Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असोज ७ बिहीबार ०८:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाढीले विद्यालय बगायो, टेन्टमा पढाइ

Read Time : > 1 मिनेट
२०७८ असोज ७ बिहीबार ०८:५५:००

मनाङको नासों गाउँपालिका–१ तालगाउँमा रहेको भानु माविको भवन बाढीले बगाएपछि पढाइ प्रभावित भएको छ । विद्यालय मस्र्याङ्दीमा बगेसँगै विद्यार्थी, अभिभावक तथा शिक्षक अन्योलमा परेका छन् । 

तालगाउँमा रहेको भानु माविको भवन १ असारमा मस्र्याङ्दीमा आएको बाढीले बगाएको थियो । विद्यालयमा १० कक्षासम्म पठनपाठन हुने गरेको छ । तालगाउँको सिंगो बस्तीसँगै विद्यालय पनि पूर्णरूपमा जोखिममा परेपछि विद्यालयमा पठनपाठन गर्ने ठाउँ नै नभएको भानु माविका प्रधानाध्यापक श्यामकृष्ण पन्तले बताए ।

०३२ मा स्थापना भएको विद्यालयको भवन नै बाढीपहिरोले बगाएपछि मनाङसहित लमजुङका विद्यार्थी शिक्षाबाट वञ्चित भएका छन् । गाउँमा विद्यालय निर्माण गर्ने जग्गासमेत नभएको पन्तले बताए ।

२४ विद्यार्थीले  विद्यालय छाडे
भानु मावि बाढीले बगाएसँगै विद्यालयमा अध्ययन गर्दै आएका एक सय २५ विद्यार्थीमध्ये २४ जना काठमाडौं र पोखरा गएका छन् । मनाङमा रहेको चार माध्यमिक विद्यालयमध्ये तीनवटा विद्यालयमा बाढीले क्षति पु¥याएको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख नारायण रेग्मीले बताए । 

विद्यालयको भौतिक संरचना पूर्णरूपमा क्षति भएकाले मर्मत तथा निर्माणमा समय लाग्ने उनको भनाइ छ । रेग्मीका अनुसार मनाङका सबै माध्यमिक विद्यालयमा आवासीय सुविधा छ । बाढीले भानु माविसँगै नासों गाउँपालिका–६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति मावि र सदरमुकाम चामेमा रहेको नमुना विद्यालय लोकप्रिय मावि पनि मस्र्याङ्दी नदीमा आएको बाढीले पूर्णरूपमा क्षति पुर्‍याएको छ ।

१ असोजदेखि स्थानीय तहले विद्यालय खोल्न निर्देशन दिएसँगै मनाङका अधिकांश विद्यालयले पढाइ सञ्चालन गरे पनि बाढीले विद्यालय बगाएको तालगाउँमा रहेको भानु माविले भने ३ असोजदेखि टेन्टमा पढाइ सञ्चालन गरेको छ । मनाङमा २६ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालय छन् । मनाङमा चार मावि, आठ आधारभूत र १५ वटा प्रावि छन् । 

 टेन्टमा पढाइ सञ्चालन 
१ असारमा मस्र्याङ्दी नदीमा आएको बाढीले विद्यालय भवन बगाएपछि भानु माविका विद्यार्थीहरू टेन्टमुनि बसेर पठनपाठन गर्दै आएका छन् । खोलाले विद्यालय भवन बगाएपछि अहिले बालकक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई अस्थायी टेन्टमा राखेर पठनपाठन गराउँदै आएको विद्यालयका प्रधानध्यापक श्यामकृष्ण पन्तले बताए । ‘हिमालको चिसो सिरेठो र मस्र्याङ्दी नदीको चिसो हावाले विद्यार्थीहरू कठ्यांग्रिने गर्छन्, रमाइरमाइ स्कुलमा पढ्नुपर्ने समय उनीहरूका लागि निकै कष्टकर बन्ने गरेको छ,’ पन्तले भने ।

कक्षा ८ मा अध्ययनरत दिप्शन गुरुङले टेन्टमुनि बसेर पढ्न निकै गाह्रो हुने गरेको बताए । ‘विद्यालयमा पढ्ने कहिले होला, अब त जाडो बढ्यो टेन्टमा कसरी पढ्ने चिन्ताले पिरोलेको छ,’ उनले भने । भानु माविको कक्षा ८ मा पढ्ने प्रवृत्ति तामाङ पनि टेन्टमा बसेर पढ्न धेरै गारो भएको बताउँछिन् । विद्यालयमा पढाउने वातावरण नभएकाले चौरमा टेन्ट राखेर पढाइ सञ्चालन गरेको पन्तको भनाइ छ । बाढाले विद्यालय भवन बगाएर विद्यालय सञ्चालन गर्ने अवस्था नभएसँगै विद्यालय स्थान्तरणका लागि गाउँपालिकाले जग्गा खोजी गरेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए ।