१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सिसडोलमा स्थानीयले अवरोध गरेपछि रोकिएका फोहोर बोकेका ट्रक । तस्बिर सौजन्य : काठमाडौं महानगर
२०७८ असोज ४ सोमबार ०८:१६:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बन्चरेडाँडामा फोहोर फाल्न स्थानीयवासीको अवरोध

सिसडोलमै फोहोर व्यवस्थापन गर्नुपर्ने बाध्यता, तत्काललाई सडकछेउछाउमा थुपारिएको फोहोर मात्रै उठाइने

Read Time : > 3 मिनेट
२०७८ असोज ४ सोमबार ०८:१६:००

उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि समस्या उत्पन्न भएको छ । नयाँ ल्यान्डफिल्ड साइट बन्चरेडाँडा तयार नहुँदै फोहोर फाल्दा वरिपरि प्रदूषण फैलने भन्दै स्थानीयले अवरोध गरेका हुन् । पछिल्लो समय उनीहरूले सिसडोलतर्फ पनि फोहोर फाल्न अवरोध गर्दै आइरहेका छन् । 

निर्माणाधीन अवस्थामा रहेको बन्चरेडाँडामा खुलेयाम फोहोर फाल्दा आसपासमा प्रदूषण फैलने स्थानीयले बताउँदै आएका छन् । फोहोर फालिने ड्याम व्यवस्थित गरी बाहिर फोहोरको दुर्गन्ध नफैलाउन उनीहरूको माग छ । तर, फोहोर फाल्दै आएको सिसडोल भरिएको छ । यहाँ सहजै फोहोर फाल्न मिल्दैन । फोहोरमाथि फोहोरका गाडी गुडाउँदा टायर भासिने समस्या भएपछि फोहोर व्यवस्थापनमा समस्या आएको हो । 

बन्चरेडाँडा तयार नभएको र तयार नहुँदै स्थानीयले फोहोर फाल्न नदिएपछि सिसडोलमै फोहोर थुपार्नुको विकल्प छैन । काठमाडौं महानगरपालिकाले बन्चरेडाँडातर्फ फोहोर लैजाने वेला स्थानीयले अवरोध गरेका थिए । उनीहरूले अब सिसडोलमा पनि फोहोर फाल्न नदिने भन्दै अवरोध गरिरहेको महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए । उनले बन्चरेडाँडाको विषयमा फेरि अवरोध उत्पन्न भएको जानकारी दिए । ‘समस्यै–समस्या छ, के गर्ने कसो गर्ने हामीलाई मात्रै तनाव छ,’ उनले भने, ‘फोहोरका गाडी थोरै संख्यामा मात्रै गइरहेका छन्, अहिले पनि सिसडोलमै फोहोर फाल्नुको विकल्प भएन ।’ 

उनले बन्चरेडाँडा क्षेत्रका स्थानीयको माग बुझ्न नसकेको बताए । ‘अहिले फोहोरमाथि त्यस क्षेत्रमा केहीले राजनीति गरेका छन् । सहरी विकास मन्त्रालयले पनि निर्माण सम्पन्न नगरी बन्चरेडाँडामा फोहोर फाल्नुभएको थियो, उसले नक्कली कुरा मात्रै गर्‍यो,’ विभाग प्रमुख श्रेष्ठले भने, ‘निर्माण कम्पनी झुर छन्, देश नै हल्लाउने ठेकेदारले महानगरपालिकालाई के टेर्थे ।’ उनले बन्चरेडाँडा तयार नभएका कारण यो सबै समस्या उत्पन्न भएको बताए ।

फोहोरका गाडी थोरै संख्यामा मात्रै गइरहेका छन्, अहिले पनि सिसडोलमै फोहोर फाल्नुको विकल्प भएन । अहिले फोहोरमाथि त्यस क्षेत्रमा केहीले राजनीति गरेका छन् । सहरी विकास मन्त्रालयले पनि निर्माण सम्पन्न नगरी बन्चरेडाँडामा फोहोर फाल्नु भनेको थियो, उसले नक्कली कुरा मात्रै गर्‍यो ।

हरिकुमार श्रेष्ठ, प्रमुख
काठमाडौं महानगरपालिका वातावरण विभाग

एक अर्बको लागत इस्टिमेटसहित लुम्बिनी (कोषि न्यौपाने) जेभी र कालिका कन्स्ट्रक्सन प्रालिलाई बन्चरेडाँडा निर्माणको ठेक्का दिइएको थियो । यी ठेकेदारले सम्झौता भएको साढे दुई वर्षसम्म पनि ७२ प्रतिशत मात्रै काम गरेका छन्् । यति काम हुँदासम्म ४१ करोड बजेट खर्च भइसकेको छ । सहरी विकास विभागका उपमहानिर्देशक कुमार घिमिरेले फोहोर व्यवस्थापनको जिम्मा महानगरपालिकाको रहेको बताए । उनले महानगरले नै स्थानीयका माग पूरा गर्नुपर्ने जानकारी दिए । ‘बन्चरेडाँडा तयार भए पनि उहाँहरूले फोहोर फाल्नुभएको छैन, हामीले त १८ भदौमै फोहोर फाल्न अनुमति दिएका हौँ,’ उनले भने ।

 पहिलो चरणमा सडकको मात्रै फोहोर उठाइने
काठमाडौं महानगरपालिकाले सडकमा फोहोर धेरै थुप्रिएकाले तत्काल ती फोहोर छिटो व्यवस्थापन गर्ने जनाएको छ । महानगरपालिकाले सिसडोलमै थोरैथोरै भए पनि फोहोर व्यवस्थापन गर्न सकिने भएकाले सडक क्षेत्रको मात्रै फोहोर उठाउने बताएको हो । ‘अहिलेलाई सडकमा राखिएको फोहोर उठ्छ,’ वातावरण विभाग प्रमुख श्रेष्ठले भने, ‘बन्चरेडाँडामा फोहोर लैजान नसकेसम्म यो समस्या कायम रहिरहन्छ ।’ उनले यो समस्यामा फोहोर व्यवस्थापनमा समस्या भएकाले कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्न सबैलाई आग्रह गरे । कुहिने फोहोर करेसाबारी र कौसीखेतीमा मात्रै प्रयोग गर्दा पनि फोहोर धेरै कम हुने श्रेष्ठको भनाइ छ ।  

साउन र भदौमा केही दिन मात्रै फोहोर उठे पनि असोज लागेदेखि फोहोर उठ्न फेरि छाडेको छ । फोहोर व्यवस्थापनमा सरकारी निकायले चासो नदिँदा पुनः समस्या सिर्जना भएको हो । अहिले घरघरको फोहोर उठाउनेदेखि सडकछेउछाउको फोहोरसमेत काठमाडौं महानगरपालिकाले उठाउन सकेको छैन ।

फोहोर व्यवस्थापन गर्दै आइरहेको सिसडोल भरिएपछि र त्यस क्षेत्रमा सडक नै भासिएपछि फोहोर व्यवस्थापन थप समस्या हुँदै आएको छ । मन्त्रालयले १८ भदौदेखि बन्चरेडाँडा फोहोर प्रशोधन केन्द्र महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । तर, काम पूरा नहुँदै हस्तान्तरण गरेको भन्दै महानगरपालिकाले उक्त ठाउँमा फोहोर फाल्न सकिरहेको छैन । 

 असारदेखि फोहोर व्यवस्थापनमा समस्यैसमस्या
उपत्यकाको फोहोर व्यवस्थापनमा असारदेखि नै अवरोध हुँदै आएको थियो । तीन महिनादेखि उपत्यकाका अधिकांश सडकमा फोहोर उठ्न सकिरहेको छैन । स्थानीयवासीले घरभित्र फोहोर राखेर बस्न बाध्य छन् ।  महानगरपालिकाको फोहोर उठाउने कन्टेनर फोहोर उडाउन नपुेगको धेरै भइसक्यो । ‘फोहोर लैजाने ठाउँ नै छैन, पानी परेका कारण बाटो बन्द भइरहन्छ,’ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले भने, ‘हामीले पहल त गरिहरहेका छौँ, तर महानगरलाई मात्रै गाली गरेर हुँदैन, अवस्था पनि जटिल छ ।’ महानगरपालिकाका अनुसार पानी नपरेको दिन मात्रै फोहोर उठेको र पानी परेको दिन फोहोर उठ्न सकेको छैन । 

 भदौयता सात दिन मात्रै फोहोर उठ्यो 
उपत्यकामा भदौयता एक साता मात्रै फोहोर उठेको महानगरपालिकाले जनाएको छ । बाटो नै बन्द हुने भएको र फोहोरमाथि फोहोर फाल्दा कन्टेनरको टायर धसिने हुँदा सिसडोलमा फोहोर फाल्न निकै कठिन हुँदै आइरहेको छ । हाल उपत्यकाको गौशाला, चाबहिल, नयाँबानेश्वर, सुन्धारा, नयाँबसपार्क, कोटेश्वर, कुपन्डोल, कालीमाटी, कलंकीलगायत क्षेत्रका सडकमा फोहोर थुपारिएको छ । त्यस्तै, बागमती र धोबीखोला कोरिडोरमा फोहोरका कन्टेनर राखिएको छ । कोरिडोरमै फोहोर थुपारिएको छ । 

 प्रदूषित बन्दै राजधानीका सडक
  -साउन र भदौमा केही दिन मात्रै फोहोर उठे पनि असोज लागेदेखि फोहोर फेरि उठ्न छाड्यो
 -१८ भदौमै बन्चरेडाँडामा फोहोर फाल्न सहरी विकास मन्त्रालयको अनुमति, तर प्रदूषण फैलने भन्दै स्थानीयले गरे अवरोध
  -उपत्यकाको गौशाला, चाबहिल, नयाँबानेश्वर, सुन्धारा, नयाँबसपार्क, कोटेश्वर, कुपन्डोल, कालीमाटी, कलंकीलगायत क्षेत्रका सडकमा थुप्रियो फोहोर 
  -बागमती र धोबीखोला कोरिडोरमा राखिएका फोहोरका कन्टेनर भरिए