१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
अर्जुन विष्ट
२o८१ बैशाख ३० आइतबार o९:३४:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

कर्णालीले कहिलेसम्म मृत्यु पर्खेर बाँच्ने ?

Read Time : > 2 मिनेट
अर्जुन विष्ट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:३४:oo

कर्णालीका बिरामी सार्वजनिक बसमा मरिरहेका छन् । मिर्गौलापीडित ठेला चढ्न बाध्य छन् । झाडापखाला लागेको छोरालाई घन्टौँ बोकेर दगुर्न विवश छिन् आमा । रगत अभावमा दिनहुँ सुत्केरीको ज्यान जान्छ । आपत्कालीन अवस्थाका बिरामी बोक्ने एम्बुलेन्सको समेत अभाव छ भन्दा अनौठो लाग्न सक्छ । अझै पनि कर्णालीका ग्रामीण क्षेत्रमा स्वास्थ्यको अवस्था दयनीय छ । स्वास्थ्यचौकी भए पनि दक्ष चिकित्सक छैनन् । चिकित्सक भएको ठाउँमा आवश्यक उपकरण छैनन् । यस्तै, अभावै अभावले बर्सेनि समयमै उपचार नपाएर कर्णालीका कैयौँ बिरामीको मृत्यु हुने गरेको छ । अर्कोतिर समयमै उपचार नहुँदा मृत्यु पर्खेर बाँच्नुपर्ने बाध्यता छ । यहाँका अधिकांश ग्रामीण भेकका स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीको अभाव छ । अप्ठ्यारो भूगोलका कारण पनि समयमै उपचार पाउन कठिन छ । औषधिको अभाव छ । यातायातको असुविधा छ । 

राज्यको आँखालाई समेत केन्द्रित गर्ने गरी केही दिनअघि सामाजिक सञ्जालमा एउटा कारुणिक तस्बिर छताछुल्ल भयो । एउटा दुधेबालकलाई आमाले काखमा च्यापेर बसको सिटमै प्राण त्यागेको तस्बिरले दुनियाँलाई भावुक बनायो । ३ भदौको त्यो घटनाले धेरैलाई रुवायो । त्यो तस्बिर थियो, कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका–९, सुन्दरपानीकी २८ वर्षीया धर्मकुमारी बटालाको । थप उपचारका लागि नेपालगन्ज जाँदै गर्दा बीचबाटामा बसमै उनको निधन भएको थियो । 

प्रेसर हाई र लो हुने समस्याको उपचारका लागि घरनजिकैको मेडिकलमा स्वास्थ्य जाँच गराउँदै आएकी धर्मकुमारी आपूmलाई गाह्रो लाग्न थालेपछि राडीबजारको आठबिसकोट नगर अस्पताल गइन् । ३२ महिनाको बालक बोकेर अस्पताल पुगेकी उनको स्वास्थ्य अवस्था सामान्य नै थियो । अस्पतालका चिकित्सकले उनलाई एकपटक सुविधासम्पन्न अस्पतालमा चेकजाँच गर्न सुझाब दिएपछि उनी नेपालगन्ज जाने निर्णयमा पुगेकी थिइन् । ३२ महिनाको बच्चालाई काखी च्यापेर अस्पतालमा उपचारपछि निको भएर फर्किने विश्वासका साथ हिँडेकी बटालाले बीचबाटामा बसमै ज्यान गुमाउनुपर्‍यो । बटालाको निधनपछि कर्णालीको स्वास्थ्य सेवामाथि प्रश्न उठ्न थालेको छ ।

२५ शड्ढयाको अस्पताल सञ्चालनमा आएको आठबिसकोट नगर अस्पतालमा एम्बुलेन्सको सुविधा नहुँदा बिरामीले सास्ती खेप्नुपरेको छ । कति बिरामीले बीचबाटामै आफ्नो ज्यान गुमाएका छन् । यस्ता कैयौँ कहालीलाग्दा घटनाले अझै पनि हाम्रो सोचमा परिवर्तन ल्याउन सकेको छैन । अत्यावश्यक उपकरण र दक्ष जनशक्तिको अभावले गर्दा कर्णालीको स्वास्थ्य सेवा नाजुक छ । सामान्य उपचार सेवासमेत पाउन नसक्दा कैयौँ बिरामीको अकालमा ज्यान गइरहेको छ । तैपनि स्थानीय, प्रदेश र संघीय सरकारले कुनै चासो नदिएको देख्दा भने उदेक लाग्छ । 

राज्यकोषबाट लाखौँ खर्चेर हेलिकोप्टरबाट देशको सयर गर्ने राजनीतिक नेतृत्वले कर्णालीमा एउटा हवाई एम्बुलेन्स सञ्चालनमा ल्याएर जनताको जीवनरक्षा गर्न किन सक्दैन ?

स्वास्थ्यकर्मीले रिफर गरेर जिल्ला अस्पताल या अन्य अस्पताल पुर्‍याउँदासम्म बीचबाटामै बिरामीको ज्यान गइसकेको हुन्छ । यो समस्याको दीर्घकालीन समाधान कसले र कहिले खोज्ने ? कहिलेसम्म कर्णालीले आफ्ना नागरिक गुमाइरहने ? कहिलेसम्म बालबालिकालाई टुहुरा बनाइरहने ? कहिलेसम्म आफन्त सन्तानको शोकमा डुबिरहने ? भौगोलिक विकटताको निहुँ पारेर केन्द्र सरकारले वास्ता नगरेपछि यहाँका बासिन्दा जहिल्यै यही पीडामा छन् । राज्यकोषबाट लाखौँ खर्चेर हेलिकोप्टरबाट देशको सयर गर्ने नेतृत्वले कर्णालीका लागि एउटा हवाई एम्बुलेन्स सञ्चालनमा ल्याउन किन सक्दैन ?

कर्णालीका दुःख, पीडा धेरै छन् । बर्खाको समयमा गाउँको हिलाम्मे बाटोमा हिँडेर गाउँकै अस्पताल पुगेकी धर्माले त्यहीँ गुणस्तरीय स्वास्थ्य सेवा पाएकी भए यसरी अकालमा ज्यान गुमाउनुपर्ने थिएन कि ? धर्मकुमारीले हिम्मत राखेर अस्पतालसम्म त धाइन्, तर फर्केर आउन पाइनन् । बटालाकी सासू भन्छिन्– अलिकति राम्रो औषधिउपचार पाएकी भए मेरी बुहारी बाँच्ने थिइन् । भनेका वेला औषधिउपचार गर्ने ठाउँसमेत छैन । उनले भावुक हुँदै व्यक्त गरेका यी शब्दभित्र कर्णालीका पीडा बोलिरहेका थिए ।

यति मात्रै होइन, कर्णालीमा राम्रो शिक्षा दिने शिक्षालय छैनन् । बेरोजगारीको स्थिति भयावह छ । बालबालिकामा कुपोषण छ । जनताको जीविका सुरक्षित नभएको ठाउँबाट राजनीतिमा भने तँछाडमछाडको अवस्था छ । मुलुकका शक्तिशाली मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका नेता राष्ट्रिय राजनीतिमा छन् । तर, तिनले आफू कर्णालीमा जन्मेकोसमेत बिर्सिसके सायद । के सधैँ कर्णालीलाई रोग, भोक र गरिबीको पर्यायको रूपमा चिनाइराख्ने हो ? कर्णालीमा अस्पताल भर्ना हुनसमेत नेताकै भनसुन चाहिन्छ । कर्णालीलाई सधैँ दुर्गम बनाएर राख्ने हो भने यहाँका बासिन्दाको जनजीवनमा परिवर्तन कहिले आउला ?

एनजिओ/आइएनजिओहरूले कर्णालीको नाममा लाखौँ डलर भित्र्याउँछन् । तर, कर्णालीका लागि भने त्यो रकम जहिल्यै कागलाई बेल पाक्यो हर्ष न विस्मात् हुने गरेको छ । कर्णालीलक्षित कार्यक्रमजति सबै पैसा कमाउने भाँडो मात्र बनेका छन् । यहाँको जनजीवन जहाँको त्यहीँ छ । अझै पनी उपचारका लागि आफूसँग भएको श्रीसम्पत्ति धितो राख्नुपर्ने बाध्यता छ । नारामा सीमित समृद्ध कर्णालीले जनताका नांगा पैतालामा घोच्ने काँडा छेक्दैन । नांगो शरीर, भोको पेट, पालमुनिको वास र बसमै रोगीको मृत्यु रोक्न चिल्ला कुरा छोडेर कामका कुरा गरौँ । 
 

ad
ad