१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ६ बुधबार
  • Friday, 04 July, 2025
२o७८ असोज ६ बुधबार २o:१८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भूमिगत जलस्रोतमा संघ र प्रदेशका कर्मचारीको विवाद, तीनजना कर्मचारी कार्यालयमै थुनिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ६ बुधबार २o:१८:oo

सिराहाको लहानस्थित भूमिगत जलस्रोत कार्यालयमा कार्यरत संघ र प्रदेशमातहत रहेका कर्मचारीहरूको सामान बरबुझारथ नगरेको विषयमा भएको विवादको कारणले बुधबार साँझ संघअन्तर्गतका तीनजना कर्मचारी थुनिएका छन् । 

संघमातहत रहेको लहान १० ग्रामीणस्थित भूमिगत जलस्रोत विकास समिति शाखा कार्यालय र प्रदेश सरकारमातहत रहेको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजनका कर्मचारीको विवाद हुँदा समितिका तीनजना कर्मचारी बुधबार साँझ साढे ५ बजेदेखि कार्यालयमै थुनिएका हुन् । 

डिभिजनमा कार्यरत हाइड्रोजियोलोजिस्ट पुष्पराज दाहालले बुधबार सरुवाको रमाना लिएर हिँडेपछि आफूहरूसँग लिएको  सामान बरबुझारथ नगरेको भन्दै समितिका कर्मचारीले बुधबार अपराह्न दाहाल बस्दै आएको कोठामा गएर ताला लगाएका थिए । 

ताला लगाएर डिभिजनदेखि उत्तरपट्टि रहेको समितिको कार्यालयमा बसेर काम गरिरहेका वेला डिभिजनका कर्मचारीहरूले बाहिर मूलगेटमै ताला लगाएर आफूहरूलाई बन्दी बनाएको समितिका नायब सुब्बा सुरेन्द्रप्रसाद पौडेलले बताए । थुनिनेहरूमा विकास समितिका हाइड्रोजियोलोजिस्ट, ना.सु. पौडेल र कार्यालय सहायक मधुसुदन महतो छन् ।  

यस्तो छ विवाद
प्रदेशमातहत रहेको डिभिजनमा कार्यरत हाइड्रोजियोलोजिस्ट दाहालले समितिबाटपछि फिर्ता गर्ने गरी काम चलाउन लगर मेसिन, फ्रिजलगायतका करिब ९० प्रतिशत सामान लगेका थिए । ‘सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका हाइड्रोजियोलोजिस्ट दाहालले आफूहरूसँग लगेको सामान नबुझाई बुधबार रमाना लिएर हिँड्नुभएको थाहा पायौँ,’ ना.सु. पौडेलले भने ‘सामान खोज्न जाँदा क्वार्टरमा ताला लगाएको देखेपछि हामीले अर्को ताला लगाएर फर्कियौँ ।’

डिभिजन कार्यालयबाट करिब २० मिटर उत्तरतिर रहेको कार्यालयमा बसेर काम गरिरहेका वेला डिभिजनका कर्मचारीहरूले आएर ताला लगाइदिएपछि आफूहरू थुनिएको उनको भनाइ छ । 

अनावश्यक विवाद ः डिभिजन प्रमुख
    आफ्नो कार्यालयका कर्मचारीले समितिका तीनजना कर्मचारीलाई थुनेको विषयमा डिभिजनप्रमुख सुदर्शन अधिकारीले कार्यालयप्रमुख तहमा कुरा मिलिसकेको भए पनि अनावश्यक विवाद गरिएको बताए । ‘संघमातहत रहेको समितिका केही भौतिक सामानहरू कानुनतः डिभिजनलाई हस्तान्तरण भइसकेको अवस्थामा त्यही सामान खोज्दै केही कर्मचारीले डिभिजनका कर्मचारी बस्ने क्वार्टरमा ताला लगाउन मिल्छ ?’ प्रमुख अधिकारीले भने ।

डिभिजनलाई हस्तान्तरण गरिएका सामानहरू कुन कुन हुने भन्नेचाहिँ डिभिजनप्रमुख अधिकारीले खुलाएनन् । क्वार्टरमा ताला लगाएको विषयमा कुराकानी गर्न गएका आफ्नो कर्मचारीलाई समितिका कर्मचारीले ताला लगाउन चुनौती दिएपछि ताला लगाएको आफूले थाहा पाएको उनले बताए ।