मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दिपेश शाही काठमाडौं
२०७८ भदौ १७ बिहीबार ०९:४७:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रदेश २ र सुदूरपश्चिममा ओलीभन्दा माधवको दल ठूलो

Read Time : > 4 मिनेट
दिपेश शाही, काठमाडौं
२०७८ भदौ १७ बिहीबार ०९:४७:००
  • पार्टीभित्रको अन्तर्विरोधकै कारण केन्द्र र दुईवटा प्रदेश सरकारको नेतृत्व गुमाएको नेकपा एमाले विभाजनपछि बाँकी दुईवटा प्रदेशबाट समेत बाहिरिने अवस्थामा 
  • पार्टी विभाजन भएसँगै एमाले छाडेर प्रदेश सभा सदस्यहरूले विभाजनपछि बनेको एकीकृत समाजवादी रोजेसँगै करिब एकल बहुमतमा रहेको प्रदेश १ र बागमती प्रदेश सरकारको नेतृत्वसमेत गुमाउने 

संघीय संसद्मा २० प्रतिशत सांसद जुटाउन नसके पनि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी दुईवटा प्रदेशमा एमालेभन्दा ठूलो शक्ति हुने देखिएको छ । प्रदेश २ र सुदूरपश्चिमको प्रदेश सभामा नेपालको नेतृत्वको दल एमालेभन्दा ठूलो शक्ति हुने अवस्था देखिएको हो ।

प्रदेश नम्बर २ मा भने जसपाको तर्फबाट मुख्यमन्त्री बनेका लालबाबु राउतको पद सुरक्षित नै छ । प्रदेश सभामा हाल कायम रहेको सदस्य संख्या एक सय चार हो । यसमध्येबाट बहुमत पुर्‍याउनका लागि ५३ जनाको आवश्यक पर्छ । मुख्यमन्त्रीको दल जसपाका त्यहाँ ५५ जना सांसद थिए । त्यसमध्ये ११ जनाले नयाँ दल लोकतान्त्रिक समाजवादी रोजेका छन् । त्यस्तै, एमालेका १९ जना सांसदमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेका छन् । प्रदेश सभामा कांग्रेसका १९ र माओवादीका आठजना सांसद छन् । जसले मुख्यमन्त्री राउतको पद सुरक्षित राख्न सुविधाजनक बहुमत पुग्छ ।

सुदूरपश्चिम प्रदेश सभाबाट माओवादी केन्द्रबाट मुख्यमन्त्री रहेका त्रिलोचन भट्टले केही महिनाअघि मात्रै विश्वासको मत लिएका थिए । प्रदेश सभामा रहेका कुल ५२ जनामध्ये भट्टले ३० मतसहित विश्वासको मत प्राप्त गरेका थिए, जब कि २७ मत भए बहुमत पुग्छ । त्यसमा एमालेका १८ जनाले उनलाई मत दिएका थिए । प्रदेश सभामा एमालेका २४ जना सांसद थिए । त्यसमध्ये १३ जनाले नयाँ पार्टी एकीकृत समाजवादी रोजेका छन् । भट्टसँग सभामुखसहित माओवादीका १३ जना सांसद छन् । त्यस्तै, देशभर गठबन्धनमा सहभागी कांग्रेसका सुदूरपश्चिम प्रदेश सभामा १२ जना सदस्य छन् । माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीको बलमा गठबन्धनको सरकार कायम राख्न सम्भव भए पनि दलहरूले सुदूरपश्चिम सरकारको नेतृत्व फेरबदल गर्ने मनस्थिति बनाएका छन् । त्यहाँ कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना छ ।

प्रदेश १ मा भर्खर मात्रै मुख्यमन्त्री नियुक्त भएका भीम आचार्यको पद धरापमा परेको छ । प्रदेश सभामा हाल कायम रहेको सदस्य संख्या ९२ हो । यसमा बहुमत पुर्‍याउनका लागि ४७ मत आवश्यक पर्छ । तर, एमालेका तर्फबाट मुख्यमन्त्री बनेका भीम आचार्यसँग त्यति मत पुग्दैन । एमाले विभाजन भएर एकीकृत समाजवादी बनेसँगै प्रदेश १ बाट १० जनाले पार्टी परिवर्तन गरेका छन् । अब एमालेसँग ४१ जना मात्रै प्रदेश सभा सदस्य बाँकी छन् ।

बागमती प्रदेशमा भर्खर मात्रै नियुक्त भएकी एमालेकी अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद पनि धरापमा परेको छ । प्रदेश सभाका हाल एक सय नौजना सदस्य कायम छन् । बहुमत पुर्‍याउनका लागि ५५ जनाको संख्या आवश्यक पर्छ । यसअघि एमालेसँग बागमतीमा ५५ जना नै सांसद थिए । तर, बुधबार एमालेका १२ जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेसँगै एमाले नै सबभन्दा ठूलो दल रहे पनि शाक्यको मुख्यमन्त्री पद भने धरापमा परेको छ । बागमतीमा कांग्रेससँग २२ र माओवादी केन्द्रसँग २३ मत छन् । यस हिसाबले एकीकृत समाजवादी, कांग्रेस र माओवादी केन्द्रले बागमतीमा सरकार बनाउन पर्याप्त संख्या पुग्छ । 

गण्डकी प्रदेशमा कांग्रेसका मुख्यमन्त्री कृष्ण पोखरेल नेपालीको पद पनि सुरक्षित छ । एमाले र जसपाको विभाजनले गण्डकीमा खासै फरक पारेको छैन । प्रदेश सभामा कुल सांसद संख्या ५९ छ । बहुमतका लागि ३० सिट चाहिन्छ । एमालेसँग गण्डकीमा २७ जना प्रदेश सभा सांसद छन् । नयाँ पार्टी एकीकृत समाजवादीमा अहिलेसम्म कोही पनि सांसद खुलिसकेका छैनन् । यद्यपि, कांग्रेसबाट मुख्यमन्त्री बनेका पोखरेललाई स्वतन्त्र सांसदसहित माओवादी केन्द्र र जसपाको बलियो साथ छ । जसका कारण कुनै फरक पर्नेछैन ।

लुम्बिनीमा माओवादीका कुलप्रसाद केसी गठबन्धन दलहरूको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका छन् । उनलाई कांग्रेस र जसपाको बलियो साथ छ । प्रदेश सभामा हाल कायम रहेको सदस्य संख्या ८० जना हो, बहुमतका लागि ४१ सिट चाहिन्छ । प्रदेश सभामा एमालेका ३७ जना छन् । नयाँ पार्टी एकीकृत समाजवादीमा अहिलेसम्म एकजना मात्रै सांसद खुलेको अवस्था छ । अर्का एक सांसद पनि पहिलेदेखि नै नेपाल खेमामा रहेका छन् । तर, उनी अहिलेसम्म खुलिसकेका छैनन् । निर्वाचन आयोगले २२ भदौसम्मको समय दिएकाले थप सांसद आफ्नो पक्षमा खुल्ने दाबी एकीकृत समाजवादीको छ । त्यसले सत्तागठबन्धनलाई थप बलियो बनाउने देखाउँछ । 

कर्णालीमा मुख्यमन्त्री रहेका माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएको एक वर्ष पनि पुगेको छैन । त्यसैमा पनि एमालेबाहेक पनि हाल कायम रहेको प्रदेश सभा सदस्य संख्याको स्पष्ट बहुमत कांग्रेस र माओवादी केन्द्रसँग छ । कर्णालीमा कायम रहेको प्रदेश सभा सदस्यको संख्या ३५ हो । यसबाट बहुमत पुर्‍याउन १८ मत चाहिन्छ । सत्तारुढ माओवादी केन्द्रसँग १२ र कांग्रेससँग ६ गरी बहुमत पुग्ने १८ सिट छ । एमालेसँग कर्णालीमा पछिल्लो समय १६ सिट मात्रै थियो । त्यसमा पनि तीनजना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेसँगै एमालेसँग अब १३ सिट मात्र बाँकी रहन्छन् । जसले गर्दा स्पष्ट बहुमतमा रहेको सत्तागठबन्धन थप बलियो बन्नेछ ।

निर्वाचन आयोगले गत ९ भदौमा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी र जसपा विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी (लोसपा)लाई दल दर्ताको प्रमाणपत्र दिएको थियो । त्यसपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधनअनुसार दल विभाजन भएको २१ दिनको समय पुग्ने गरी २२ भदौसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय दिएको छ । लोसपा गठबन्धनमा सक्रिय ढंगले सहभागी हुने निश्चित नभइसकेको अवस्थामा एकीकृत समाजवादीका सांसदहरूको संख्याले भने केन्द्रदेखि प्रदेशसम्म गठबन्धन सरकार बनाउन र बचाउनका लागि बल पुर्‍याउने भएको छ । दल रोज्नका लागि प्रदेश निर्वाचन कार्यालयमा सनाखत सुरु भएको दोस्रो दिनसम्म एकीकृत समाजवादीको पक्षमा सांसदहरू खुल्ने क्रम बढ्दो छ । 

पार्टीभित्रको अन्तर्विरोधकै कारण केन्द्र र दुईवटा प्रदेश सरकारको नेतृत्व गुमाएको एमाले विभाजनपछि बाँकी दुईवटा प्रदेशबाट समेत बाहिरिने निश्चित भएको छ । पार्टी विभाजन भएसँगै प्रदेश सभा सदस्यहरूले विभाजनपछि बनेको एकीकृत समाजवादी रोजेसँगै करिब एकल बहुमतमा रहेको प्रदेश १ र बागमती प्रदेश सरकारको नेतृत्वसमेत गुमाउने अवस्था सिर्जना भएको हो ।

यसअघि एमालेभित्र आन्तरिक विवाद रहेकै अवस्थामा माधव नेपाल पक्षको सहयोगमा कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनले लुम्बिनी, गण्डकी, कर्णाली र अलिकति मिहिनेतको भरमा बहुमत पुर्‍याउने सम्भावना भएको सुदूरपश्चिम प्रदेशबाट एमालेलाई सरकारबाट हटाइसकेका थिए । पछिल्लो समय औपचारिक रूपमा एमाले विभाजन भएर एकीकृत समाजवादी गठन भएसँगै एमालेले एकल बहुमत पुग्ने अवस्थाका दुवै प्रदेश गुमाउने अवस्था बनेको हो ।

एकीकृत समाजवादीका नेता डा. बेदुराम भुसालले गठबन्धनले बहुमत पुर्‍याउने अवस्था बनेको खण्डमा प्रदेशका सरकारहरू परिवर्तन हुन सक्ने बताए । ‘हाम्रो पार्टी विभाजनपछि जनप्रतिनिधिको सनाखत चलिरहेको छ, २२ गतेसम्म यो सकिन्छ । त्यतिवेलासम्म हाम्रो पोजिसन के हुन्छ भन्ने क्लियर हुनेछ,’ भुसालले भने, ‘त्यसपछि हामीसहित गठबन्धनले बहुमत पुर्‍याएको खण्डमा सरकार परिवर्तन हुन सक्छ ।’ यद्यपि, भुसालले अहिले नै त्यस विषयमा निष्कर्षमा पुग्ने गरी छलफल भने चलिनसकेको बताए ।