मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
टेकराज थामी काठमाडौं
२०७८ भदौ २३ बुधबार ०९:४०:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

७३ प्रतिशत सुरक्षाकर्मीले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
२०७८ भदौ २३ बुधबार ०९:४०:००

तीनवटै सुरक्षा निकायमा रहेका दुई लाख चार हजार २० सुरक्षाकर्मीमध्ये एक लाख ४९ हजार पाँच सय ७४ (७३.३१%) ले दुवै डोज लगाएका छन्, थप २२ हजार आठ सय २९ (११.१९)ले एक डोज मात्रै लगाएका छन् भने ३१ हजार ६ सय १७ (१५.५०%)ले खोप नै पाएका छैनन् ।

तीनवटै सुरक्षा निकायमा रहेका दुई लाख चार हजार २० सुरक्षाकर्मीमध्ये एक लाख ४९ हजार पाँच सय ७४ जनाले कोभिड– १९ विरुद्धको पूर्ण खोप लगाएका छन् । पूर्ण खोप लगाउने दर कुल सुरक्षाकर्मीको ७३.३१ प्रतिशत हो । 

थप २२ हजार आठ सय २९ अर्थात् ११.१९ प्रतिशत सुरक्षाकर्मीले एक डोज मात्रै खोप लगाएका छन् । बाँकी ३१ हजार ६ सय १७ अर्थात् १५.५० प्रतिशतले भने खोप पाएका छैनन्, जसमध्ये केही खोप लगाउन नमिल्ने सूचीमा परेका छन् । नेपाली सेनामा एक लाख, नेपाल प्रहरीमा ६९ हजार र सशस्त्र प्रहरी बलमा ३५ हजार सुरक्षाकर्मी रहेको तथ्यांक छ । 

संगठित संख्याका आधारमा तथ्यांक विश्लेषण गर्दा नेपाल प्रहरीका सुरक्षाकर्मीले सबैभन्दा धेरै खोप लगाएका छन् । ५६ हजार नौ सय ८६ प्रहरीले दुवै डोज खोप लगाएका छन् । यो कुल संख्याको ८२.५८ प्रतिशत हो । थप नौ हजार दुई सय १२ जनाले एक डोज मात्रै लगाएका छन् । नेपाल प्रहरीका करिब ९५ प्रतिशत सुरक्षाकर्मीले खोप पाएको केन्द्रीय प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए । 

‘नेपाल प्रहरीको संख्या अहिले करिब ६९ हजार छ । कोभिड– १९ विरुद्धको लडाइँमा अग्रप्रंक्तिमा खटिनेमध्ये नेपाल प्रहरी मुख्य स्केटहोल्डर हो । यस आधारमा खोप लगाउनु स्वाभाविक पनि हो । संख्या विश्लेषण गर्दा ९५ प्रतिशतले खोप लगाएका छन् ।’

खोपको पहुँच पुग्नेमा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी दोस्रो नम्बरमा छन् । सशस्त्रका ३१ हजार पाँच सय ८८ अर्थात् ९०.१९ प्रतिशतले दुवै डोज खोप लगाएका छन् । थप एक हजार ६ सय १७ जनाले पहिलो जोड मात्रै लगाएका छन् । दीर्घरोगी, गर्भवती, बिदा बसेका तथा तालिम भएकाहरूलगायत एक हजार आठ सय १५ जनाले भने कुनै पनि खोप नलगाएको सशस्त्रका प्रवक्ता डिआइजी राजु अर्यालले बताए । 

‘सशस्त्र प्रहरी अहिले हामीसँग ३५ हजारको हारहारी छन् । त्यसमध्ये अधिकांशले खोप लगाएका छन् । केही बाँकी होलान् । यसमा केही स्पेसिफिक कारण छन् । फ्रन्ट लाइनमा खटिने भएकाले खोप लगाउनु स्वाभाविकै हो,’ उनले भने । 

एक लाख नेपाली सेनामा ६१ हजार अर्थात् ६१ प्रतिशतले दुवै डोज तथा थप १२ हजारले एउटा मात्रै डोज लगाएका छन् । समग्रमा ७३ प्रतिशत सैनिकले खोप लगाएको प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले बताए । ‘कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिनेमध्ये नेपाली सेना पनि एक हो । त्यसो हुँदा खोप लगाउने प्राथमिकतामा सेना पर्नु स्वाभाविकै हो । तथ्यांक हेर्दा ७३ हजारभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएको देखिन्छ ।’

३८ सुरक्षाकर्मीले ज्यान गुमाए 
कोरोना संक्रमणका कारण ३८ सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । तथ्यांकअनुसार नेपाल प्रहरीमै बढी मानवीय क्षति भएको छ । नेपाल प्रहरीका २२, नेपाली सेनाका १० र सशस्त्र प्रहरी बलका ६ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

सक्रिय संक्रमित सुरक्षाकर्मी दुई सय ४८ 
हाल सक्रिय संक्रमित सुरक्षाकर्मीको संख्या दुई सय ४८ छ । यीमध्ये नेपाल प्रहरीका एक सय १३, नेपाली सेनाका ७१ र सशस्त्र प्रहरीका ३९ जना छन् । उनीहरू सम्बन्धित सुरक्षा निकायकै आइसोलेसन कक्षमा उपचाररत छन् । हालसम्म तीनै सुरक्षा निकायबाट संक्रमित हुने सुरक्षाकर्मीको संख्या भने २१ हजार ९१ छ । सबैभन्दा धेरै नेपाल प्रहरीका छन् । क्रमशः सेना र सशस्त्रका छन् । 

कुन सुरक्षा निकायमा कतिले लगाए खोप ?

नेपाल प्रहरी  
- दुवै डोज : ५६,९८६  
- पहिलो डोज थप : ९,२१२
सेना
- दुवै डोज : ६१,००० 
- पहिलो डोज थप : १२,०००
सशस्त्र प्रहरी
- दुवै डोज : ३१,५८८ 
- पहिलो डोज थप : १,६१७