१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सेतो पुतलीको झुसबाट आँखामा लाग्ने सापु रोगका बिरामी पोखरास्थित हिमालय आँखा अस्पतालमा । तस्बिर : गोविन्द सुवेदी
गणेश लम्साल काठमाडौं
नवीन गुरुङ संखुवासभा
२०७८ असोज ९ शनिबार १०:००:००
Read Time : > 8 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोरोना महामारी घट्दै, कीटजन्य संक्रामक रोग बढ्दै : सापुबाट ६ ले दृष्टि गुमाए, स्क्रब टाइफसका दुई हजार बिरामी 

Read Time : > 8 मिनेट
२०७८ असोज ९ शनिबार १०:००:००

कोरोना संक्रमण ९% मा पुग्दा सापु, स्क्रब टाइफस, डेंगुलगायतका बिरामी बढ्दै, सेतो पुतलीले झुस गाडेको ४८ घन्टाभित्र अस्पताल नपुगे आँखाको ज्योति गुम्न सक्ने चिकित्सकहरूको भनाइ

सेतो पुतली अर्थात् मोथको झुस आँखामा परेर हुने संक्रमणले सापु गराउँछ । गण्डकी प्रदेशका कास्की, म्याग्दी, बाग्लुङ, पर्वत, लमजुङ, स्याङ्जा, तनहुँलगायत जिल्लामा सापु रोगका बिरामी बढिरहेका छन् । यो क्षेत्रमा ५५ जनामा सापु देखिएकोमा पाँचको दृष्टि गुमेको छ । प्रदेश १ को संखुवासभामा १५ जनामा देखिएकोमा एकजनाले दृष्टि गुमाइसकेका छन् । यो बिरामी उपचाररत अस्पतालको तथ्यांक मात्र हो । सापुले देशभर कतिलाई प्रभावित गरेको छ भन्ने तथ्यांक सरकारसँग पनि छैन । 

‘यो सेतो पुतली रातको समयमा बत्तीमा झुम्मिने गर्छ । घरमा बालेको बत्तीमा आउने गर्छ । त्यसको झुस पर्‍यो भने आँखामा पिप जम्ने र दृष्टि नै गुम्नेसम्म हुन्छ,’ हिमालय आँखा अस्पताल पोखराकी मेडिकल डाइरेक्टर डा. एलिया श्रेष्ठले भनिन् । भदौदेखि मंसिरसम्म यो रोगको संक्रमण बढी हुन्छ । स्वास्थ्य मन्त्रालयले पनि सेतो पुतलीबाट जोगिन भनेको छ । ‘उच्च पहाडी भेगमा सापुका बिरामी बढिरहेका छन् । त्यसैले, सेतो पुतली (मोथ) देखिए होसिहार रहनुहोला,’ स्वास्थ्य प्रवक्ता डा. कृष्ण पौडेल भन्छन् । 

आँखा एक्कासि रातो हुनु, उज्यालोमा हेर्न नसक्नु, आँखाको दृष्टिमा तत्काल कमी हुनु, आँखाको दुखाइ सामान्य वा बढी हुनु तथा कालो नानीमा सेतो देखिँदै जानु सापुका लक्षण हुन् । तत्काल नजिकैको आँखा अस्पतालमा गएर पहिचान गरी उपचार गर्नुपर्छ । 

आँखामा सुईमार्फत औषधि दिएर सापु रोगको उपचार गरिन्छ । जटिल अवस्था भए आँखाको शल्यक्रिया नै गरेर उपचार गर्नुपर्छ । संक्रमण भएको २४ देखि ४८ घन्टाभित्र उपचार नपाए दृष्टि गुम्न सक्छ । 

सेतो पुतलीबाट जोगिनु नै सापुबाट बच्नु हो । धेरै उज्यालो सेतो बत्ती नबाल्ने, साँझ, राति झ्याल–ढोका बन्द गर्ने, सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुलभित्र सुत्ने गर्नुपर्छ ।

पोखरा : गण्डकीका अधिकांश जिल्लामा सापुको प्रकोप 
म्याग्दी बेनीकी १० वर्षीया जोया शाही १ असोजको बिहान साथीभाइसँग खेलेर रमाउँदै थिइन् । अचानक घाममा हेर्न अप्ठ्यारो भएपछि आँखा मिच्न थालिन् । एकैछिनमा दाइने आँखा रातो भयो । जोयाका बाबु वीरबहादुर शाही छोरीलाई लिएर नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको क्लिनिक पुगे । क्लिनिकले सापुको अनुमान गर्दै तत्काल पोखराको हिमालय आँखा अस्पताल रिफर गर्‍यो । हिमालय आँखा अस्पताल ल्याइपु¥याउँदा जोयाको आँखामा पिप जमिसकेको थियो । अस्पतालले तुरुन्तै अप्रेसन गर्नुपर्ने बतायो । समयमै अस्पताल पुगेकाले समयमै अप्रेसन भयो र जोयाको आँखाको दृष्टि फर्कियो । 

बाग्लुङ गलकोटका आठ वर्षीय सुशान परियारलाई मंगलबार आँखा हेर्न अप्ठ्यारो भयो । आमा पार्वती परियारले स्थानीय क्लिनिकमा देखाइन् । स्वास्थ्यकर्मीले पोखरा लैजाउन सुझाब दिएपछि उनले बुधबार साँझ छोरालाई अस्पताल ल्याइपुर्‍याइन् । बिहीबार अप्रेसन गरिएको छ । तर, चिकित्सकले दृष्टि फर्कने–नफर्कने यकिन गर्न नसकिने भनेकाले पार्वती चिन्तित छिन् । ‘दृष्टि फर्केर मेरो छोरोले देखे हुन्थ्यो,’ उनले नयाँ पत्रिकासँग भनिन् । 

जोया र सुशानजस्तै थुप्रैमा सापुको समस्या देखिएको छ । विशेषगरी गण्डकी प्रदेशअन्तर्गतका कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, लमजुङजस्ता जिल्लामा सापुको प्रभाव बढी देखिएको छ । हिमालय आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. एलिया श्रेष्ठले यो सिजनमा मात्र सापुका ५५ बिरामी उपचारका लागि आएको जानकारी दिइन् । उपचारमा आएकामध्ये पाँचजनाको दृष्टि गुमेको छ । ‘यो सिजनमा सापुका ५५ बिरामी अस्पताल आइसकेका छन् । तीमध्ये पाँचजनाको दृष्टि फर्काउन सकिएन,’ डा. श्रेष्ठले भनिन् । उनका अनुसार हिमालय आँखा अस्पतालमा सबैभन्दा धेरै बिरामी कास्कीबाट आएका छन् । त्यसैगरी, म्याग्दी, बाग्लुङ, पर्वत, स्याङ्जा, तनहुँ र लमजुङबाट पनि सापुका बिरामी उपचारका लागि आएका छन् ।

डा. श्रेष्ठका अनुसार सापु अगस्टदेखि अक्टोबरसम्म देखिन्छ । एक वर्ष बिराएर सापु देखिने गरेको उनले बताइन् । सेतो पुतलीको झुस आँखामा बिझ्दा हुने यो रोगको उपचार २४ घन्टाभित्र हुन नसके आँखाको ज्योति गुम्नेसम्मको खतरा रहेको छ । 

संखुवासभा : सापुका १५ बिरामी, एकको ज्योति गुम्यो
पूर्वीपहाडी जिल्ला संखुवासभामा सापुको प्रकोप बढ्दै गएको छ । यहाँ १५ जनामा सापु रोग देखिएकोमा एकजनाले आँखाको ज्योति गुमाएका छन् । संखुवासभाका खाँदबारी नगरपालिका, चैनपुर नगरपालिका र सिलिचोङ गाउँपालिकामा सापुका बिरामी भेटिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीका इन्चार्ज क्षितिज बरालले जानकारी दिए । बरालका अनुसार खाँदबारीकी स्मृति घिमिरेले आँखाको ज्योति गुमाएकी हुन् । 

सदरमुकाम खाँदबारी बस्दै आएका माल्टाका खगेश्वर घिमिरेले सापुबारे जानकारी नहुँदा छोरी स्मृतिले आँखाको ज्योति गुमाउनुपरेको बताए । सूर्य आवासीय बोर्डिङ स्कुलका ‘भाइस प्रिन्सिपल’ खगेश्वरले भने, ‘विद्यालयबाट घर फर्किएपछि छोरीले आँखाको डिल चिलायो भनिन् । हामीले वास्ता गरेनौँ । निकै चिलायो भनेपछि हतार–हतार तेजरत्न आँखा उपचार केन्द्र लग्यौँ । पुतलीको झुस बिझेको भन्दै चिकित्सकले तिलगंगा अस्पताल काठमाडौं लैजान भने । तुरुन्तै जहाजको टिकट नपाएपछि भोलिपल्ट मात्र काठमाडौं हिँडे । तर, त्यतिवेलासम्म दाहिने आँखाको ज्योति गुमिसकेको थियो ।

केन्द्रका अनुसार चैनपुरकी युविका शाक्य, सिलिचोङ बालाका स्मृति कुलङ र भूमिका कुलुङलगायतका सातजनालाई सापु लागेको भेटिएको थियो । तीमध्ये स्मृतिबाहेक अन्य सबै समयमै चिकित्सकको सम्पर्कमा आएकाले उपचारपछि निको भएको इन्चार्ज बरालले बताए । ‘यो समय सेतो पुतलीले लार्भा निकाल्ने महत्वपूर्ण समय हो । भदौदेखि मंसिरसम्म यसले लार्भा उत्पादन गर्ने गर्छ ।’

गत वर्ष पनि संखुवासभामा सापुको प्रकोप देखिएको थियो । त्यसैले यस वर्ष प्रकोप फैलने सम्भावना रहेकाले तेजरत्न आँखा तथा कान उपचार केन्द्रले स्थानीय तहसँग समन्वय गरेर सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । केही दिनअगाडि खाँदबारी नगरपालिकाका ११ वटै वडामा केन्द्रले आँखा जाँच गरेको थियो भने पर्चा–पम्प्लेट वितरण गरेर सचेतना अभियान चलाएको थियो । 

चितवन : चार वर्षका बालकले गुमाए ज्योति
चितवनमा सापुका कारण एक बालकले एउटा आँखाको दृष्टि गुमाएका छन् । भरतपुर आँखा अस्पतालकी रेटिना विशेषज्ञ डा. कुमुदिनी सुवेदीका अनुसार अभिभावकसँग पोखराबाट चितवन आएका चार वर्षका एक बालकमा सापु देखिएको हो । रोग लागेको पाँच दिनपछि मात्र बालकलाई लिएर अभिभावकहरू अस्पताल आएका थिए । ढिलो अस्पताल आएकाले बालकको आँखाको दृष्टि बचाउन नसकिएको डा. कुमुदिनीले बताइन् । ‘शल्यक्रिया गरेर बालकको आँखाभित्र जम्मा भएको पिप र जाली निकाल्यौँ । तर, ढिलो उपचारमा आएकाले दृष्टि बचाउन सकेनौँ,’ उनले भनिन् । डा. कुमुदिनीले सापुको लक्षण देखिए वा सापु भएको आशंका लागे तत्कालै आँखा अस्पताल जान सुझाब दिइन् । ‘सापुले एउटा आँखालाई मात्र असर गर्छ, तर समयमै उपचार नपाए त्यो आँखाको ज्योतिसमेत गुम्छ । त्यसैले तत्कालै अस्पताल जानुर्पछ,’ उनले भनिन् । 

मोरङ : प्रदेश १ मा न तथ्यांक न रोकथाम
प्रदेश १ सरकारले सापु रोगका बिरामीबारे हालसम्म रेकर्ड राखेको छैन । सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखा प्रमुख सागर भट्टराईले बालबालिका र कृषकहरू बढी जोखिममा रहेको बताए । तर, महाशाखामा अहिलेसम्म कति बिरामी भए भन्ने रेकर्ड नरहेको जानकारी दिए । प्रदेश सरकारले अहिलेसम्म रोकथामको कुनै योजनासमेत बनाएको छैन । महाशाखा प्रमुख भट्टराईले अस्पतालहरूले स्वास्थ्य कार्यालयहरूमा हालसम्म विवरण नपठाएको उनको भनाइ छ । 

मोरङमा एकजनामा सापु देखिएको छ । तर, जिल्लास्तरमा तथ्यांक राख्ने नगरेकाले यकिन संख्या भन्न नसकिने वरिष्ठ जनसंख्याविज्ञ डा. नवराज सुब्बाले बताए । मोरङमा देखिएका सापुका बिरामीले भने समयमै उपचार पाएकाले निको भएका छन् । उनको विराटनगर आँखा अस्पतालमा उपचार भएको नेत्र विशेषज्ञ डा. ललित अग्रवालले बताए । ‘सापुको समस्या लिएर एकजना बिरामी आउनुभएको थियो,’ डा. ललितले भने, ‘समयमै आएकाले उनको उपचार सफल भयो ।’ वरिष्ठ जनस्वास्थ्यविज्ञ डा. सुब्बाले कृषक र बालबालिकाहरू बढी जोखिममा रहेकाले रोकथामको योजना बनाउन आवश्यक भइसकेको बताए । 

सापुका लक्षण

  • आँखा रातो हुने, तर चिप्रा नलाग्नु 
  • उज्यालोमा हेर्न नसक्नु 
  • तत्कालै आँखाको दृष्टि कमी हुनु 
  • आँखाको कालो नानीभित्र पिप जम्नु 
  • नानी सेतो देखिनु र सेतो टल्किनु 

रोकथामको उपाय 

  • सेतो पुतलीको संसर्गबाट टाढा रहने 
  • धेरै उज्यालो सेतो बत्ती नबाल्ने 
  • झ्याल ढोकामा जाली राख्ने वा बेलुका झ्याल ढोका बन्द राख्ने 
  • बत्ती निभाएर झुल प्रयोग गरेर सुत्ने 
  • यो रोगको शंका लागे तुरुन्त आँखा उपचार केन्द्र वा आँखा अस्पताल गइहाल्ने 

सापु फैलाउने पुतली कसरी चिन्ने ?

चिकित्सकहरूका अनुसार सेतो पुतली करिब तीन सय प्रजातिका छन् । तीमध्ये सापु फैलाउने पुतलीमा शिरतिर तेर्सो र पखेटातिर ठाडो कालो धर्को हुन्छ । यो उज्यालो वस्तु, बत्ती, पर्दा, कपडा, झ्यालमा बढी आकर्षित हुने गर्छ । पोथी सेतो पुतलीले अन्डा ढाक्न प्रयोग गर्ने झुसका कारण धेरै यो रोग फैलिने गरेको चिकित्सकहरूले बताएका छन् । उक्त पुतलीले अन्डा कोरल्ने समयमा झुस छोड्ने गर्छ । 

सापुले ज्योति लग्यो, तर फर्किन्छ भन्ने आस छ : नारायण शर्मा अधिकारी, कुस्मा नगरपालिका– १०, पर्वत 

अघिल्लो शुक्रबार दिउँसो ३ बजेतिर आँखा धमिलो हुन थाल्यो । पानीले छ्यापेँ, तर झन् धमिलो हुन थाल्यो । १०–१५ मिनेटपछि आँखामा बादल लागेजस्तो भयो । त्यसको करिब ४५ मिनेटपछि आँखा देख्नै छोडेँ ।

स्थानीय स्वास्थ्यकर्मीसँग सल्लाह गरेर ‘आइड्रप’ हालेँ, तर सन्चो भएन । भोलिपल्ट पर्वतबाट पोखरा हिमालय आँखा अस्पताल गएर देखाउँदा सेतो पुतलीका कारण सापु भएको थाहा भयो ।

भर्ना भएर दुई दिन अस्पताल बसेँ । आँखाजस्तो संवेदनशील अंग भएकाले थप उपचारका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल आएँ । मंगलबार आँखाको अप्रेसन भयो । चिकित्सकहरूले आँखाको ज्योति फर्कन सक्छ भन्नुभएको छ । ज्योति फर्कने आसमा छु । 

सापु आँखाको शत्रु हो, समयमै उपचार नभए दृष्टि नै गुम्छ  : डा. रञ्जु खरेल सिटौला युबिआइटिस् विशेषज्ञ, त्रिवि आँखा विभाग

- सापु आँखाको निम्ति धेरै नै खतरनाक हो । सापु लागेपछि द्रुतगतिमा अगाडिको भागदेखि पछाडिको भागसम्म आँखाको पत्रहरू बिग्रन थाल्छन् । ४८ घन्टा कटेपछि आँखाको धेरैजसो भागमा पिप जम्छ । यसका लक्षण देखिएको घन्टा वा मिनेटभरमै उपचार खोज्नुपर्छ । आँखा पाकेको रोग हो भनेर हेलचेक्र्याइँ गर्दै बस्दा ४८ घन्टाभित्रमा आँखाको दृष्टि गुम्न सक्ने डर हुन्छ । तर, यो सरुवा रोग होइन ।

- यो रोग बाह्रै महिना देखिने होइन । विदेशी क्यालेन्डरअनुसार बिजोडा वर्ष र नेपाली क्यालेन्डरअनुसार जोडी वर्षमा भदौदेखि मंसिरसम्मको समयमा यो रोग देखा पर्दै आइरहेको छ । खासगरी वर्षायाम रोकिएर चिसो बढ्नै लाग्दा देखिन्छ ।

- यो रोग बालबालिकामा धेरै छ । पीडितमध्ये ६०/७० प्रतिशत बालबालिका छन् । 

- पहिले–पहिले यो रोग लागेका दुईतिहाइको दृष्टि गुम्थ्यो, तर अहिले उपचारमा धेरै सुधार आएको छ । हालसम्मको उपचार पद्धति र निको भएको दरलाई हेर्दा लगभग ७० प्रतिशतको आँखाको दृष्टि फर्काउन सकिएको छ । 

कोरोना संक्रमण दर ९ प्रतिशत

दुई वर्षदेखि फैलिएको कोरोना संक्रमण खोपका कारण केही हदसम्म नियन्त्रणमा आएको छ । नेपालमा पनि संक्रमण दर घटेको छ, जोखिम भने कायमै छ । शुक्रबारको तथ्यांकअनुसार नेपालमा संक्रमण नौ प्रतिशत मात्र छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार देशभर १४७६ मा संक्रमण देखिएको छ ।

कोरोना घट्दै जाँदा कीटजन्य अन्य संक्रामक रोग भने बढ्न थालेको छ । खासगरी सेतो पुतलीबाट हुने सापु र किर्नाको टोकाइबाट हुने स्क्रब टाइफसका बिरामी बढिरहेका छन् ।

दुई वर्षसम्म कोरोनामै केन्द्रित सरकारले कीटजन्य संक्रामक रोग नियन्त्रणका लागि ध्यान दिएन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले कीटजन्य रोगको जोखिम न्यूनीकरणमा राज्यको योगदानमा विगतमा भन्दा कमी भएको बताए ।

२५ भन्दा बढी जिल्लामा स्क्रब टाइफसका करिब दुई हजार संक्रमित : डेंगु, मलेरिया र कालाजारको पनि प्रकोप बढ्दै

स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एकप्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्छ । यो किर्ना खासगरी मुसामा हुन्छ । २५ भन्दा बढी जिल्लामा यसको संक्रमण देखिएको छ । अत्यधिक ज्वरो आउने, सास फेर्न गाह्रो हुने, बेसरी टाउको दुख्ने, शरीरबाट पसिना आउने, शरीरमा ससाना बिमिरा देखिने, आँखा रातो हुने यसका लक्षण हुन् । १४ दिनभित्र यसका लक्षण देखिन्छन् ।

देशभर ४८९ मा देखियो डेंगु, मलेरिया ४४५ र कालाजार २०० लाई

- एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुबाट यो वर्ष ४८९ जना संक्रमित भइसकेका छन् । डेंगुको लक्षण तीनदेखि १४ दिनको अन्तरमा देखिन्छ । एकदमै चिसो अनुभव हुने, तीव्र ज्वरो आउने, कमजोरी गराउने, खानाको स्वाद बदलिने, पखाला लाग्ने, कम्मर दुख्ने, आँखा, नाकबाट रगत बग्ने यसका प्रमुख लक्षण हुन् ।

- पाँच वर्षमुनिका बालबालिका, गर्भवती र दीर्घरोगी मलेरियाको जोखिम समूह हुन् । एनाफिलिज नामक संक्रमित लामखुट्टेबाट सर्ने यो रोग यस वर्ष ४४५ जनामा देखिइसकेको छ । ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, जोर्नी दुख्ने, शरीरमा रगतको मात्रा कम हुने, भित्री अंग सुन्निने, थकित महसुस हुने यसका लक्षण हुन् 

- पोथी भुसुनाको टोकाइले हुने कालाजारबाट यो वर्ष दुई सय व्यक्ति संक्रमित भइसकेका छन् । तराईमा कालाजारका बिरामी बढी देखिन्छन् । खोकी लाग्ने, ज्वरो आउने, कमजोरी हुने, रक्तअल्पता, कलेजोको समस्या, छाला कालो हुने, पेट फुल्ने, जिउको रङ कालो हुँदै जाने यसका प्रमुख लक्षण हुन् ।

कीटजन्य संक्रामक रोगबाट जोगिनेबारे सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनको सल्लाह

- स्क्रब टाइफस : शरीर ढाक्ने लुगा लगाउने । खुला भागमा कीटनाशक मलम दल्ने । घरवरिपरि झार बढ्न नदिने । घरमा मुसा नियन्त्रण गर्ने ।

- डेंगु : घरआसपास एवं टोलछेउछाउ पानी जम्न नदिने । पिउने पानी राखिएको भाँडा खुला नछाड्ने । भान्सा र बाथरुमलाई सुक्खा राख्ने । झ्याल–ढोकामा जाली लगाउने, झुलभित्र सुत्ने । शरीर ढाक्ने लुगा लगाउने । 

- मलेरिया : लामखुट्टे भगाउन घरवरपर विषादी छर्किने । घर, गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने स्थानलाई नष्ट गर्र्ने । घरका झ्याल–ढोकामा जाली लगाउने । सुत्ने वेला अनिवार्य रूपमा झुल प्रयोग गर्ने ।

- कालाजार : भुसुनाको टोकाइबाट जोखिने । शरीर ढाक्ने लुगा लगाउने । झुल लगाएर सुत्ने । घरभित्र र बाहिर भुसुना नियन्त्रण गर्न औषधि छर्किने । 

छिमेकी भारतमा निपा भाइरसको आतंक, नेपाल भित्रिने कति छ जोखिम ?

छिमेकी देश भारतका केही स्थानमा निपा भाइरसको आतंक छ । जसले गर्दा नेपालीलाई पनि चिन्तित बनाएको छ । भारतबाट नेपालमा पनि भाइरस भित्रिन सक्ने भन्दै सरकारले सीमामा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । कुनै पनि अस्पतालमा शंकास्पद बिरामी आए जानकारी गराउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । यद्यपि हालसम्म नेपालमा कसैमा निपा पुष्टि नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए ।

निपा भाइरस खासगरी ‘फ्रुटब्याट’ जातको चमेरोमा हुन्छ । बंगुरमा पनि यो भाइरस पहिचान भएको छ । निपा फैलाउने चमेरो नेपालमा पनि पाइने विज्ञहरूको भनाइ छ । त्यस्तै, विभिन्न ठाउँमा व्यावसायिक रूपमै बंगुरपालनसमेत हुने गरेकाले नेपालमा जोखिम रहेको सरकारी आकलन छ । अझ घरघरमै पनि बंगुर पालिन्छ । पशुबाट मानिसमा सर्ने यो भाइरस मानिसबाट मानिसमा पनि सर्छ । 

निपाका लक्षण पनि कोरोना भाइरससँगै मिल्दाजुल्दा छन् । जसका कारण मानिस झुक्किने गर्छन् । यसले ज्वरो आउने, टाउको दुख्ने, रिँगटा लाग्ने र बेहोसै हुने गराउँछ । त्यस्तै, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा गाह्रो हुने तथा टन्सिल बढ्ने समस्या पनि देखिन्छ । 

चिकित्सकहरूका अनुसार निपा नयाँ रोग हो । यो भाइरसको कुनै निश्चित उपचार छैन । निपाविरुद्ध खोप पनि बनिसकेको छैन । संक्रमित हुने र ज्यानै जाने जोखिम बढी छ । 

चिकित्सकहरूका अनुसार निपा भाइरसबाट जोखिन खासगरी पशुपक्षीसँगै रहेर काम गर्ने व्यक्ति होसियार हुनुपर्छ । बिरामी पशुपक्षीको नजिक जानुहुँदैन । तरकारी, माछामासु राम्रोसँग पकाएर तथा फलफूल राम्रोसँग पखालेर खानुपर्छ । फार्म तथा गोठ सफा राख्नुपर्छ । मासु काट्दा र पकाउँदा मास्क र पञ्जा प्रयोग गर्नुपर्र्छ । त्यस्तै, उमालेको पानी पिउने, साबुनपानीले हात धुने, भिडभाडमा मास्क लगाउने गर्नुपर्छ ।