१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
भानु रोशन राजभण्डारी
२o८१ बैशाख ३१ सोमबार o९:३९:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

फोहोर व्यवस्थापनको दिगो समाधान

Read Time : > 2 मिनेट
भानु रोशन राजभण्डारी
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:३९:oo

अहिले फोहोर नउठाइएका कारणले सहरका चोक, गल्ली जताततै फोहोर थुप्रिएको अवस्था छ । समय–समयमा फोहोर नउठाउने समस्याबाट उपत्यकावासीलाई हैरानी छ । सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्न समस्या भएको र नयाँ ल्यान्डफिल साइट बन्चरेडाँडा तयार नभइसकेकाले अझै केही दिनसम्म फोहोर नउठ्ने भनिएको छ । फोहोर व्यवस्थापनमा समय–समयमा आइरहने यस किसिमका समस्याले मानिसको स्वास्थ्यका साथै सहरी सौन्दर्यमा पनि नकारात्मक असर पर्ने गरेको छ । विगतदेखि नै फोहोर व्यवस्थापनको दिगो उपायबारे पर्याप्त गृहकार्य नगरी फोहोर भरिँदै गएपछि अर्को ल्यान्डफिल साइट खोज्ने प्रवृत्तिले गर्दा फोहोर व्यवस्थापनको दिगो समाधान हुन सकेको देखिँदैन । 

हामीकहाँ फोहोर उठाउने जिम्मेवारीमै समस्या छ । लाखौँको जनसंख्या रहेको काठमाडौँ उपत्यकामा बर्सेनि ठूलो अनुपातमा नयाँ बस्तीका साथै जनसंख्या वृद्धि हुँदै गएको छ । फोहोर उठाउने दायित्व महानगरपालिकाको हो । तर, काठमाडौं महानगरपालिकाभित्रका सबैजसो बडामा फोहोर उठाउने काममा क्रियाशीलता देखिँदैन । विभिन्न क्लब, संस्था तथा प्राइभेट कम्पनीले सशुल्क फोहोर उठाउने काम गरिरहेका छन् । संघीय व्यवस्थामा स्थानीय तहलाई झनै अधिकार सम्पन्न र बलियो बनाइएको अवस्थामा फोहोर व्यवस्थापनको कामचाहिँ प्रभावकारी हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाभित्रका कतिपय वडाको फोहोर उठाउने आफ्नै सवारीसाधनसमेत छैन । फोहोर व्यवस्थापनको जिम्मेवारी लिएको निकायको जवाफदेहिता नहुँदा फोहोर व्यवस्थापनका नाममा चलाइएका क्लब, संस्था तथा प्राइभेट कम्पनीको व्यवसाय फस्टाउँदै गएको छ । यिनीहरूले लिने शुल्कमा पनि मनोमानी छ । 

स्थानीय तहहरूले फोहोर व्यवस्थापनका लागि गर्न सकिने सामान्य काम पनि गरेको पाइँदैन । यातायातमा वेलाबखत गरिने जोर–बिजोर प्रणालीजस्तै फोहोर उठाउने काममा पनि कुहिने र नकुहिने फोहोरलाई एकै दिन संकलन नगरी फरक–फरक दिन संकलन गर्न सके पनि केही सुधार हुने थियो । उपत्यकाबाहिरका केही नगरपालिकाले यस्तो अभ्यास गरेको पाइन्छ । करिब नब्बे प्रतिशत फोहोरलाई पुनः प्रयोगमा ल्याउन सकिन्छ, विभिन्न देशमा यसलाई पुनः प्रयोगमा ल्याउने प्रविधि उपयोग गरेको पाइन्छ । कुहिने फोहोरबाट कमपोस्ट मल बनाउन सकिन्छ, मल बनाउन लागत पनि सस्तो पर्छ र यो वातावरणमैत्री पनि छ । अर्कातर्फ यसको प्रयोग बढाउन सके रासायनिक मलमा रहनुपरेको परनिर्भरतालाई क्रमशः घटाउन सकिन्छ । 

सबैभन्दा खतरनाक भनेको अस्पताल तथा विभिन्न उद्योगबाट निष्कासन हुने फोहोर हो । सयौँको संख्यामा रहेको सरकारी तथा निजी अस्पतालले फोहोरको व्यवस्थापन कसरी गरिरहेका छन् भन्ने अनुगमन गर्न सम्बन्धित निकायको पर्याप्त ध्यान पुगेको छैन । अस्पतालबाट निष्कासन हुने विभिन्न किसिमका रसायनयुक्त फोहोरको उचित व्यवस्थापन गरिनु जरुरी छ । यस किसिमका जोखिमयुक्त फोहोरलाई अन्य सामान्य किसिमका फोहोरसँग मिसाएर डम्पिङ साइटमा फालिँदा झन् जोखिमपूर्ण हुन जान्छ । विभिन्न उद्योगले सुरक्षित विसर्जन गर्नुपर्ने फोहोरलाई सीधै ढल तथा खोलानालामा मिलाउनाले झनै प्रदूषण बढ्दै गएको छ ।

कुहिने र नकुहिने फोहोरलाई एकै दिन संकलन नगरी फरक–फरक दिन संकलन गर्न सकेमा फोहोर व्यवस्थापन सहज हुनेछ
 

गिद्धजस्ता वातावरणमैत्री पक्षीको संख्या दिन–प्रतिदिन घट्दै गइरहेको छ । अहिलेसम्म फोहोर, फोहोरमा मात्र सीमित छ ।  त्यसैले पनि फोहोर व्यस्थापनका लागि आधुनिक प्रविधि भित्र्याइनु आवश्यक भइसकेको छ । फोहोरको छनोट गर्ने र त्यसको पुनः प्रयोग गर्न सकिने अवस्थामा ल्याउन पर्याप्त लगानी जरुरी छ । यसका लागि सरकारले लगानी गर्नुपर्छ । सरकारबाट मात्र सम्भव नभए निजी क्षेत्रको पनि साथ लिनुपर्छ ।

पब्लिक कम्पनीका रूपमा उद्योग सञ्चालन गरेर प्रशस्त रोजगारी सिर्जना गर्न सकिने सम्भावना छ । पर्याप्त बजेट भएर पनि काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि दिगो कार्ययोजना बनाउन सकेको देखिएन । अहिलेको काम गराइ हेर्ने हो भने एउटा ल्यान्डफिल साइट भरिएपछि अर्को ल्यान्डफिल साइट खोज्ने चक्करमै समय बितिरहेको छ । यो दीर्घकालीन समाधान होइन । जबसम्म संकलित फोहोरको उचित व्यवस्थापनका साथै यसको पुनः प्रयोगका लागि गर्न सकिने प्रयासको भरपूर उपयोग गरिँदैन, समस्या समाधान हुनेवाला छैन । काठमाडौं महानगरपालिकाले फोहोर संकलन गर्न एकद्वार नीति ल्याउनु आवश्यक छ । सरकारी निकायबाहेक अरू कुनै पनि संस्था, निकाय, क्लबले सशुल्क फोहोर उठाउने काम तत्कालै बन्द गरिनुपर्छ । यसका लागि जेजति स्रोत, साधन र जनशक्तिको आवश्यकता पर्छ, त्यसको व्यवस्था महानगरपालिकाले गर्नुपर्छ । 

अहिलेको कोरोनाकालमा जनमानसलाई दिइएको मुख्य सचेतना नै सरसफाइ हो । हात धुनु भनेको पनि सरसफाइको प्रमुख अंग हो । हामी फोहोरको डुंगुरमाथि बसेर कसरी सफा हुन सक्छौँ ? आफ्नो घरको फोहोर सडकमा थुपारेर कसरी सभ्य नागरिक हुन सक्छौँ । अनि जिम्मेवार निकायले मूकदर्शक भएर यो समस्याको समाधान कसरी होला ? मानव स्वास्थ्य र सहरी सौन्दर्यका लागि मात्र भए पनि फोहोरको दिगो व्यवस्थापन गर्न सम्बन्धित निकायले तत्कालै ध्यान दिने कि ?

ad
ad