१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सदस्यबाट संकलन गरेको दूध प्याकेजिङपछि बिक्रीका लागि निकाल्दै गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाका कर्मचारी
२०७८ भदौ १५ मंगलबार ०७:००:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चितवनको गंगानगर दुग्ध उत्पादक सहकारीले आफ्नै ब्रान्डमा बेच्न थाल्यो दुग्ध उत्पादन 

Read Time : > 1 मिनेट
२०७८ भदौ १५ मंगलबार ०७:००:००

चितवनको गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुग्ध प्रशोधन गरी आफ्नै ब्रान्डको दूध तथा दूधजन्य परिकार बजारमा ल्याएको छ । गत वर्षदेखि परीक्षणका रूपमा ‘गंगा’ ब्रान्डको दूध र दूधजन्य परिकारहरूको उत्पादन बजारमा ल्याएको सहकारीले सोमबार भरतपुरको धनौजीमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो ।  

बिक्री केन्द्रको उद्घाटन गर्दै प्रदेश सांसद रामलाल महतोले किसान संगठित हुँदा आफ्नो उत्पादनको मूल्य आफैँले तोकेर आफँैले बिक्री गर्ने अवस्था आएको बताए । दूधको बजारीकरण र यान्त्रीकरणका लागि प्रदेशबाट समेत भूमिका खेल्ने उनले आश्वासन दिए । भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतोले सहकारीको यस कार्यले आत्मनिर्भरतासँगै पैसा बाहिर जान जोगाउने बताएका थिए ।

सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सहकारीले दूध संकलन गरेर डेरी उद्योगलाई बिक्री गर्दा किसानको लागत पनि उठ्न गाह्रो भएको बताए । किसानलाई दूधको उचित मूल्य दिलाउने अपेक्षासहित उद्योगका रूपमा सहकारीलाई विकास गरेको उनको भनाइ थियो । सहकारीले यसबाहेक थप दुई सम्पर्क कार्यालयबाट दूध संकलन गर्दै आएको छ ।

सहकारीको आफ्नै नमुना पशुपालन फार्म तथा स्रोत केन्द्र पनि छ । किसान र स्रोत केन्द्रबाट गरी सहकारीमा दैनिक ६ हजारभन्दा बढी लिटर दूध उत्पादन र संकलन हुन्छ । सापकोटाका अनुसार कोरोना कहरसँगै संकलन गरेको दूध डेरी उद्योगले खरिद नगरेपछि मिल्क होलिडेसमेत व्यहोर्नुपरेको थियो । 

तीन महिनाअघि गंगा ब्रान्डले खाद्यान्न अनुज्ञापत्रसमेत पाएको छ । सहकारीले आफ्नो बिक्री केन्द्रसहित चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, तनहुँ, कास्की, गोर्खा, धादिङ र काठमाडौंका मुख्य बजार क्षेत्रमा उत्पादित वस्तु तथा सेवा खुद्रा तथा थोक बिक्री गर्ने लक्ष्य राखेको छ ।

यहाँबाट पहिलो चरणमा दूधबाट दही, मोही, घिउ, पनिर, नौनी, खुवा, बटर, छुर्पी, क्रिमलगायतका विभिन्न मिठाईका उत्पादन र बिक्री सुरु भएको छ भने यसको क्रमशः उत्पादन र परिकार बढाउँदै लैजाने सहकारीको लक्ष्य छ । 

सहकारीले सहकारी विभागको ५१ लाखको सहयोगमा करिब २ करोड रुपैयाँ लगानीमा निर्माण गरेको प्रशोधन केन्द्रबाट प्रतिघन्टा २ हजार लिटर दूध प्रशोधन भइरहेको छ । ०४९ सालमा स्थापना भएको यस सहकारीमा अहिले ५ सयभन्दा बढी किसान आबद्ध छन् । 

भरतपुरमा दुग्ध अनुदान बढ्यो 
भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा कृषकले उत्पादन गर्ने दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान दिने भएपछि किसानहरू उत्साहित भएका छन् । गत आर्थिक वर्षमा १ रुपैयाँ अनुदान दिएको महानगरपालिकाले यस वर्षबाट ३ रुपैयाँ घोषणा गरेको हो ।

बागमती प्रदेशले समेत २ रुपैयाँका दरले अनुदान दिने घोषणा गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले भनिन्, ‘हामीले कृषि पेसालाई सम्मान गर्न धेरै काम गरेका छौँ । हामीले २५ पैसा हुँदै १ रुपैयाँ र अहिले ३ रुपैयाँ अनुदान घोषणा गरेका हौँ ।’ दाहालका अनुसार महानगरपालिकाले यसबाहेक सानो लगानी गर्नेलाई गोठ सुधार र ठूलो लगानी गर्नेलाई प्रविधि र उपकरणमा सहयोग गर्दै आएको छ ।