मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ५ मंगलबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ असोज ५ मंगलबार o६:१९:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ब्लड क्यान्सरबाट विश्वमा वार्षिक सात लाख २० हजारले गुमाउँछन् ज्यान

‘नेपालमा ब्लड क्यान्सरका बिरामीको यकिन तथ्यांक छैन । तर, समयमै अस्पतालसम्म पुग्ने दर बढेका कारण पहिचान हुने दर पनि बढेको देखिन्छ ।’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असोज ५ मंगलबार o६:१९:oo

सेप्टेम्बर महिनालाई विश्वभर ब्लड क्यान्सर (रक्त क्यान्सर)को जनचेतना फैलाउने महिनाको रूपमा मनाउने गरिन्छ । पछिल्लो समय उपचारको सहज पहुँच बन्दै गएकाले क्यान्सर रोग नियन्त्रणमा आइरहे पनि प्रारम्भिक लक्षण थाहा नपाउँदा ब्लड क्यान्सर भने अझै मुख्य समस्याका रूपमा रहेको छ । सुरुवाती चरणमा निदान, परीक्षण र उपचार अभावमा ब्लड क्यान्सरको मृत्युदर उच्च रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । 

विश्व स्वास्थ्य संगठनअन्तर्गतको ग्लोबक्यानको एक तथ्यांकअनुसार प्रत्येक वर्ष विश्वभर सात लाख २० हजारभन्दा बढीको ब्लड क्यान्सरबाट मृत्यु हुने गरेको छ । तथ्यांकअनुसार क्यान्सरका कारण ज्यान गुमाउनेमध्ये ब्लड क्यान्सरबाट मात्रै ७ प्रतिशतभन्दा बढी छ ।

विश्वमा प्रत्येक वर्ष १२ लाखभन्दा बढी ब्लड क्यान्सरका रोगीले उपचार गराउने डब्लुएचओको तथ्यांकमा उल्लेख छ । अधिकांश ब्लड क्यान्सरलाई हेमाटोलोजिक क्यान्सर पनि भनिन्छ । चिकित्सकका अनुसार ब्लड क्यान्सर रगत उत्पादन हुने ठाउँ अर्थात् बोनम्यारोबाट सुरु हुने गर्छ । ब्लड क्यान्सरलाई बोनम्यारो क्यान्सर पनि भनिन्छ, जसलाई लक्षणअनुसार चिकित्साशास्त्रले ल्युकेमिया, लिम्फोमा र मायोलोमा गरी तीन भागमा विभाजन गरेको छ । ग्लोबक्यानले सन् २०२० मा गरेको सर्वेक्षणअनुसार क्यान्सरका कुल बिरामीमध्ये ब्लड क्यान्सरका बिरामी मात्रै ६ प्रतिशत छ ।

अन्य क्यान्सरजस्तै आवश्यकभन्दा बढी कोषहरू उत्पादन हुँदा रगतमा क्यान्सर हुने गर्छ । तर, अन्य क्यान्सरजस्तो रगतमा हुने क्यान्सरमा कुनै ट्युमर देखिँदैनन् । रगतमा असर गर्ने हुँदा प्लाज्मा र अन्य कोशिकाहरू प्रभावित हुने भएकाले लक्षणहरूसमेत तुलनात्मक रूपमा छिटो देखिने चिकित्सकहरू बताउँछन् । हेमाटोलोजिस्ट डा. निरज के सिंहका अनुसार क्रोनिकबाहेकका अन्य ब्लड क्यान्सर केही महिनाको अन्तरालमै देखिने गर्छन् । जसका कारण सजिलैसँग डाइग्नोसिस पनि हुन्छ । तर, नेपालमा सबैतिर क्यान्सर विशेषज्ञहरूको पहुँच नहुँदा उपचारमा हुने ढिलाइका कारण ब्लड क्यान्सरका कारण ज्यान गुमाउनेको संख्या धेरै छ । 

बिरामी र उपचार पहुँच दुवै बढ्दो
रोग पत्ता नलाग्दै मृत्यु हुने जोखिम हुँदा क्यान्सरका बिरामी तथ्यांकमा कम देखिए पनि बिस्तारै बढेको देखिएको डा.सिंहले बताए । ‘नेपालमा ब्लड क्यान्सरका बिरामीको यकिन तथ्यांक उपलब्ध छैन । तर, समयमै अस्पतालसम्म पुग्ने दर बढेका कारण संख्या बढेको भन्न सकिन्छ,’ उनले भने । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार नेपालमा आ.व.०७७/७८ मा दुई सय १७ जना ब्लड क्यान्सर रोगी उपचारका लागि अस्पताल पुगेका थिए । अघिल्लो दुई वर्षमा क्रमशः तीन सय १६ र चार सय ५० जनामा ब्लड क्यान्सर भएको उल्लेख छ ।

समयमै क्यान्सर कसरी चिन्ने ?
डा. निरज के. सिंह हेमाटोलोजिस्ट

सामान्यतया केही महिनाकै अन्तरालमा समस्या देखिने क्यान्सरमा लक्षणहरूसमेत छोटो समयमै देखिन्छन् । तर, क्रोनिक क्यान्सरमा वर्षौंपछि लक्षण देखिने र उपचारमा पनि कठिनाइ हुने गर्छ । सामान्यतया ज्वरो आउने, रगत जाने र छालामा दाग देखिने क्यान्सरका मुख्य लक्षणहरू हुन् । क्यान्सर भएकाका व्यक्तिमा ज्वरो आउनु प्रारम्भिक लक्षण हो, ज्वरो एन्टिबायोटिकको प्रयोगबाट निको हुँदैन । यसबाहेक छालामा रगतका दागहरू देखिन्छन् भने दिसापिसाब, दाँत, गिजा वा छालाबाट अनावश्यक रगत जाने गर्छ । क्यान्सर बढ्दै जाँदा कमजोरीपन बढ्दै जाने, मांशपेसी वा हड्डीमा समस्या देखिने, शरीरका अन्य भागमा गिर्खा देखिनेजस्ता लक्षण देखिन्छन् । अन्य क्यान्सरको तुलनामा ब्लड क्यान्सरलाई स्टेजको आधारमा छुट्याइँदैन । कतिपय अवस्थामा उपचार गर्न नै सम्भव नहुने हँुदा मृत्युदर पनि बढेको पाइन्छ । तर, समयमै उपचार सुरु गरेमा ब्लड क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ ।