१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
कोभिडकालमै केशरमहलस्थित वैदेशिक अध्ययन अनुमतिपत्र शाखामा स्वीकृतिपत्र लिन लामबद्ध विद्यार्थी
भवानीश्वर गौतम काठमाडाैं
२०७८ भदौ ३० बुधबार ०९:४७:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अस्ट्रेलिया र जापानका विश्वविद्यालयलाई सात अर्ब तिरिसकेका सात हजार विद्यार्थी नेपालमै रोकिए

विश्वविद्यालयमा भर्ना र भिसा दिने देशले कोभिडको कारण देखाएर प्रवेश भने दिएनन्, ऋण खोजेर डलरमा शुल्क तिरेका अभिभावक र विद्यार्थी तनावमा

Read Time : > 4 मिनेट
२०७८ भदौ ३० बुधबार ०९:४७:००

अन्तर्राष्ट्रिय डिग्री लिन विदेशी विश्वविद्यालयमा भर्ना भएका करिब सात हजार विद्यार्थी जान नपाएपछि अन्योलमा परेका छन् । डेढ वर्षको अवधिमा अस्ट्रेलिया र जापानका विश्वविद्यालय तथा कलेजमा भर्ना भएर भिसासमेत लिएका उनीहरूको सात अर्ब रुपैयाँ खर्च भइसकेको छ । 

कोभिड– १९ को जोखिम उच्च भएपछि जापान, अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका देशमा अध्ययनका लागि जान नपाएपछि भर्ना भएका विद्यार्थी अन्योलमा परेका हुन् । ठूलो रकम खर्च गरेर छोराछोरी विदेशी विश्वविद्यालयमा पठाउने अभिभावकको सपनामा पनि चोट परेको छ । 

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेका अनुसार जापानका लागि ६ हजार र अस्ट्रेलियाका लागि चार हजार गरी करिब १० हजार विद्यार्थी विदेशी कलेज तथा विश्वविद्यालय अध्ययनका लागि जान पाएका छैनन् । उनका अनुसार केही संख्यामा न्युजिल्यान्डका विश्वविद्यालयमा भर्ना भएका विद्यार्थीसमेत जान पाएका छैनन् । उनले भने, ‘धेरै विद्यार्थी अस्ट्रेलिया र जापानले कहिले बोर्डर खोल्ला र जाउँला भनेर पर्खेर बसिरहेका छन् ।’ 

शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले कोभिडले समस्या भएको वेलामा पनि विदेश अध्ययन गर्न चाहनेको ठूलो संख्या रहेको बताए । विद्यार्थीले सबै कागजात पूरा गरेपछि वैदेशिक अध्ययनमा जान चाहनेलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) रोक्न नसकिने बताए । विद्यार्थी खुसी भएरै अध्ययनमा जान चाहेको पाइएको बताए । 

डेढ वर्षको अवधिमा अस्ट्रेलियाका विश्वविद्यालय तथा कलेजमा भर्ना भएर भिसासमेत पाएका करिब चार हजार विद्यार्थी जान पाएका छैनन् । भोकेसनल विषय अध्ययन गर्नेले एक वर्षको र विश्वविद्यालयमा भर्ना गर्नेले कम्तीमा ६ महिनाको औसतमा प्रतिविद्यार्थी १२ लाख रुपैयाँ बुझाएका छन् । यस हिसाबले करिब चार अर्ब ८० करोड रुपैयाँ अस्ट्रेलियामा फसेको छ ।

इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जापानका लागि ६ हजार विद्यार्थीको सिओई आए पनि तीन हजारको हाराहारीले शैक्षिक संस्थामा शुल्क बुझाएको पाइएको बताए । जापानका लागि औसत प्रतिविद्यार्थी सात लाख रुपैयाँ बुझाएका छन् । जापानका लागि दुई अर्ब १० करोड रुपैयाँ फसेको छ । 

तीनवर्षे कोर्सको डेढ वर्षसम्म अनलाइन कक्षामै बित्यो
डेढ वर्षअघि अस्ट्रेलियाको मक्वायर युनिभर्सिटीमा इन्भाइरोमेन्ट साइन्समा भर्ना भएर अनलाइन कक्षा लिइरहेकी छिन् काठमाडौंकी सुप्रिया शर्मा । तीनवर्षे कोर्स डेढ वर्षसम्म अनलाइनबाटै पढेकी सुप्रियाले आफ्नो मुख्य विषय पढ्न र ‘फिल्ड वर्क’ गर्न पाएकी छैनन् । ‘इन्भाइरोमेन्ट साइन्समा फिल्ड वर्क जानुपर्र्ने, प्राक्टिकल गर्नुपर्ने भएकाले मुख्य विषय पढ्न पाएको छैन, अरू विषय अनलाइनमा पढिरहेकी छु,’ उनी भन्छिन्, ‘पहिलो सेमेस्टर अनलाइन कक्षा हुन्छ र त्यसपछि जान पाइन्छ भन्ने आशा थियो, तर अहिले पनि अनलाइन कक्षा लिइरहेकी छु ।’ अनलाइनबाट पढे पनि अध्ययनमा सहयोग भए पनि भौतिक उपस्थितिमा पढेजस्तो सिकाइ उपलब्धि नहुने विद्यार्थीको भनाइ छ । उनमा अब अस्ट्रेलियामा गएर पढ्न पाइन्छ कि भन्ने आशा बढेको छ । 

भिसा जोगाउन दुई महिनादेखि अनलाइन कक्षामा 
एक वर्षअघि अस्ट्रेलियाको सेन्ट्रल क्न्सिल्यान्ड युनिभर्सिटीमा भर्ना भएका बारा कलैयाका मनोज चौधरी हातमा भिसा लिएर बसेका छन् । उनी अहिले मास्टर्स अफ म्यानेजमेन्ट फर इन्जिनियरको अनलाइन कक्षा लिइरहेका छन् । ‘म अघिल्लो वर्षको माघतिर अस्ट्रेलियाको कलेजमा भर्ना भएको हो । भिसा नै रद्द हुने अवस्था नआओस् भनेर एउटा विषय अहिले दुई महिनादेखि अनलाइन कक्षा पढिरहेको छु,’ विद्यार्थी चौधरीले भने, ‘व्यावहारिक रूपमा पढाइ हुन्छ, धेरै जानिन्छ भनेर अस्ट्रेलियामा भर्ना भएको हो । त्यहाँ अनलाइन पढ्नभन्दा नेपालकै विश्वविद्यालयमा पढ्न ठीक हुन्छ ।’ उनले एक सेमेस्टरको शुल्क बुझाएर भर्ना भएको बताए । ‘त्यहाँ गएर पार्टटाइम काम गरेर पनि पढ्न पाइन्छ । अब छिटो जान पाइन्छ कि भन्ने आशा छ । भिसा हातमा छ, सीमा कहिले खोल्ला भन्ने लागेको छ,’ चौधरीले भने । 

इन्फर्मेसन टेक्नोलोजीका  विद्यार्थी पनि अनलाइन कक्षाकै भर
गुल्मीका अनिश ज्ञवालीको अवस्था पनि उस्तै छ । सात  महिनाअघि अस्ट्रेलियाको साउदन क्रस युनिभर्सिटी (एससियू)मा भर्ना भएका ज्ञवाली ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी विषयमा भर्ना भएका थिए । उनले केही युनिट अनलाइनमा पढिरहेका छन् । ‘युनिभर्सिटीले सबै विषय अनलाइनमा पढ्न बाध्य बनाएको छैन, थोरै पढेको छु,’ उनले भने, ‘आइटी अनलाइनमा पढ्दा युटुब हेरेजस्तो हुनेरहेछ, भौतिक रूपमा कक्षा सञ्चालन भएको भए प्राक्टिकल हुन्थ्यो, कम्प्युटरका पार्टपुर्जा चलाएर सिकिन्थ्यो ।’ 

अस्ट्रेलियन सरकारले विद्यार्थीलाई असर गर्ने गरी नीति नबनाउने र केही समय धैर्य गर्नुपर्छ ।  अनलाइन मात्र पढ्न इच्छा नभएका विद्यार्थीले ग्याप गर्न सक्ने र खुलेपछि त्यहीँ गएर पढ्न सक्ने अवस्था रहेको छ । 

द्विराज शर्मा अध्यक्ष,रिप्रेजेन्टेटिभ इन नेपाल (एरी)

 

कमाएर शुल्क तिर्न  खोज्नेका लागि कठिन
डलरमा शुल्क तिरेर नेपालमै बसेर अनलाइन कक्षा लिन बाध्य विद्यार्थी निराश छन् । कतिपय कलेजले भर्ना भएका विद्यार्थीलाई अनलाइन कक्षा लिन बाध्य पारेका छन् । विदेशमा गएर काम गरेर पढाइ खर्च जुटाउने योजनासहित विदेश अध्ययनको योजना बनाएका विद्यार्थीका लागि निकै कठिन भएको छ । आर्थिक अवस्था राम्रो नभएका विद्यार्थीले अनलाइन पढेर शुल्क तिर्न कठिन भइरहेको छ । आर्थिक रूपमा सक्षमलाई शुल्क तिर्न कठिन नभए पनि काम गरेर पुर्‍याउँछु भन्नेलाई समस्या भएको शैक्षिक परामर्श व्यवसायीको भनाइ छ । इक्यान अध्यक्ष पाण्डेले सबैभन्दा बढी विद्यार्थी अस्ट्रेलिया पुगेर भौतिक रूपमा उपस्थित भएर अन्तर्राष्ट्रिय डिग्री लिने र आफ्नो खुट्टामा उभिने चाहना पूरा हुन नसकेको बताए । 

विद्यार्थीलाई घर आउन पनि समस्या 
अस्ट्रेलियामा जानका लागि नयाँ विद्यार्थीलाई मात्र समस्या होइन त्यहाँ वर्षौँदेखि अध्ययन गरिरहेका विद्यार्थी नेपाल आउन सकेका छैनन् । स्थायी बसोवास (पिआर) नभएका विद्यार्थी नेपाल आएपछि फेरि अध्ययनका लागि फर्कन नपाउने व्यवस्था भएका कारण चाहेर पनि आउन सकेका छैनन् । एसोसिएसन अफ अस्ट्रेलियन एजुकेसन रिप्रेजेन्टेटिभ इन नेपाल (एरी) नेपालका अध्यक्ष द्विराज शर्माले कोभिड पेन्डामिक विद्यार्थी र अस्ट्रेलियन शैक्षिक संस्था कसैले पनि नसोचेको परिस्थिति भएकाले नआत्तिन आग्रह गरे ।

उनले अस्ट्रेलियन सरकारले विद्यार्थीलाई असर गर्ने गरी नीति नबनाउने र केही समय धैर्य गर्नुपर्ने उनको भनाइ छ । अनलाइन मात्र पढ्न इच्छा नभएका विद्यार्थीले ग्याप गर्न सक्ने र खुलेपछि त्यहीँ गएर पढ्न सक्ने अवस्था रहेकोसमेत उनले बताए । त्यसैबीच अध्ययनका लागि चीन गएका, तर कोभिडका कारण नेपाल फर्केका विद्यार्थीसमेत अन्योलमा छन् । चिकित्सा शिक्षालगायत प्राविधिक विषय अध्ययन गरिरहेका विद्यार्थी बीचैमा फर्किएका थिए । तर, उनीहरू चीन फर्किन पाएका छैनन् । एमबिबिएस, इन्जिनियरिङमा भर्ना भएका विद्यार्थीसमेत अनलाइन कक्षा लिइरहेका छन् । 
 

 यसरी खर्च भयो विद्यार्थीको पैसा
डेढ वर्षको अवधिमा भिसा पाएर पनि करिब चार हजार विद्यार्थी अस्ट्रेलिया जान पाएका छैनन् । विश्वविद्यालयमा भर्ना गर्नेले कम्तीमा ६ महिनाको र भोकेसनल विषय अध्ययन गर्नेले एक वर्षको औसतमा प्रतिविद्यार्थी १२ लाख रुपैयाँ बुझाएका छन् । यस हिसाबले करिब चार अर्ब ८० करोड रुपैयाँ अस्ट्रेलिया गएको छ । जापानका लागि ६ हजार विद्यार्थीको सिओई आए पनि तीन हजारको हाराहारीले शैक्षिक संस्थामा औसत प्रतिविद्यार्थी सात लाख रुपैयाँ बुझाएका छन् । अभिभावकले ऋण खोजेको दुई अर्ब १० करोड जापान पुगेको छ ।

 

नियमित हवाई आवागमन नै बन्द गरेको अस्ट्रेलियाले नेपाली विद्यार्थीलाई भिसा दिन भने छाडेको छैन
 जापान सहज  हुन सक्ने, अष्ट्रेलिया अझै अनिश्चित 

कोभिड– १९ को कारण  देखाउँदै नेपालबाट जापान र अस्ट्रेलियामा आवागमन बन्दप्रायः छ । नेपाल आउनुपर्ने र ती मुलुक जानुपर्ने नेपाली रोकिएका छन् । अस्ट्रेलियाले १५ अक्टोबरसम्म लकडाउन थपेको छ । ‘जापानतर्फ उडान खुल्ने संकेत आएको छ, तर अस्ट्रेलियाबारे अझै निश्चित छैन,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने । नेपालीलाई आउन–जान समस्या परेको विषयमा मन्त्रालय जानकार रहेको उनले बताए । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अस्ट्रेलियामा कोभिड– १९ का कारण दैनिक औसत दशजनाको मृत्यु भएको छ । अहिले अस्ट्रेलियामा करिब २५ प्रतिशत जनताले मात्रै खोप लगाएका छन् । सबै जनताले खोप लगाइसकेपछि मात्रै अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आवागमन सजिलो बनाउने विषयमा सरकारले गृहकार्य गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डेढ महिनादेखि अस्ट्रेलिया लकडाउनमा छ ।