१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
टेकराज थामी काठमाडौं
२०७८ असोज ८ शुक्रबार ०८:३५:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चाडपर्वका वेला हुने सवारी दुर्घटना रोक्न  ‘नाइट भिजन लेजर स्पिड गन’

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडौं
२०७८ असोज ८ शुक्रबार ०८:३५:००

चक्रपथ, उपत्यकाभित्रका हाइवे र सहरभित्रका फराकिलो सडकमा राखिने, निर्धारित गतिभन्दा तीव्र गतिमा गुड्ने सवारीसाधनलाई नियन्त्रणमा लिइने 

ट्राफिक प्रहरीले चाडपर्वका वेला हुने ट्राफिक दुर्घटना न्यूनीकरण गर्न नाइट भिजनसहितको ‘लेजर स्पिड गन’ प्रयोग गर्ने भएको छ । दिवा र रात्रिकालीन दुवै समयमा चल्ने सवारीसाधनको गतिलाई सही तवरले मापन गर्ने भएकाले ट्राफिक प्रहरीले स्पिड गनको प्रयोगलाई तीव्रता दिने भएको हो । 

ट्राफिक प्रहरीसँग अहिले दिवाकालीन समयमा चल्ने सवारीसाधनको गति मापन गर्न १० र रात्रिकालीन समयमा चल्ने सवारीसाधनको गति मापन गर्न नाइट भिजनसहितको पाँचवटा ‘लेजर स्पिड गन’ छ । ट्राफिक प्रहरीले नाइट भिजनसहितको स्पिड गनको संख्या थप्ने तयारी गरेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले स्पिड गन सवारीसाधनको गति नियन्त्रण गर्न प्रभावकारी देखिएकाले चाडपर्वका वेला यसको प्रयोगलाई प्राथमिकतामा राखिएको जानकारी दिए । ‘हामीसँग दिवाकालीन समयमा सवारीसाधनको गति नाप्ने स्पिड गन त थियो नै । अहिले नाइट भिजनसहितको स्पिड गन पनि छ । यसले रात्रिकालीन समयमा चल्ने सवारीसाधनको गति सही तवरले नाप्न मात्र नभई सवारीसाधन सही तवरले चिन्नसमेत सक्छ । त्यसैले हामीले यसको प्रयोगलाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने ।

ट्राफिक प्रहरीका अनुसार चाडपर्वमा विशेष गरी ओभर स्पिड र ओभरलोडका कारण धेरै सवारी दुर्घटना हुने गर्छ । ओभरलोड नियन्त्रण गर्न ट्राफिक प्रहरीले न्युरोड एरिया, ठमेल, कालीमाटी, कलंकी, बल्खु, कोटेश्वर, गौशाला, चाबहिल, बौद्ध, बालाजु बसपार्कलगायतका क्षेत्रमा विशेष निगरानी बढाउनेछ । ओभर स्पिड नियन्त्रणका लागि भने ‘स्पिड गन’ प्रयोगलाई प्राथमिकता दिनेछ । यसका लागि ट्राफिक प्रहरीले सडकको मुख्य लेनमा प्रतिघन्टा ५० किमि र सर्भिस ट्र्याकमा प्रतिघन्टा २० किमि गति निर्धारण गरेको छ । निर्धारित गतिभन्दा तीव्र गतिमा हुइँकिने सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिनेछ । र, आवश्यक कारबाही अघि बढाउनेछ ।

एसएसपी जनक भट्टराई, प्रमुख, महानगरीय ट्राफिक प्रहरी महाशाखा

चाडपर्वका वेला ओभर स्पिडका कारण धेरै दुर्घटना हुने गरेको देखियो । यसलाई न्यूनीकरण गर्न लेनअनुसार सवारीसाधनले पालना गर्नुपर्ने गति निर्धारण गरेका छौँ । त्यसको मापन स्पिड गनले गर्छ । जसले नियम उल्लंघन गर्छ, त्यसलाई कारबाही हुन्छ । यसबाट चाडपर्वका वेला हुने सवारी दुर्घटना नियन्त्रण गर्ने आशा छ ।

‘चाडपर्वका वेला ओभर स्पिडका कारण धेरै दुर्घटना हुने गरेको देखियो । यसलाई न्यूनीकरण गर्न लेनअनुसार सवारीसाधनले पालना गर्नुपर्ने गति निर्धारण गरेका छौँ । त्यसको मापन स्पिड गनले गर्छ । जसले नियम उल्लंघन गर्छ, त्यसलाई कारबाही हुन्छ । यसबाट चाडपर्वका वेला हुने सवारी दुर्घटना नियन्त्रण गर्ने हाम्रो आशा छ,’ महाशाखा प्रमुख एसएसपी भट्टराईले भने । ट्राफिक प्रहरीका अनुसार लेजर स्पिड गर्न विशेष गरी चक्रपथ, उपत्यकाभित्रका हाइवे र सहरभित्रका फराकिलो सडकमा राखिनेछन् । ओभर स्पिड सोही क्षेत्रका बढी हुने भएकाले उक्त सडक ट्राफिक प्रहरीको प्राथमिकतामा परेको हो । 

के हो लेजर स्पिड गन ?
महाशाखाका अनुसार लेजर स्पिड गन विशेष खालको क्यामेराजडित उपकरण हो । उपकरण दूरबिन आकारको हुन्छ । यसलाई ट्राफिक प्रहरीले सजिलैसँग हातमा लिएर सञ्चालन गर्न सक्छ । सञ्चालित गनले सडकमा आवागमन गर्ने सवारीसाधनको तस्बिरका साथै उसको गति नाप्न सक्छ । सवारीसाधनको दूरी पनि उपकरणले देखाउँछ । निर्धारितभन्दा बढी हुइँकिने सवारीसाधनको गति सजिलै देखिने हुँदा उपकरण बोक्ने ट्राफिक प्रहरीले गति उल्लंघनको संकेत पाउँछ । प्रहरीले तुरुन्तै अर्को बटन दबाउँछ । उपकरणले तत्काल उक्त सवारीसाधनको विस्तृत विवरण प्रिन्ट गरेर दिन्छ । सोही आधारमा प्रहरीले कारबाही गर्छ ।

१४ स्थानमा यात्रु सहायता कक्ष
ट्राफिक प्रहरीले नागढुंगा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा नागरिक सहायता कक्ष राख्ने योजना बनाएको छ । कक्षमा चौबिसै घन्टा प्रहरी परिचालित हुनेछन् । पाकेटमार तथा अन्य आपराधिक गतिविधि र सुरक्षासम्बन्धी सुसूचित गर्न, स्वास्थ्य प्रोटोकलको पालना गर्न, टिकट तथा भाडा ठगीलगायतका यात्रुहरूको गुनासो व्यवस्थापन गर्न, सहज यात्राको व्यवस्थापन गर्नु कक्षमा खटिने प्रहरीको मुख्य कार्य हुनेछन् । टिकट विक्रेताले यात्रुले स्पष्ट देखिने गरी टिकट काउन्टरमा अनिवार्य भाडा दररेट टाँस्नुपर्ने र टिकट काट्ने तथा यातायातसँग सरोकार राख्ने व्यक्तिहरूको सहजै पहिचानका लागि परिचयपत्र बोक्नुपर्ने व्यवस्था महाशाखाले गरेको छ ।

न्युरोड, रत्नपार्क, असन क्षेत्रमा अस्वाभाविक भिड
नजिकिँदो पर्वसँगै सुन्धारा, न्युरोड, वसन्तपुर, असन, भोटाहिटी, इन्द्रचोक, दरबारमार्ग क्षेत्रमा सर्वसाधारणको मात्र होइन, सवारीसाधनको चापसमेत अस्वाभाविक ढंगले बढेको छ । त्रिपुरेश्वरदेखि केशरमहलसम्मको यात्रा गर्न घन्टौँ समय जाम झेल्नुपर्ने अवस्था छ । विशेष गरी न्युरोड र भोटाहिटी क्षेत्रमा सर्वसाधारण र सवारीसाधनको भिड अत्याधिक बढेको छ ।

मुलुककै मुख्य व्यापारिक केन्द्र भएकाले मानिसको भिड बढेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले बताए । ‘सुन्धारा, न्युरोड, वसन्तपुर, असन, भोटाहिटीलगायतका क्षेत्रमा सावरीसाधनभन्दा पनि सर्वसाधारणको भिड बढेको छ । मुलुककै मुख्य व्यापारिक केन्द्र भएकाले यस क्षेत्रमा भिड बढेको हुन सक्छ । सवारीसाधन जाममा पर्ने कारण यही हो । यसलाई व्यवस्थित गर्न हामीले विशेष योजना बनाएका छौँ । अब योजना कार्यान्वयनमा आउँछ,’ उनले भने ।

नाकामा चौबिसै घन्टा चेकजाँच 
ट्राफिक प्रहरीले थानकोट, नागढुंगा, जगाती, फर्पिङ, साँखु, बालाजु बाइपास, मुड्खु, टोखालगायत नाका हुँदै बाहिरिने र भित्रिने सवारीसाधनको चेकजाँच गर्न विशेष चेक प्वाइन्ट बनाएको छ । चेक प्वाइन्टमा चौबिसै घन्टा ट्राफिक प्रहरी खटिनेछन् । उनीहरूले नाका हुँदै उपत्यका भित्रिने र बाहिरने सवारीसाधनमा कडा निगरानी गर्नेछन् । लामो दूरीका सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राखे/नराखेको, बढी भाडा लिए/नलिएको, चालकले मापसे गरे/नगरेको, चालकको अवस्था, स्वास्थ्य मापदण्ड पालना भए/नभएको चेकजाँच गर्न चेक प्वाइन्टमा खटिएका ट्राफिक प्रहरीको मुख्य कार्य हुनेछ । 

सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन
चाडपर्वका वेला टिकट विक्रेताले दलाल प्रयोग गरी यात्रुसँग बढी भाडा असुल्न सक्छन् । भाडामा ठगी गर्न सक्छन् । यात्रुमाथि दुर्व्यवहार गर्न सक्छन् । गन्तव्यमै नपुगी गाडीबाट यात्रु ओरालिदिन सक्छन् । यसको अनुमगन र नियन्त्रण गर्न ट्राफिक प्रहरीले सादा पोसाकमा ट्राफिक प्रहरी खटाउने योजना बनाएको छ । विशेष गरी गोंगबु नयाँ बसपार्क क्षेत्र, कलंकी, बल्खु, सातदोबाटो, कोटेश्वर, पुरानो बसपार्क, गौशाला, जडीबुटीलगायतका भिडभाड हुने स्थान र टिकट काउन्टरहरूमा सादा पोसाकका प्रहरी खटाउने योजना महाशाखाको छ ।