नक्कली पैठारीकर्ताका फर्महरू दसैँ–तिहारजस्ता महत्वपूर्ण चाडबाडमा छोटो समयका लागि देखिने र निश्चित समयपछि स्वतः बन्द वा ‘ननफायलर’ भई निष्क्रिय हुने वा हराउने गर्छन्
नेपालको कर प्रणालीमा नक्कली बीजकको धेरै चर्चा हुने गरेको छ । कर दायित्व कम गरी राजस्व चुहावट गर्न र चोरी पैठारी तथा तस्करीको मालवस्तु ढुवानी गर्ने जस्ता कार्यमा नक्कली बिलबीजकको प्रयोग भए जस्तै भन्सार कार्यालयबाट मालवस्तु आयात गर्दा गलत घोषणा गरी मालवस्तु पैठारी गर्न र राजस्व चुहावट गर्न नक्कली पैठारीकर्ताहरूको प्रयोग हुने गरेको छ । नक्कली पैठारीकर्ता को हो, आयात कारोबारमा नक्कली पैठारीकर्ताको किन प्रयोग गरिन्छ वा राजस्व चुहावटमा यसको कसरी प्रयोग गरिन्छ, यसबाट राज्यलाई के घाटा हुन्छ लगायतका विषयमा आलेख केन्द्रित छ ।
नक्कली पैठारीकर्ता : वास्तविक आयात गर्नुपर्ने मालवस्तु विदेशबाट आफ्नो फर्म वा कम्पनीको नाममा पैठारी नगरी प्रयोग गरिने अर्कै फर्म वा कम्पनी नै नक्कली पैठारीकर्ता हुन् । यसमा कारोबार गर्ने वास्तविक व्यापारीहरूले गरिब, आर्थिक स्तर कमजोर रहेका, अनपढ व्यक्ति तथा आफ्ना सोझा कामदारका नाममा विभिन्न फर्म वा कम्पनी दर्ता गरी ती फर्महरूको नाममा भन्सारबाट मालवस्तु आयात गर्न आवश्यक पर्ने एक्जिम कोडसमेत बनाई भन्सार कार्यालयबाट आयात, निर्यात गर्ने कार्य गर्छन् । व्यापारी आफैँले आफूले कारोबार गर्ने आवश्यक मालवस्तु आयात तथा पैठारी नगरी त्यस्तो कारोबार लुकाउने उद्देश्यले यस्ता मालवस्तुहरू ‘क्यारियर’लाई जिम्मा दिने वा भन्सार कार्यालयबाट मालवस्तु छुटाउन ठेक्का लिने अघोषित ठेकेदार व्यापारीहरूमार्फत मगाउने गर्छन् । उनीहरूले भन्सार कार्यालयबाट मालवस्तु छुटाउन कर कार्यालयमा दर्ता भएका तर कारोबार गर्न नसक्ने आर्थिक रूपले कमजोर र पिछडिएका व्यक्तिका नाममा दर्ता रहेका वा गरिएका फर्महरू प्रयोग गर्छन् । समग्रमा कारोबारको बारेमा नबुझेको र थाहा नपाउने, तर यस्ता व्यक्तिका नाममा वैधानिक रूपमै दर्ता भई आयात–निर्यातका लागि कानुनी प्रक्रियासमेत पूरा गरेका फर्म तथा कम्पनीहरू नक्कली पैठारीकर्ताका रूपमा प्रयोग गरिन्छन् । यस्ता फर्म वा कम्पनीको प्रयोग गरेर उनीहरूका नाममा अरूले नै पैठारी वा कारोबार गरेका हुन्छन् ।
नक्कली पैठारीकर्ताको प्रयोग किन गरिन्छ ? : सामान्यतः आफ्नो कारोबार यथार्थ नदेखाई कम देखाउन र राजस्व चुहावटका लागि नै नक्कली पैठारीकर्ताको प्रयोग गरिन्छ । भन्सार कार्यालयबाट आयात र निर्यात गर्दा विदेशबाट आयात गरेको व्यापार र कारोबारको यथार्थ कारोबार आफ्नो कारोबारमा नदेखाई कारोबार कम देखाउन वा लुकाउन, मालवस्तुको यथार्थ कारोबार मूल्य घोषणा नगरी न्यून वा अधिक बीजकीकरण गरी मालवस्तु आयात–निर्यात गर्न, भन्सारमा तिर्नुपर्ने यथार्थ र सही महसुल नतिरी भन्सार, मूअकर र आयकरजस्ता राजस्वको चुहावट वा छली गर्न नक्कली पैठारीकर्ताको प्रयोग गरिन्छ । त्यसैगरी, भन्सारमा यथार्थ मालवस्तुको घोषण नगरी एउटा मालवस्तुलाई अर्कै मालवस्तु भनी वा लुकाइछिपाई वा चोरी पैठारी गरी राजस्व छली गरी पैठारी निकासी गर्न पनि यस्ता कम्पनी वा फर्मको उपयोग हुन्छ ।
आयात–निर्यातको नाममा न्यून वा अधिक मूल्यांकनका माध्यमबाट मालवस्तु पैठारी गरी त्यस्ता मालवस्तु गैरकानुनी रूपमा चोरी निकासी गरी विदेशी विनियम अपचलन तथा हुन्डीको कारोबार गर्न वा त्यस्तो कारोबारको हिसाब मिलान गर्न, गैरकानुनी रूपमा विदेशमा लुकाइछिपाई पठाउने वा चोरी निकासी गर्ने उद्देश्यले नै आवश्यकभन्दा बढी सामान पैठारी गरी गैरकानुनी बाटोबाट पुनः चोरी निकासी गरी विदेश पठाउन र त्यस्तो कारोबार लुकाउन पनि यसको प्रयोग गरिन्छ । जस्तै, हाल नेपालमा आवश्यकभन्दा बढी पैठारी भइरहेको सुपारी, मरिच, सुकमेल केराउजस्ता वस्तुलाई उदाहरणमा लिन सकिन्छ । नक्कली पैठारीकर्ताबाट राज्यलाई प्राप्त हुनुपर्ने यथार्थ राजस्व प्राप्त नहुने, अर्थ प्रणालीमा अवैध कारोबारको बढावा हुनेलगायत असर पर्छ ।
राज्यलाई प्राप्त हुनुपर्ने यथार्थ राजस्व प्राप्त हुँदैन । आयात हुने मालवस्तुको यथार्थ घोषणा नभई समग्र राजस्वमा कमी हुनुका साथै आयात–निर्यात तथा अन्तर्राष्ट्रिय व्यापारको तथ्यांकसमेत यथार्थ हुँदैन । अधिकतर नक्कली पैठारीकर्ताका फर्महरू दसैँ–तिहारजस्ता महत्वपूर्ण चाडबाडमा छोटो समयका लागि देखिने र निश्चित समयपछि स्वतः बन्द वा ‘ननफायलर’ भई निष्क्रिय हुने वा हराउने गर्छन् । खोजी हुँदा प्रशासनिक प्रक्रियामा दर्ता भएको स्थानमा कारोबार गर्ने फर्म वा कम्पनी नै फेला नपर्ने र कर विवरणसमेत नबुझाउने हुँदा कर प्रणालीमा ‘ननफायलर’को संख्या बढ्न गई आयकर, मूअकरलगायत अन्य करहरू प्राप्त हुँदैन ।
यस्ता फर्मबाट कर प्रशासनमा कर चुहावट वा छलीका लागि नक्कली बिलबीजकको प्रयोग हुने गर्छ । व्यापारिक कारोबारमा बिलबीजक लिने–दिने कार्यमा कमी भई यथार्थ कारोबारमा कमी आउँछ र अन्ततः राजस्व चुहावट बढ्न पुग्छ । अवैध आर्थिक गतिविधि तथा चोरी पैठारी, निकासी बढ्न जाने र छाया अर्थतन्त्र फस्टाउन सक्छ । नक्कली पैठारीकर्ताबाट हुने आयात–निर्यातका कारण हुन्डीको कारोबार मौलाउने र विदेशी विनिमयको अपचलन बढ्न सक्छ । अर्थतन्त्रमा गैरकानुनी रूपमा आर्जन गरेको कालोधनको मात्रा बढोत्तरी भई अवैध कारोबार र आर्थिक अपराध बढ्न सक्छ । आर्थिक क्षेत्रमा अवैध कारोबार र कार्यले प्रोत्साहन पाउन थाल्छ । देशको पँुजी विदेशमा पलायन भई अर्थतन्त्र नै धराशायी बन्न पुग्छ ।
नक्कली पैठारीकर्ता नियन्त्रण कसरी गर्ने ? : नक्कली पैठारीकर्ताबाट राज्यलाई हुने बेफाइदा मध्यनजर गरी यस्ता पैठारीकर्ता र तिनबाट हुने गलत कारोबारलाई नियन्त्रण गर्न निम्न कार्यहरू गर्नुपर्ने देखिन्छ :
- वाणिज्य विभाग, कम्पनी रजिस्ट्रार र आन्तरिक राजस्व कार्यालयहरूबाट फर्म वा कम्पनी दर्ता गर्दा नै यथार्थ पहिचान गरी कारोबार गर्न सक्ने हैसियतको व्यक्ति वा संस्थाको नाममा मात्र फर्म वा कम्पनी दर्ता गर्ने ।
- आयात–निर्यात अनुमतिपत्र अर्थात् एक्जिम कोड प्रदान गर्दा यथार्थ आयातकर्ता पहिचान गरेर मात्र आयात इजाजतपत्र जारी गर्ने ।
- भन्सार कारोबारमा यथार्थ कारोबार मूल्य व्यावहारिक रूपमा नै कार्यान्वयन गर्ने ।
- आयातकर्ता र उसको कारोबारको बारेमा निरन्तर सरोकारवाला सबै क्षेत्रबाट निगरानी बढाउने ।
- देशको आवश्यकता र उपयोगभन्दा बढी हुने अनावश्यक र विलासी मालवस्तुको आयात निरुत्साहित गर्ने ।
- हुन्डी र विदेशी विनिमयको अपचलनलाई विशेष निगरानी गरी उचित कानुनी व्यवस्था गरी दण्ड सजायको प्रावधान कडाइका साथ कार्यान्वयनमा ल्याउने ।
- भन्सार कार्यालयमा मालवस्तु जाँचपासको क्रममा नक्कली पैठारीकर्ता पहिचान गर्ने संयन्त्र तयार गरी यस्ता पैठारीकर्ताबाट मालवस्तु पैठारी हुन नपाउने प्रणाली विकास गरी कडाइका साथ कार्यान्वयनमा ल्याउने ।
अन्त्यमा
कर प्रशासनमा नक्कली कर बीजकको प्रयोगबाट जसरी राजस्व चुहावट हुन्छ, त्योभन्दा बढी भन्सारमा मालवस्तु आयात गर्न प्रयोग हुने नक्कली पैठारीकर्ताबाट सरकारी राजस्वमा असर पर्छ । नक्कली पैठारीकर्ताबाट भन्सार कार्यालयहरूमा अवैध गतिविधि बढाउने, यथार्थ कारोबार गर्ने इमानदार व्यक्तिहरूलाई निरुत्साहित गर्ने मात्र नभई समग्र देशको राजस्व चुहावट गर्ने कार्यका लागि बजारमा बिलबीजक जारी नहुने र जारी हुँदा पनि यथार्थ कारोबारको जारी नभई मूल्य अभिवृद्घि कर, आयकरलगायतको राजस्व चुवाहट हुन्छ । यसरी नक्कली पैठारीकर्ताबाट समग्र देशको राजस्व प्रणालीमा नै गलत प्रवृत्ति बढ्ने तथा छाया अर्थतन्त्र फस्टाउने, विदेशी विनियम अपचलनले समेत प्रोत्साहन पाउने हुँदा यस्ता प्रवृत्तिको नियन्त्रण राज्यको विशेष ध्यान समयमै पुग्न जरुरी देखिन्छ ।