१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ भदौ २८ सोमबार १६:२१:००
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

इन्द्रजात्रामा किन गराइन्छ राष्ट्रप्रमुखलाई दुईपटक सरिक ?

Read Time : > 3 मिनेट
२०७८ भदौ २८ सोमबार १६:२१:००

उपत्यकाको मुख्य पर्व ‘इन्द्रजात्रा’ असोज २ गतेदेखि सुरु हुँदै छ। सो दिन बिहान ७ बजेर ५१ मिनेट जाँदा वसन्तपुरमा लिंगो (यःशी) ठड्याउने साइत जुरेको छ। 
इन्द्रजात्राका लागि काठमाडौंको भोटाहिटीमा लिंगो तयार भइसकेको छ। उक्त लिंगो भोलि हनुमानढोका पु¥याइनेछ । तीन दिनसम्म नेवार समुदायले त्यहाँ क्षमा र विधिपूजा गर्नेछ । २ गतेबाट औपचारिक रूपमा इन्द्रजात्रा प्रारम्भ हुनेछ।

आठ दिन चल्ने यो जात्राका क्रममा हरेक दिन फरकफरक नेवारी नाच, झाकी र संस्कृतिको बेजोडता प्रस्तुत गरिन्छ। इन्द्रजात्रा अवधिभर वसन्तपुर क्षेत्र उत्सवमय हुन्छ । यो जात्राका क्रममा लाखे, पुलकिशी, कुमारी, भैरव, गणेश, देवी, इन्द्र, दश अवतारलगायतको जात्रा प्रदर्शन गरिन्छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले यो वर्ष कोरोना संक्रमणका कारण भिडभाड कम गर्ने गरी व्यवस्थापन भइरहेको जानकारी दिए । ‘गत वर्ष पनि कोभिड– १९ का कारणले जात्रा राम्ररी मनाउने अवस्था भएन, यसपटक भने हामीले कम भिडभाड गरी जात्रा मनाउने तयारी गरेका छौँ,’ उनले भने, ‘रथ तान्नेहरूलाई कोभिड– १९ विरुद्धको खोप दिइसकिएको छ ।’ 

उनका अनुसार लिंगोलाई इन्द्रध्वजा पनि भनिन्छ । काभ्रेको नालाबाट ल्याएको ३२ हात लामो काठबाट इन्द्रध्वजा तयार पारिन्छ । हरेक वर्ष आठ दिनसम्म मनाउने यो जात्राको तिथि यसपटक घटबढ भएका कारण सात दिनसम्म मनाइनेछ । जयप्रकाश मल्लको पालामा सुरु भएको यो जात्राको इतिहास झन्डै तीन सय वर्ष पुरानो छ । ‘इन्द्रजात्राको प्रतीकका रूपमा लिंगोलाई लिइन्छ,’ अध्यक्ष शाक्यले भने, ‘यसलाई तान्त्रिक विधिबाट पूजाआजा गरिन्छ, यसबाहेक नाचगान गर्ने र रथजात्रा पनि इन्द्रजात्राको रमाइलो पक्ष हो ।’ 

यस्तो छ जात्राको व्यवस्थापन र तालिका :

पहिलो दिन 
असोज २ गते लिंगो ठड्याइनेछ। सो दिन वसन्तपुर क्षेत्रमा पुलकिशी, श्वेत भैरव, आकाश भैरव, इन्द्र, गणेश, कुमारीलगायतको जात्रा देखाइनेछ।

दोस्रो दिन 
दिउँसो साढे २ बजे राष्ट्रपतिले रथजात्राको दर्शन गर्नेछिन्। दिउँसो ३ बजे कुमारी, गणेश र भैरवको रथयात्रा सुरु हुनेछ। वसन्तपुर हुँदै जैशीदेवल, लगनटोल, कोहिटी, भीमसेनस्थान, मरुटोल परिक्रमा गर्दै रथलाई वसन्तपुरमा ल्याइनेछ।

तेस्रो दिन 
दिउँसो २ बजे गणेश, कमारी र भैरवको रथारोहण गरिनेछ। ३ बजेबाट रथयात्रा सुरु हुनेछ। रथलाई वसन्तपुरदेखि प्याथल, नरदेवी, ङ्यखा, असनटोल, इन्द्रचोक, हनुमाढोका परिक्रमा गराइनेछ।

चौथो दिन
चौथो दिन अर्थात् असोज ५ गते देवी र लाखे नाच प्रदर्शन हुनेछ। सवाभकु (हलचोक आकाश भैरव) पुलुकिसी नाच (एरावत)लगायत देवी देवताको नाच देखाइनेछ। ५ गते नै आकाश भैरवको मुखबाट प्रसाद वितरण हुनेछ। हनुमानढोकामा श्वेत भैरवको मुखबाट प्रसाद वितरण हुनेछ।

पाँचौँ दिन 
५ गते देवी र लाखे नाच प्रदर्शन हुनेछ। सवाभकु (हलचोक आकाश भैरव) पुलुकिसी नाच (एरावत)लगायत देवी–देवताको नाच देखाइनेछ। आकाश भैरवको मुखबाट प्रसाद वितरण हुनेछ। हनुमानढोकामा श्वेत भैरवको मुखबाट पनि प्रसाद वितरण हुनेछ।

छैटौँ दिन
छैटौँ दिन ठाउँमामा देवी र लाखे नाचहरू देखाइनेछ। त्यस्तै, सवाभकु (हलचोक आकाश भैरव) पुलुकिसी नाच (एरावत)लगायत देवी–देवताको नाच प्रस्तुत गरिनेछ। आकाश भैरव र श्वेत भैरवको मुखबाट प्रसाद वितरण हुनेछ।

अन्तिम दिन 
दिउँसो साढे २ बजे कुमारी गणेश र भैरवको रथारोहण हुनेछ। ३ बजेदेखि रथयात्रा सुरु हुनेछ। रथलाई वसन्तपुरबाट प्याथल लगिनेछ। त्यहाँबाट नरदेवी पु¥याइन्छ। किलागल, भेडासिंंह, इन्द्रचोक हुँदै वसन्तपुर ल्याइन्छ। सो दिन बेलुकी ८ गते राति कुमारीघरमा पुगेर राष्ट्रपतिले कुमारीको दर्शन गरी कुमारीको पाहुलीबाट टीका–प्रसाद ग्रहण गर्नेछिन्। राष्ट्रपति फर्किएपछि लिंगो ढालिन्छ र इन्द्रजात्रा समाप्त हुनेछ।

कुमारीलाई बाहिर निस्कने अवसर
जात्राबाहेक अन्य समयमा कुमारी घरबाट बाहिर निस्कन मिल्दैन। कुमारीलाई कुमारी घरमै सबै व्यवस्था र सुविधा दिइएको हुन्छ। कुमारीलाई खाना ख्वाउने, स्याहार गर्ने र पढाउने व्यक्ति राखिएको छ। यसबाहेक कुमारी इन्द्रजात्राको वेला तीन दिन बाहिर निस्कन पाउनेछिन्। कुमारीलाई रथमा राखेर नगर परिक्रमा गराइनेछ। यसपटक २, ३, ४ र ८ गेत कुमारीलाई रथमा राखेर नगर परिक्रममा गराइनेछ। यस्तै जात्रापर्वको वेला वर्षमा १३ पटक कुमारी कुमारीघरबाट बाहिर निस्कन पाउँछिन्। हाल काठमाडौंमा शाक्य खलककी ६ वर्षीय कुमारी रहेकी छन्। 

गुठी र समुदायबीच सहकार्य 
यो जात्रा वसन्तपुरको तल्लो टोल (कोनेया) र माथिल्लो टोल (ठनेया)मा मनाइन्छ। यो क्षेत्रमा नेवार समुदाय अहिले इन्द्रजात्रा मनाउने धुनमा छन्। उनीहरू जात्राको तयारीमा व्यस्त छन्। अहिले इन्द्रजात्राको तयारीमा यहाँका सबै गुठीयारहरू जुटेका छन्। वसन्तपुर आसपास क्षेत्रका गणेश, भैरव, लाखे आजु, हलचोक, आकाश भैरव, पुलुकिसी आजु, श्वेत भैरव, स्वच्छन्द भैरव, अशोक विनायक, दागी, कुमारी देवी, किसिचा, महाकालीलगायत गुठी हातेमालो गरी जात्राको तयारीमा जुटेका छन्।

राष्ट्रपतिलाई किन दुईपटक सामेल गराइन्छ ?
इन्द्रजात्राको वेला राष्ट्रपतिलाई दुईपटक रथजात्रामा सामेल गराइन्छ। जात्रा सुरु भएको दोस्रो र आठौँ अर्थात् अन्तिम दिन राष्ट्रपति इन्द्रजात्राको प्रसाद ग्रहण र कुमारीको पूजा गर्न पुग्ने चलन छ। जात्राको वेला दुईपटक राष्ट्रप्रमुख पुग्नुपर्छ भन्ने कहीँ लेखिएको छैन। तर, यो जात्राको सुरुवातीदेखि नै तत्कालीन राजा जयप्रकाश मल्लले यस्तो परम्परा बसालेका थिए। हालसम्म यो जात्राको वेला राष्ट्रपति वा राष्ट्रप्रमुखले दुईपटक दर्शन र टीका ग्रहण गर्न पुग्ने गर्छन्। इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष शाक्यका अनुसार परम्पराको आधारमा राष्ट्रप्रमुखलाई जात्रामा सामेल गराइन्छ। राष्ट्रप्रमुखले जात्रामा सरिक भएर टीका र प्रसाद ग्रहण गर्दा देशमा सुख शान्ति हुन्छ भन्ने मान्यता छ।

किंवदन्ती- फूल चोर्न आएका राजा इन्द्रलाई समात्दा...
किंवदन्तीअनुसार स्वर्गका राजा इन्द्र मानव रूप धारण गरी पारिजातको फूल टिप्न धर्तीलोकमा आए। उनी आफ्नी आमालाई वसुन्धरादेवीको व्रतका लागि पारिजातको फूल र कर्कलो लिन वसन्तपुर क्षेत्रको मरुटोलमा अवस्थित भगवतीमा रहेको बगैँचामा पुगे। इन्द्रले फूल टिप्न लागेको मालीले देखे । त्यहीवेला उनले चोर आयो भन्दै इन्द्र राजालाई समाते। उनी स्वर्गका राजा इन्द्र हुन् भनेर मालीलाई थाहा थिएन। सधैँ फूल चोर्न आउने यही मानिस रहेछ भन्दै मालीले सबैलाई जानकारी गराए । समुदायका सबै मिलेर इन्द्रलाई पाता कसेर नगर परिक्रमा गराएर बेइज्जत गराउने सल्लाह गरे। राजालाई पाता कसेर नगर परिक्रमा गराए। त्यो दिन नेवार समुदायमा कुमारीको रथयात्रा परेको थियो। त्यही वेला सबैलाई देखाउनुपर्छ भनेर इन्द्रलाई हात बाँधेर नगर परिक्रमा गराइएको किंवदन्ती छ।

उता फूल टिप्न गएको छोरा इन्द्र धेरै दिन नफर्किएपछि इन्द्रकी आमा दागी आत्तिएकी थिइन्। उनले आफ्नो छोरालाई कसैले समातेको सपना देखिन्। सपना पछ्याउँदै दागी छोरा खोज्न धर्तीमा आइन्। उनले छोरालाई मालीले समातेर राखेको पत्तो पाइन्। उनले समुदायका मानिसहरूसँग आफ्नो छोराले गल्ती गरेको भन्दै क्षमा मागिन्। त्यसपछि समुदायका सबैले ती फूल टिप्न आउने व्यक्ति स्वर्गको राजा इन्द्र रहेको थाहा पाए। स्वर्गका राजालाई आफूहरूले नराम्ररी सजाय दिएको भन्दै समुदायका सबैले गल्ती स्वीकार गर्दै माफी मागे।

छोरालाई लिएर जानुअघि इन्द्रकी आमा दागीले समुदायसँग माफी मागिन्। उनले आफ्नो छोरालाई स्वर्गमा लिएर जानुअघि यस धर्तीमा मरेका व्यक्तिहरूलाई स्वर्गमा वास दिने वाचा गर्दै पितृहरूलाई स्वर्गमा लगेको किंवदन्ती छ। यसबाहेक इन्द्रकी आमा दागीले छोरालाई लिएर फर्कने वेलामा कुहिरोजस्तो धुवाँ छाडेर गएको मान्यता छ। कुहिरोका कारण यो वेलामा अन्नबाली राम्रो हुने जनविश्वास पनि छ। त्यही समयदेखि उपत्यकामा इन्द्र जात्रा मनाउन सुरु गरियो।