मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ असोज ६ बुधबार ०७:०२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लमजुङ कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

कैदीबन्दीलाई बस्न, सुत्न र शौचालय जान सास्ती

Read Time : < 1 मिनेट
२०७८ असोज ६ बुधबार ०७:०२:००

क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि जिल्ला कारागार लमजुङमा व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।  ३५ कैदीबन्दी राख्ने क्षमता रहेको कारागार भवनमा अहिले ९७ कैदीबन्दी छन् । तीमध्ये १० महिला र ८७ पुरुष छन् । 

जेलर जगदीश मिश्रले अभियोग प्रमाणित भइसके पनि फरार रहँदै आएकाहरू धमाधम पक्राउ पर्न थालेकाले कारागारमा कैदीबन्दीको संख्या बढेको बताए । ‘जिल्ला कारागार ३५ जना राख्ने क्षमताको हो । तर, कैदीबन्दीको संख्या बढेकोबढ्यै छ । अहिले ९७ जना पुगिसकेका छन्,’ जेलर मिश्रले नयाँ पत्रिकासँग भने, ‘वैकल्पिक व्यवस्था नहुँदा कैदीबन्दी समस्यामा छन् ।’ 

कैदीबन्दीका नियमित गतिविधिसमेत प्रभावित हुन थालेको उनले बताए । ‘कैदीबन्दीले सुत्ने, बस्ने र शौचालय जाने समस्या विकराल बनेको भनेर गुनासो गरिरहेका छन् । तर, हामीले समस्या समाधान गर्न सकेका छैनौँ,’ मिश्रले थपे । कारागारका चौकिदार नवीन गुरुङले क्षमताभन्दा तेब्बर कैदीबन्दी राख्दा सुत्न र शौचालय जान सबैभन्दा बढी समस्या भएको बताए । 

भूकम्पले जीर्ण  भवन अझै बनेन
कारागारमा कैदीबन्दीको संख्या बढेको मात्र छैन, कारागारका भवनसमेत जीर्ण बनेका छन् । त्यसमाथि ०७२ सालको भूकम्पले जीर्ण बनेको भवनमै अहिले पनि कैदीबन्दी राख्ने गरिएकाले जोखिम छ । कारागार प्रशासनले आधुनिक कारागार भवन निर्माणका लागि विभागमा पटक–पटक अनुरोध गरे पनि प्रक्रिया अगाडि नबढेको बतायो । ‘एकातिर कैदीबन्दीको संख्या बढिरहेको छ भने अर्कोतिर भएका भवनहरू जीर्ण बनिरहेका छन्,’ जेलर मिश्रले नयाँ पत्रिकासँग भने, ‘आधुनिक भवन पनि नबन्दा सबैको जोखिम बढेको छ ।’