितवनसँग पराजित भएको पोखराले भैरहवा ग्ल्याडियटर्सलाई क्वालिफायरमा ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो । पहिलोपटक फाइनल पुगेका कारण नै दुवै टोलीका खेलाडी निकै उत्साहित छन् । दुवै टोलीका कप्तान उपाधिमाथि दाबेदारी प्रस्तुत गरेका छन् । 

कप्तानहरू भन्छन् : दबाब लिएर खेल्दैनौँ
फाइनलमा जसले राम्रो खेल्छ, जित उसकै हुने चितवनका कप्तान सोमपाल कामी तथा पोखराका कप्तान विनोद भण्डारीले दाबी गरेका छन् । पोखराका कप्तान भण्डारीले उपाधि भिडन्तमा त्यति धेरै सोच्नुनपर्ने बताएका छन् । ‘सबैलाई थाहा भएकै कुरा हो, फाइनल खेल हो, यसमा धेरै दिमाग लगाएर सोच्नुपर्ने आवश्यकता नै छैन,’ फाइनल खेलअघि शुक्रबार टियू मैदानमै आयोजित पत्रकार सम्मेलनमा भण्डारीले भने, ‘फाइनलमा पुगेका दुवै टोली राम्रा छन्, यसमा को कमजोर र बलियो भन्ने कुरै छैन ।’ 

नेपाली राष्ट्रिय टोलीका अलराउन्डरसमेत रहेका चितवनका कप्तान कामीले फाइनल एक खेलका रूपमा रहेको जनाए । ‘हामी उपाधि जित्ने कदममा छौँ, यस कारण मेरो नजरमा यो एक फाइनल नभएर केवल एक खेल मात्र हो,’ फाइनलमा दबाब नरहेको जनाउँदै कामीले भने, ‘अझै हामीलाई उपाधि जित्ने अवसर छ ।’ चितवनका कप्तान कामीले एक खेलाडी भएर सधैँ आत्मविश्वास हुनुपर्ने जनाएका छन् । 

उनी भन्छन्, ‘एक खेलाडी भएर दबाबको महसुस गर्नुहुँदैन, मैदानमा सधैँ आत्मविश्वास भएर उत्रनुपर्छ ।’ तर, उनले खेलमा जति दबाब सिर्जना उत्पन्न हुन्छ, त्यतिकै मज्जा आउने बताए । ‘दबाबमा त्यति नै प्रदर्शन गर्न मज्जा आउँछ,’ उनले भने । पोखराका कप्तान भण्डारीले पनि फाइनललाई हल्का रूपमा लिनुपर्ने बताए । ‘दबाबमा कसरी सम्हालेर जाने भन्ने हुन्छ, हामीले फाइनल खेल एक सामान्य खेल सम्झेर खेल्नुपर्छ,’ उनले भने ।

चितवनलाई मानसिक फाइदा
६ टोली सहभागी भएको इपिएलमा पोखरा र चितवनबीच दुई खेल भएका थिए । जसमा चितवनले दुवै अवसरमा पोखरालाई हराएको थियो । चितवनले पोखरालाई लिग र फाइनलको पहिलो क्वालिफायरमा हराएको थियो । उपाधि भिडन्तअघि चितवनलाई मानसिक रूपमा फाइदा पुग्ने सम्भावना त्यतिकै छ । उपाधि उचाल्न एक खेल टाढा रहेका चितवनका कप्तान कामीले एक–आपसमा दुवै टोलीले कमजोरी थाहा पाएको जनाएका छन् । यसैकारण खेलमा कमजोरीकै फाइदा उठाउनुपर्ने उनले बताए । ‘एक–अर्काको बारेमा कमजोरी राम्रोसँग थाहा छ,’ उनले भने, ‘योजनाअनुरूप खेल्ने हो ।’ 

दुवै टोलीका खेलाडी फर्ममा
पोखरा र चितवनका खेलाडी उत्कृष्ट फर्ममा छन् । चितवनका अफगानी अन्तर्राष्ट्रिय खेलाडी मोहमद सेहजादले पछिल्लो खेलमा विस्फोटक ब्याटिङ गरिरहेका छन् । पोखराको नजरमा सेहजादलाई छिटोभन्दा छिटो क्रिजबाट हटाउने योजना रहेको छ । सेहजाद फर्ममा रहँदा विपक्षी बलर कमजोर बन्ने गर्छन् । यसैगरी, भीम सार्की पनि उच्च फर्ममा छन् । नेपाली खेलाडीमध्ये उनी इपिएलमा उच्च रन बनाउने पंक्तिमा पर्छन् । 

यता पोखराका ओपनर रिचर्ड लेभी त्यति राम्रो फर्ममा छैनन् । तर, मुख्य खेलमा उनी राम्रो खेल्छन् । यसकारण पोखराले फाइनलमा रिचर्डबाट निकै आशा लिएको छ । तर, पछिल्ला तीन खेलमा उनको ब्याट चलेको छ । पोखरालाई फाइनलसम्मको यात्रा गराउनमा विवेककुमार यादवको योगदान पनि उत्तिकै छ । ब्याटिङसँगै विवेक बलिङ पनि राम्रो नै गर्छन् ।

विजेताले ५० लाख पाउने
घरेलु क्रिकेटमा आयोजना हुने टी–२० फ्रेन्चाइज लिगमा इपिएल सर्वाधिक धनराशि पुरस्कार  भएको प्रतियोगिता हो । यसपटकको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सन् २०१६ मा पहिलो संस्करणको उपाधि २०१६ मा पञ्चकन्या तेज, सन् २०१७ मा विराटनगर वारियर्स र सन् २०१८ मा ललितपुर प्याट्रियटर्सले उपाधि हात पारेका थिए । यसपटक साबिक विजेता ललितपुर र पूर्वविजेता विराटनगर लिग चरणबाटै बाहिरिएका थिए । 

यसपटकको इपिएलमा ठूला खेलाडीका रूपमा पाकिस्तानका पूर्वकप्तान सहिद अफ्रिदीले प्रतिस्पर्धा गरे । उनी काठमाडौं किंग्स इलाभेनबाट दुई खेलका लागि इपिएलमा सहभागी भए । तर, वर्षाका कारण इपिएलको उद्घाटन खेलमा मात्र उनले प्रतिस्पर्धा गर्न पाए । एक खेलमा मात्र बलिङ गरेका अफ्रिदीले ३२ रन खर्चेर एक विकेट पनि लिन सकेनन् ।

ad
ad